प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो, शवलाई घिसार्दै गरेका एकजना पक्राउ
कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको हो ।
प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुलेको छैन । घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल तर्फ लैजान लागेको बताएका छन् ।
काठमाडौँमा आजदेखि चालकलाई अनिवार्य सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट
काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए। माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए।
महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए।
महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए। “ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ,” उनले भने।
अहिले काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था गरेपछि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गरिने उनको भनाइ छ।
महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो। सोही अनुसार हाल उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन्।
तालिममा हुने फायरिङले राष्ट्रपतिलार्इ ‘डिस्टर्ब’
राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।
प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकप्टरबाट उपत्यकाबाहिर जान–आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को भदौ २१ को बैठकले प्रतिष्ठान पनौती सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएकाे समाचार कान्तिपुर दैनिकमा छ ।
राष्ट्रपतिको सवारीले उपत्यकामा ट्राफिक जाम हुने र आमजनताले दु:ख पाउने समस्या अन्त्य गर्न राष्ट्रपति निवास विस्तारका लागि सरकारलाई अनुरोध गरिएको थियाे । राष्ट्रपतिका लागि आधुनिक र सुविधासम्पन्न निवास निर्माण गर्न सरकारले यसअघि नै कार्यालयपछाडि सामाखुसीतर्फको प्रहरी ब्यान्ड गुल्मको ५ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराइसकेको छ ।