राष्ट्रकवि घिमिरे जीवनको सयौँ बसन्तमा



हाम्रो इकोनोमि

 

फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला नि बरै यो जिन्दगानीमा ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो चर्चित गीत उनको आफ्नै जीवनमा भने मेल खाँदैन । उनको जीवनको थुँगा सधैँ फक्रिइरह्यो ।

 

सधैँ भेटिइरहे, उनी कतै किताबका पानामा, कतै शोधपत्रमा त कतै साहित्यिक माहोलमा । यतिमा मात्रै सीमित भएनन्, राष्ट्रकवि घिमिरे यसरी भेट भइरहे कि सय वर्षसम्म उस्तै ऊर्जाका साथ धर्तीले उनका पैतालाको स्पर्श पाइरह्यो । अझै पाइरहनेछ ।

 

सय वर्षसम्म पनि समयको पिचमा जीवनको ‘ओभरहीन बलिङ’ यसरी गरे कि उनका हरेक बलले मृत्युको स्टम्प ढालिरह्यो । अहिले उनले सयौँ विकेट लिएर दुर्लभ रेकर्ड कायम गरेका छन् । र, उनको सामु नतमस्तक छ, साहित्यिक दुनियाँ ।

 

०००
राष्ट्रकवि माधव घिमिरेले कति लेखे भनेर कसैले हिसाबकिताब गर्दैन । बरु, उनले लेखेका कविता र गीतले कति मानिसको जीवनमा प्रेम र मानवताको खेती ग-यो, कति मानिसको दिमागमा चेतनाको बिउ रोप्यो, त्यसको खोजी पक्कै हुन्छ ।

 

संसारका थोरै मानिस त्यस्ता हुन्छन्, जसले जीवनको ओलम्पिकमा महानताको झन्डा बोकेर मार्चपास गर्छन् । राष्ट्रकवि घिमिरेले त मार्चपास मात्र गरेनन्, नेपाली साहित्यलाई एउटा उचाइमा पु-याएर गोल्डमेडल नै जिते । जसका कारण नेपाल र नेपाली रहेसम्म बाँचिरहने वातावरण बन्यो :

 

नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे
जबसम्म नेपाल रहन्छ, त्यतिवेलासम्म माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको काव्य सिर्जना बोकेर हरेक नेपालीको दिलमा बसिरहनेछन् ।

 

०००
उमेरको सयवटा लठ्ठी टेकेर उनी आइपुगेका छन्, जीवनको अग्लो चुचुरोमा । तर, थाकेका छैनन्, उनी अझै हिँडिरहेका छन्, हिँडिरहनेछन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जति नै लामो जीवनको यात्रा गरे पनि कहिल्यै एक्लै यात्रा गरेनन् ।

 

उनको साथमा सधैँ कविता, गीतको पोको पुन्तुरो थियो, छ र हुनेछ । त्यति मात्र होइन, उनले खनेको या उनी हिँडेको गोरेटोमा आइरहेछन्, धेरै पैतालाहरू, जसले गोरेटोलाई सडक बनाउनेछ र हुइँकिनेछ, नेपाली साहित्यको गाडी सानका साथ ।

 

मानिस के चाहन्छ ? यसको उत्तर मानिसपिच्छे फरक होला । जवाफ पाउनका लागि पनि उनीहरूलाई सोध्नैपर्छ । तर, माधवप्रसाद घिमिरे यस्तो समय बाँचिरहेछन्, जसले उत्तर दिइरहनुपर्दैन, उनका सिर्जनाहरूले नै दिन्छ, दिइरहनेछ । उनी अझै सिर्जनाको महासागरमै हेलिइरहेका छन् ।

 

‘ऋतम्भरा’ महाकाव्य आउँदै छ । लेखिसक्न लागेका छन् । आधा जीवन पनि बाँच्न नसकी निराश हुनेहरूका लागि गतिलो उदाहरण बनेका छन्, राष्ट्रकवि । जसका आँखामा अझै दशकौँसम्म सपनाहरू फुल्नेछन् । ती फुलेका सपनाले नेपाली साहित्यको बगैँचामा अझै धेरै फूल फुलाउनेछन् ।

 

जीवनको ब्याट घुमाएर शतक हानिसके । अझै ब्याटिङ गरिरहेका छन् । लाग्छ, उनी अझै चार–पाँचवटा छक्का हान्नेछन्, तर ‘क्रिज’मै रहनेछन् । कहिल्यै आउट हुने छैनन् । न त कुनै बलरले नै आउट गर्न सक्नेछन् ।

०००
असोज ७ गते (आज) सयवर्ष पुग्दै छन् । तर, ऊर्जा भने ४० वर्षको युवाको जस्तो छ । माधव घिमिरेलाई भेट्ने हरेकले भन्ने गर्छन्, ‘उहाँको स्मरण शक्ति त बाबै !’ अनि जिब्रो टोक्छन् ।

 

लैनचौरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासमा शुभचिन्तकको घुइँचो छ । असोज ७ गते उनको सयौँ जन्मदिन हो । तर, ६ गते नै उनलाई बधाई दिनका लागि मानिस आइरहेका छन् । मानिसका आँखा राष्ट्रकवितिरै छन् ।

 

सबै मानिसको आँखामा प्रस्टै देखिन्छ, सम्मानको पुष्पगुच्छा । उनीहरूको अनुहार पढ्दा लाग्छ, उनीहरूले ईश्वरलाई भेटिरहेका छन् । कविताको ईश्वर, जसको अगाडि नेपाली साहित्यलाई प्रेम गर्नेहरू शिर झुकाउँछन्, आदर र सम्मानका साथ ।

 

ठूूलो तीनतले घरभित्र छिर्ने भित्री गेटको दुवैपट्टि हात्तीहरू उभिएका छन् । हात्तीका ती मूर्तिलाई छिचोलेर पार गरेपछि एउटा कोठा आउँछ, जहाँ राष्ट्रकविको अर्धकदको सालिक छ । विभिन्न भावभंगीमाकका तस्बिर छन् । कतै मुस्कुराइरहेका छन्, कतै सोचमग्न छन् । लाग्छ, उनी नयाँ कविताको हरफ सोचिरहेका छन् ।

 

रातो छिर्केमिर्के सोफा छ । दाहिनेपट्टि महाकाली घिमिरे बसेकी छिन्, जसले माधवप्रसाद घिमिरेसँग करिब सात दशक जीवनको रथ सँगै गुडाइन् । र, गुडाइरहेकी छिन् । उनी पनि यही भाद्र १२ गते ८४ पुगिन् । यही असोज ७ गते नै उनी सहस्र चन्द्र दर्शन गर्दै छिन् । कथन छ, ८४ पुगेपछि पूर्णिमाको चन्द्रमा मान्छेले हजारौँपटक देखिसकेको हुन्छ ।

 

संयोगवश, ७ गते नै राष्ट्रकवि घिमिरे १०० वर्ष पुग्दै छन् । राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले भनिन्, ‘म ८४ वर्ष भएँ र उहाँ १०० वर्ष हुनुभो । यो एकदमै थोरैको भाग्यमा मात्र हुन्छ ।’ उनले यसो भन्दै गर्दा उनको अनुहारमा जीवनप्रतिको चरम सन्तुष्टि झल्किएको थियो ।

 

०००
आफू यति धेरै सफल हुनुमा दुई कुराले काम गरेको राष्ट्रकवि बताउँछन् । एउटा लक्ष्यप्रतिको समर्पण र अर्काे स्वास्थ्यप्रतिको सचेतनाले गर्दा सय वर्षसम्म संसारमा रहेको उनी बताउँछन् ।

 

उनीप्रतिको सदाशयता र सम्मानका कारण त्यति धेरै मान्छे उनलाई भेट्न आइरहेका छन् । उनीहरूले महान् भनिरहेका छन् । तर, राष्ट्रकवि आफैँले आफैँलाई महान् भन्न नमिल्ने बताउँछन् । ‘म आफैँले भन्ने कुरा होइन, त्यो । सबैले मन पराइराखेका छन् ।

 

कसैले नराम्रो भनेका छैनन् । आज पत्रिकामा सबैले लेखेका छन्,’ उनी थप्छन्, ‘कसैले अलि प्रगतिशील भएन भन्लान्, कसैले राजावादी भन्लान्, अब राजावादी त सबै थिए । को राजावादी, नराजावादी । कविले कसैलाई वास्ता गर्दैन । आफू लेख्छ । म आफ्नो सिर्जनाको काम गर्छु ।’

 

आठ दशकसम्म सक्रिय लेखनमा बाँचिरहेका छन् । एउटा मान्छे कवि, मानवीय हुनका लागि सबैभन्दा ठूलो कुरा आफू के गर्न सक्छु भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताउँछन् । आफूले ‘ऋतम्भरा’ महाकाव्य सकाएपछि भने आए लेख्ने, नआए नलेख्ने बताउँछन्, उनी ।

 

कवि लेखक सबै सत्ताइतर रहनुपर्छ भन्ने गरिन्छ । उनी भन्छन्, ‘तर, कवि सत्ताको विरोधी पनि होइन, समर्थक पनि होइन । बिहानको उज्यालोको कविता उसले लेख्छ भने कुन सत्ताको विरोध गर्ने ?’

 

उनी घरीघरी लठ्ठी समात्थे । घरी छाड्थे । हत्केला उठाएर बोल्थे । उनलाई हेर्दा लाग्थ्यो, उनी अझै युवा नै छन् । सय वर्ष त परको कुरा । उनले भने, ‘पृथ्वीनारायणलाई राष्ट्र निर्माता भन्ने पहिलो व्यक्ति म नै हुँ । तर, ‘राष्ट्र निर्माता’ खण्डकाव्यमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई मात्र भनेको थिइनँ । त्यो संसारभरका सबै राष्ट्र निर्मातालाई भनिएको थियो ।’

 

राष्ट्रकवि माधव घिमिरेलाई प्रकृति पूजक भन्छन् । माटोका गायक भन्छन् । कारण उनले लेखेका अधिकांश कविता पहराको छातीबाट छङछङ खसेका झरनाजस्ता छन् । जलवायु परिवर्तनले गरेको असरप्रति उनी भन्छन्, ‘मेरो हिमाल पग्लिँदा मेरो मन दुख्छ । प्रकृति दुखिरहेका छन् ।

 

आज अणु भट्टी बिग्रियो भने अमेरिकाले आफैँलाई पनि ध्वस्त हुनबाट रोक्न सक्दैन ।’ राष्ट्रकविलाई सोधियो, ‘तपार्इंले यति लामो सामयसम्म आइपुग्दा उहाँ (धर्मपत्नीतिर देखाउँदै)लाई एक वाक्यमा परिभाषित गर्नुप-यो भने कसरी गर्नुहुन्छ ?’ जवाफ थियो, ‘उनी एउटा काँध हुन् र म अर्को काँध हुँ ।

 

हामी दुवै एक–अर्काका परिपूरक हौँ र जिम्मेवारी पनि आधा–आधा छ ।’ करिब ५ बजेतिर सिस्नुपानी नेपाल टिम राष्ट्रकविको घरमा आइपुगेको थियो । उनीहरूले दियो बाल्दै, त्यसलाई मिलाएर ‘१०० वर्ष’ बनाएर राखेका थिए ।

 

राष्ट्रकविलाई भित्रबाट बाहिर ल्याइयो । सोफामा राखियो । फूलको माला पहि-याइयो, राष्ट्रकवि र उनकी धर्मपत्नी महाकालीलाई । उनीहरू भर्खर बिहे गरेका बेहुला–बेहुलीजस्ता देखिए ।

 

राष्ट्रकविलाई सिस्नुपानी नेपालले उपहार दियो, सेतो प्लास्टिकको झोला । उनले ‘खोलेर हेरूँ ?’ भने । खोलेर हेरे, हाइनेक थियो । उनले त्यसलाई हेर्दै गर्दा सिस्नुपानी नेपालका कार्यक्रमका संयोजक टंकराज आचार्यले भने, ‘अब यो हाइनेक नफाटेसम्म लगाइरहनुपर्छ ।’ उपस्थितबीच हाँसोको फोहोरा छुट्यो । हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नांगे, गायक शिशिर योगी, कवि रामप्रसाद ज्ञवाली, मोमिलालगायतले कविता सुनाए ।

 

बाँसुरीबादक नगेन्द्र राईले तबलामा जगन्नाथ धौगाडासँग मिलेर बाँसुरीमा ‘फूलको थुँगा’ गाउँदा राष्ट्रकवि चिउँडोमा बुढी औँला राखेर, ओठमा माझी औँला राखेर, चोरी औँला खुम्च्याएर मुग्ध भएका थिए र सोचमग्न पनि । त्यतिवेला लाग्थ्यो, उनी कतै हराएका छन्, आफ्नै सुमधुर विगततिर ।

 

कुराकानीको अन्त्यतिर जीवन र मृत्यु के हो भनेर सोधियो । राष्ट्रकवि घिमिरेको जवाफ थियो, ‘जीवनचाहिँ भगवान्को वरदान हो । मृत्युचाहिँ कतिवेला आउँछ थाहै नहुने ।’ फेरि मृत्यु कतिवेला अर्थपूर्ण हुन्छ भनेर सोधियो । उनले कान यसो घुमाएर फेरि भन्ने इशारा गरे । प्रश्नमा स्पष्ट भएपछि भने, ‘केही दिएर मरेको छ भने उसको मृत्यु सार्थक हुन्छ ।’

 

हुन पनि हो, राष्ट्रकविको जीवन नै महाकाव्य बनेको छ । जसलाई पढेर कहिल्यै सकिन्न । जति पढ्यो, उति नै आनन्द र प्रेरणादायी । जसको आँखाले राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्म प्रत्यक्ष देख्यो । अझै धेरै परिवर्तन देख्नेछ ।

 

जाँदाजाँदै राष्ट्रकविपत्नीले भनिन्, ‘उहाँलाई अझै १० वर्षसम्म त केही पनि हुन्न !’ ओहो, कत्रो ठूलो आत्मविश्वास ! हुन त राष्ट्रकवि अहिले जे छन्, श्रीमतीको प्रेम, सहयोग र हौसलाका कारण पनि छन् । राष्ट्रकवि दशकौँ बाँचून् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...