नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन ?



 

माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् ।

 

त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गर्नुपर्ने भएको छ ।

 

यदि आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिको रक्षा गर्ने मुलुक गरिब हुन्थे भने संसारका सबैभन्दा गरिब मुलुकको कोटिमा डेनमार्क, लक्जेमबर्ग, स्वीडेन, बेलायत र नर्वेजस्ता देशहरू पर्नुपर्दथ्यो । आधुनिकताको नाममा विदेशी धर्म, परम्परा, संस्कृति र पद्धति अपनाएकै आधारमा समृद्धि प्राप्त हुन सक्थ्यो भने यतिबेला विश्वको धनाढ्य मुलुकको रूपमा कङ्गो स्थापित हुनुपर्ने थियो ।

 

कङ्गोले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा परित्याग ग¥यो । बेलायती इसाई मसिनरीहरूले धर्मान्तरण गराउँदै जाँदा आधुनिकता र क्रान्तिकारिताका नाममा त्यसलाई स्वीकार गर्दै कङ्गोली जनता अघि बढे । कङ्गोसँग पर्याप्त खेतीयोग्य जमिन छ, जलस्रोतमा धनी देशका रूपमा पनि कङ्गोलाई लिइन्छ ।

 

वनजङ्गलमा समृद्ध मानिने कङ्गोमा युरेनियम, हीरा, सुन, तामा, कोबाल्ट र तेलखानीहरू रहेका छन् । प्राकृतिक स्रोतसाधनले सम्पन्न कङ्गोसँग सङ्घीय संरचनासहितको लोकतान्त्रिक गणतन्त्र पनि छ । यी सबै ‘अवयव’हरूले सुसज्जित कङ्गो विश्वको सबैभन्दा गरिब देशको रूपमा रहेको छ, किन होला प्रचण्ड–बाबुराम ?

 

राजनीतिक प्रणाली सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र, विदेशीको साथ–सङ्गत र पराया धर्म–संस्कृतिको अवलम्बन गरिँदा–गरिँदै पनि प्राकृतिक स्रोतसाधनसम्पन्न कङ्गोको प्रतिव्यक्ति आय अमेरिकी डलर चार सय अठसठ्ठी मात्र किन छ र ऊ विश्वको सबैभन्दा गरिब मुलुक किन बन्यो प्रचण्ड–बाबुराम ? भन्न सकिएला, त्यहाँका विशिष्टताहरूको अध्ययन गरेर मात्र समस्या पहिचान गर्न सकिन्छ ।

 

तर, समग्रतामा हेर्दा कङ्गोले भोगिरहेको वर्तमानभन्दा धेरै भिन्न वर्तमान हामी भोग्दै छैनौँ । कङ्गो मात्र होइन, अफ्रिकाका सबै मुलुकले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा छोडी विदेशी धर्म–संस्कृति अपनाएका छन् । आफ्ना भाषालाई पन्छाउँदै अङ्ग्रेजी, फ्रेन्च र पोर्चुगिजजस्ता भाषालाई सरकारी कामकाजको भाषा बनाएका छन् ।

 

यति सब गरिसकेपछि विश्वका गरिब नागरिकको पहिचान पनि अफ्रिकीहरूले नै बनाएका छन् । संसारका सबैभन्दा गरिब दश मुलुकमध्ये पाँचवटा अफ्रिकाका मात्र छन् । कङ्गो, मोजाम्बिक, युगाण्डा, इथियोपिया र तान्जिानिया सबैले आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा र भाषा छोडेर पराया धर्म–संस्कृति अपनाएका छन् ।

 

एथियोपियाले सरकारी कामकाजको भाषाचाहिँ आफ्नै मौलिक भाषा बनाएको छ । दक्षिण अफ्रिकासहित अफ्रिकी महादीपका अधिकांश मुलुकले आफ्नो धर्म छोडेर इसाई धर्म अपनाएका छन्, उनीहरूको मौलिक संस्कृति, परम्परा र धर्म विशेष ढङ्गले संरक्षण गर्नुपर्ने तहमा पुगेको छ ।

 

अधिकांश अफ्रिकी देशहरूले भाषा पनि विदेशी नै अपनाएका छन् । मोजाम्बिक र अङ्गोलाले पोर्चुगिज तथा सेनेगल, ¥वाण्डा, मरिसस, मालावी, मदागास्कर, आइभरीकोष्ट, ग्यावोन, क्यामरुन र बेनिनले फ्रेञ्च भाषा प्रयोगमा ल्याएका छन् । त्यस्तै, बोत्स्वाना, घाना, केन्या, लेसोथो, नामिबिया, नाइजेरिया, तान्जानिया, युगाण्डा र जाम्बियाले चाहिँ अङ्ग्रेजीलाई आधिकारिक भाषा बनाएका छन् ।

 

यसरी आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र स्वाभिमान मेटेर विदेशी संस्कृति भित्र्याउँदा पनि कुनै अफ्रिकी मुलुक समृद्ध बनेका छैनन् । बरु अहिले पनि सर्वाधिक अशान्त, अस्थिर र गरिब मुलुकको रूपमा तिनले आफ्नो पहिचान राखेका छन् ।

 

प्राकृतिक स्रोत, विदेशी सङ्गत, विदेशी धर्म–संस्कृति र प्रजातान्त्रिक प्रणाली अपनाएकै आधारमा कुनै मुलुक समृद्ध बन्न सक्थे भने अहिले विश्वका सर्वाधिक धनाढ्य एवम् सभ्य मुलुकको कोटिमा अफ्रिकाका यिनै (उल्लिखित) देशहरू परेका हुन्थे, होइन र ?

 

कुनै पनि मुलुकको स्वाभिमान, पहिचान र अस्तित्व मेट्न सबैभन्दा पहिले त्यहाँको धर्म, संस्कृति, परम्परा, भाषा र राष्ट्रियता एवम् राष्ट्रिय एकताका आधारहरूको पहिचान गरी नामेट तुल्याउनुपर्ने हुन्छ । सिङ्गै अफ्रिकी महादीपलाई आफ्नो काबुमा लिन पश्चिमाहरूले यस्तै रणनीतिक चाल चलेका हुन् ।

 

दक्षिण अफ्रिकालाई गोराहरूले आफ्नो जालमा पार्नुअघि त्यहाँको मौलिक धर्म, परम्परा, संस्कृति, रीतिरिवाज र चाडपर्व विस्थापित गरिदिएका थिए । बुरुण्डी र रुवाण्डादेखि अफगानिस्तानसम्म उनीहरूले अपनाएको नीतिको अध्ययन गरियो भने पर्याप्त समानता भेटिन्छ ।

 

धर्म परिवर्तनको व्यापक अभियान चलाउने, बहुसङ्ख्यकका विरुद्ध अल्पसङ्ख्यक समुदायलाई मोर्चाबद्ध तुल्याउने, आधुनिकता, मानवअधिकार र टे«ड युनियन अधिकारका नाममा आफ्ना एजेण्डाहरू बोकाउने र अस्थिरता एवम् अराजकताका बीच आफ्नो भूमिका स्थापित गर्ने चालबाजी अन्य मुलुकहरूमा जसरी गरिएको थियो ठीक त्यही रणनीति नेपालमा पनि अवलम्बन गरिएको हो । विदेशी खुराकमा जीविका चलाउन थालेपछि हामीभित्रैका कैयन मान्छे अराजक र सबै मूल्य–मान्यता भङ्ग गर्ने गरी अनुशासनहीन बनेका छन् ।

 

देवता नमान्ने, पितृ नमान्ने, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज नमान्ने, जुन अवस्था यहाँ बनाइएको छ यो नै देश मेट्ने अभियानको थालनी हो । देश मेट्नु भनेको सिमाना मेट्नु मात्र होइन, मन–मनबाट देश मेटिएपछि सिमाना मेट्न कुनै ठूलो बल लगाइरहनुपर्दैन । मनमा देश बाँच्यो भने सिमाना सुनिश्चित नभए पनि देश बाँचिरहन्छ भन्ने दृष्टान्त प्यालेस्टेनीहरूले स्थापित गरिसकेका छन् ।

 

नेपालमा नेपाल मेट्ने नियोजित प्रयास धेरै अघिदेखि गरिएको भए पनि २०६३ (वि.सं.) को परिवर्तनसँगै त्यसका निम्ति भएका सङ्गठित र योजनाबद्ध प्रयासहरू सतहमा देखापरेका हुन् ।

 

नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको आधार भनेका अनौठो भूगोल (हिमाल, पहाड र तराईको बनोट) प्रतिको ममता (१), सगरमाथा (२), हिन्दूराष्ट्र (३), नेपाली भाषा (४), राजसंस्था (५), टोपी (६), बुद्ध र लुम्बिनी (७), राष्ट्रिय राजनीतिक दल (८), क्षेत्री, ब्राह्मण र नेवारको विस्तारित बसोवास (९), मौलिक संस्कृति, रीतिरिवाज र परम्परा (१०), तथा नेपाली राष्ट्रिय सेना (११) हुन् ।

 

२०६३ (वि.सं.) को परिवर्तनपछि नेपाल र नेपाली राष्ट्रियता एवम् राष्ट्रिय एकताका आधारहरू योजनाबद्ध रूपमा छिमल्ने प्रयास हुँदै आएका छन् । जुन राजाले देशको स्थापना गरे तिनै राजाका वंशज (उत्तराधिकारी) ले राज गरेको विश्वमा एउटै मात्र मुलुक नेपाल थियो र, सबै जाति, भाषिक, क्षेत्रीय र धार्मिक समुदायले साझा संस्थाका रूपमा राजसंस्थालाई स्वीकार गरेका थिए । त्यसैले राजसंस्था नेपालको पहिचान तथा राष्ट्रिय एकताको आधार बनेको थियो, त्यसलाई सिध्याइयो ।

 

नेपालीहरू राजाबाट प्रजातन्त्र सुरक्षित राख्न नसकेकोमा चिन्तित थिए, राजसंस्था अस्तित्वमा रहिन्जेल नेपाल मेट्न मुस्किल हुने निष्कर्ष निकालेर बसिरहेका विदेशीहरूले नेपालीको यही चिन्तासँग आफूलाई एकाकार गरे । नेपालीहरू प्रजातान्त्रिक अधिकार सुरक्षाका लागि राजासँग लडिरहँदा विदेशीहरू राष्ट्रियता सिध्याउने कपटी उद्देश्यका साथ राजाविरुद्धको सङ्घर्षमा सामेल भएका थिए ।

 

त्यस्तै विश्वको एक मात्र हिन्दूराष्ट्रको रूपमा नेपालको पहिचान स्थापित भएको थियो । विश्वले नेपाललाई चिन्ने सगरमाथा र बुद्धभूमिका रूपमा त हुँदै हो, त्यसबाहेक हिन्दूराष्ट्रका रूपमा हाम्रो बेग्लै विशिष्टता स्थापित भएको थियो । किराँत र बौद्ध धर्म नेपालको मौलिक धर्म हुन् ।

 

तथापि, नेपालभित्र तराई, पहाड र हिमाल जोड्ने सबैभन्दा प्रभावकारी सूत्र पनि हिन्दुत्व नै हो र, हिन्दूराष्ट्रप्रतिको गौरवभाव हिमाली, पहाडी र तराईवासीहरूमा समतुल्य थियो, रहनेछ । नेपालको विश्व पहिचान र नेपाली राष्ट्रियताको बलियो आधार मेट्न यसलाई हिन्दूराज्यबाट धर्मनिरपेक्षमा रूपान्तरण गरियो ।

 

नेपाली राष्ट्रिय एकताको अर्को आधार नेपाली भाषा हो, सङ्घीय राज्य प्रणाली थोपर्ने क्रमसँगै प्रदेशहरूलाई कामकाजको भाषा तय गर्न पाउने अधिकार निश्चित गरिएको छ । यही संवैधानिक अधिकारमा टेकेर दुई नम्बर भनिने प्रदेशले त्यहाँबाट नेपाली भाषा मेट्ने निरन्तर प्रयास गरिरहेको छ ।

 

देशका पचास प्रतिशतभन्दा बढी जनताको मातृ भाषाको रूपमा रहेको नेपाली नबुझ्ने नेपाली धेरै कम (अर्थात् दुई प्रतिशतभन्दा पनि कम) मात्र रहेका छन् । अफ्रिकी मुलुक घानामा सबैले बोल्ने र बुझ्ने आफ्नो भाषा हुँदाहुँदै आन्तरिक द्वन्द्वका कारण घाना आज अङ्ग्रेजीलाई आधिकारिक भाषा बनाउन बाध्य भएको छ ।

 

आफ्नो अस्वीकार गर्ने तर पराया योजनामा रमाउनेहरूले नेपालमा नेपाली भाषामाथि निरन्तर प्रहार गर्नुको मूल कारण पनि नेपाली राष्ट्रियतालाई लुलो बनाउनकै लागि हो भन्नेमा द्विविधा राखिरहनु नपर्ला ।

 

नेपाली राष्ट्रियताको एउटा अर्को आधार टोपी पनि हो । पूर्वका राई–लिम्बूको साकेला नृत्यमा होस् या गुरुङले रोदी नाच्दा होस् या मगर र नेवारले आफ्नो सांस्कृतिक परम्परा प्रस्तुत गर्दा होस् या सुदुरपश्चिमवासीले देउडा गाउँदा होस् सबैले आ–आफ्ना रैथाने (जातीय) पोसाकका साथ शिरमा नेपाली टोपी पहिरिएका हुन्छन् । यसले नेपाली टोपी नेपाली राष्ट्रियताको पहिचान भएको पुष्टि गर्दछ ।

 

तर, दुई नम्बर भनिएको प्रदेशमा नेपाली टोपी बर्जित गर्ने घोषणा भएको छ । यतिसम्म कि प्रदेश सभामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत नेपाली पोसाकका साथै टोपी प्रयोग गर्न नपाइने भनिएको छ । यसलाई नेपाली राष्ट्रियता मेट्ने नियोजित चालका रूपमा बुझ्न मिल्ने कि नमिल्ने ?

 

राष्ट्रिय एकता र राष्ट्रियताको अर्को आधार राष्ट्रिय राजनीतिक दलहरू हुन् । दलहरूले देशका कुना–कुनासम्म आफ्नो साङ्गठनिक सञ्जाल विस्तार गर्ने र राष्ट्रिय एजेण्डाहरू पुऱ्याउने काम गर्ने हुनाले राष्ट्रिय राजनीतिक दलहरूलाई राष्ट्रिय एकताको आधार मानिएको हो ।

 

तर, २०६३ को परिवर्तनपछि जाति एवम् क्षेत्रीयतामा आधारित समूहलाई प्रोत्साहित गर्ने कार्य हुँदै आएको छ । राष्ट्रिय राजनीतिक दलहरूलाई कमजोर तुल्याइनु भनेको यसर्थमा यहाँ नेपाली राष्ट्रियता एवम् राष्ट्रिय एकतालाई नै कमजोर तुल्याउने प्रयासका रूपमा बुझ्नुपर्ने हुन्छ ।

 

राष्ट्रियताको अर्को आधार राष्ट्रिय सेना हो, २०६३ को परिवर्तनयता विकास निर्माणका नाममा अर्बौंको योजना–परियोजना सेनालाई जिम्मा लगाएर सैन्य नेतृत्वको ध्यान राष्ट्र र राष्ट्रियताबाहेकका विषयतिर मोड्ने नियोजित प्रयास भइरहेको राष्ट्रियता र राष्ट्रिय एकतामा आइपरेका सङ्कटका विषय सेनालाई सचेत नतुल्याउने तर अर्बौंका आयोजना सम्पन्न कुनै विलम्ब नगर्ने जुन चाल यहाँ चलिरहेको छ, यसमा शङ्का गर्नु नपर्ने अवस्था हुँदै होइन । सेनालाई मूल कर्तव्यबाट च्यूत गराउनु भनेकै राष्ट्रियता र राष्ट्रिय एकता कमजोर तुल्याउने प्रयत्न हो भन्ने बुझ्नुपर्दछ ।

 

नेपालको एकीकरण र यसको ऐतिहासिक विकासक्रममा सबै नेपालीले कुनै न कुनै रूपमा योगदान पुऱ्याएका छन् । मगर, गुरुङ, क्षेत्री, ब्राह्मण, राई, लिम्बू, थारू, यादव, दलित राजवंशी, मैथिल ब्राह्मण, नेवार र तामाङलगायत सबै जातिले नेपालको एकीकरणमा विशिष्ट ढङ्गले आफूलाई सहभागी गराएका थिए ।

 

क्षेत्रीहरूको नेतृत्वदायी भूमिकामा मगर र गुरुङले यो देशका निम्ति अधिक रगत बगाएका छन् भन्न कञ्जुस्याइँ गर्नुहँुँदैन । काठमाडौं उपत्यकाका नेवार र पूर्वी नेपालका राई–लिम्बूहरूले बेग्लै ढङ्गले नेपालको एकीकरणलाई सघाएका हुन् । तर, विस्तारित बसोवासका कारण क्षेत्री, नेवार र ब्राह्मणहरूले राष्ट्रिय एकतामा पृथक् देन दिएका छन् ।

 

देशमा हरेक व्यापारिक नाका र केन्द्रमा नेवारहरू पुगेका छन् । हाल कायम गरिएको ७५३ राजनीतिक संरचना (गाउँ तथा नगरपालिका) मा नेवार, क्षेत्री र ब्राह्मणको बसोवास रहेको भेटिन्छ । यसले पनि राष्ट्रियता र राष्ट्रिय एकतामा विशिष्ट योगदान पुऱ्याइरहेको छ ।

 

ताप्लेजुङको ब्राह्मणको वैवाहिक सम्बन्ध कञ्चनपुरमा हुनु या झापाको क्षेत्रीले बैतडीका क्षेत्रीसँग पारिवारिक सम्बन्ध जोड्नु या डोटी र इलामका नेवारबीच वैवाहिक सम्बन्ध कायम हुनु भनेको पनि राष्ट्रिय एकतामै योगदान पुऱ्याउनु हो ।

 

यसरी अन्य जातिले पनि योगदान नपुऱ्याएका होइनन्, क्षेत्री, ब्राह्मण र नेवारको बसोवास अलिक ज्यादा विस्तारित भएकोले योगदान पनि उनीहरूकै बढी ठहरिन पुगेको हो । तर, २०६३ को परिवर्तनपश्चात् क्षेत्री र ब्राह्मण समुदायलाई एक्ल्याउन अनेकौँ नियोजित प्रयास हुँदै आएका छन् ।

 

नश्ल, वर्ण, धर्म, वेशभूषा, भाषा, संस्कार, संस्कृति, परम्परा, सोच, बसोवास, रहनसहन, समस्या र समाधानसमेत नमिल्ने मधेसी र जनजाति समुदायबीच एकताको नारा दिनु तथा देशको सबैभन्दा समृद्ध मानिने नेवार समुदायलाई जनजातिमा रूपान्तरण गर्नु भनेको क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामीलगायतका समुदायविरुद्ध मोर्चाबन्दी गर्नु हो । यसप्रकारको मोर्चाबन्दीले राष्ट्रियता एवम् राष्ट्रिय एकता दुर्बल तुल्याउने र गृहयुद्धको स्थिति पैदा गर्ने निश्चित छ ।

 

बुरुण्डी र रुवाण्डमा झैँ अफगानिस्तानमा जसरी बहुसङ्ख्यकविरुद्ध अल्पसङ्ख्यकलाई मोर्चाबद्ध गरी गृहयुद्धको विजारोपण गरिएको थियो, ठीक त्यस्तै अभ्यास नेपालमा पनि गर्न खोजिएको हो ।

 

अफगानिस्तानको बहुसङ्ख्यक पस्तुन (साठी प्रतिशतभन्दा बढी) विरुद्ध अल्पसङ्ख्यक समुदायलाई उचालेकै शैलीमा नेपालको ठूलो समुदायका विरुद्ध अल्पसङ्ख्यक समुदायहरूलाई मोर्चाबन्दी गर्नु भनेकै नेपाली राष्ट्रियता र राष्ट्रिय एकता बिथोल्न खोज्नु हो ।

 

यसबाहेक हाम्रा परम्परागत संस्कृति, सामाजिक एवम् पारिवारिक मूल्य–मान्यताहरूलाई ध्वस्त बनाएर विदेशी संस्कृति र परम्परा अनुकूलताका प्रावधानहरू कानुनमा समेत समेटिएका छन् ।

 

नेपाल मेट्न भइरहेका यसप्रकारका षड्यन्त्रप्रति नेपाली जनता अनभिज्ञ रहेको मान्ने हो भने पनि नीति निर्माण तहमा रहेकाहरू जगैदेखि नेपाल भत्काउने नियोजित खेलमा सामेल भइरहेका छन् ।

 

विश्वमा राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरू बलियो र अधिक रहेको मुलुकका रूपमा नेपाललाई लिइन्थ्यो । कुनै बेला स्टालिनले सोभियत सङ्घको राष्ट्रिय एकताको आधार नभेटेपछि उनले रसियन भाषालाई एकताको आधार बनाउन सबै पन्ध्रवटै राज्यमा अनिवार्य गरिएको थियो ।

 

सबैको साझा भाषाको रूपमा रसियन भाषालाई विस्तार तथा विकास गर्न स्टालिनले गरेको प्रयास सन् १९८६ मा मिखाइल गोर्वाचेवले अन्त्य गरिदिएपछि सोभियतसँग टुक्रिएर पन्ध्र राज्यमा विभाजित भएको तथ्यलाई हामीले भुल्नुहुँदैन ।

 

नेपालमा २०६३ को परिवर्तनपश्चात् नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकताका आधारहरूलाई जसरी ध्वस्त पारिँदै छ । यदि एकताका आधारहरूको पुनरोत्थान गर्न समयमै सकिएन भने भोलिको पुस्ताले नेपाललाई युगोस्लाभिया या सुडान र इथियोपियालाई झैँ पढ्नुपर्नेमा शङ्का गरिरहनुपर्ने छैन ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा