साफ च्याम्पियनसीप ः नेपालको भेट माल्दिभ्ससँग
बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।
गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो ।
समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो ।
त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।
समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो ।
अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७.४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो ।
नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ ।
माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो ।
जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।
सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् ।
नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन ।
पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो
माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।