बत्तीसपुतलीबाट ७ लाख ६० हजार नगदसहित १३ जुवाडे पक्राउ
प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । पछिल्लो समय काठमाडौं प्रहरीले जुवातासमा कडाइ गर्दै गएको छ ।
पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…
सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ ।
बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माउनुभएको हो । विसं २०७२ को महाभूकम्पमा परी उहाँका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आउनुभएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाउनुभएको हो ।
“मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हाँै”, पूर्वउपसभामुख सुवेदी भन्नुभयो ।
उहाँले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफँैले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताउनुभयो । मालतीका यसअघि दुई छोरा छन् ।
समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश नं ५ प्रदेशसभा सदस्य कृष्णा केसीले बताउनुभयो ।
उहाँले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिककर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भन्नुभयो, “बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुवैबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।”
सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।
शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो भन्नुभयो । यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गर्नुभयो ।