जङ्गबहादुर राणा र प्रधानमन्त्री केपी ओलीमा केहि फरक छैन, बादल आँखा र कान नभएका गृहमन्त्री हुन्



हाम्रो इकोनोमि

 

भदौ १६ र १७ गते बसेको तपाईंको पार्टीको पोलिटब्युरो बैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको कार्यनीति अगाडि सार्यो । कागजमा मात्र सीमित पार्टीले यति ठूलो मुद्दा उठाउँदा गाह्रो लागेन ?

हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकद्वारा प्रस्तुत सडक सङ्घर्षको कार्यनीति राष्ट्रिय निकासका लागि हो । संविधान खारेज गर्ने नीति लिएको विप्लव नेतृत्वको नेकपालाई राजनीतिक निकास दिएर अघि बढ्ने हो भने संविधान पुनर्लेखनको विकल्प छैन । संविधान पुनर्लेखनको बाधक विद्यमान संसद विघटन गर्नुपर्छ र राष्ट्रिय सरकार प्रक्रियाबाट अघि बढ्नु पर्छ ।

 

विचार र सिद्धान्तमा चल्ने राजनीतिक पार्टीले सर्वप्रथम आफ्नो नीति कागजमै तयार गर्ने हो । हामीले त्यति गरेका छौँ । सीमित पार्टीले ठूलो मुद्दा भन्ने प्रश्नमा माओवादी केन्द्रले यो प्रस्ताव गर्यो । भावि कार्यनीति देश, जनता र समाजवादी क्रान्तिका लागि सही छ भने यसलाई कार्यान्वयनको तहमा पुर्याउने शाक्ति निर्माण हुन्छ ।

 

हामी माक्र्सवादी इतिहासको निर्माता जनसमुदाय हुन् भन्ने मान्यतामा दृढ रहन्छौँ । अतः संसद् विघटन र संविधान पुनर्लेखनको प्रस्ताव नेपाली जनतासमक्ष अघि सारेका छौँ । जनताले फैसला गर्नेछन् र राजनीतिक फैसला गर्न नेपाली जनता सक्षम छन् ।

 

नयाँ राजनीतिक शक्ति सन्तुलनपछि मात्रै नेपालमा नयाँ खालको राजनीतिक कोर्स अगाडि बढ्छ । अहिले राष्ट्रिय राजनीतिमा तत्काल नयाँ शक्ति सन्तुलन देखिने अवस्था छैन । तपाईंहरूका संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको माग प्रचारात्मक त होलान नि, होइन ?

 

हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘गणितले मात्र ओली–प्रचण्ड सरकारको रक्षा गरेको छ । तसर्थ अब संसद होइन, नेपालको राजनीतिमा सडक प्रधान भएर आउँदै छ ।’ सडक प्रधान बनाउने काम ओली–प्रचण्डको पार्टी, संसद र सरकारले नै गरेको छ । माओवादी केन्द्र तत्काल भौतिक कारवाहीको नीतिमा नरहेको हुँदा यसले प्रचारात्मक काम नै गर्नुपर्छ ।

 

तपाईंहरूको मागमा मधेसवादी दल र काँग्रेसको पनि समर्थन रहन्छ भन्नुभएको थियो । तपाईं के ठान्नुहुन्छ, समर्थन गर्लान् त ? 

हो, मधेस केन्द्रित दलहरूले नै संविधान पुनर्लेखन भनेर सुरुमा भनेका हुन् । तर उहाँहरू संसद र सरकारमा अल्झिनुभयो । हाम्रो पार्टीले यो माग अघि सार्यो । हामीलाई विश्वास छ कि राजपा र फोरम संविधान पुनर्लेखनको नीतिमा इमानदार रहने छन् । नेपाली काँग्रेसको हकमा उसले पाँच वर्ष पर्खने वा त्यसअघि नै संसद विघटन गर्नेबारे निर्णय गर्नुपर्छ ।

 

–देशमा संविधानलाई पूरै स्वीकार गर्ने, आधा स्वीकार गर्ने र पूरै खारेज गर्ने तीनथरी शक्ति छन् । तपाईंहरूले संविधान पुनर्लेखनको माग अगाडि सारेर मध्यमार्गी बाटो लिन चाहेको हो ? 

यो मध्यमार्गी नभएर हाम्रो पार्टीको विचारमा क्रान्तिकारी बाटो हो । यदि दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ताका रक्षक संसदवादीहरू संसद विघटन र संविधान पुनर्लेखनमा आउँदैनन् भने जनताले राज्यसत्ता कब्जा गर्ने परिस्थिति पनि उत्पन्न हुन सक्छ । त्यसैले मानसिक तयारी गर्न हाम्रो पार्टी अपिल गर्छ ।

 

–देशले लामो समयपछि स्थिर सरकार पाएको छ । संसद विघटन र राष्ट्रिय सरकारको नारा उचालेर तपाईंहरू फेरि अस्थिरता बढाउन लाग्नुभएको हो । यो मागको औचित्य के हुन्छ ?

१ सय ४ वर्षको राणाशासन र तीस वर्षे पञ्चायती शासनको स्थिरताभन्दा केपी ओली र प्रचण्डको अभिजातवर्गीय स्थिरतामा फरक के छ ? केही छैन । त्यसैले यो राष्ट्रिय निकास नै वास्तविक स्थिरता निर्माणको कार्यनीति हो ।

 

–एकछिन तपाईंको पार्टीको कुरा गरौँ । माओवादी केन्द्रको पुनर्गठन गर्ने तपाईंको अभियान फेसबुक र कागजमा मात्रै सीमित छ कि अलि–अलि फिल्डमा पनि हुँदैछ ?

पुनर्गठित नेकपा माओवादी केन्द्र बाहिरबाट हेर्दा शान्त देखिने तर आन्तरिक ज्वारभाटा निर्माण गरिरहेको छ । खासगरी मोहन वैद्य र बाबुराम भट्टराईले पार्टी विभाजन गर्दा होस् या अशोक राईले नयाँ पार्टी बनाउँदा जुन तामझाम देखाए, त्यो लामो समय टिकेन ।

 

त्यसबाट शिक्षा लिएर हामी आन्तरिक काममा बढी केन्द्रित छौँ । यसलाई हामीले प्रचण्डहरूले भत्काएर छाडेको माओवादी आन्दोलनको धावनमार्ग पुनर्निर्माण भनेका छौँ । त्यो क्रमशः हुँदैछ र पुनर्निर्माण भएर छाड्ने विश्वास लिएका छौँ ।

 

–तपाईंबाहेक अरू परिचित अनुहार तपाईंको अभियानमा देखिँदैनन् नि ? 

हिजो देखिएका ठूला टाउकेहरूले पार्टी त्यागेर गए । साना टाउकेहरू नै जुटेका छौँ । गाउँमा उखान छ, ‘सानो पाली ठूलो, ठूलो पाली बूढो ।’ देश हाँक्न सक्षम युवाहरू हाम्रो पार्टीमा सङ्गठित छन् । अब नयाँ अनुहारमा नायकहरू मञ्चमा खडा हुने छन् । इतिहासको प्रक्रिया पनि यही हो ।

 

–तपाईंले माओवादीहरूबीचको ध्रुवीकरण चाहियो भनेर वैद्य र विप्लवसँग एकताका लागि वार्ता पनि गर्नुभयो ? केही प्रगति हुँदैछ कि ? 

सकारात्मक प्रगति हुँदैछ । माओवाद विरोधीहरू एकत्रित बनेपछि माओवाद स्वीकार गर्नेहरूले के गर्नुपर्छ ? जवाफ निर्माण गरिहेका छौँ ।

 

–नेकपा नेतृत्वको सरकार बनेको ६ महिना पूरा भयो ? सरकारको समीक्षा सुनौँ न ?  

ओली सरकाको समीक्षा गृहमन्त्री बादलको हृदयले गरेको हुनुपर्छ । जसले सुरु गरेका जनपक्षीय सुधारका कामहरूको उपहार स्वरूप बादलाई कारवाही गर्दैछन् । अनि कञ्चनपुरकी निर्मला पन्तको घटनाले समीक्षा गर्छ ।

 

भारतीय प्रधानमन्त्री आउँदा पल्टनका पल्टन विस्तारवादी फौजले नेपाललाई परेड मैदान बनाए ।  त्यसैले देशभक्त नागरिकलाई ओली सरकारको छ महिने कार्यकाल इतिहासकै सङ्कटकाल भनेर मान्न थालेका छन्, बुझ्न थालेका छन् ।

 

–सरकारले राम्रो काम भएको दाबी गरेको छ, सूची नै बनाएको छ । तपाईंले केही राम्रो देख्नु भएन है ? 

यो प्रश्नको सही जवाफ बालकले दिनेछन् । जसको बादशाहा नाङ्गै रहेको बताउन सक्छन् ।

 

–तपाईंले गृहमन्त्री रामबहादुर थापा बादललाई विद्रोह गर्न आह्वान गर्नुभयो, त्यसो नगरे उनको राजनीतिक अवसान हुने दाबी गर्नुभयो ? किन यस्तो निष्कर्षमा पुग्नुभयो ? 

तुलनात्मक रूपमा प्रचण्डहरूभन्दा बादल देशभक्त लाग्छन् । अर्को उनले प्रयास गरेका सुधारका कामहरू जनताको पक्षमा थिए । राम्रो काम गर्नेको मूल्याङ्क हुँदैन । त्यसैले मैले विद्रोह गर्न आह्वान गरेको हुँ ।

 

–तर गृहमन्त्री बादलले विप्लव पार्टीका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई हथकडी लगाए भन्नेहरू छन् नि ? 

हो, त्यसको नैतिक जिम्मा बादलले लिनुपर्छ । किनकि उहाँ गृहमन्त्री हुनुहुन्छ । तर यथार्थ के हो भने गृहमन्त्रालयको अनुसन्धान विभाग सुरुमै केपी ओलीले खोसेर लगेपछि बादल आँखा र कान नभएका गृहमन्त्री बन्न बाध्य छन् ।

 

–अर्को चुनावसम्म नेकपाको अवस्था के होला ? 

खासगरी विप्लवले परिपक्व कदम उठायो भने फेरि पनि माओवादी पार्टी राष्ट्रिय शक्तिमा आउँछ । अन्यथा पुँजीवादी काँग्रेस विकल्प बन्ने प्रष्ट देखिन्छ । ओली–प्रचण्डको संसदवादी नेकपाको स्वर्णकाल सकियो । राष्ट्रवादको खोक्रो नारा उराल्दै भारतीय शासकसामु लम्पसार पर्ने ओली–प्रचण्डलाई नेपाली जनताले धिक्कार्ने छन् ।

 

–एकीकृत नेकपाभित्र पूर्वमाओवादी नेताहरूको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ? 
एक तिहाई साथीहरू हाँस्दै–हाँस्दै एमालेकरणमा विलय भएका छन् भने दुई तिहाई साथीहरू रुँदै–रुँदै गएका देखिन्छन् । ती रुँदै जानेहरूको आँशुको पोखरीमा प्रचण्डहरूले अभिजातवर्गीय शान प्रदर्शनको प्रयास गर्लान् ।

 

–आफ्ना पूर्वनेता प्रचण्डलाई तपाईंको सुझाव के छ ? 

माओवाद र पहिचानको मुद्दा त्यागेर अरू धोका दिनभन्दा राजनीति छाडेर बसे माफी पाउलान् कि !

 

–प्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी ? 

नेपाली राजनीतिमा पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर राणा, महेन्द्र शाह हुँदै हाल प्रधानमन्त्री केपी ओली गोर्खाली अन्धराष्ट्रवादका प्रतिनिधि हुन् । गोर्खाली अन्धराष्ट्रवाद नेपाली राष्ट्रवादको विरुद्ध हुन्छ ।

 

जनजातिले भनेको ब्राह्मणवाद, मधेसीले भनेको पहाडिया अहंकारवाद, महिलाले भनेको पितृ सत्तावाद र दलितले भनेको विष्टवादको केन्द्र गोर्खाली अन्धराष्ट्रवाद हो । त्यसलाई उखेलेर फाल्न समाजवादी क्रान्तिको कार्यभार हुन्छ । जसका निम्ति नेकपा मोओवादी केन्द्र समर्पित छ ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...