राजपामा बढ्यो विवाद: आज असन्तुष्ट पक्षको छुट्टै भेला, पार्टी फुटाउने मण्डलको चेतावनी



 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि असन्तुष्ट पक्षले सोमबार छुट्टै भेला गर्दै छन् । पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्दै अध्यक्ष मण्डलका सदस्य अनिल झाले असहमति जनाएका थिए ।

 

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तथा नेपाल सद्भावना पार्टी (नेसपा) का नेताहरूले छुट्टै भेला गर्दै संयोजक महतोविरुद्ध मोर्चाबन्दी गर्न जुटेका हुन् । तमलोपा र नेसपाका पदाधिकारी र केन्द्रीय सदस्यहरू सो भेलामा सहभागी हुने स्रोतले बतायो ।

 

भेलामा ठाकुर तथा झा अनुपस्थित रहनेछन् । यद्यपि यसको तयारी र महतोविरुद्ध मोर्चाबन्दी गर्न ठाकुर र झाले नै उचालेका छन् । भेलाको आयोजना गर्न लागेका राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले यसलाई ‘कार्यकता भेटघाट’ भएको बताए । तत्कालीन तमलोपाको बिजुलीबजारस्थित पार्टी कार्यालयमा हुने भेला विशेष नभई भेटघाट मात्रै भएको उनले दाबी गरे । लाल तत्कालीन तमलोपा नेता हुन् ।

 

‘पार्टी तथा पार्टी नेताविरुद्धमा मोर्चाबन्दी नभई कार्यकर्ता भेटघाट मात्रै हो, मधेसबाट काठमाडौं आउने नेतासँग नियमित भेटघाट एवं छलफल मात्रै हो’ लालले भने, ‘राजपाको केन्द्रीय कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेता बस्ने ठाउँ मात्रै भएको र पार्टी एकता भएदेखि आफूले बिजुलीबजार कार्यालयबाटै कार्यकर्ता भेटघाट गरिरहेकाले यसलाई अन्यथा लिनुुहुँदैन ।’

 

पार्टी संयोजक पदबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई हटाएर महतोलाई चयन गर्नु तथा ठाकुरविरुद्ध अपाच्य प्रचार गर्नुप्रति लालले असहमति जनाए । पार्टीको महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर अगाडि बढ्ने सहमति भएको तर त्यसमा हेरफेर गरेपछि उनले असन्तुष्टि जनाए ।

 

आउँदो ७, ८ र ९ वैशाखमा राजपा नेपालको एकता महाधिवेशन तोकिएको छ । पार्टी र नेता त्यसको तयारीमा जुटिसकेका छन् । लालले एकता महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मान्ने सहमति भए पनि त्यसको उल्लंघन भएको बताए ।

 

तर पार्टी विधानमा प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलका संयोजक चक्रीय प्रणालीअनुसार परिवर्तन गर्ने उल्लेख गरिएको छ । तर, अध्यक्ष मण्डलका नेताहरूले आपसी सहमतिमा विधानविपरीत १९ महिनासम्म ठाकुरलाई नै संयोजक स्वीकार गरेका थिए ।

 

तर, पछिल्लो समयमा ठाकुरले जथाभावी रूपमा मनोनयन तथा नियुक्तिहरू गर्न थालेपछि अध्यक्ष मण्डलका नेताहरूले असन्तुष्टि व्यक्त गर्दै संयोजक परिवर्तन गर्ने निर्णय गरेको स्रोतले जनायो ।

 

सम्धी उमाकान्त झादेखि लिएर प्रदेश २ को नीति आयोगमा सुरेन्द्र झालाई नियुक्ति गर्नेसम्ममा ठाकुरले कसैसँग सल्लाह गरेनन् । एकलौटी एवं मनोमानी रूपमा ठाकुर ५० भन्दा बढी पदाधिकारी तथा सयभन्दा बढी केन्द्रीय सदस्यहरू मनोनित गरेका थिए ।

 

पार्टी अध्यक्ष मण्डलको बैठकले ठाकुरको पछिल्ला मनोमानी एवं एकलौटी मनोनीत खारेज गर्ने निर्णय गरिसकेको छ । उनले गरेका मनोनीत पार्टी बैठकले खारेज गरेपछि यी नेताहरू असन्तुष्टि पोखेका छन् ।

 

राजपा नेपाल महासचिव केशव झाले पार्टी विधानअनुसार नै सञ्चालन भइरहेको बताए । पार्टी विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष मण्डलको संयोजक चयन भएको बताउँदै उनले नेता ठाकुरलाई केही नेताले बदनाम गर्न खोजेको बताए ।

 

‘आदरणीय नेता ठाकुरजीलाई केही नेताले बदनाम गर्न खोजेका छन्, महतोजीलाई संयोजक बनाउनमा ठाकुरजीको पनि समर्थन छ’ झाले भने, ‘ठाकुरजीलाई बदनाम गरेर कोही कसैको हित हुनेवाला छैन्, पार्टीमा गुटबन्दी गर्नु भनेको पार्टी र मधेसी जनताको विरोध गर्नु मात्रै हो ।’

 

केही नेता अझै राजपा नेपालको नेता बन्न नसकेको बताउँदै उनले असन्तुष्ट पक्षलाई राजपा नेपालको नेता बन्न आग्रह गरे । गुटबन्दी नगरी पार्टीको कुरा पार्टीभित्रै छलफल गर्नुपर्ने झाले बताए ।

 

राजपा दुई गुट

पछिल्लो समय राजपा नेपालमा अध्यक्ष मण्डलका संयोजक महतो र सदस्य ठाकुरको दुई गुट सक्रिय भएको छ । हुन त पहिला पनि राजपामा महतो र ठाकुर नेतृत्वको दुई गुट थियो तर महतोको गुट सक्रिय भए पनि कमजोर थियो । महतोभन्दा ठाकुरको गुट बलियो थियो ।

 

राजपा नेपाल अध्यक्ष मण्डलका ६ सदस्य छन् । महतो नेतृत्वमा रहेको गुटमा अहिले शरतसिंह भण्डारी, महेन्द्रराय यादव र राजकिशोर यादव छन् । ठाकुर नेतृत्वमा रहेको गुटमा अनिल झा मात्रै रहेका छन् । ६ सदस्यीय अध्यक्ष मण्डल राजपा नेपालको सर्वोच्च कमिटी हो जहाँबाट राजनीतिकसहित प्रायः हरेक किसिमका निर्णय लिने गरिन्छ ।

 

ठाकुरनजिक रहेका यादवद्वय अहिले महतोलाई सहयोग गरिरहेका छन् । महतोनजिक रहेका झा ठाकुरनजिक भएका छन् भने भण्डारी पहिलेदेखि नै महतो समर्थक नेता हुन् । यसरी गुट दुई गुट रहेका राजपा नेपालमा अन्य समर्थकहरूको आफ्नो छुट्टै उपगुट जीवित नै रहेको छ । लाभ एवं स्वार्थ अनुरूप राजपा नेपालमा गुट परिवर्तन हुँदै आएको छ ।

 

असन्तुष्ट पक्षले छुट्टै भेला गर्ने तयारी गर्दै गर्दा सोमबार नै अध्यक्ष मण्डलको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पार्टी अध्यक्ष मण्डलको बैठक बस्दै छ भने तत्कालीन तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा असन्तुष्ट पक्षको भेला हुँदै छ ।

 

अध्यक्ष मण्डलको बैठकमा सरकारलाई दिएको समर्थन, संविधान संशोधन, सरकारसँग वार्ताका साथै अगामी महाधिवेशनका विषयमा छलफल गर्ने राजपा नेपालले जनाएको छ ।

 

राजपा नेपालका महासचिव अजय गुप्ताले पार्टीको महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न तथा संविधान संशोधनका साथै सरकारसँग वार्ता एवं समर्थनका विषयमा गहन छलफल पार्टी अध्यक्ष मण्डलको बैठकमा हुने बताए ।

 

राजपा नेपाल अध्यक्ष मण्डलका नवनियुक्त संयोजक महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त आन्दोलनमा जाने चेतावनी यसअघि नै दिएका छन् ।

 

यदि सरकारले आफूहरूको माग सम्बोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर माग सम्बोधन गराउनका लागि राजपा नेपाल आन्दोलनमा जाने चेतावनी उनले दिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय अध्यक्ष मण्डलको बैठकले गर्ने महतोले बताए ।

 

संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ एवं रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएको झुठा मुद्दा फिर्तालगायतका माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल