गेटमा एक युवती डाँको छाडेर रोइरहेकी थिइन् ,‘आज श्रम स्विकृति बनेन भने मैले आत्महत्या गरे नी हुन्छ…



हाम्रो इकोनोमि

 

नत देशमा रोजगारी छ न विदेश जानलाई नै सहज बाताबरण ! ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आज श्रम स्विकृति बनेन भने मैले आत्महत्या गरे नी हुन्छ ।’इलामकी २७ वर्षीया सरोजा महतरा आँशु पुछिरहेकी थिइन् ।

 

उनी पासपोर्ट र अन्य काजगात देखाउँदै कर्मचारीलाई पीडा सुनाइरहेकी थिइन् । श्रम स्विकृति दिन बारम्बार आग्रह गरिरहेकी थिइन् । शाखा अधिकृत छत्र शाह भन्दै थिए, ‘भर्खरै परिर्वतन भएको नियमअनुसार तपाईको काम आज हुँदैन ।

 

आजै गर्ने भए विभाग जानुस् ।’आफ्नो काम नबन्ने भएपछि सरोजा हतारिँदै बुद्धनगरस्थित वैदेशिक रोजगार विभागतर्फ लागिन् । उनले श्रम कार्यालयदेखि विभाग, विभागदेखि मन्त्रालय, मन्त्रालयदेखि फेरि कार्यालयसम्म ७ घन्टा चक्कर काटिन् । तर काम बनेन ।

 

श्रम कार्यालयको गेटमा भिड थपिँदै थियो । अघिल्लो दिन बेलुकै आएका छन् कति । प्रायः बिहान दुई÷तीन बजे नै लाइन बस्न आइपुग्छन्, सेवाग्राही । कतिको आइतबारै दिउसो १ः३० बजे फ्लाइट छ । श्रम स्विकृतको पत्र लिएर जानू पर्ने छ खाडी । तर, रोकिए का छन् गेटमै । उनीहरु आक्रोशित छन् । गेटमा तैनाथ छन् दर्जनभन्दा बढी प्रहरी ।

 

उनीहरुसँग सेवाग्राहीको चर्काचर्की पर्छ । ठेलाठेल हुन्छ । अति भएपछि प्रहरीले लौरो उठाउँदै लखेट्छन् । सेवाग्राही फाइल बोकेर भाग्छन् ।गेट अगाडिबाट सुरु भएको लाइन झण्डै ४ सयमिटर परको सोल्टी होटलसम्म पुगिसकेको छ । गेटमा झुम्मिएका झण्डै ४ सय मानिस आफ्नो काम छिटो हुनुपर्ने भन्दै चिच्चाउँछन् ।

 

यसरी चिच्याउनेमध्ये कसैकसैको फ्लाइट आजै छ । लाइन बस्दा प्लेन छुट्ने उनीहरु बताउँछन् । प्रहरीले हप्काउँदै भन्छन्, ‘आज फ्लाइट हुनेहरु अघि बढ्नुस् ।’ सेवाग्राही हुरुरु गेटतिर बढ्छन् । अघि बढ्नेमध्ये केही मात्रै कार्यालय भित्र पस्छन् । बाँकी गेटमै रोकिन्छन् । प्रहरी बाँकी भिड नियन्त्रण गर्न फेरि ठेलमठेल गर्न थाल्छन् । भिडले पेल्न खोजे लौरो उठाउँदै लखेट्छन् ।

 

दिन घर्किँदै जाँदा सेवाग्राही आत्तिन थाल्छन् । निरास देखिन्छन् । तर गेटमा भिड घट्दैन । प्रहरी र सेवाग्राहीबिच वादविवाद, ठेलमठेल चलिरहन्छ । बिहानैदेखि भोकै बसेका सेवाग्राही निन्याउरो अनुहारमा लाइन बसिरहेका भेटिन्छन् । कोहीकोही सडकपेटीमै उँघि रहेका देखिन्छन् ।गेटको पश्चिमी कुनामा टोलाएका बसेका सुमन कामीको फ्लाइट आइतबार बेलुकी १० बजे छ । तर काम बनेको छैन ।

 

उनी गेटबाहिर टोलाउन थालेको यो तेस्रो पटक हो । उनले भने, ‘कम्पनीको नाम गल्ती भयो रे । काम अझै बनेको छैन । आज त उड्नुपर्ने ।’ उनले निरास हुँदै भने, ‘जान पाइएन भने बर्बादै हुन्छ ।’ उनी बेलाबेला अत्तालिएँदै प्रहरीको नजिक जान्छन् । बेलुकी उड्नुपर्ने प्लेनको टिकट देखाउँछन् । तर प्रहरीले हप्काउँदै भनिदिन्छ, ‘लाइन बस्नुस्, लाइन ।’धुमबहादुर मगरको पनि सोमबार बिहानै फ्लाइट छ ।

 

आइतवार दिउँसो २ बजेसम्म काम बनेको छैन । आज काम सकिएन भने भोली अरब उड्न पाउँदैनन् । ‘आफ्नै खर्चले टिकट काटेर जान पैसा छैन । मैले जसरी पनि भोली उड्नुपर्छ । तर अहिलेसम्म काम बनेको छैन’, उनको आवाज मसिनो थियो, आँखामा आँसु छछल्कीरहेको देखिन्थ्यो । उनले अघिल्लो घटना सम्झँदै भने, ‘अस्ति शुक्रबार प्लेन छुटेपछि एकजना मेरो साथीले सडकमै पासपोर्ट धुजाधुजा पारे । बिचरा, जति दौडधुप गर्दा पनि काम भएन ।’

 

व्यथा, कैलालीका पञ्चराम चौधरीको पनि उस्तै छ । दशैँ मान्न कतारबाट नेपाल आएका उनको विदा सकियो । १२ गतेको प्लेन टिकट छ । जाने दिन नजिकिँदै गर्दा उनलाई तनाब बढ्न थालेको छ । उनले घडि हेर्दै भने, ‘साँढे ३ बजिसक्यो । आजको दिन गयो ।’गेटमा सेवाग्राहीको भिड थपिँदै थियो ।

 

भित्र आधा घन्टाको फरकमा ५÷७ जनामात्रै प्रहरीले पस्न दिन्छ । लाइन सरेको छैन । दुई बजेतिर लाइनमा एकजना दारी पालेका अधवैसे आइपुगे । उनको हातमा कागजपत्र थिएन । उनको हुलिया अन्यको भन्दा फरक थियो । उनी सिसाको भाँडामा औंठी देखाउँदै कराउँदै थिए । भन्दै थिए, ‘राशी अनुसारको औँठी लगाउनुस् ।

 

नसोचेको काम बन्छ ।’ लाइनमा बसेका युवाहरुलाई उनले थरीथरीका औंठी देखाए । लाइनमा बसेका मध्य केहीले किनेर लगाए पनि । आँैठी लाउनेमध्ये एकले भने, ‘विश्वास पनि गर्नुपर्छ । आजै काम भइ पो हाल्छ कि ।’

 

सेवाग्राहीको आवतजावतसँगै बिचौलीयाको चहलपहल पनि बाक्लिन थाल्छ । सोल्टीमोड चोकमा पुग्ने बित्तिकै बिचौलीयाहरु ‘ श्रम गर्न आउनुभएको हो’ भन्दै हातै समाउन आइपुग्छन् ।सोल्टीमोडमा जीवन वीमा गर्नेदेखि श्रमको अनलाइन फाराम भर्ने पसलहरु छ्या प्छ्याप्ती छन् ।

 

कालीमाटीबाटै सुरु हुने यस्ता फाराम भरिदिने पसलहरुले वैदेशिक रोजगारीमा जान लागेको व्यक्तिबाट मन लाग्दी पैसा असुल्छन् । पसलै पिच्छे दाम फरक–फरक हुन्छ । ‘म २४ वर्षको भएँ । दुबई जान लागेको । फाराम भरेको कतै ६ हजार भन्छ, कतै ६२ सय, एक सेवाग्राही राजु गुरुङले भने, ‘एक ठाउँमा ६८ सय पनि भन्यो । खास हामीले तिर्नुपर्ने कति हो ? केही थाहा छैन ।’फाराम भर्दादेखि नै ठगिन सुरु गर्छन्, सेवाग्राही । काम छिटो गरिदिन्छु भन्दै बिचौलाले झुक्याउँदैछन् ।

 

‘दिनभरी लाइन बस्नुपर्छ, म मिलाइदिन्छु’ भन्दै गेटबाहिरै डर देखाइदिन्छन् । छिटै काम हुने आशामा सेवाग्राही बिचौलियाले मागेजति पैसा दिएर हतार–हतार फाराम भर्छन् । ‘फारम भरेको ६८ सय रुपैयाँ दिएँ । मेरै उमेरको साथीले यहाँ ६ हजारमा भरेछ,’ श्रम गर्न लाइन बसेका भोजराज बस्नेतले भने ।

 

उनलाई सोल्टीमोड चोकमा एक विचौलियाले पसलमा छिरायो । आवश्यक सम्पुर्ण फाराम भरिदियो । बस्नेतले पैसा दिए । पसलेले फाराम जुत्ता भित्र हाल्न भन्यो । ‘कागजपत्र देखाएर कार्यालयभित्र जान मिल्दैन भन्यो । यहाँ आइपुगेपछि पो थाहा भयो, कागजपत्र नदेखाई त कार्यालयभित्र छिर्नै नपाइने । ‘त्यसले मलाई उल्लु बनायो,’ बस्नेतले सुनाए ।

 

आफू ठगिएपछि आफूजस्तै ठगिएका अर्का साथीको समस्या पनि उनले सुने । उनको साथीलाई सोल्टीमोडमै एक बिचौलीयाले काम गरिदिने भन्दै ८५ सय माग्यो । पैसा पनि दिए । उनको साथी कार्यालयबाहिर कुरेर बसे । कुर्दाकुदै २ घन्टा बित्यो । नफर्किएपछि फोन गरे तर फोन अफ थियो ।कार्यालय परिसरभित्र गनिनसक्नु र थामिनसक्नु भिड थियो ।

 

परिसरको आगनमा सैनिक परेड खेल्न तयार भएजसरी विहानैदेखि सेवाग्राही लाम लागेर बसेका थिए । बिहान ४ बजे गेट बाहिर लाइन बसे त्यहाँ आइपुग्दा १२ बज्छ । करिब १५÷१५ मिनेटको फरकमा लाइनबाट १० जना जति मात्रै सेवाग्राहीलाई अगाडि जान दिइन्छ । प्रायः सेवाग्राही ठूलो झोला लिएर आएका थिए ।

 

कतिले चप्पल लगाएका थिए । कार्यालयको गेटभित्र तैनाथ छन् दर्जनभन्दा बढी प्रहरी । लाइनमै थचक्क बसेका छन् कति । लाईनमा होहल्ला हुनु, प्रहरी लौरो उठाउद‌ै भिड तर्फ जानू, घन्टौं उभिएका सेवाग्राहीलाई अमानवीय तरिकाले धकेल्नु, हकार्नु, प्रहरीको नअह्रायएको ड्युटी हो । लाइनमा बेलाबेलामा होहल्ला हुन्छ । प्रहरीले लड्ने गरेर धकेल्छन् ।

 

लाइन बसिरहेका एक सेवाग्राहीले भने, ‘हामीलाई भेडाबाख्रा जस्तै गर्छन् । हामीले दिएको कर खाएर हामीलाई नै लखेट्छन् ।’ प्रहरी लौरो उठाउँदै भिडतिर जान्छन् । भिडमा एकजना ठूलो–ठूलो स्वरले भन्दै थिए, ‘मेरो टोकन नम्बर ३९५ हो । तर ४३५ नम्बर टोकन भएको मान्छे ढोकामा पुगिसक्यो । यो के गरेको ? ’

 

बाहिर अस्तव्यस्त थियो । तर भित्र कर्मचारी सुस्तसुस्त काम गरिरहेका थिए । कोही चिया पिइरहेका थिए । कोही खाजा खाइरहेका थिए । कोही मोबाइल चलाइरहेका थिए । झ्यालमा सेवाग्राहीको भिड थियो, भित्र कर्मचारी फोनमा मस्त थिए । खाना खाने निश्चित समय पनि नभएको एक कर्मचारीले बताए ।

 

दिउँसो १२ः४० बजे स्वीकृति प्रदान गर्ने मुख्य कार्य कक्षभित्र पस्दा १२ कम्युटर मध्ये ५ वटा खाली थिए । कम्युटर अन थियो, तर चलाउने मान्छे थिएन । सेवाग्राही फाइल बोकेर झ्यालमा टोलाइरहेका थिए । उता २ बजे नविकरण गर्ने कोठामा सात कम्युटर थिए, ४ वटा खाली थिए । कम्युटरमा बस्ने कर्मचारी पनि छिटो छिटो काम गर्दैनन् ।

 

तिनीहरू चोर औलाले क्युबोडमा ठुंगिरहेका देखिन्थे । एकजना सेवाग्राही आक्रोशित हुँदै भन्दै थिए, ‘रिटायर हुनुपर्नेजस्ता कर्मचारी छन् । अनि कसरी हुन्छ छिटो काम ? ’सेवाग्राही बाहिर गएपछि भित्र आउँन पाउँदैन । बिहान ३ बजेदेखि लाम लागेका व्यक्ति भोकप्यास र थकानले गलेका हुन्छन् । भित्र क्यान्टिन छैन ।

 

एक कर्मचारीले भने, ‘यहाँ क्यान्टिन चलाउन मन्त्रीको पावर लगाउनुपर्छ । चानचुनेले चलाउन सक्दैन ।’ क्यान्टिन चलाउन नदिएपछि अवैध पोके पसलहरु खुलेका छन् । कर्मचारीले नै चलाइरहेका छन् पोके पसल । महंगोमा सामान बेचिरहेका छन् खुलमखुला ।

 

दिनको १ बजे एकजना थकित सेवाग्राही कार्यालयको पूर्वी छेउमा रहेको पोके पसलतर्फ गए । उनले एउटा अण्डा र एक प्लेट चनाको ६५ रुपैयाँ तिरे । अर्का एक व्यक्ति पोके पसलेमा पुगेर ‘रेड बुल इनर्जी ड्रिङ्स’ मागे । पसलेले भने, ‘२५० रुपैयाँ दिनुस् ।’ बाहिर त्यसलाई २ सय रुपैयाँ पर्छ । सेवाग्राही रेडबुल किन्न खोज्छन् । उत्तर आउँछ, ‘एकसय ।’ बाहिर रेडबुलको मूल्य ९० रुपैयाँ पर्छ । त्यसपछि सेवाग्राहीले भने, ‘पानी दिनुस् पानी ।

 

खाइसक्नु छैन केही ।’ उनले २० रुपैयाँ पाइने पानीलाई २५ रुपैयाँ तिरे ।गेट छेउमा वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द छ । तर, सेवाग्राही जाँदैनन् । प्रायः सुनसान देखिन्छ केन्द्र । सुझाव पेटिका पनि छ पूर्वी छेउमा । तर बक्स रित्तै छ । बाहिर हुनुपर्ने नागरिक सहायता कक्ष कार्यालयभित्र छ । त्यो साहायता कक्षमा पुग्न सेवाग्राहीलाई कम्तीमा ४ दिन लाग्छ । त्यहाँ पुगेपछि सोध्दा भनिदिन्छ, ‘तपाईको काम बन्दैन ।

 

’मोरङका शिव न्यौपाने सोमबार २ बजे एयरपोर्ट प्रवेश गरिसक्नुपर्छ । तर आइतबार ३ बजेसम्म श्रम स्किृति पाएका छैनन् । नयाँ नियमका कारण उनी रोकिए । कम्पनीबाट श्रममा पठाएको मेल चेक गर्न जाँदा कार्यालयका कर्मचारीले हकारेर पठाइदिए ।

 

विदेशस्थित कम्पनीको हाकिमले नेपाली बुझ्दैनन् । शिवलाई भने नेपालीबाहेक अरु भाषा बोल्न आउँदैन । समस्या लिएर साहायता कक्ष पुगे । कक्षका कर्मचारीले भने, ‘यही कुरा मैले पटकपटक दोहोर्‍याइसकेँ । अब भन्न सक्दिनँ ।’

 

लाइनमा बिहानदेखि बसेका सेवाग्राही अधिकांश आक्रोशित थिए । दिक्क मानिरहेका थिए । एक सेवाग्राहीले भने, ‘मन्त्रीहरु विदेश घुम्न जान्छन् । उताको केही सिकेर आउँदैनन् । घुम्यो मस्ती मार्‍यो, आयो ।’ सातै प्रदेशमा श्रम स्विकृतिको प्रावधान भए यत्रो सा स्ती भोग्नै नपर्ने उनीहरुको मत छ ।

 

कोही भन्दै थिए, ‘हिजो हानाहान भो । यस्तै ताल हो भने जे पनि हुनसक्छ ।’ कोही भन्दै थिए, ‘सरकारलाई पैसा तिर्न पनि यत्रो लफडा ।’ कोही भन्दै थिए, ‘जुनै तन्त्र आए पनि उही हो ।’ कोही भन्दै थिए, ‘दिमाग खराब भइसक्यो । उता गएर पनि दुःख गर्नुपर्छ । यता पनि सास्ती ।’विभागले वैदेशिक रोजगारमा पठाउँदा सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भइ आएपछि मात्र श्रम स्विकृति दिने कात्तिक २७ गते बनाएको नयाँ प्रावधानका कारण भिड बढेको हो ।

 

विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले मानव बेचविखन जस्ता अपराधलाई रोक्न श्रम स्वीकृतिमा कडाइ गरिएको बताए । वैदेशिक रोजगारीमा जानेहरुले सबै नियम पूरा गर्नुपर्ने उनको भनाइ छ ।

 

वैदेशिक रोजगारलाई नियमसंगत बनाउन नियम परिवर्तन गरिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख युवराज खतिवडाले बताए । नयाँ नियम ल्याउँदा केही समस्या भएको उनको धारणा छ । ‘पूरानो नियम परिवर्तन गरी नयाँ लागू गर्दा कोही न कोही मारमा पर्छन् नै ।’बेलुकी ४ः५० बजे हामी कार्यालयबाट बाहिरिँदा सरोजा दिनभरी मन्त्रालय र विभाग घुमेर फेरि त्यहीं पुगेकी थिइन् ।

 

विभागका महानिर्देक गुरागाईंले श्रम कार्यालयका तिर्थ कट्टेललाई भेट्न भनेका थिए । उनी हतारिँदै उनको कार्यकक्षमा पुगिन् । तर, कट्टेलले भने, ‘आजको फ्लाइट क्यान्सिल गर्नु । अब कुनै उपाय छैन ।’दिनभर भोकै दौडिरहेकी उनी कर्मचारीलाई काम मिलाइदिन बिलौना गर्दै थिइन् ।

 

कर्मचारी सुन्नेवाला थिएनन्, मानौं उनीहरूभित्र मन होइन, ढुंगो छ ।सोल्टीमोडको वैदेशिक रोजगार कार्या लयमा सरोजा महतराको काम बनेन । कार्यालयले वैदेशिक रोजगार विभागमा जानु भन्यो । त्यसपछि उनी हतारिँदै ट्याक्सी चढिन् । कालिमाटी, टेकु हुँदै विभागको कार्यालय बुद्धनगरतर्फ ट्याक्सी हुँइकियो । उनी पटकपटक घडी हेर्थिन् । अनि पटकपटक कालो सलले आँशु पुछ्थिन् ।

 

चार वर्षदेखि दुबईमा काम गर्दै आएकी इलामकी सरोजा १५ दिनअघि घर आएकी थिइन् । उनी नेपाल बस्दाबस्दै वैदेशिक रोजगार विभागले नयाँ नियम जारी गर्‍यो ।कात्तिक २७ गते विभागद्धारा जारी सुचनामा भनिएको छ, ‘…वैदेशिक रोजगारमा पठाउँदा सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भई आएपछि मात्र वैदेशिक रोजगार ऐन २०६४’ बमोजिम श्रम स्विकृति प्रदान गरिने भएको हुँदा सोहीबमोजिम कागजात पेश गर्नु÷गराउनु हुन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

’विभागको नयाँ नियम थाहा पाउने वित्तिकै सरोजा आत्तिँदै श्रम कार्यालय पुगिन् । आइतबार राती साढे ११ बजे उनको फ्लाइट थियो । तर, लाइन देखेपछि सातो गयो । एकहप्तामा पनि काम नबन्ने देखेपछि उनको होस हवास उड्यो । त्यसपछि सुरु भयो उनको तनाव ।
विभागको कार्यालय अगाडि रोकियो, ट्याक्सी ।

 

त्यहाँ पुग्दा अपरान्ह्रको १२ः १५ बजेको थियो । फाराम लिएर निर्देशकको कोठा खोज्दै तेस्रो तला उक्लिइन् । ढोकामै भेटिएकी एक महिला कर्मचारीलाई हतारहतार समस्या पोखिन् । विभागबाट काम नहुने संकेत पाउने बित्तिकै सरोजाको आँखा भरियो । महिला कर्मचारीले उनलाई निर्देशकलाई भेट्न सुझाव दिइन् ।

 

हतासिँदै सरोजा निर्देशक भोलानाथ गुरागाईंको कोठातिर लम्किइन् ।भित्र मिटिङको सुरसार थियो । सरोजाले फटाफट आफ्नो समस्या पोखिन् । ‘तपाइको जस्तो समस्या लिएर आउनेहरु धेरै छन्,’ निर्देशक गुरागाईंले सहानुभूति देखाउँदै भने, ‘यही विषयमा हामी छलफल गर्न लागेका छौं ।’‘लौन सर आजै दुबई उडिनँ भने कम्पनीले काममा आउनु पर्दैन भनेको छ । मेरो जागिर नै जान्छ’, सरोजाले आँसु झार्दै भनिन् ।

 

निर्देशक गुरागाईं मिटिङका लागि तल्लो कोठातिर लागे।विभागमा काम नबन्ने सम्भावना बढ्दै थियो । सरोजा पटकपटक घडी हेर्दै छटपटाउँथिइन् ।दिउँसो डेढ बजे । हतास, छटपटी र चिन्तामा थिइन् उनी । उनले अन्तिम विकल्प रोजिन् । धेरैतिर फोन घुमाएर श्रममन्त्री गोकर्ण विष्टको नम्बर पत्ता लगाइन् । मन्त्रीसँग सिधै कुरा गरिन्।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...