के गर्दैछन् प्रधानमन्त्री ओली बालुवाटरमा ?
प्रधानमन्त्री केपी शर्मा ओली अर्को हप्तामात्र बाहिर निस्कने भएका छन् । बडादशैंको कार्यक्रममा सहभागी भएर धपेडीमा परेसंगै बिरामी परी शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियाक सेन्टरमा भर्ना भएर उपचार गराएपछि उनी प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले दैनिक गर्ने कार्यक्रमहरु बालुवाटारबाटै संचालित भइरहेका छन् ।
प्रधानमन्त्री ओलीले उच्चपदस्थ अधिकारी तथा कुटनीतिक नियोकका प्रतिनिधिहरुसंग बालुवाटारमै छलफल गर्ने गरेका छन् । साथै मन्त्रीहरुसंग निरन्तर छलफल गरी निर्देशनसमेत दिने गरेका छन् । अर्यालका अनुसार ओली पूर्ण रुपमा स्वस्थ्य भए पनि सार्वजनिक स्थल र भीडभाडबाट टाढा रहन चिकित्सकहरुले आग्रह गरे अनुसार ओली बाहिर ननिस्किएका हुन् ।
प्रधानमन्त्री ओली अर्को हप्ता भने सार्वजनिक कार्यक्रममा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले यसअघि १८ घण्टासम्म निरन्तर काम गर्दै आइरहेका थिए । उनले ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रममा आफू बक्सर वा म्याराथन धावक नभएकाले १८ घण्टासम्म काम गर्न सकेको बताएका थिए ।
अर्यालका अनुसार गत शुक्रबार प्रधानमन्त्री ओली बालुवाटारमै एक प्रिजेन्टेशन कार्यक्रम रहेकाले लामो समय कार्यक्रममा बसेका थिए ।
बोली हैन काममा जोड ?
प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा धेरै समय खर्चिएपछि आलोचनासमेत भइरहेको थियो । प्रधानमन्त्री धेरै समय बाहिर निस्कन हुन्न भन्ने मान्यता विपरीत नै निरन्तर खटिइरहन्थे । ओलीको यही व्यवहारले गर्दा बोली हैन काम गर्न आग्रह गर्दै आइरहेको अवस्था छ ।
प्रधानमन्त्री ओलीले धेरै भाषण गरेकाले अरु मन्त्रीहरुदेखि सत्ताधारी नेताहरु पनि भाषणमै लागेर विकासका काम चौपट भएको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका थिए । तर यसपटकको ओलीको रणनीति भने काममुखी भएको सत्ताधारी नेताहरुले बताउन थालेका छन् ।
देशको कार्यकारीले धेरै समय सार्वजनिक स्थलमा बिताउनु भन्दा निवासमा बसेर पनि निर्देशन र अवलोकन गर्न सक्ने सुझाव प्रतिपक्षीहरुका संगै राजनीतिक विश्लेषकहरुले पनि बताउँदै आइरहेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर सिंगो देश नै चिन्तित रहेका बेलामा निवासमै रहेर आराम गर्दै मन्त्रीहरुलाई दिएको निर्देशन पनि सकारात्मक रहेको विश्लेषण गर्न थालिएको छ ।
राष्ट्रपतिलाई गाडी किन्न १८ करोड, छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा
सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ।
२०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो।
सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो।
केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो। गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ।
विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो।
२०७४ असार २६ को व्यवस्थापिका संसद्मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीका लागि १६ करोडको गाडी किन्ने कुनै प्रस्ताव नआएको दाबी गरेका थिए। विलासी गाडीबारे चर्को आलोचना हुँदा तत्कालीन प्रधानमन्त्री जवाफ दिन बाध्य भएका थिए।
‘राष्ट्रपतिबाट महँगो गाडीको प्रस्ताव आएको छैन, राष्ट्रपति देशको सर्वोच्च पद हो। त्यसकारण उहाँको सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडी किन्नुपर्ने अवस्था आउँछ तर अहिले आएको छैन,’ देउवाले भनेका थिए, ‘राष्ट्रपतिले सुरक्षित खालको गाडी चढ्नु स्वाभाविक हो।’ त्यही आधारमा रकम निकासा भएको अर्थ मन्त्रालयका एक अधिकारीले भने।
राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवले चढेको पुरानो गाडी चढिरहेको र उक्त गाडीमा समस्या आएका कारण नयाँ चाहिएको बताइएको थियो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सवारीका क्रममा रोकिने, पिकअप नलिनेलगायतका समस्या आएका कारण अघिल्लै कार्यकालमा राष्ट्रपति कार्यालयलाई गाडी आवश्यक भएको जानकारी गराएको बताए।
‘त्यही बेलाको प्रसंग होला, अहिले सरकारसँग कुरा भएको छैन। तर गाडीको समस्या छ,’ अधिकारीले भने, ‘नयाँ गाडीको आवश्यकता परे पनि राष्ट्रपतिले यति महँगो वा यही ब्रान्ड भनेर मागिएको छैन। त्यो सरकारले राष्ट्रप्रमुखलाई दिने सम्मान र सुरक्षा दुवैको विषय हो।’
राष्ट्रपतिमा सधैँ एकै व्यक्ति नबस्ने हुनाले राष्ट्रपति कार्यालयलाई आवश्यक भएको भन्नु राम्रो हुने समेत उनले सुझाए। कार्यालयलाई बलियो बनाउँदा, भौतिक पूर्वाधार जोडिँदा संस्थागत रूपमा लोकतन्त्र बलियो हुने भन्दै राष्ट्रपतिका सहयोगीहरूले अहिले राष्ट्रपतिलाई प्रहार भइरहेको भनी असन्तुष्टि पनि व्यक्त गरे।
सेनामार्फत गाडी किन्न १६ करोड बजेट मागेको समाचार डेढ वर्षअघि नै सार्वजनिक भएको थियो। यसबारे रक्षा र राष्ट्रपति कार्यालयका सचिव र अन्य प्रशासकहरू बोल्न अस्वीकार गरे।
अर्थ मन्त्रालय स्रोतले आठ गाडी किन्न १४ करोड ३० लाख बजेट निकासा भइसकेको जनायो। मन्त्रालय स्रोतका अनुसार सेना यतिबेला टेन्डर प्रक्रियामा अघि बढेको छ। सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले आफूलाई यसबारे जानकारी नभएको र एक दुई दिनमा बुझेर जानकारी दिन सक्ने बताए।
उनले गत वर्षको प्रक्रियाबारे समेत अनभिज्ञता प्रकट गरे। भने, ‘यो विषयमा मलाई पहिलो पटक सोधिएको हो। म बुझ्ने छु। माग भएको हो, होइन। प्रक्रिया के छ, मलाई जानकारी छैन।’
सरकारका एक उच्च अधिकारीले राष्ट्रपतिको सुरक्षार्थ महँगो गाडी किन्नु ठूलो कुरा नभए पनि कम्युनिस्ट र सर्वहारा नेतृत्व भनिनेले नै विलासितामा जोड दिनु अस्वाभाविक देखिएको बताए। ‘राष्ट्रप्रमुखलाई गाडी, सुरक्षा सबै चाहिन्छ,’ ती अधिकारीले भने, ‘विलासी गाडी र सर्वसाधारण आतंकित नै पार्ने सुरक्षा गणतान्त्रिक मुलुकको राष्ट्रप्रमुखलाई सुहाउँदैन।’ सवारीको ठाँटबाँट र राजसी विरासतले यस्तो समस्या आएको उनले टिप्पणी गरे।
केही निकायले राष्ट्रपतिलाई एक बुलेटप्रुफ लेमोजिन, सुरक्षाका लागि अघिपछि लाग्ने लेमोजिन सुहाउँदो जिप पर्याप्त हुने सुझाव पनि दिएका थिए। तर, प्रस्तावमा राष्ट्रपतिको मोटरकारको बाटैमा पांग्रा पन्चर भयो भने देशको इज्जत नरहने भन्दै नयाँ चाहिने उल्लेख गरिएको थियो।
सामन्यतः गाडी अर्थ र गृहको संयोजनमा खरिद हुने गर्छ। सम्बन्धित कार्यालयले ल्याउने प्रस्तावमा वा मन्त्रिपरिषद्को ठाडो प्रस्तावमा अर्थ र गृहले यसको व्यवस्थापन गर्छ। तर राष्ट्रपतिका लागि सेनाको परमाधिपति भन्दै सेनामार्फत रक्षा हुँदै बजेट मागिएको हो।
सुटुक्क अमेरिका पुगेका मुख्यमन्त्री राईको को हुन् त दुलही ?
घाँटीको उपचारका लागि भनेर थाइल्याण्ड गएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अचानक अमेरिका पुगे । बैककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा उनेको घाँटीको परीक्षण भयो । त्यसको रिपोर्ट कात्तिक २७ मा मात्रै आउने भएपछि उनी अमेरिकातर्फ गएको बताइयो । अमेरिका भ्रमण उनको निजी र पारिवारिक भएको खबरहरु सार्वजनिक भएका छन् ।
सम्बद्धस्रोतको दावीअनुसार चाहिँ उनी बिहेको कुरा छिन्न अमेरिका गएका हुन् । बिहे निजी भएकोले उनको अमेरिका भ्रमण पनि निजी तवरबाटै तय गरिएको छ –स्रोत भन्छ । अर्थात उनको भ्रमणको दायित्व सरकारले व्यहोरेको छैन ।
अमेरिकामा व्यापार गर्दै आएको एक जनजाति पारिवारकी ३० वर्षीय युवतीसँग मुख्यमन्त्री राईको कुरा चलेको बताइन्छ । अमेरिकाको न्युयोर्कमा रहेका मुख्यमन्त्री राई आफन्त साथीभाईहरुकोमा दिन मिलाएर बस्दै आएका छन् । उनी कुनै होटलमा बसेका छैनन् ।
बिवाह मुख्यमन्त्री राईको निजी मामिला भए पनि सार्वजनिक उच्च पदमा रहेका कारण उनका निजी विषय पनि जनचासोमा पर्नु स्वाभाविक हो । तर मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदी भन्छन्, ‘विवाह सम्बन्धी कुरा सत्य हाेइन ।
मुख्यमन्त्रीलाई विवादमा तान्ने प्रयास भइरहेकोले यो विवाहको कुरा पनि त्यस्तै त हैन भन्ने मलाई लागेको छ । अमेरिकामा पत्रकार कुटिएको कुरालाई जबर्जस्ती मुख्यमन्त्रीसँग जोड्नु, अमेरिका भ्रमणलाई ‘गुपचुप’ भनिनु आदिले शंका उब्जाएको छ ।’
शेरधन राई यसअघि केन्द्रमा संञ्चारमन्त्री हुँदा उनको विवाह नेमकिपाकी सांसद अनुराधा थापामगरसँग हुने चर्चा चलेको थियो । तर त्यो चर्चा त्यसै सेलायो । अहिले पुन शेरधन राईको विवाहको कुरा निस्केको छ । अमेरिकाकी युवतीसँग राईको विवाहको कुरा यदि हो भने ती युवती को हुन् त ? यो विषय अहिलेसम्म गोप्य नै राखिएको छ ।
एक पटक युवा संघकै युवती केन्द्रीय सदस्यले शेरधन राईले आफूमाथि शोषण गरेको आरोप लगाउदै विभिन्न मिडिया चहारेकी थिइन् । तर ती युवतीको कुरामा शंका गर्ने प्रशस्त आधारहरु देखिएपछि उनको विषयले महत्व पाएन् । विवाद भने सिर्जना गरेको थियो ।