गर्भवती श्रीमतीकै अगाडि श्रीमानको पासविक हत्या, अमृताकै बुवामाथि आशंका
भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको अस्पताल परिसरमै एक गर्भवती महिलाको श्रीमानको पासविक हत्या गरिएको छ ।
श्रीमती अमृताको गर्भ जाँच गरेर बाहिरिंदै गर्दा २४ वर्षीय पेरुमाल्ला प्रणय पासविक हत्या भएको हो । प्रणयको हिंडिरहेकै बेला श्रीमतीकै अगाडि पछाडिबाट आइको एक व्यक्तिले गर्दन छिनाली दिएको हो ।
उनको तत्कालै ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रणय र अमृताले यसै वर्षको जनवरी ३१ मा प्रेम विवाह गरेका थिए । यो विवाहबाट दुवै जनाका परिवार सन्तुष्ट थिएनन् ।
तर प्रणयको परिवारले भने केही समयपछि दुवैको विवाहलाई स्वीकारेको थियो ।
प्रहरीका अनुसार प्रणयको हत्या पछाडि अमृताको परिवारको हात हुन सक्ने आशंका गरिएको छ ।
जिल्लाका एसपी रंगनाथले भनेका छन्, ‘हामीहरु यसलाई अनर किलिङ मानेर अनुसन्धान गरिरहेका छौँ ।’
अमृताकै बुवामाथि आशंका
प्रणय दलित समुदायका हुन् भने अमृता वैश्य । अमृताका बुवा रियल स्टेट व्यवसायी हुन् । प्रहरीले हत्याको पछाडि अमृताकै बुवाको हात हुन सक्ने भन्दै अनुसन्धान थालेको छ ।
प्रहरीले अमृताका बुवा मारुती राव र भाइ श्रवणलाई अभियुक्त मानेर अनुसन्धान थालेको जनाइएको छ । प्रणय १० कक्षामा थिए, अमृता ९ कक्षामा थिइन् जब उनीहरुको दोस्ती शुरु भएको थियो ।
दुवै जनाले बीटेक गरे । जब दुवैले आ–आफ्नो परिवारलाई विवाहको योजना सुनाए । अमृताका बुवा मारुतीले आफूले त्यस्तो विवाह नमान्ने बताए । परिवारले नमानेपछि प्रणय र अमृताले हैदराबाद गएर आर्य समाज विधिबाट विवाह गरे । त्यसपछि दुवै फर्केर प्रणयको घरमा बस्न थाले ।
विवाहपछि मारुतिले छोरीलाई फिर्ता बोलाउन कैयौँ प्रयास गरे तर अमृता मानिनन् । प्रणयका बुवा बाला स्वामीले विवाहको २ महिनापछि नै प्रणयको हत्याको षड्यन्त्र रचिएको बताए । यसबीचमा अमृता गर्भवती पनि भइन् । शुक्रबार प्रणय र उनकी आमा अमृतालाई लिएर मिरयालगुडामा रहेको एक निजी अस्पतालमा चेक गराउन गएका थिए ।
यस्तो छ सीसीटीभी फुटेज
उनीहरु दिउँसो १२ बजे अस्पतालभित्र गएका थिए । उनीहरु जँचाएर साढे एक बजे बाहिर निस्के । एक व्यक्तिले उनीहरुलाई पछ्याइरहेको थियो । केही पर पुगेपछि त्यो व्यक्तिले पछाडिबाट प्रणयको गर्दनमा धारिलो हतियारले हान्यो । प्रणयको त्यहीं ज्यान गयो ।
हत्यारा त्यहाँबाट भाग्न सफल भए पनि सीसीटीभीको सहयोगले उसको पहिचान भएको प्रहरीले जनाएको छ । तर उसको गिरफ्तारी भने भइसकेको छैन । एजेन्सी


