सफ्टवेयर राखेर पेट्रोल पम्पबाट भइरहेको ठगीमाथि छानबिन सुरु
आधुनिक प्रविधिको दुरुपयोग गरी इन्धन बिक्री गर्दा उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पबारे सूक्ष्म छानबिन सुरु भएको छ । डिस्पेन्सिङ पम्पको डिस्प्लेमा देखाइएभन्दा कम तेल वितरण गर्न मिल्ने गरी मदर बोर्डमा सफ्टवेयर जडान गरी ठगी गरेको विषय बाहिर आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहन छानबिन सुरु गरेको हो ।
उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले छानबिन चाँडै टुंग्याएर ठगी गर्ने सबै पम्पलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने बताए । ‘मैले न्युजमा हेरे, निकै चलाखी गरेर उपभोक्तालाई ठगी गरिरहेको पम्पहरूलाई हाम्रो टिमले समात्यो,’ मन्त्री यादवले भने, ‘हाम्रो टिम निकै समयअघिबाट यो ठगी पत्ता लगाउन लागिपरेको थियो । अहिले सफल भएको छ ।’
आँखाले सोझै देख्न नसकिने सफ्टवेयर ‘मदरबोर्ड’मा जडान गरी ३–४ प्रतिशत तेल ठगी गर्दै आएको तथ्य गुणस्तर तथा नापतौल विभागले आइतबार पत्ता लगाएको थियो । त्यसपछि मन्त्री यादवले तेलमा ठगी गर्नेलाई कारबाही गर्ने मात्र होइन, ठगीको जालो पत्ता लगाई संलग्न सबैलाई कारबाही गर्न सोमबार र मंगलबार बैठक बोलाएका थिए । सो बैठकमा उनले प्रविधिको बढ्दो प्रयोगसँगै गलत नियत राख्नेहरूले उपभोक्ता ठगी गरिरहेका कारण चनाखो भई कारबाही गर्न निर्देशन दिएका छन् ।
बैठकमा सहभागी गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवेयरमार्फत इन्धन ठगी गर्ने पम्पको सूक्ष्म अनुसन्धान सुरु भएको बताए । ‘हामीले काठमाडौंको सानो भ-याङमा रहेको बंगलामुखी आयल स्टोरले सफ्टवेयरमार्फत तेल ठगी गरेको पत्ता लगाइसकेका छौँ र यसरी ठगी गर्ने पम्प देशभर १५ प्रतिशत रहेको अनुमान छ,’ उनले भने, ‘ती सबैलाई कारबाहीको दायरामा ल्याउन सूक्ष्म अनुसन्धान थालेका छौँ ।’ गुणस्तर विभागले सफ्टवेयर कसरी पम्पमा जडान हुन्छ भन्ने कुराको अध्ययन थालेको छ ।
बारामा पत्ता लागेको थियो ठगी धन्दा
पम्प सञ्चालकले मदरबोर्डमा सफ्टवेयर राखेर इन्धन ठगी गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, बाराले पत्ता लगाएको थियो । कार्यालय प्रमुख शशिभूषण यादवले दसैँअघि कलैयास्थित विजय आयल स्टोर, अमित आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र स्वस्थानी आयल स्टोरमा अनुगमन गरी सफ्टवेयरमार्फत ठगीको आशंका गरेका थिए । गत आइतबार काठमाडौंको सानो भ-याङमा विभागको टोलीले बंगलामुखी आयल स्टोरमा अनुगमन गरी सफ्टवेयरमार्फत ठगेको प्रमाणित गरेको थियो ।
बंगलामुखीकै शैलीमा बाराका पम्पले ठगेको पाएपछि उनीहरूले पनि सफ्टवेयर प्रयोग गरेको विभागको ठहर छ । बाराको पम्पले १० लिटर तेल बिक्री गर्दा सफ्टवेयरमार्फत करिब आधा लिटर तेल कम दिने गरेको अनुगमनबाट फेला परेको थियो ।
अरनिका ट्रेडर्सबाट पम्प आयात बन्द गर्न निर्देशन
गुणस्तर तथा नापतौल विभागले बाराको ५ र काठमाडौंका १ वटा पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको फेला पारेको थियो । ती सबै पम्प वीरगञ्जस्थित अरनिका ट्रेडर्सले उपलब्ध गराएको किल्बर ब्रान्डका हुन् । उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले सो कम्पनीबाट तत्काल पम्प आयात गर्न बन्देज लगाउने निर्णय भएको जानकारी दिए ।
‘एउटै कम्पनीले बिक्री गरेका पम्पहरूबाट सफ्टवेयर राखी ठगी भएको देखिन्छ, त्यहाँबाट अन्य व्यवसायीले पनि खरिदका लागि अर्डर गरेको हुन सक्छ । त्यसैले, तत्काल सो कम्पनीबाट कुनै पनि पम्प खरिद नगर्न आयल निगममार्फत व्यवसायीलाई निर्देशन भएको छ,’ मन्त्री यादवले भने ।
मन्त्री यादवले आयातकर्ता कम्पनी वा पम्प सञ्चालक कसले बदमासी गरेको भन्ने पत्ता लगाउनु जरुरी भएको बताए । स्रोतका अनुसार अरनिका टे«डर्सले नै ठगी गर्ने सफ्टवेयर जडान गरेर पम्प उपलब्ध गराएको छ ।
ठगहरूलाई चाँडै सार्वजनिक गछौँमातृकाप्रसाद यादव, मन्त्रीउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
पम्पहरूले उपभोक्ता ठगिरहेको जानकारीमा आएपछि हाम्रो टिमले निगरानी बढाएको थियो । ठगीको तरिका पत्ता लगाउन ३–४ महिना लाग्यो । पम्पमा अलग डिभाइस होइन, कुनै सफ्टवेयर राखेर ठगेको पत्ता लागेको छ ।
प्रविधिको दुरुपयोग गरी उपभोक्ता ठग्ने गरेको पाएपछि अहिले व्यापक रूपमा अनुगमन थालिएको छ । बदमासी गर्नेहरूलाई कानुनको दायरामा ल्याएर कडा कारबाही हुन्छ । केही दिनमै उपभोक्ता ठग्नेहरू सार्वजनिक हुन्छन् ।नयाँपत्रिकाबाट


