बालकको बक्सिङ रिङमै मृत्यु, देशैभर मच्चियो खैलाबैला



हाम्रो इकोनोमि

 

थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।

थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् ।

तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ । बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् । यी बाल खेलाडीले प्रायः टाउकामा सुरक्षा कवच समेत लगाएका हुँदैनन् ।

अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधार समेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खाल जस्तो हुने गर्दछ ।

अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो । विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुँइमा ढलेका थिए ।

स्मार्टफोनमा खिचिएको तस्वीरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ । अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको निधन भइसकेको थियो ।

प्रहरीका अनुसार, अनुचाको मृत्यु मस्तिष्कघातबाट भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यी बालक आठ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए । उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए ।

उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् । यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् ।

थाइल्यान्डमा १२ वर्षभन्दा मुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ ।

अनुचाको मृत्यु भएपछि यो खेलमा बालबालिकाको प्रयोगका विरुद्धमा चौतर्फी आवाज उठेको छ । कतिपयले निर्णायकको गल्तीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् ।

\“ती बालक उभिन सक्ने अवस्थामा पनि थिएनन् । किन निर्णायकले खेल बेलैमा रोकेनन्?” थाई फेसबुक प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् ।

थाइल्यान्डका पर्यटन तथा खेलकूद मन्त्रीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले मस्यौदा विधेयक जतिसक्दो चाँडो संसदमा पेश गरिने बताएका छन् ।

कतिपयले थाइल्यान्डको संस्कृतिका रुपमा रहेको बक्सिङलाई निरुत्साहित नगर्ने गरी विधेयक आउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...