कठघरामा नवराज सिलवाल : प्रहरीका लठैत हाकिमले मलाई पक्राउ गर्न इन्टरपोललाई पत्र पठाए



 

अभियोग १ : नेपाल प्रहरीजस्तो फौजी संगठनको उच्च नेतृत्वमा बसेर पनि अनुशासन कायम गर्नुभएन । आफूबाहेक कोही पनि आइजिपी हुन्न भनेर लाग्नुभयो । त्यसका लागि न्यायालयमार्फत सरकार र प्रहरी संगठनलाई नै चुनौती दिनुभयो ।

 

मैले जीवनमा जहाँ–जहाँ काम गरे अत्यन्त उत्कृष्ट सेवा दिने प्रयास गरेँ । व्यावसायिक इमान र सेवाप्रतिको पूर्णलगावसहित काम गरेँ । आफूले गर्न सकेको ‘बेस्ट’ दिने मेरो स्वभाव नै हो । प्रहरी सेवामा आएपछि पनि मैेले उत्कृष्ट ढंगले सेवा दिने प्रयास नै गरेँ । जसले गर्दा प्रहरीभित्र ‘रिकक्नाइज्ड’ हुँदै गएँ । हरेक प्रमोसनमा नम्बर वान हुँदै आएँ ।

 

यसअघिको इतिहास हेर्दा पनि नम्बर वानको मान्छे नै चिफ हुने भएकाले स्वाभाविक रूपमा सबभन्दा बढी दाबी त मेरो हुन्छ भन्ने ढंगले प्रस्तुत भएको हुँ । तर, यसको मतलब मैले अरूलाई निषेध गर्ने ढंगले कहिल्यै बोलिनँ ।

 

विरोध पनि गरिनँ । जब मलाई सरकारले नदिएपछि आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै ममाथि अन्याय भयो भनेर अदालत गएँ । त्यसलाई संगठन र सरकारलाई चुनौती दिएको त मान्नुभएन । एउटा सचेत नागरिकले आफूलाई अन्याय परेको महसुस हुँदा न्यायालय गुहारेर न्याय माग्ने हकको उपयोग गरेको हुँ ।

 

त्यसलाई कतिपय मान्छेले फरक ढंगले बुझेका हुन सक्छन् । सरकारले आफूलाई चुनौती दियो भन्ने ठानेको होला । मेरा विपक्षका साथीहरूले संगठनलाई नै चुनौती दिएर अदालत गुहार्‍यो, अनुशासित संगठनको निर्णय मानेन भन्ने विश्लेषण गरेका होलान् ।

 

 

तर, मैले विशुद्ध रूपमा अरू सबैभन्दा बढी योग्य हुँ, दाबेदार हुँ भनेर न्यायालय गएको हुँ । त्यो लगभग स्थापित भएकै विषय पनि थियो । यसरी नै हामी लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने पनि हो । समाजमा अन्याय परेको छ भने त्यसका विरुद्ध आवाज उठाउनुपर्छ भन्ने मेरो प्रतिकात्मक स्वर पनि हो । प्रहरी संगठनभित्र मात्रै होइन, समाजका हरेक तप्काभित्र हुने अन्यायविरुद्ध बोल्नुपर्छ । त्यसरी नै लोकतन्त्र समृद्ध हुने हो । यसकारण यो आरोप त्यति वजनदार हो भन्ने मलाई लाग्दैन ।

 

 

अभियोग २ : जीवनको महत्वपूर्ण समय नियम र कानुन पालना गराउने प्रहरी संगठनमा बिताउनुभयो । तर, तपाईंमाथि नै प्रहरीले छानबिन सुरु गर्दा भने ‘यो सरकारले गरेको छानबिन मलाई स्वीकार्य छैन’ भनेर फरार हुनुभयो, भूमिगत हुनुभयो । सरकारमाथि विश्वासै नगर्ने हो भने त अहिले निलम्बनमा रहेका सबै प्रहरी अधिकारीहरू पनि ‘छानबिन मान्दिनँ’ भनेर फरार हुनुपर्‍यो नि ।

 

 

मैले छानबिन मान्दिनँ भनेको होइन । जो मान्छेका विरुद्धमा म लडेँ, ऊ नै प्रहरी संगठनमा हालिमुहाली गर्ने ठाउँमा पुग्यो । उसले छानबिनलाई प्रभावित पार्न सक्थ्यो । मेरो विरोधीले नै मेरो बारेमा छानबिन गर्ने संसारमा कहीँ पनि हुँदैन । म त कानुनको विद्यार्थी पनि हुँ । त्यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । कानुनी सिद्धान्तका विपरीतको छानबिनलाई मान्दिनँ भनेको हुँ । अर्को कुनै निष्पक्ष निकायले, संसदीय समितिले छानबिन गरोस् म सघाउन तयार छु भनेर भनेको हुँ । त्यो मेरो कानुनी मान्यता पनि हो ।

 

 

जहाँसम्म फरार भयो भन्ने आरोप छ, म जनताबाट चुनिएर आइसकेपछि राजनीतिक पूर्वाग्रह साँध्नका लागि गलत ढंगले मुद्दा उठान गरेर, आफ्नो मातहतका निकायबाट फर्जी प्रमाण बनाएर मलाई सिध्याउने ढंगले त्यतिखेरको सरकार प्रमुख, प्रहरी प्रमुख, महान्यायाधिवक्तालगायत अरू निकायका प्रमुख लागे । एकजना व्यक्तिका विरुद्ध सम्पूर्ण राज्य लागेपछि मैले मेरो पार्टीमा सल्लाह गरेँ ।

 

‘अहिले राज्य हिंस्रक बनेको छ, कानुनसंगत ढंगले चलेको छैन’ भन्ने कुरा भयो । जनताबाट बहिष्कृत भइसकेको सरकार राजीनामा दिएर बिदा हुनुपर्नेमा जनताले चुनेर पठाएको प्रतिनिधिलाई नक्कली मुद्दा खडा गरेर सिध्याउने अभियानमा लाग्यो । त्यो राजनीतिक मुद्दा भएको हुनाले राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ भनेर अन्डरग्राउन्ड हुनुपर्ने अवस्था आएको हो ।

 

 

अभियोग ३ : स्वाभाविक प्रक्रियाबाट आइजिपी नभएपछि अदालतको ढोका ढक्ढक्याउनुभयो । त्यहाँबाट पनि आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा बुझाएर हिँड्नुभयो । राजीनामा स्वीकृत नहुँदै तत्कालीन एमालेमा प्रवेश गर्नुभयो ।

 

 

यो गलत आरोप हो । म असोजको २२ गते पार्टी प्रवेश गरेको हुँ । असोज २१ गते मेरो राजीनामा स्वीकृत भएको हो । प्रहरी नियमावलीमा गृहमन्त्रीले राजीनामा स्वीकृत गर्ने व्यवस्था छ । मैले मन्त्रालयमा राजीनामा बुझाएँ । तर, तत्कालीन गृहसचिवले विभिन्न राजनीतिक कारणले त्यसलाई अगाडि बढ्न नदिने प्रयास गरे ।

 

‘राजीनामापत्र हरायो’ भनेर अल्झाउने काम पनि गरे । पछि मैले अर्को राजीनामापत्र लेखेर गृहमन्त्रीलाई नै बुझाएँ । उहाँले राजीनामा स्वीकृत गरेको एक दिनपछि मात्रै म पार्टी प्रवेश गरेको हुँ । तर, बाहिर राजीनामा स्वीकृत नहुँदै पार्टी प्रवेश गर्‍यो भनेर प्रचार गरियो । मिडिया पनि मेरो पक्ष र विपक्षमा विभाजित थियो । एउटा सिंगो पार्टी नै मेरो विरुद्धमा लागेको थियो । चुनाव लडिरहेका वेला विरोधी साथीहरूले त्यसको व्यापक गलत प्रचार गरे । तर, सत्य त सत्य नै हुन्छ । कालान्तरमा राजीनामा स्वीकृत भइसकेपछि मात्रै मैले पार्टी प्रवेश गरेको हुँ भन्ने स्थापित भयो ।

 

 

अभियोग ४ : पद र शक्ति प्राप्त गर्न फर्जी कामसमेत गर्नुहुन्छ । तत्कालीन आइजिपी नियुक्ति प्रकरणमा कार्य सम्पादन मूल्यांकनको नक्कली कागजपत्र पेस गरेर सर्वोच्च अदालतलाई समेत गुमराहमा राख्नुभयो ।

 

 

आरोप विभिन्न ढंगले लगाइए । पावरमा बस्ने मान्छेले, पावरफुल मिडियामा पहुँच हुने मान्छेहरूले प्रचार–प्रसार त्यसरी गरे । तर, मचाहिँ बाहिर सडकमा बसेर सत्ताको विरुद्धमा लडिरहेको मान्छे । चैत २८ गते आइजिपीको निर्णय भयो, चैत २७ गते नै विभिन्न मिडियाहरूमा मूल्यांकन फाराम दुई खालका आए । कति मान्छेहरूले प्रिन्ट पनि गरे । म जुन वकिलमार्फत लडिरहेको थिएँ, त्यहाँ पनि साथीहरूले मूल्यांकन दुई किसिमको देखियो भनेर देखाए ।

 

 

हामीले भोलिपल्ट १ बजे मात्रै अदालतमा मुद्दा दिएका हौँ । मैले मुद्दा दिनुभन्दा २४ घन्टाअगाडि नै आइसकेको कुरालाई हामीले रिफ्रेन्सको रूपमा यसरी दुई थरी आयो भनेर प्रस्तुत गरेका हौँ । पहिला अदालतले जेष्ठताका हिसाबमा, कार्यमूल्यांकनको हिसाबमा, अनुभवको हिसाबमा, योग्यतालगायत हरेक हिसाबमा नवराज सिलवाल नम्बर एक हो भनेर भनिसकेको हुनाले त्यो एक नम्बरवाला नै हाम्रो हो भनेका हौँ । त्यसमा पनि हामीले ‘योचाहिँ हामीले प्राप्त गरेका हौँ, यसमा चाहिँ हाम्रो दाबी हो’ भनेर वकिल साथीहरूले दिएका हुन् ।

 

 

मैले नक्कली कसरी बनाउन सक्छु र ? यदि त्यस्तो हो भने उहाँहरूले सबैभन्दा पहिला गोप्य भनेर चाबी लगाएर राखिएको त्यो डकुमेन्ट हरायो भनेर स्थापित गर्नुपर्‍यो । अनि त्यो नवराज सिलवालले चोरेको हो भनेर स्थापित गर्नुपर्‍यो । चोरी भएको वा हराएपछि कहीँ कसैले प्राप्त गर्‍यो होला भन्ने हुन्छ ।

 

हरायो पनि भनेका छैनन्, चोरी भयो पनि भनेका छैनन् । या त्यो सबै हेर्ने जिम्मा मेरो भइदिएको भए पनि यसले बदमासी गर्‍या हो भन्ने हुन्थ्यो । यी तीनवटै अवस्था नभएको र पदभन्दा बाहिर एक्लै राज्यको विरुद्धमा सडकबाट लडिरहेको मान्छेले कहाँबाट चाहिँ कपी पाउँछ र नक्कल गर्नु ?

 

अभियोग ५  :  आफू सबैभन्दा क्षमतावान् र इमानदार प्रहरी अधिकृत भएको दम्भ र घमण्ड तपार्इंमा थियो । तर, प्रहरीले नै तपाईंले बढुवाका लागि नक्कली कागजपत्र बनाएको भन्दै पक्राउ पुर्जी जारी गरेपछि केही समय लुकेर बस्नुपर्‍यो ।

 

 

मचाहिँ ७२–७४ हजार सदस्य रहेको प्रहरी संगठनको प्रमुख बन्न लागेको व्यक्ति । मेरो ‘पर्सनालिटी’ नै कमान्ड गर्ने खालको हो । फोर्समा अनुशासन कायम गर्ने कमान्डरहरूको एक खालको स्वभाव हुन्छ । म मातहतका निकायहरूमा स्पिच दिँदा, ब्रिफिङ गर्दा उत्साह बढाउने ढंगले बोल्थे । मेरो त्यस किसिमका शैलीका कारण मेरो प्रतिपक्षमा रहेका साथीहरूले ‘यो घमन्डी’ भनेर पनि बुझ्थे होलान् । तर, म तलको फोर्सको मोरल बढाउनका लागि, उनीहरूमा आत्मविश्वास भर्नका लागि त्यस्तो शैली प्रयोग गर्थेँ ।

 

 

मचाहिँ आफूलाई घमन्डी मान्दिनँ । म अध्ययनशील थिएँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय, क्षेत्रीय घटनाक्रम, कानुन कार्यान्वयनको सवालमा, राजनीतिबारे अलिकति बढी अध्ययन गरेको मान्छे पनि हुँ । यसलाई म घमन्डभन्दा पनि बढी आत्मविश्वासका रूपमा लिन्छु । मान्छेहरूले त्यसलाई दम्भ देखायो भन्ने ढंगले पनि लिएका होलान् । भाषागत रूपमा मैले आफूलाई व्यक्त गर्दा जुन निडरपन, साहसीपन झल्किन्थ्यो, कतिपय मान्छेले त्यसलाई दम्भको रूपमा पनि बुझेका होलान् । त्यो कुरा सही पनि होला ।

 

 

मलाई पक्राउ पुर्जी जारी गर्‍यो भन्ने कुरा पनि सही होइन, प्रचार त्यस्तो गरिएको हो । ६ महिनाअघि नै मैले मलेसियामा हुने एआइटीको एउटा कार्यक्रममा प्रजेन्टेसन गर्ने तय भएको थियो । निर्वाचन सकिएपछि म त्यहाँ जानुपर्ने थियो । दिल्लीमा एउटा सानो मिटिङ थियो, त्यहीँबाट क्वालालम्पुर जाने कार्यक्रम थियो । म यताबाट हिँड्नेबित्तिकै तत्कालीन सरकारका मान्छेहरूले आत्तिएर मलाई उपस्थित गराउन ललितपुरलाई पत्र लेखेछन् ।

 

त्यो पक्राउ पुर्जी होइन । पक्राउ पुर्जी त कानुनबमोजिम अलग ढंगले जारी हुन्छ । मलाई उपस्थित हुनु भन्ने खालको पत्र थियो त्यो । तर, म नभएको मौका पारेर ‘पक्राउ पुर्जी जारी भएपछि भाग्यो’ भनेर प्रचार गरियो । एक थरी त्यो पक्राउ पुर्जी नै हो भन्ने स्थापित गर्नतिर लाग्नुभयो । मेरा विरोधीहरूले एउटा विषयवस्तु पाउनुभयो, मरमसला थपेर व्यापक बनाउनुभयो । त्यसपछि त मेरै भोटरहरूले पनि साँच्चिकै पक्राउ पुर्जी जारी पो भयो कि भन्ने ठाने ।

 

 

त्यतिमात्रै होइन, त्यतिखेरका प्रहरीका लठैत हाकिमले मेराविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्‍यो भनेर हतार–हतारमा इन्टरपोललाई पत्र लेखेरसमेत पठाए । ‘डिफ्युजन नोटिस’ जारी गर्न जुन क्राइटेरिया पूरा गर्नुपर्छ त्यो नै पूरा नगरी लेखी पठाए । देशभित्र प्रचार–प्रसार गरे । उनीहरूलाई म गृहमन्त्री भइहाल्छु कि भन्ने चिन्ता थियो । गृहमन्त्री भइहाले भने त भोलि सलाम ठोक्नुपर्ला भन्ने चिन्ता थियो ।

 

त्यसकारण कसरी यसलाई गृहमन्त्री बन्नबाट रोक्ने भन्ने योजनाअनुसार यस्ता विवादहरू खडा गर्नतिर लागे । धेरै विवाद आएपछि त प्रधानमन्त्रीलाई पनि बनाउन गाह्रो हुन्छ भन्ने बुझेर खुलेआम प्रचार गरे । इन्टरपोलले चाहिँ ‘यो पोलिटिकल मुद्दा हो, डिफ्युजन नोटिस जारी गर्ने क्राइटेरियाभित्र पर्दैन’ भनेर सुरुमा ‘लिगल रिभ्यु’ भनेर राखिदियो, पछि खारेज नै गरिदियो ।

 

 

उहाँहरू त मलाई फिजिकल्ली रूपमा पनि सिध्याउने ढंगले लाग्नुभयो । एकजना व्यक्ति नवराज सिलवालका विरुद्धमा राज्य, उसको सिंगो संयन्त्र लाग्यो । एउटा संगठनको प्रमुख त आफ्नो कार्यकालभरि कसरी नवराजलाई सिध्याउने भनेर मात्रै लागिरह्यो । त्यति समय उसले संगठन राम्रो बनाउनेतिर लागेको भए जनतालाई पनि राहत हुन्थ्यो । नेपालको गभर्नेन्सको इतिहासमा यो खालको नंगानाच कहिल्यै देखिएको थिएन ।

 

 

अभियोग ६  :  आफूलाई प्रहरीको सबैभन्दा क्षमतावान् र सक्रिय अधिकृतका रूपमा प्रचार गर्नुभयो । तर, प्रहरी संगठनलाई सबैभन्दा आवश्यकता रहेको सशस्त्र द्वन्द्वका समयमा दुर्गम जिल्लाहरूमा कहिल्यै बस्नुभएन । अधिकांश समय विदेशमा र नेपालमा हुँदा सहरी क्षेत्रमा मात्रै काम गर्नुभयो ।

 

 

त्यो सही कुरा हो । संगठनले मेरो आवश्यकता जहाँ पर्छ, त्यहीँ खटाएको हो, मैले कुनै प्रभावित गर्‍या होइन । धेरै वर्ष मैले युएनमा बसेर काम गरेँ । युएनसँग नेपाल सरकारको सम्झौता के छ भने, युएनले मान्छे छान्यो र उसको आवश्यकताअनुसारको मान्छे पायो भने सरकारले सेकेन्ड मेनका रूपमा पठाउनुपर्छ । युएनमा म जाँच दिन्थेँ, छानिन्थेँ । त्यसपछि सरकारले मलाई पठाउँथ्यो ।

 

मेरो क्षमताका कारणले र सरकारले पनि पत्याएर संगठनले मलाई आफ्नो प्रतिनिधिको रूपमा पठाउँथ्यो । मैले युएनमा जहिले पनि माथिल्लो तहमा बसेर काम गरेँ । त्यसले संगठन र देशको पनि प्राइड हुन्थ्यो । देशमा हुँदा पनि धेरैजसो काठमाडौंमै बसेँ । किनभने, म धेरैजसो प्रहरी प्रमुख, गृहमन्त्री र मन्त्रालयसँग नीतिगत कुराहरूमा बढी संलग्न हुन्थेँ ।

 

दुर्गम जिल्लाहरूमा भन्दा केन्द्रमा बसेर मैले बढी नीतिगत विषयमा बढी योगदान गर्न सक्ने भनेर नै संगठनले केन्द्रमै राखिदियो । मेरा विरोधीहरूले चाहिँ बाहिर दुर्गममा धेरै बसेन भनेर भन्नुभएको सही नै हो । मलाई दुर्गममा जाने मौका नै दिइएन त म कसरी जानू ?

 

 

अभियोग ७  : आर्थिक रूपमा अपारदर्शी हुनुहुन्छ । करोडौँ रकम मिटरब्याजमा लगाएको आरोप अहिले पनि खेपिरहनुभएको छ ।

आर्थिक रूपमा मजत्तिको पारदर्शी कोही पनि छैन । नेपाल प्रहरीमा काम गर्दा मैले जीवनभर भ्रष्टाचारको विरुद्धमा लड्या हुँ । म भ्रष्टाचारविरुद्धको एउटा आइकन हुँ । अहिले पनि ९९ प्रतिशत प्रहरीले मलाई आइडल मान्छन् । मेरो व्यावसायिक जीवनमा कहिल्यै कसैसँग गिफ्ट लिने, उपहार लिने लिइनँ । त्यसकारणले अहिले पनि प्रहरीमा मलाई आदर्श मान्छेको रूपमा गनिन्छ । र, मैले कहाँबाट करोडौँ रूपैयाँ ब्याजमा लगाउनु ? हो, म युएनमा काम गरेँ, त्यहाँबाट आर्थिक रूपमा अलि राम्रो स्थिति बन्यो ।

 

म म्यानेजमेन्ट, इकोनोमिक्स पढेको मान्छे । मसँग भएको पैसा त म प्रोडक्टिभ सेक्टरमा लगाउँछु नि, ब्याजमा लगाउँछु र ? २० लाखमा किनेको एक रोपनी जग्गा दुई वर्षपछि डेढ÷दुई करोडमा बिक्री भइरहेको छ । मैले प्रोडक्टिभ ढंगले इन्भेस्टमेन्ट गरेको छु । राज्यलाई पनि फाइदा हुने किसिमले इन्भेस्टमेन्ट गर्‍या छु । म मूर्ख छु र ब्याजमा पैसा लगाउँछु ? किन ब्याजमा लगाउने मैले ? यी सबै मेरो विरोधीले लगाएको कपोल्कल्पित आरोप मात्रै हो ।

 

 

अभियोग ८  : प्रहरीमा हुँदा पद र शक्तिको दुरूपयोग गर्नुभयो । तपार्इंको मिटरब्याजले त्यसै थला परेका सिन्धुपाल्चोकका गुनबहादुर थापालाई पक्राउ गरेर थप यातना दिनुभयो ।

मैले काठमाडौं प्रमुख हुँदा कति धेरै अपराधीहरूलाई पक्रिएँ हुँला । कतिलाई जेल पठाइयो । कतिपयचाहिँ यसलाई म ठीक पार्छु भन्ने ढंगले पनि लागेका होलान् । तपाईंले भनेको मान्छे पनि कुनै मुद्दामा परेको होलान् । अलि एग्रेसिभ नेचर भएको हुनाले कतिपय मेरा विपक्षी साथीहरूले उनलाई बोक्नुभयो ।

 

गाडीमा चढाउनुभयो । फाइभस्टार होटेलमा लगेर खुवाउनुभो । अनि मेरा विरुद्धमा परिचालन गर्नुभयो । त्यसपछि मेरो आवाजमा फलानोसँग यति पैसा लिएको भनेर बाहिर प्रचार गरियो । त्यो आवाज मेरो होइन भनेर अख्तियारले अनुसन्धान गरेर पुष्टि गरिसक्यो ।

 

 

सर्वोच्चले पनि उनको रिट खारेज गरिदिएर सम्पूर्ण रूपबाट मैले क्लिन चिट पाइसकेको छु । तर पनि, हुँदैनभएको त्यही कुरालाई प्रचार गरियो । युट्युबमा त कति छ कति मेरो विरुद्धमा । म इन्स्पेक्टर, डिएसपी हुँदा कुनचाहिँ लाहुरेको कति जग्गा खाइदिएँ रे, के गरिदिएँ रे, खै कसको नाममा राख्यो रे । फेरि त्यसले बोलिदिन्छ युट्युबमा–‘नवराज सिलवाल यस्तो उस्तो गर्‍यो भनेर ।’

 

 

मेराविरुद्धमा राज्यद्वारा पालित÷पोषित तस्करहरू लागे । सुन तस्करदेखि, हुन्डी तस्करसम्म ‘नवराज सिलवाल आइजिपी भयो भने त हाम्रो सबै मोजमस्ती खत्तम हुन्छ’ भन्ने ढंगले प्रस्तुत भए । पैसा लगानी गरेर मेराविरुद्ध बोल्न लगाए । मलाई त के डर थियो भने, कुनै महिलालाई नै उपस्थित गराएर नवराज सिलवालले बलात्कार गर्‍यो भनेर भनिदेलान् कि भन्ने । किनकि, पैसाका लागि यहाँ मान्छेहरू त जो जे पनि गर्न थाले । सबै पराकाष्ठा नाघेर मेराविरुद्ध मान्छेहरू खडा गरिए, मेराविरुद्धमा प्रचार गरियो । नक्कली प्रमाणहरू बनाउने, अडियो–भिडियो सञ्चालन भए ।

 

 

सुरुमा मलाई आइजिपी हुन नदिन लागे, पछि चुनाव जित्नबाट रोक्न लागे । त्यसका लागि पनि फेरि त्यही तपाईंले नाम लिएको मान्छे प्रयोग गरियो । अर्कै जिल्लाको मान्छे आएर मेराविरुद्धमा उम्मेदवारी दियो । त्यतिखेरका सरकार प्रमुख(शेरबहादुर देउवा)ले नै नवराज सिलवाललाई हराउन लागे । प्रहरी प्रयोग भयो, राज्यका अरू निकाय र साधनस्रोत प्रयोग गरिए । तैपनि जनताले मलाई विश्वास गरे र मैले जितेँ । त्यसैले यी आरोपका बारेमा मैले धेरै भनिराख्नु नै पर्दैन, जनताले नै त्यसको जवाफ दिइसकेका छन् ।

 

 

अभियोग ९  : सांसदमा निर्वाचित भएपछि पनि तपाईंलाई पक्राउ पर्ने त्रास थियो । त्यसैले, पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा चढेर प्रधानमन्त्री निवास र सांसदको शपथ कार्यक्रममा जानुभयो ।

 

 

त्यस्तो होइन, सरकार परिवर्तन भएर मेरो पार्टीको सरकार बनिसकेपछि त कानुनबाहिर गएर गरेका अवैध क्रियाकलाप त सोझै रद्द भइहाल्थे नि । त्यसकारण त्यस्तो खालको त्रास मलाई कहिल्यै थिएन । एउटा कार्यक्रममा गएको थिथेँ, जाँदाखेरि पूर्वप्रधानमन्त्रीले ‘दुईवटा गाडी किन लाने, जाऔँ न त मसँगै’ भन्नुभयो । त्यो दिन मसँग गाडी पनि थिएन, म ट्याक्सीमा गइरहेको थिएँ । म डराएर, त्रासमा परेर उहाँसँगै गएकोचाहिँ पक्कै होइन । त्रास त मसँग पटक्कै थिएन । त्यसलाई पनि फेरि प्रचार गर्ने साथीहरूले मसला पाउनुभयो ।

 

 

हिजो मेराविरुद्धमा लाग्नेहरूप्रति पनि मेरो कुनै गुनासो छैन । मलाई आइजिपी नबनाउन जजसले योगदान गरे, तिनीहरू सबैलाई धन्यवाद नै भन्छु । किनभने, मेरो एउटा ढोका उहाँहरूले बन्द गरिदिनुभयो, अर्को ठूलो ढोका खुलेको छ । मेरा लागि नयाँ प्लेटफर्म प्राप्त भएको छ ।

 

 

अभियोग १०  : तपाईं ढोंगी र प्रचारबाज हुनुहुन्छ । निर्वाचनका वेला किसानका खेतमा धान काट्न हिँड्नुभयो, फोटो सार्वजनिक गरेर प्रचार पनि गर्नुभयो । जनताले त्यसपछि पनि खेतीपाती त गरिरहेकै छन् । तर, खेतीमा सघाएको तस्बिर आएको छैन । बरू, चुनाव जितेपछि घोडा चढेर राजसी ठाँटमा धन्यवाद दिन जनताका दैलोमा पुग्नुभयो ।

 

प्रचार गर्नेले आफ्नो ढंगले गर्छन् । हिजो चुनाव प्रचारमा जाँदा ११/१२ बजेपछि किसानहरू खेतमा काम गर्न गइसकेका हुन्थे, त्यसकारण भोट माग्न खेतमै जानुपर्‍यो । फेरि म किसानको छोरा पनि हुँ । ‘यो काम त मैले पनि जान्या छु, गर्‍या छु’ भनेर धान काटेर सहयोग गरेको हुँ । जितिसकेपछि पनि म इकुडोलमा जाँदा एकजना बूढा मान्छे स्वाँस्वाँ गरेर दाउरा चिर्दै हुनुहुँदो रहेछ । मैले ‘ल ल्याउनुस्, तपाईं थाक्नुभएछ’ भनेर मैले चिरिदिएको छु ।

 

मलाई म ठूलो नेता हुँ भन्ने नै लाग्दैन । म जनताको प्रतिनिधि हुँ, उनीहरूको सुखदुःखमा आउँछु । त्यसकारण, मैले हिजो पनि प्रचार गर्ने ढंगले धान काटेको होइन । तर, अरू साथीहरूले खासगरी विपक्षी साथीहरूले ‘चुनावमा यसले नौटंकी गर्‍यो’ भनेर प्रचार गर्नुभयो । तर, त्यसले मलाई बेफाइदा भने गरेन, फाइदा नै गर्‍यो । त्यसले अरू साथीहरूलाई पनि अन्य ढंगले पनि प्रचार गर्न सकिन्छ भन्ने प्रचारको नयाँ शैली स्थापित गर्‍यो । त्यसकारण, उहाँहरूले लगाएको त्यो आरोपप्रति त्यति ठूलो चित्त दुःखाइ छैन । त्यो आरोपलाई म स्वीकार गर्छु ।

 

 

अभियोग ११  : सांसदमा निर्वाचित भएलगत्तै गृहमन्त्री बन्ने प्रचार गर्नुभयो, हल्ला चलाउनुभयो । तर, पार्टीले नपत्याएपछि गुपचुप बस्नुभयो ।

गृहमन्त्री बन्ने कुरा पार्टी अध्यक्षले गैँडाकोटको एउटा आमसभामा बोल्नुभएपछि बाहिर आएको हो । सोसल मिडियाहरूमा आयो । मैले फेरि मन्त्री चाहिन्छ भनेर प्रधानमन्त्रीसँग माग्या पनि छैन, अध्यक्षसँग त्यतिखेर कुनै कुरा पनि भएको होइन । आवश्यकतानुसारको जिम्मेवारी दिने भनिएको थियो । तर, उहाँले बोल्नुभयो ।

 

त्यसपछि मेरो निर्वाचन क्षेत्रमा जहाँ हामी आमसभामा गथ्र्यौं, त्यहाँ साथीहरूले ‘हाम्रो अध्यक्षज्यूले बोलिसक्नुभएको छ, अबको गृहमन्त्री उहाँ नै हो’ भनेर प्रचार गर्नुभयो । म पार्टीमा आउँदा मेरो क्रियाशीलता, क्षमता र मेरो अनुभवको आधारमा कुनै जिम्मेवारी देला भन्ने कुरा मात्रै हो । यो वा त्यो भनेर मैले भन्या पनि होइन, तर प्रचारचाहिँ भयो यो । मैले आफैँ म हुँ भनेर दाबी पनि गरेको थिइनँ । तर, अहिले पत्याएनन् भनेर विरोधीहरूले भन्ने कुरा त भइहाल्यो ।

 

हेर्दै जाऔँ न परिस्थितिले माग्यो, मेरो क्षमताअनुसारको भयो भने कुनै न कुनै पार्टीले मलाई जिम्मेवारी देला । त्यो नभए पनि म एउटा क्रियाशील र असल सांसदको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छु । मेरो निर्वाचन क्षेत्रका साथीहरूले पनि भन्नुहुन्छ, ‘हरेक विषयमा तपाईंले हाम्रा कुरा राखिदिनुभएको छ ।’

 

पद पाएर मान्छे ठूलो हुने होइन । पाएको पदको जिम्मेवारी निर्वाह गर्न सकेन भने त्यो मान्छे काम नलाग्ने हुन्छ । मन्त्री भएर काम गर्न नसक्नुभन्दा मन्त्री नभएको राम्रो । किनभने, त्यसको त अझै पनि सम्भावना बाँकी नै रहन्छ नि । त्यसकारण मेरो सम्भावना अझै छ । मैले प्रधानमन्त्रीलाई पनि ‘मेरो कुनै माग छैन, तपाईंले कुनै जिम्मेवारी दिनुहुन्छ भने म त्यसमा फुल इनर्जी दिन्छु’ भनेको छु ।

 

अभियोग १२ :  प्रहरी संगठन राजनीतिक हस्तक्षेपका कारण जर्जर बन्दै गएको गुनासो सधैँ गर्नुभयो । तर, आफूलाई आइजिपी बन्न सहयोग नगरेपछि तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याललाई हटाउने अभियान छेडेर आफैँ राजनीतिमा उत्रिनुभयो ।

 

 

कुनै व्यक्तिलाई हटाउन वा राख्न भनेर म कहिल्यै पनि लागिनँ । हिजो त्यहाँ काम गर्दा पनि मेरो एउटा कारण थियो, मिसन थियो । त्यो मिसनका लागि मैले काम गरेँ । मिसनका लागि काम गर्दा कुन एक्टरसँग मिलेर काम गर्‍यो, कुन एक्टरसँग बसेर काम गर्‍यो, को मान्छे थियो, कति तल थियो त्यो कुरा गरिनँ । त्यसकारण, मैले कसैलाई हटाउन र कसैलाई राख्ने ढंगले जीवनमा कहिल्यै पनि हेरिनँ । जीवनको लामो यात्रामा कति मान्छे तपाईंले भेट्नुहुन्छ, कति मान्छेसँग तपाईंले संसर्ग गर्नुहुन्छ, तपाईंअगाडि बढ्दै जानुहुन्छ ।

 

ती मान्छे हराउँदै जान्छन् । कोही मान्छेचाहिँ सम्झना गर्न लायक हुन्छन्, जीवनको दौरानमा । आफ्नो प्रोफेसनल यात्राका दौरानमा विभिन्न खालका मान्छे भेट्नुहुन्छ । उनीहरूसँग संगत गर्नुहुन्छ, सँगै काम गर्नुहुन्छ । कति मान्छेलाई पछिसम्म सम्झनुहुन्छ, कति मान्छेलाई तपाईं बिर्सनुहुन्छ । त्यस्ता सम्झिने र बिर्सने पात्रहरू छन् होला, त्यसकारण कुनै व्यक्तिप्रति म आग्रह, पूर्वाग्रह राख्दिनँ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्