राजदूत सिफारिसमा ओली–प्रचण्डबीच खटपट ? यी मन्त्रीपनि रिसाए
कम्युनिस्ट प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीमा कुनै सल्लाह नगरी ४ मुलुकमा राजदूतका लागि सिफारिसको निर्णय गरेको खुलासा भएको छ ।
ओलीको दवावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चार देशका लागि राजदूत नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेको उच्च स्रोतले जनाएको छ ।
ओलीले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि आफ्नी साली अन्जान शाक्य र युनाइटेड अरब इमिरेट्स (युएई)का लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिश गर्ने निर्णय गराएका थिए ।
ओलीले राजदूत नियुक्तिमा दिएको दवावप्रति परराष्ट्रमन्त्री ज्ञवालीले पनि सन्तुष्टि जनाएका छैनन् । मन्त्री ज्ञवालीले आफू निकटका नेकपाका नेताहरूसँग ओलीलाई गाली गर्दै आफ्नो निरिहता देखाउने गरेका छन् ।
युएईका लागि राजदूत सिफारिस गरिएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । ढकालबाहेक सबैको सिफारिस राजनीतिक हो । राजनीतिक नियुक्तिका लागि भएको सिफारिसमा ओलीले पार्टीबाट निर्णय नगराएको माओवादी केन्द्र पृष्ठभूमि भएका एक नेताले बताए ।
ओलीले राजदूत नियुक्तिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत कुनै सल्लाह नगरेको एक नेताले बताए । ओलीको यो कार्यशैलीबाट रिसाएका छन् । तर, ओलीको विरोध गरेर पनि प्रचण्डले केही गर्न सक्ने छैनन् ।
ओलीले मलेसियाका लागि पाण्डे र भारतका लागि नीलकण्ठ उप्रेतीलाई राजदूत सिफारिसको निर्णय गरेका थिए । त्यस बेला पनि ओलीले नेकपामा कुनै परामर्श गरेका थिएनन् ।
एमाले पृष्ठभूमि भएका नेताहरूले प्रधानमन्त्री ओलीले आफ्नी साली अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको भन्दै आलोचना गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमा खुलेरै ओलीको आलोचना गरेका छन् । ओली सत्तामा पुग्दा अवसर लिनेमा अञ्जान शाक्य अग्रपंक्तिमा पर्छिन् ।
प्रधानमन्त्रीलाई सार्वजनिक कार्यक्रममा जान रोक
प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो ।
तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए ।
सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक सहभागी छन् ।
स्वास्थ्य अवस्था भने सामान्य
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको छ । तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ । ‘डिस्चार्जपछि हामीले प्रधानमन्त्रीज्यूलाई एक महिनाजति धेरै भिडभाडबाट टाढै रहन, चिसोबाट बच्न सुझाब दिएका छौँ,’ निजी चिकित्सक डा. दिलीप शर्माले भने, ‘हाम्रो सुझाबलाई मनन गरेरै प्रधानमन्त्रीज्यू भिडभाड हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुनुभएको हुन सक्छ ।’
पछिल्लो संक्रमणमा एन्टिबायोटिक चलाइएकाले बढी भिडभाड हुने कार्यक्रममा जाँदा बल्झिन सक्ने भन्दै निजी चिकित्सकद्वय शर्मा र दिव्या सिंहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा ख्याल राख्नुपर्ने सुझाब पनि दिएका छन् ।
निवासबाटै सरकारी काम
चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ । छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचारपछि १६ कात्तिकमा डिसचार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् ।
पूर्ववत् सक्रिय रहेको सचिवालयको भनाइ
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी अहिले पूर्ण स्वस्थ रहेर पूर्ववत् रूपमै सक्रिय छन् । चिकित्सको सुझाबलाई मध्येनजर राखेरै दसैँयता स्वकीय सचिवालयले अत्यावश्यकीयबाहेक भेटघाट र सार्वजनकि कार्यक्रमलाई दैनिक कार्यतालिकामै राखेको छैन ।
तर, सरकारीनिवास बालुवाटारमै दलका शीर्ष नेताहरू, सरकारका उच्च अधिकारीसँग भेटघाट चलिरहेको छ । यस्तै, सरकारी निर्णयसँग जोडिएका फाइलहरू अध्ययन गर्ने, फाइल सदर गर्नेदेखि सबैखाले अत्यावश्यकीय काम गरिरहेका छन् ।
प्रधानमन्त्री भित्री काममा व्यस्त हुनुहुन्छ
कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
प्रधानमन्त्रीज्यू अफिसियल (सरकारी) काममै व्यस्त हुनुभएकाले कोलोम्बो प्रोसेसअन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा नजानुभएको हो । चिकित्सकहरूले पनि सुझाब दिनुभएको छ, त्यसैले यो वेला प्रधानमन्त्रीज्यूले सार्वजनिक कार्यक्रमलाई भन्दा इन्डोर (भित्री) कामलाई प्राथमिकता दिनुभएको छ । शुक्रबार पनि उहाँ बालुवाटारमा दिनभनर काममै व्यस्त हुनुभयो । कुर्सीमा बसेर घाम ताप्दै भेटघाट र कुराकानी गर्नुभो’ ।
यहीँ(बालुवाटार)बाटै सबै काम भएकै छ । फाइलहरू आउँछन्, उहाँले अध्ययन गरेर स्वीकृत गर्नुभएको छ, कुनै काम रोकिएको छैन, त्यसैले केही दिनका लागि अझै उहाँ सिंहदरबार जानुहुन्न ।