राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !



 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो ।

 

नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको दिन मेरो मथिंगल बेस्सरी खल्बलिएको थियो । पछि महाअभियोग फिर्ता भयो । राम्रो भयो ।

 

सम्माननीय राष्ट्रपतिज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो ।

 

सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ । के अब हजुरले महंगो विलासी गाडी चढेर गुमेको इज्जत फिर्ता हुन्छ र ?

 

छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ ।

 

असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । यस्तो बेलामा महंगो विलासी गाडी चढ्नेतिर भन्दा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्ने हो कि ?

 

गर्भवती आमाहरूले पौष्टिक खाना खान नपाउँदा बच्चाहरू आमाको पेटमै कुपोषणको शिकार बनिरहेका छन् । स्वास्थ्य चौकीसम्म लगेर सुरक्षित रूपमा सुत्केरी गराउन नपाउँदा वर्षेनी हजारौं आमा र बच्चाको अकालमा ज्यान गइरहेको छ । अन्धविश्वास र सामाजिक विभेदको शिकार पनि सबैभन्दा बढी हामी महिला नै हुनु परिरहेको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ-हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् । मदनले चढ्ने गरेको साइकललाई सम्झनुहोस्

 

दैनिक हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । ५० डिग्रीको तापक्रममा जीवन हत्केलामा राखेर युवाहरूले कमाएर पठाएको विप्रेषणबाट सरकार आर्थिक बृद्धिदर हृवात्तै बढेको र नेपाली पनि धनी हुँदै गएको भ्रम बाँडिरहेको छ ।शिक्षामा सरल पहुँच नहुँदा बालबालिकाहरू स्कूले शिक्षाबाटसमेत वञ्चित भइरहेका छन् ।

 

आधारभूत शिक्षा जसोतसो लिएका गरीब विद्यार्थीहरूका लागि उच्च शिक्षा आकाशको फल बनिरहेको छ । कम्युनिस्ट सरकार लाज पचाएर शिक्षा र स्वास्थ्यमा खुलेआम ब्यापार गरिरहेको छ । बर्षौंको महंगो लगानीबाट उत्पादित शिक्षित जनशक्ति बेरोजगार बनेर दिन बिताइरहेका छन् ।

 

इतिहासमा कहिल्यै नभएका भ्रष्टाचारका काण्डहरू एकपछि अर्को थपिएको थपियै छन् । पहिला-पहिला लाख र करोडमा हुने भ्रष्टाचार, अब त अर्ब र खर्बमा हुन थालेको छ । जानकारहरू एनसेलमा ३३ अर्ब, कर फछ्र्यौैट आयोगमा २१ अर्ब, बुढीगण्डकीमा ७ अर्ब र एकजना सहसचिवले २० अर्ब भ्रष्टाचार गरेको जिकिर गरिरहेका छन् ।

 

ठूला माछा तानिने भएपछि ३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइड बडी जहाज खरिदमा अर्बौं भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् । यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।

 

महामहिमयज्यू ! रिसानी माफ होस् । प्रतिव्यक्ति आय वाषिर्क १ हजार डलर भएको निरपेक्ष गरिबीको रेखामुनि रहेको देशको राष्ट्रपतिले करोडौंको महंगो विलासी गाडी चढ्ने इच्छा राख्नु मात्र पनि आफैँमा भ्रष्टाचार हो ।

 

नेपाली जनताले कठोर लडाइँ गरेर व्यवस्था परिवर्तन गरिसकेका छन् । अब जनता आफ्नो अवस्था परिवर्तन गर्न चाहान्छन् । सुशासन र मितव्ययिताबिना अवस्था परिवर्तन सम्भव छैन ।

 

देशको इज्जत र पदीय मर्यादाका लागि पनि महंगो बिलासी गाडी चढ्नु आवश्यक छ भन्ने तर्क पनि सुनियो । जुनबेला देशका सबै नागरिक सुखी र खुसी हुनेछन्, त्यसबेला स्वतः देशको इज्जत सगरमाथाको शिखरसरी चुलिनेछ । जनतालाई निरपेक्ष गरिबीको रेखामुनि राखेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू करोड होइन, अर्बकै गाडी चढेर हिँडे पनि देशको इज्जत रहँदैन ।

 

जानकारहरूको दाबी छ, अब किन्न लागिएको करोडौंको कार चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ । करोडौंको कारमा राष्ट्रपति चढेपछि के हाम्रो देश नेपाल र हामी नेपाली चीन र रूसभन्दा समृद्ध र शक्तिशाली हुनेछौं ?

 

नेदरल्याण्डका प्रधानमन्त्री अहिले पनि दैनिक साइकल चढेर कार्यालय जाने-आउने गरेको समाचार भाइरल बनिरहेकै छ । क्रोएसियाका राष्ट्रपति पनि हजुरजस्तै महिला हो । उहाँले र पाकिस्तानका प्रधानमन्त्रीले महँगा विलासी गाडी बेचेर राष्ट्रको ढुकुटीमा रकम जम्मा गरेका समाचारहरू पनि आइरहेका छन् । अनि हजुरलाई चाहिँ करोडौंको विलासी कार चढ्ने भुत किन सवार भएको ? छातीमा हात राखेर सोच्नुस् त सम्माननीयज्यू, के यो अहिलेको आवश्यकता हो ?

 

सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । राष्ट्रपति राज्यकै सर्वोच्च पद हो । राष्ट्रपति स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ । सायद यही कुराको बोध गरेर होला, डा. भट्टराईले आफू प्रधानमन्त्री भएका बेला आˆनै देशमा बनेको मुस्ताङ म्याक्स गाडी चढे ।

 

अन्तमा

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ- हजुरले कुनै पनि कुराको इच्छा व्यक्त गर्नु र निर्णय लिनुभन्दा पहिले आˆनो देश र जनतालाई केन्ऽमा राख्नुहोस् । हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् ।

 

मदनले चढ्ने गरेको साइकललाई सम्झनुहोस् । सर्वोच्च पदमा रहनु भएका बेला अहिलेसम्म रहस्यको गर्भमा रहेको दासढुंगा काण्डको सत्यतथ्य सार्वजनिक गर्नुहोस् ।

अनलाईनखबरबाट, राधा पोखरेल

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल