भाइको हत्या अभियोगमा दाजु पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।

 

लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ ।

 

झिलमिला ताल ओझेलमा

कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ ।

चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको उक्त तालमा भक्तजन पूजाअर्चनाका लागि जाने गर्छन् । पहाडले घेरिएको ताल वर्षात्का बेला आउने बाढी पहिरोका कारण सङ्कटमा परेको छ ।

 

तालको क्षेत्र घटदै गएको छ । तालमा विभिन्न प्रजातिका माछासमेत पाइन्छन । घाम परे पानीको रङ्ग परिर्वतन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

भीमदत्त नगरपालिका–९ का लालबहादुर विष्ट प्रचारप्रसारका अभावका कारण ताल ओझेलमा परेको बताउनुहुन्छ । “सरकारी निकायको ध्यान संरक्षणतर्फ जान सकेन,” उहाँले भन्नुभयो, “झिलमिला ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो ।” तालमा पूजाअर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् ।

द्वापर युगमा १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा पाण्डवको बास महाभारत पर्वतमा भएको र त्यस बेला महाभारत पर्वतमा हिँड्दै गर्दा द्रोपतीलाई तिर्खा लागेर बाटोमा मुर्छित भएपछि पाण्डवले पानीको पाउन सकेनन् । पानी नभेट्टाएपछि अर्जुनले वाण हानेपछि पानी जम्मा भएर झिलमिला ताल बनेको किवदन्ती छ ।

 

अहिले झिलमिलासम्म सघन सहरी विकास कार्यक्रमअन्तर्गत सडक निर्माण अघि बढाइएको छ । वन विभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गरेको ढिलाइका कारण केही समय सडक निर्माण प्रभावित भएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यूटावर निर्माण थालिने बताउनुभयो । गुरुयोजना बनाएर ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइएको छ ।

 

तिम्ल्याहा बच्चाको उपचारमा समस्या

धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ ।

परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो ।

 

कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उहााका श्रीमान् राजु परियारले बताउनुभयो । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ ।

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब रु ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो ।

न्यून दृष्टियुक्त व्यक्तिलाई कम्प्युटर 

रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित न्यून दृष्टियुक्त स्रोत कक्षाका विद्यार्थीलाई कम्प्युटर प्रदान गरिएको छ । ‘बेल्जियमको डिसएबिलीटी इण्टरनेशनल सोलीडारिटी फाउण्डेशन’ले न्यून दृष्टियुक्त विद्यार्थीले प्रयोग गर्न मिल्ने चार थान कम्प्युटर सहयोग गरेको हो ।

 

अन्नपूर्ण गाउँपालिका–६ खिवाङ घर भई हाल पोखरा निवासी लक्ष्मी पुनले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र रघुगङ्गा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक निलकण्ठ सुवेदीलाई ती कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । स्रोत कक्षामा हाल १२ न्यून दृष्टियुक्त बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...