विकास निर्माणका काममा गति दिन प्रधानमन्त्रीको निर्देशन, गर्भवती र सुत्केरीको हवाई उद्धार अब निःशुल्क
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाकाबारेमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समीक्षा बैठकमा उहाँले मन्त्री र सचिवलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदन मात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभई कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताउँदै उहाँले वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनैपर्ने भएकाले त्यसैअनुसार काम गर्न सबैमा आग्रह गर्नुभयो ।
सरकारले मितव्ययी नीति लिएकाले हरेक कुरा कम खर्चमा सम्पन्न गर्नु जरुरी रहेको पनि उहाँले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा खतिवडाले आयोजनामा बजेट विनियोजन गर्दा कही अपूरो भएको, कहीँ नपुगेको भए मन्त्रालयले आफ्नै बजेटबाट रकमान्तर गरेर भए पनि तत्काल परिणाम दिने काम गर्न सकिने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
सरकार गैससको सहआयोजक हुनु लज्जाको विषयः कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आयोजक भई नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक हुने विषय देशका लागि गम्भीर रहेको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरेर दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहआयोजक भई कार्यक्रम गर्नुपर्ने गरी कमजोर हुनु दुःखद् रहेको बताए ।
आगामी मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुने एशिया प्यासिफिक सम्मेलनको निमन्त्रणा कार्डमा युनिभर्सल पीस फेडेरेसनअन्तर्गत सरकार र संसद् सहआयोजक रहेको उल्लेख छ । फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिएको छ । सरकार र संसद्को लोगोसँगै आइक्यापको लोगो पनि छ । निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महीनासम्म दोषी पत्ता लगाउन नसक्ने, दोषीलाई कानूनी कारवाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका पिताको मानसिक अवस्था बिग्रँदा नभेटिने सरकार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निमन्त्रणा कार्डमा सहआयोजकका रुपमा भेटिएको बताए ।
सुनसरीका फिदा हुसेन र कपिलवस्तुमा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार दीपेन्द्र चौधरीको हत्या हुँदा नभेटिने सरकार यस्तो अवस्थामा फेला पर्नु राष्ट्रका लागि सुखद् नरहेको काङ्ग्रेसले जनाएको छ । नेपालमा हुने जुनसुकै सम्मेलनको पार्टीले स्वागत गर्ने भए पनि सरकार अन्तर्राष्ट्रिय गैससको सहआयोजक हुनु लज्जाको विषय रहेको उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयविपरीत प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिनु भएकाे हाे ।
साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनुमति (सम्बन्धन) दिन पत्र पठाउनु भएकाे छ ।
‘विश्वविद्यालयहरूको स्वायत्तता कायम राख्दै यसभन्दा अगाडि विश्वविद्यालयहरूले गर्दै आएको विषय र कार्यक्रम थपसम्बन्धी प्रक्रिया यथावत् राख्न प्रधानमन्त्रीज्यूको निर्देशन भएकाले सोहीअनुसार गराउनुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ । त्यसैअनुसार त्रिविले १ सय १६ कलेजलाई विषय थप्न अनुमति दिएको छ ।
बीसीए र बीबीएम विषयमा सम्बन्धन पाउने अधिकांश राजधानीका महँगा र नाम चलेका ठूला कलेज छन् । तीमध्ये ९६ वटाले सम्बन्धनपत्र लिइसकेका छन् ।, कान्तिपुर दैनिकमा खबर छ ।
नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो ।
केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गर्भवती र सुत्केरीको हवाई उद्धार अब निःशुल्क
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।
कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् । देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार गर्न लागिएको उनले बताइन् ।
सरकारले तोकेका जिल्ला तथा स्थानीय तहमा सम्बन्धित स्थानीय तह गाउँपालिका÷नगरपालिकाका अध्यक्ष संयोजक रहने गरी सिफारिस समिति गठन हुनेछ । यस समितिले आफ्नो क्षेत्रमा ज्यान जोखिममा परेका महिला तथा उनको परिवारले निवेदन दिएपछि हवाई उद्धारको सिफारिस गर्नेछ ।, नयाँ पत्रिकामा खबर छ ।
शोकमा सप्तरीका स्थानीय तह बन्द
बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा शुक्रबार राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उहाँकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो ।
शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताए । घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।
दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ । प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत माग गरेका छन् ।
हत्याको विरोध, आरोपीको घरमा आगजनी
शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी भएको छ । स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा करीब रु २ करोड बराबरको धनमाल क्षति भएको छ ।
हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्तजन, समर्थक र सर्वधारणले सो आगजनी गरेका हुन् । हत्याको आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्वेस्टर कम्बाइन, चार थान मोटरसाइकलमा आगजनी हुँदा उक्त धनमाल जलेर पूर्ण नष्ट भएको छ ।
घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागी घाइते भएका छन् ।
आक्रोशित भीडले हत्याको विरोधमा आरोपी पाण्डेयको लवनी चौकमा रहेको परमिला आयल सेन्टरमा आगजनीको प्रयास गरेका थिए । हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् ।
कांग्रेस कोषाध्यक्षको राष्ट्रिय भेला धादिङमा हुने
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ । कोषाध्यक्षको राष्ट्रिय समितिको शनिबार बसेको बैठकले आगामी मङ्सिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।
कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं काङ्ग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिए ।
काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताए । भेलामा मुलुकभरका काङ्ग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उनले बताए ।
‘ए’ डिभिजन लिगः चौथो चरणका खेलहरु मङ्सिर १० देखि
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
यो खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मङ्सिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् ।
सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।
नेत्रहीन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई
विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । विराटनगरको शहीद रङ्गशामा शनिबार सम्पन्न भएको अन्तिम खेलमा बर्दियालाई ५ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सो उपाधि प्राप्त गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । त्रिभुवन आर्मी क्लबले भने १६ दशमलव पाँच बलमा पाँच विकेट गुमाई विजयी भएको हो ।