इलाममा तीनवटा बम भेटियो
इलामको सदरमुकाम इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम फेला परेका छन्। नारायणस्थान मन्दिर नजिक रहेको तत्कालीन नेकपा माओवादी केन्द्रको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको हो। दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।
नेकपा एमालेसँग एकीकरण भएपछि माओवादीको जिल्ला कमिटीको कार्यालय रहेको मारवाडी सेवा समाजको दुई तले भवन माओवादीले छाडिसकेको छ। एकान्तमा रहेको भवनमा भेला भएर स्थानीय युवाहरूले लागुऔषध सेवन गर्ने गरेको पाइएपछि प्रहरी भवनमा पुगेको थियो। कोठाहरू खुलै रहेको भवन हेर्दा तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ। बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ।
बमलाई डिस्पोज गर्नका लागि नपाली सेनाको पशुपतिप्रसाद गणलाई जानकारी दिइएको प्रहरीले जनाएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रमा रहेको बम पुरानै भएको बताइएको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला कार्यालय राखिएको थियो। उक्त भवन अहिले इलाम नगरपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया चलिरहेको छ।

