मुख्यमन्त्री गुरुङको प्रस्ताव : रेडलाइट एरिया तोकौं, डाँडाभरी रिर्सोट खोलौं



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बताएका छन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोक्ने वा व्यवस्थित गर्न कार्ड सिस्टममा लैजाने विषयमा छलफल गर्नुपर्ने बताएका हुन् ।

‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘बरु यसलाई व्यवस्थित गराउन लाग्नुपर्‍यो ।’

होटल संघ नेपालले पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने बताए । ‘त्यस्तो ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछ । सरकालाई कर पनि तिर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्ने । यसले कसैलाई फाइदा पुग्दैन ।’

यौन धन्दाको विषयमा खुला दिलले छलफल गर्ने बेला आएको मुख्यमन्त्री गुरुङले बताए । ‘पर्यटक अझै बढी आउने, व्यवसाय अझै फस्टाउने, समाज अझै एक खालको सभ्यता र शासन स्थापित हुँदै जान्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

पोखरालाई २४ घण्टा नै खोल्नुपर्ने भन्दै पुरै पोखरा खोल्न नसके पनि बैदाम वा लेकसाइड क्षेत्र खोल्नुपर्ने बताए । ‘जनता सुत्छन्, कर्मचारी सुत्छन् राति, व्यवसायी सुत्न हुन्छ ? राज्य सुत्न हुन्छ ?’ मुख्यमन्त्री गुरुङले भने, ‘पुलिस सुत्नु भएन । सुरक्षा दिनुपर्‍यो ।’

आर्थिक चहलपहल बढाउने हो भने बजारलाई २४ सै घन्टा खुला राख्नुपर्ने गुरुङको धारणा छ । ‘भोलि अन्तर्राष्ट्रिय उडान भयो भने कोही राति २ बजे पोखरा झर्ला । हाम्रो बाटो त्यस्तै छ १० बजे आइपुग्ने गरी गाडी चढेको मान्छे २ घन्टा ढिला हुन्छ के गर्ने ?’ उनले भने, ‘बजार २४ सै घन्टा खुला गर्न सुरक्षा प्रवन्ध मिलाउन प्रदेश सरकार तयार छ । किनभने प्रदेश प्रहरी अब हाम्रै हुन्छ ।’

वरपरका डाँडा रिसोर्टले भरियोस्

मुख्यमन्त्री गुरुङले पोखरा आसपासका डाँडाडाँडामा रिसोर्ट र होटल खोल्न व्यवसायीलाई आग्रह गरे । ‘वरीपरीका कुनै पनि डाँडा खाली नहोस्, रिसोर्ट नै रिसोर्ट होस्’ उनले भने, ‘सराङकोट, काहुँ, आर्बा, पुम्दी, रामकोट, धम्पुस्, कन्ननी डाँडा सबै ठाउँमा रिसोर्ट र ठूला होटलमा लगानी गर्नुस् । बाटो र सुरक्षा सरकारले दिन्छ ।’

डाँडाडाँडामा रिसोर्ट खोलेर त्यसमा क्यासिनो समेत चलाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘क्यासिनो खुल्नुपर्छ, त्यहाँ अवैध धन्दा चलाउन नदिने हो’ उनले भने, ‘क्यासिनो भनेको जग्गा बेचेर खेल्ने होइन, धनीलाई ल्याएर खर्च गराउने हो ।’

नेपालमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको राम्रो सम्भावना देखेको मुख्यमन्त्री गुरुङले बताए । मुस्ताङ, मनाङमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर चलाउन सकिने उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले नीतिगत निर्णय गरिदिनु पर्ने भएकाले प्रदेश मन्त्रिपरिषदले निर्णय गरेर पठाउने बताए । हवाइ तथा सडक कनेक्टिभिटीका हिसाबले पनि गण्डकी प्रदेश दक्षिण एसियाकै प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो । प्रदेश सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्राउने गरी योजना अगाडि बढाइरहेको छ ।

कर नलिई ढुकुटीमा पैसा कसरी आउँछ ?

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर तिर्ने सवालमा सरकारको आलोचना गर्नु गलत भएको बताएका छन् । ‘करका विषयमा हामी किन नकारात्मक ढंगले बुझ्छौं,’ अर्थमन्त्री गुरुङले व्यवसायीलाई प्रश्न गरे, ‘कर नलिए राज्यको ढुकुटीमा पैसा कहाँबाट आउँछ ?’

राज्यको ढुकुटी बलियो नभएसम्म कोही पनि बलियो हुन नसक्ने उनको भनाइ छ । कर तिर्ने हो भने आधा भ्रष्टाचार अन्त्य हुने भन्दै अर्थमन्त्री गुरुङले भने, ‘कर छल्न पाए हामी खुसी हुन्छौं । कर छल्न कर्मचारीसँग मिल्नुपर्‍यो, घुस दिनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...