प्रचण्डलाई भावुक बनाउने अन्तिम पत्र



 

 

प्रिय कमरेड प्रचण्ड, अभिवादन !

निकै व्यस्त हुनुहुन्छ । त्यसैले यो पत्र पढ्नुहुनेछ भन्ने त्यति धेरै बिश्वास छैन मलाई किनभने यो कुनै माओका छोराले स्टालिनलाई लेखेको पत्र हैन । महान् विचारक फिडेल क्यास्ट्रोलाई, कमरेड चे ग्वेभाराले लेखको बिदाइपत्र हैन यो । सोभियत संघ र फासिस्ट जर्मनीको विषयमा पनि हैन । सामान्य नेपाली नागरिकको हैसियतमा कोरेको पत्रलाई इतिहासले मूल्याङ्कन गर्ने कुरा आएन ।

 

प्रचण्डज्यू, सर्वप्रथम कम्युनिस्ट आन्दोलनका टुटेका, खण्डित र षड्यन्त्रकारी लामा अनुभवहरूको बीचमा उभिएर देशको सबैभन्दा ठूलो ’नेपाल कम्युनिष्ट पार्टीको’ निर्माण गर्नुभयो, तपाईंलाई धैरै धैरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । तर यो गौरवशाली दिनमा केवल मदन भण्डारी र जीवराज आश्रितको शालिकलाई माल्यार्पण गरेर पुग्दैन । प्रथम शहीद त दिलबहादुर रम्तेल हुन् । उनलाई किन बिर्सेको ?

 

अर्को कुरा, सधैं त कम्युनिस्ट पार्टीको कार्यक्रमको ब्यानरमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटो देखिन्थ्यो । चेतनाशून्य आयोजक रहेछन् भने पनि तिनले पुष्पलाल र प्रचण्डका फोटा राख्ने गर्थे । तर प्रचण्डज्यू, एमालेसँगको पार्टी एकतामा यी फोटाहरू किन एकाएक अपहरणमा परे ? केही दिनअगाडि ब्यानरकै विषयमा लफडा गर्ने युवाहरू राजावादी त बनेनन् ?

 

प्रचण्डज्यू, पार्टी एकताको ६ बुँदे घोषणापत्रको ४ नं. बुँदालाई अध्ययन गर्‍यो भने त्यहाँ स्पष्ट रूपमा उल्लयेख गरिएको छ, ’हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टी निर्माण र सञ्चालन हुनेछ ।’ यसकारण ब्यानरमा लेनिनका तस्बिर हुनुपर्थ्यो भन्ने लाग्छ ।

 

जे होस् अब देश, कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक भएको छ । मौसम सफा छ । भिजिबिलिटी भनेको के हो थाहा त छैन तर पूरापुर विश्वास छ कि त्यो पनि राम्रै छ । कम्पासहरूले ठीक ठीक दिशाको संकेत गरिरहेका छन् । विमानले समाजवादको राडारमा सम्पर्क स्थापित गरिसक्यो भन्ने हल्ला सुनिन्छ । र एयरहोस्टेसहरू बडो हँसिलो मुद्रामा नितम्ब हल्लाइरहेका छन् ।

 

प्रचण्डज्यू, अन्यथा नलिनु होला, मैले घुमाउरो तरिकाले सटायर हान्न खोजेको हैन । सीधै कुरा हो यो । म यो एमालेसँगको पार्टी एकताको सुनौलो खबर गाईगोठहरूमा पुर्‍याउन चाहन्छु । भेडीगोठहरूमा पुर्‍याउन चाहन्छु । चौरीखर्कहरूमा पुर्‍याउन चाहन्छु । टुहुराटुहुरी नानीबाबुहरू, विधवा दिदीबहिनीहरूको कानसम्म पुर्‍याउन चाहन्छु ताकि यो खुशीको उन्माद सहन नसकेर तिनले पनि रात्रिभोज गर्न सकून् ।

 

प्रचण्डज्यू, पृथ्वीबाट डाइनोसर हराएको लाखौं वर्ष भएको छ । तर आजको मितिसम्म वैज्ञानिकहरूले डाइनोसरको उत्पत्ति, विकासक्रम र लोपबारे अध्ययन अनुसन्धान गरिरहेकै छन् ।

 

यो भूमिबाट माओवादी हराएको जम्मा चार दिन त पुगेको छ । त्यसैले माओवादी डाइनोसर हुन सक्दैन । माओवादीका अवशेषहरू घाइतेका शरीरमा घाउ बनेर बल्झिरहेका छन् । कृपया यो नाथेले घाइतेको कुरा ग–यो भनेर नरिसाउनुहोला ।

 

मलाई विश्वास छ, अब जनयुद्धका बेपत्ताहरू खोज्ने काम नेपाल कम्युनिष्ट पार्टीको हुनेछ । केपी ओलीज्यूले कुनै समयमा भएको जनयुद्धको विरोधमा कुनै तीखा वाण प्रहार गर्नुहुने छैन । समीकरणमा सत्ता स्वार्थ गाँसिएको हुन्छ, यो त एकता भयो । सस्तो समीकरण हैन । नौ महिने सरकार गिराउने र निर्माण गर्ने जुन किसिमको जनविरोधी, विकासविरोधी हर्कतहरू हुँदै आएका थिए, ती समस्या हल हुनेछन् ।

 

तपाईंको टाउकोको मूल्य तोक्नेहरूको दयामायाका कारण तपाईं प्रधानमन्त्री बन्नुभएको थिएन । विगत तीन दशकयता नेपालको शक्तिकेन्द्र तपार्इंकै हातमा छ । त्यसैले यो एकतालाई कसरी घनीभूत रूपमा अगाडि बढाउने, सामूहिक समृद्धिको लक्ष्यमा पुग्ने भन्नेबारेको सबैभन्दा ठूलो जिम्मेवारी तथा भूमिका हजुरको नै हो । र यो भूमिका कुनै राजामहाराजाको हुकुमी प्रमाङ्गीले पाएको हैन । त्यसैले जनताको बलमा उठेको यो गौरवपूर्ण विरासत पानीट्याङ्कीमा पैसा लुकाएको जस्तो नहोस् ।

 

प्रचण्डज्यू, शासकको लोकप्रियता फूलमाला र अभिनन्दनबाट मापन हुँदैन । त्यस्तो किसिमको अभिनन्दनका शृङ्खला तत्कालीन राजाले चलाउँदा हामीले ‘चिडियाखानाको जनावर कस्तो छ, केवल हेर्न गएको’ भनेर जनताको उपस्थितिलाई कमजोर पारेका थियौं ।

 

आजकल हजुरको घाँटीमा फूलमाला र खादाहरू काँधले थाम्नै नसक्ने देखिन्छन् । फूलमाला र खादाहरूले तपाईंको सहयात्री ओलीको काँध पनि खच्चडको जस्तो भइसक्यो । मलाई विश्वास छ, तपाईंहरू चिडियाखानाको जनावर हुनुहुने छैन ।

 

पार्टी एकता बहुमतीय सत्ता व्यवस्थापनको लागि हतियार मात्रै नबनोस् । सारा बुद्धिजीवीहरूलाई संकीर्ण तबरले होच्याउने, आफू उभिएको धर्तीबाहेक अर्को संसार नै छैन भन्ने जस्तो जुन किसिमको डरलाग्दो ‘ओलीजम्’ देखापरेको छ, त्यसको अन्त्य होस् । सामन्ती, दलाल र पूँजीपतिहरूले आज शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता जनताका आधारभूत अधिकारहरूलाई व्यापारीकरण गरेका छन्, त्यो जनविरोधी लुटको आमूल अन्त्य होस् ।

 

प्रचण्डज्यू, युद्ध र शान्ति प्रक्रियाको सफल प्रयोग हजुरकै नेतृत्वमा सम्पन्न भएको कारण अब समृद्धि र विकासको परिकल्पना समेत हजुरकै नेतृत्वमा हुनुपर्छ । तपाईं कुनै वंशीय गोत्रको नेता हैन । यो ग्रामीण जनभावनाले नेपालको माटोमा जन्माएको हजुर केवल आम मान्छे नभएर संस्था हो । ख्याल गर्नुहोला कि केवल पार्टीको नाम, नेतृत्वहरू, भूमिका, विचार अनि मार्गदर्शक सिद्धान्त फेरिएर मात्रै देश बन्ने हैन । जनताको गरीबी, भोकमरी, अभाव जस्ता दुःखका पहाडहरू फेरिनु आवश्यक छ ।

 

आम जनतालाई समाजवादसँग सरोकार छैन । तिनीहरूले अस्पतालमा सुलभ रूपमा उपचार गर्न पाऊन् । सामान्य रोगको उपचार गर्न नसकेर अस्पतालकै झ्यालबाट हाम्फालेर आत्महत्या गर्न नपरोस् । जनतालाई मार्क्सवादसँग नि खासै सरोकार छैन । यहाँ दुई किसिमको शिक्षानीति नहोस्, जसले दुईखालका नागरिक उत्पादन गरिरहेका छन् । हामीले परिकल्पना गरेको समावेशी नेपाल हो, जहाँ वर्ग र जातको विभेद नहोस् ।

 

प्रचण्डज्यू, यो पत्र कुनै दर्शन, आदर्श छाँट्न लेखेको हैन । त्यसका लागि त गोपाल किराँती, आहुती र लोकेन्द्र बिष्टहरू नै काफी छन् । अब हजुर नै मार्क्सवाद, हजुर नै जनवाद, हजुर नै लेनिनवाद, हजुर नै समाजवाद । हजुरको नामको उच्चारण विनाको राजनीतिक बहस केवल समयको बर्बादी हुन्छ ।  हजुरको नामसँग माओवाद जोडिएन भने पनि बर्बाद हुन्छ । यो एकता अलिकति बर्बादी पनि हो कि भन्ने लाग्छ ।

 

प्रचण्डज्यू, विमान त उडाउँदै हुनुहुन्छ । तपाईं सिनियर पाइलट हो । मौसमका बारेमा कोपाइलटले राम्रोसँग तालिम लिएका छैनन् । ती नक्कली पाइलट हुन् । ती पानीजहाजका पाइलट हुन् । हुन त विमानकै पाइलट नै भएर पनि के गर्ने ? चिनियाँ कम्पनीका विमानहरू घुँडा टेकेर आराम गरिरहेछन् आँगनमा । मानौं ती बडा थकित थिए र सुत्न यहाँ आए । तर तपाईंले उडाएको विमान सिंगल इन्जिनको नहोस् ।

 

कमरेड प्रचण्डज्यू, तपार्इं महान् हुनुहुन्छ । नेपाली माटोमा चेतना र क्रान्तिको बिउ छर्ने तपाईं हेपिएका अनि दबिएका आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारूको मगजलाई राजनीति र स्वाभाविक जातिगत विशेषतालाई फ्युजन गरिदिने महान् नेता हुनुहुन्छ । प्रचण्डपथका निम्ति तिनले भौतिक, अभौतिक सबै कुरा सुम्पे । तर यो कम्युनिस्ट पार्टी ‘बाहुनवाद’ को हुलिया बोकेर आयो भन्छन् । यो खेदजनक छ ।

 

आदिवासी जनजातिहरूको अधिकारको सवालमा तपाईंका स्वरहरू किन विलीन हुन पुगे, पीडाको कुरा छ । तपाईं नै पहिचानको जननी हुनुहुन्छ । तपाईंका क्रान्तिकारी अनुहारबाट एकाएक आक्रोश हराएको छ । त्यो मुखारविन्दबाट सामन्तवादी, प्रतिक्रियावादी, विस्तारवादी, दक्षिणपन्थी जस्ता शब्दहरू ननिस्केको धेरै भयो । जनताको महान् सपना अपहरणमा परे जस्तो भएको छ । केही गुमे जस्तो, केही हराए जस्तो भएको छ ।

 

प्रचण्डज्यू, अब अलिकति निजी कुरा गरौं । तपाईं प्रधानमन्त्री हुँदा र नहुँदा समयक्रमसँगै दर्जनौंपटक भेट्ने, कुरा गर्ने अवसर पाएको थिएँ । अन्तिमपटक तपाईंलाई लाजिम्पाटको उदास बैठक कोठामा सहानुभूतिका शब्दसँगै भेटेको थिएँ । त्यसअघि आर्यघाटको किनारमा देखेको थिएँ जहाँ गहभरि आँसु छचल्काउँदै हुनुहुन्थ्यो । यतिका पीरव्यथाका बाबजुद राजनीतिमा जुन चलायमान सक्रियता देखाउनुभएको छ, जसको चर्चा गर्न शब्दकोश नै छैनन् ।

 

एउटा महान् बाबा, जो मुटुको टुक्रासमानको पुत्रवियोगको पीडा सहन नसकेर बेहोश भएन । अस्पतालमा भर्ना भई ग्लुकोज चढाएर सुतेन । बरू राजनीतिक कर्ममा निरन्तर लागिरह्यो । पुत्र प्रकाश दाहालको निधन हुँदा तपाईंले रुने अवसरसम्म पाउनुभएन । यसर्थ, एउटा महान् चिन्तन, पथप्रदर्शक र जस्तोसुकै कठिन संकटमा समेत विचलित नहुने आदर्श पुरुषको रूपमा उभिनुभएको छ ।

 

त्यस्तो कुनै एकान्त ठाउँ थिएन जहाँ तपाईंलाई रुन सहज होस् । युद्ध र आन्दोलनका क्रममा अरूका छोराछोरी निधन हुँदा जुन किसिमको प्रगतिवादी राजनीतिक व्याख्या गर्नुहुन्थ्यो, सोही अनुरूप आफ्नो छोराको निधनमा धारणा व्यक्त गर्नुभयो । यो किसिमको महानताले जनताको सन्तान र नेताको सन्तान समान हैसियतका हुन्छन् भन्ने कुराको पुष्टि भयो ।

 

खुशीमा पनि, दुःखमा पनि प्रचण्ड नेपाली जनताको भरोसाको एकमात्र नाम भएको छ । आजको मितिमा देशको बलियो अभिभावक तपाईं नै हो । यो कुनै एक पार्टीको कुरा भन्दा पनि हरेक नेपालीले सोच्नुपर्ने विषय हो ।

 

राष्ट्रले समयमै अभिभावक चिन्न नसक्दा ठूलाठूला क्षति बेहोर्नुपरेका उदारहणहरू छन् । विश्वास छ, छरिएर रहेका ससाना कम्युनिस्ट घटकहरूलाई समेत एकता प्रक्रियामा ल्याउनुहुनेछ ।

 

तपाईंले नेतृत्व गर्नुभएको जनयुद्ध र समर्थन गर्नुभएको जनआन्दोलनले धेरै क्षेत्रमा कायापलट गरायो । नेपाली माटोमा जरा गाडेर बसेको राजसंस्था माटोमै मिल्यो । समावेशी, समानुपातिकता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता जनताका मौलिक हक, अधिकारहरू स्थापित भए । तर जनजीविकाको सवालमा खासै परिवर्तन हुनसकेन । युवाहरू पलायन हुने क्रम झन् बढेको छ । यो भयावह अवस्थामा सुधार आएन भने कागजी गणतन्त्रप्रति जनतालाई के मतलब ?  उही तपाईंको भलो चाहने मनुष्य ।

लोकान्तरबाट दिलनिशानी मगर

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

असोज ३ गतेदेखि धरहरा खुला गर्ने सरकारको निर्णय

  मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले