चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सर्लाहीको हरिवन स्थित नमूना अस्पतालमा शनिबार अाक्राेसित अाफन्तले ताेडफोड गरेका छन् ।
सुत्केरी ब्यथा लागेर शुक्रबार साँझ अस्पताल भर्ना भएकी हरिवन नगरपालिका–४, पटौनाकी ३० वर्षीया अप्सरा थापाको मृत्यु भएपछि उनका आफन्त र गाउँलेकाे समुहले बिहान अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडकाे क्रममा अस्पतालको फार्मेसीमा क्षति पुग्नुका साथै अधिकांश झ्यालका सिसाहरू फूटेका छन् ।आक्रोसित भिड निउन्त्रण लिन प्रहरीले केही सेल अश्रृ ग्यास प्रहार गरेको थियो ।
ठुलो संख्यामा जम्मा भएको आक्रोसित भिडले निरन्तर अस्पतालमा आक्रमण गर्दै आगजनी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हाे ।
भिड नियन्त्रणा गर्न प्रहरीको लाठीचार्ज गर्दा राधिका सुवेदी, नारायण सिग्देल, कृष्णहरि कार्कीलगायत घाइते भएका छन् । इलाका प्रहरी कार्यालयसँगै जोडिएको अस्पतालमा थप क्षति हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अस्पतालमा तोडफोड भएपश्चात भएको सर्वपक्षिय छलफलमा सुत्केरीको मृत्यु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका डा. अभिनाश सिंहको संयोजकत्वमा इलाका प्रशासन कार्यालय, जनप्रतिनिधी, नागरिक अगुवा, मृतकका आफन्त र अस्पताल सञ्चालक सदस्य रहनेगरि समिति गठन गरिएको हो ।
समितिले घटनाको जाँचबुझगरि सात दिनभित्र प्रतिवेदन पेश गर्ने, प्रतिवेदन पेश नहुञ्जेल अस्पताल बन्द गर्ने, मृतकको उपचारमा संलग्न अस्पतालका चिकित्सक र कर्मचारी प्रतिवेदन नआउनञ्जेल प्रहरी प्रशासनको निगरानीमा रहनेलगायतकाे सहमति भएको छ ।
अनुसन्धान पश्चात चिकित्सक र अस्पताल दोषि देखिए कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने सहमति भएको छ ।
इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दीपककुमार आचार्य, सर्लाहीका प्रहरी प्रमुख पोषराज पोखरेल, सशस्त्र प्रहरी प्रमुख समरबहादुर श्रेष्ठ, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, नमूना अस्पतालका अध्यक्ष बलराम न्यौपाने, मृतकका श्रीमान देवेन्द्र थापा, जनप्तिनिधी, गाउँका अगुवा लगायतको उपस्थितीमा सो सहमति भएको छ ।
सहमतिपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ । घटनामा चिकित्सक दोषि देखिएको आरोप लगाउँदै निष्पक्ष रुपमा अनुसन्धान गर्न मृतकका आफन्तले माग गरेका छन् ।
मृतक अप्सराका देवर हेमबहादुर थापाका अनुसार पहिले नर्सले अवस्था सामान्य छ भन्दै भर्ना गरेर तीन घण्टा पछि अवस्था गम्भीर रहेकाे बताइएकाे बताए । अवस्था सामान्य भन्दै ढिलाे सम्म राखेका कारण वीरगञ्ज पुर्याउँदा सुत्केरीकाे मृत्यु भइसकेकाे अाफन्तले बताए ।