कठघरामा कमल थापा, ३५ वर्षमा ७/८ पटक मन्त्री भएँ के आश्चर्य भो र ?



 

अभियोग १ : व्यवस्थासँगै धेरै नेताको राजनीतिक जीवन समाप्त हुन्छ । यो देशमा पञ्चायत गयो, पञ्चायतसँगै राजाको शक्ति गयो । र, राजा सक्रिय हुन खोज्दा २४० वर्षको राजतन्त्रसमेत सखाप भयो । तर, हरेक व्यवस्थामा पद पाउने एक मात्र अनौठो नेता तपाईं हुनुहुन्छ । तपाईंलाई नीति, आदर्श र व्यवस्थासँग होइन, पदसँग मात्रै सरोकार छ ।

यसलाई अर्को दृष्टिकोणबाट हेर्‍यो भने सकारात्मक पक्ष पनि भेटिन्छ । हामी निरन्तरतासहितको परिवर्तनको पक्षमा छौँ । आफ्ना मूलभूत मान्यतालाई नछाड्ने र समय, काल र परिस्थितिअनुसारको परिवर्तनलाई स्वीकार गर्ने । जनताको चाहना र भावनाको सम्मान गर्दै, यही मान्यताको कारणले गर्दा चाहे हिजोको पञ्चायतमा होस्, चाहे बहुदलीय व्यवस्थामा होस् र अहिले गणतान्त्रिक अवस्थामा पनि राजनीतिक रूपमा आफ्नो उपादेयता स्थापित गर्न सक्षम भएको छु ।

 

जहाँसम्म सरकारमा सहभागिताको प्रश्न छ, म उमेरका हिसाबले ३०/३१ वर्षमा पहिलोपटक मन्त्री भएको हुँ । त्यस हिसाबले करिब साढे तीन दशकको राजनीतिक जीवन अवधिमा ७/८ पटक मन्त्री हुनु के आश्चर्य भयो र ? मेरो व्यक्तिगत क्षमता, जनताको विश्वास र विचारप्रतिको निष्ठाले नै मलाई यी ठाउँमा पुर्‍याएको हो भन्ने मलाई लाग्छ । तपाईंले मलाई खालि सरकारमा गएको मात्रै देख्नुभयो । तीनैवटा राजनीतिक व्यवस्थामा जनताबाट चुनाव जितेर पनि आएको छु नि ! चाहे पञ्चायतको पालामा होस्, चाहे बहुदलीय कालमा होस् या गणतन्त्रको अवस्थामा होस्, चुनाव जितेरै आएकाले मेरो व्यक्तिगत स्वार्थको कुरा मात्रै होइन, जनताबाट अनुमोदित भएर पनि आएको विषय हो ।

 

हेर्नुपर्ने कुरा कतिपटक सरकारमा पुग्यो, कुन–कुन व्यवस्थामा सरकारमा पुग्यो भन्दा पनि मैले आफ्नो राजनीतिक जीवनयात्राका क्रममा मूलभूत मान्यताहरूलाई छाडेको छु कि छैन भन्ने हो । सैद्धान्तिक निष्ठा र नैतिकता कायम राखेको छु कि छैन भन्ने कुरा महत्वपूर्ण हो । साढे तीन दशक राजनीतिमा रहँदा अहिलेसम्म केही राजनीतिक विरोधहरूका बाबजुद मेरो नैतिकता र चरित्रमाथि
कसैले प्रश्न उठाउन सकेको छैन् । यो मेरो पुँजी हो ।

 

अभियोग २ : सत्ताको चतुर खेलाडी हुनुहुन्छ । त्यसका लागि जोसँग जस्तोसुकै सम्झौता पनि गर्नुहुन्छ । हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गरिरहनुभएको तपाईंले गणतान्त्रिक र धर्मनिरपेक्षतासहितको संविधानमा हस्ताक्षर गर्नुभयो । र, केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा सबैको सरकारमा उपप्रधानमन्त्री बन्नुुभयो ।

राप्रपा मात्रै त्यो पार्टी हो, जसले आफ्नो फरक मतका कारणबाट संविधानको विपक्षमा मतदान गरेको छ । हामीले संविधानलाई आलोचनात्मक समर्थन गरेका छौँ । संविधानमा रहेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताप्रति हाम्रो हिजो पनि आपत्ति थियो, आज पनि छ । त्यसप्रति हाम्रो विमति छ । फरक विचारधारा बोकेर हिँड्न पाइने, फरक विचारधारा बोकेर पार्टी खोल्न पाइने, पार्टी कहिल्यै प्रतिबन्धित नहुने र जनताको माझमा गएर आफ्ना मान्यतालाई स्थापित गर्न पाइने हामीले स्वीकार गरेको संविधानको मान्यता हो । संविधानलाई आलोचनात्मक समर्थन गरे पनि हामीले आफ्नो एजेन्डा छाडेका छैनौँ ।

 

हामीले संविधानको विपक्षमा मतदान गर्‍यौँ । तर, दुईतिहाइभन्दा बढी बहुमतबाट अर्थात् झन्डै ९० प्रतिशतबाट हाम्रो विमतिका बाबजुद संविधान पारित भयो । त्यसपछि हामीले प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श, जनताको सर्वोच्चता र निर्णायकत्वलाई सम्मान गर्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका हौँ । संविधानलाई उपयोग गर्दै संविधानको परिधिभित्र रहेर प्रजातान्त्रिक ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने बाटो हामीले अवलम्बन गरेका हौँ ।

 

यो बाटोबाट अगाडि हिँड्दा स्वाभाविक रूपमा कहिले हामी सरकारमा हुन्छौँ, कहिले प्रतिपक्षमा रहन्छौँ । यसमा विरोधाभाष छैन । यद्यपि, कतिपयको मनमा हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको पार्टीले कसरी गणतन्त्र र धर्मनिरपेक्षतासहितको संविधान स्वीकार गर्‍यो, कसरी सरकारमा गयो भन्ने प्रश्न उठ्न सक्छ । त्यसलाई म अस्वाभाविक ठान्दिनँ । तर, जब हामीले आफ्नो एजेन्डाप्रति प्रतिबद्ध रहँदै संविधानलाई उपयोग गर्ने र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै जाने रणनीति अपनाइसकेपछि त्यसमा विरोधाभाष छैन भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

 

अभियोग ३ : पदका लागि आफ्नै राजनीतिक अग्रज तथा सहकर्मीहरूलाई हदैसम्मको घात गर्न पनि पछि पर्नुहुन्न । ०५४ मा आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीबाट हटाउन ल्याइएको अविश्वासको प्रस्तावलाई सघाउनुभयो । चन्दले तपाईंलाई ‘राजनीतिक मुसा’को उपमा नै दिनुभयो ।

उहाँ (लोकेन्द्रबहादुर चन्द)ले मलाई नै त्यो आरोप लगाएको भन्ने त कहीँकतैबाट पुष्टि हुँदैन । आश्चर्य के लाग्छ भने, मलाई यो आरोप लगाउनेहरूले सूर्यबहादुर थापालाई किन लगाउँदैनन् ? त्यतिखेर म पार्टीको अध्यक्ष हो र ? सूर्यबहादुर थापा पो अध्यक्ष हुनुहुन्थ्यो । अनि, पार्टीले सरकारबाट फिर्ता बोलाउने औपचारिक निर्णय गरिसकेपछि पनि प्रधानमन्त्रीको पद नछाडेर अविश्वासको प्रस्ताव सामना गर्ने व्यक्ति दोषी हो कि पार्टीको निर्णयलाई स्वीकार गरेर त्यसका पक्षमा उभिने व्यक्ति दोषी हो ? म पार्टी जहाँ उभिएको थियो, पार्टीले जे संस्थागत निर्णय गर्‍यो, त्यसको पक्षमा उभिएको हुँ । त्यहाँ लोकेन्द्रजीको पक्ष÷विपक्षको कुरै होइन ।

 

अर्को प्रश्न त लोकेन्द्रजीलाई नै जान्छ कि पार्टीले औपचारिक निर्णय गरिसकेपछि पनि उहाँले पद नछाड्ने हठ किन कायम राख्नुभयो ? व्यक्तिगत रूपमा म एकजना मात्रै हो र ? सिंगो पार्टी नै एकातिर उभिएको थियो । अनि, मलाई मात्रै यो आरोप ? हुन त लोकेन्द्रजीले पनि मलाई तोकेर नै यो आरोप लगाउनुभएको छैन । त्यसपछि पनि हामी एउटै पार्टीमा बस्यौँ, काम गर्‍यौँ । उहाँले व्यक्तिगत रूपमा मलाई कहिल्यै त्यस्तो आरोप लगाउनुभएन । मैले पनि उहाँसँग त्यो विषयमा कहिल्यै जिज्ञासा राखिनँ ।

 

अभियोग ४ : तपाईंमा परिवारवाद हाबी छ । दोस्रो संविधानसभामा गृहजिल्ला मकवानपुरबाट पत्नीलाई उम्मेदवार बनाउनुभयो भने मन्त्रिपरिषद्बाट मनोनीत गरेर भाइ गणेश थापालाई सभासद् बनाउनुभयो । र, आफू पटक–पटक मन्त्री बन्नुभयो ।

आफू मन्त्री भएको विषयमा त अघि पनि केही कुरा भनिसकेँ । वास्तवमा अत्यन्तै कठिन र असहज परिस्थितिका बाबजुद पार्टी र पार्टीको पक्षमा म मात्रै होइन, मेरो सिंगो परिवार एक ठाउँमा उभिएको छ । आवश्यक पर्दा संघर्षमा पनि उत्रिएको छ । तर पनि परिवारका सदस्यहरूलाई अगाडि बढाउने नीति मैले कहिल्यै पनि अवलम्बन गरिनँ । मेरो असहमति हुँदाहुँदै पनि पार्टीले मेरो भाइ गणेश थापालाई संसद्मा मनोनयनका निम्ति सिफारिस गर्नुपर्छ भनेर निर्णय गर्‍यो । मैले त्यो निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ ।

 

त्यो मेरो एजेन्डा पनि थिएन र मेरो भित्री चाहना पनि होइन । तर, संविधान र कानुनअनुसारको योग्यता पूरा गर्नेक्रममा उपयुक्त व्यक्ति देखिएको हुनाले पार्टीले उनलाई सांसद बनाएको हो । जहाँसम्म श्रीमतीलाई चुनाव लडायो भन्ने कुरा छ, उनी मेरो चाहनाले उम्मेदवार बनेकी होइनन् । मेरी श्रीमती भएका कारणले मात्रै पनि उनले टिकट पाएकी होइनन् । पार्टीका साथीहरूको चाहनाले गर्दा उम्मेदवार बनिन् । र, सम्मानजनक मत पनि पाइन् ।

 

अभियोग ५ : आर्थिक रूपमा पनि पारदर्शी हुनुहुन्न । चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहसँग रकम लिएको आरोप पार्टीभित्रैबाट लाग्यो । राप्रपाकै नेता दिलविकास राजभण्डारीले सभासद् बनाइदिने भन्दै ठूलो रकम लिएको तर पछि नबनाएर घात गरेको आरोप सार्वजनिक रूपमै लगाए ।

जहाँसम्म आर्थिक पारदर्शिताको कुरा छ, मलाई लाग्छ अन्य सबै राजनीतिक दलहरूभन्दा तुलनात्मक रूपमा राप्रपाको हिसाबकिताब नियमित र पारदर्शी छ । अब केही व्यक्तिविशेषले हावादारी र अपुष्ट किसमको आरोप लगाउँछन् भने त्यसको जवाफ त मैले कसरी दिन सक्छु र ? म दाबीका साथ भन्न सक्छु, अन्य पार्टीहरूको तुलनामा हाम्रो आर्थिक व्यवस्थापन बढी पारदर्शी र जवाफदेहीपूर्ण छ । हामी केन्द्रीय समितिको बैठकमा त्रैमासिक रूपमा आर्थिक प्रतिवेदन पेस गर्छौं । त्यहाँ कहाँबाट कति आम्दानी भयो, खर्च कति भयो सबै हिसाबकिताब हुन्छ । अनि, वर्ष सकिएपछि लेखापरीक्षण गरेर निर्वाचन आयोगमा नियमित रूपमा प्रतिवेदन बुझाउँछौँ । सभासद् बनाउँछु भनेर मैले पैसा लिएको कुरामा त झन् सत्यता नै छैन । उहाँ (राजभण्डारी)ले कहाँ के बोल्दै जानुहुन्छ, त्यसको जवाफ दिँदै जानु म आवश्यक नै ठान्दिनँ ।

 


अभियोग ६ : तपाईं र केपी ओलीले स्वदेशमा राष्ट्रवादको नारा उराल्नुभयो । मधेसीसँग समझदारी गर्ने कुरामा भारतको हस्तक्षेप नसहने सार्वजनिक दाबी पटक–पटक गर्नुभयो । तर, आन्दोलनरत मधेसीलाई संविधान संशोधन गरेर सम्झाउन सकिन्छ भन्ने ‘नन पेपर’ प्रस्ताव बोकेर दिल्ली धाउनुभयो । तपाईंको राष्ट्रवाद ढोङ मात्रै हो ।

यी सबै उडन्ते कुरा हुन् । यस्ता किसिमका आधारहीन आरोप लगाउनुको सट्टा नेपालको राष्ट्रिय हित र स्वाभिमानमा एक इन्च पनि आँच नपुर्‍याईकन नाकाबन्दीलाई अन्त्य गराउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको जस हामीलाई दिनुपर्छ । १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएयता सम्भवतः नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको परराष्ट्रमन्त्रीले राष्ट्रको स्वाभिमान उँचो राख्ने गरी विदेशीको आक्षेपलाई सशक्त ढंगबाट प्रतिवाद गरेको छ ।

 

त्यसैगरी, नेपालको बृहत्तर हित र राष्ट्रिय स्वार्थको संरक्षण गर्ने क्रममा चीनसँग ऐतिहासिक महत्वको सहमति र सम्झौता अगाडि बढाउने काममा निर्णायक भूमिका हामीले खेलेका छौँ । त्यसकारण मधेसी समस्या सामाधान गर्नेक्रममा भारतलाई ‘नन पेपर’ बुझायो भन्ने आरोप आधारहीन मात्रै हो । यसमा कुनै सत्यता छैन ।

 

हामीले कुनै किसमको त्यस्तो पेपर दिने कुरा नै थिएन । म आफैँले पनि पटक–पटक भारतीय नेताहरूलाई भनेको छु, सार्वजनिक माध्यममा बोलेको छु कि ‘मधेसको समस्या नेपालको आन्तरिक समस्या हो, यो समस्या समाधान गर्न हामी सक्षम छौँ र समाधान गर्छौं । तर, नेपाल–भारत सम्बन्धलाई नेपालको आन्तरिक विवादका कारणले बन्धक तुल्याउनुहुँदैन ।’ यति सशक्त ढंगबाट संयुक्त राष्ट्रसंघको बैठकमा गएर बोल्ने व्यक्तिले दिल्ली गएर ‘नन पेपर’ देला र ? नेपालमा एउटा दुर्भाग्य नै यही छ, आफ्नो निहित एउटा स्वार्थपूर्ति गर्नका लागि आधारहीन आरोपहरू लगाएर आफू चोखिन चाहने प्रवृत्ति छ । त्यस्तै प्रवृत्तिले यस्ता आरोप लगाएका हुन् । अन्यथा त्यसमा कुनै सत्यता छैन ।

 

अभियोग ७ : आफ्नो स्वार्थमा बाधक बन्दा सहकर्मीहरूप्रति पनि क्रूर बन्नुहुन्छ । निर्वाचनअघिको सरकार अस्थिर थियो । निर्वाचनपछि पार्टी सरकारमा जान्छ कि जाँदैन भन्ने थाहा थिएन । तर, त्यस्तो वेलामा पनि आफ्नै सहकर्मी दिलनाथ गिरीलाई मन्त्रीबाट गलहत्याउनुभयो ।

तपाईंले प्रयोग गरेको ‘गलहत्यायो’ भन्ने शब्द यसमा उपयुक्त होइन जस्तो मलाई लाग्छ । उहाँ (दिननाथ गिरी)लाई गलहत्याएर, घोक्र्याएर निकालिएको होइन । दिननाथजीले चुनाव सम्पन्न भइसकेपछि, केही दिन मात्रै सरकारको आयु रहेको अवस्थामा आफ्नो मन्त्रालयको सचिवलाई हटाएर केही निहीत स्वार्थ परिपूर्ति गर्न खोजेको हुँदा मैले रोकेको हुँ । एक त हामी कामचलाउ सरकार भइसक्यौँ, दुई हप्तापछि अर्को सरकार आउँदै छ । ‘यो बीचमा एउटा योग्य/सक्षम सचिवलाई चलाउनु राम्रो हुँदैन, हामीले गर्नुहुँदैन’ भन्दाखेरि उहाँले अनुशासनहीन र मर्यादाहीन ढंगबाट मन्त्रिपरिषद्को बैठकमा आफ्नो पार्टीको अध्यक्ष तथा सरकारमा पार्टीको नेतृत्व गरेर गएको उपप्रधानमन्त्रीविरुद्ध जुन किसमका अभिव्यक्ति दिनुभयो, त्यसले गर्दाखेरि उहाँलाई अनुशासनको कारबाही गर्न बाध्य भएका हौँ । कारबाही गरिएपछि उहाँ भाग्नुभयो । हामीले पार्टीबाट उहाँलाई निकालेका पनि छैनौँ । आफूले गरेको अनियमित र अवाञ्छित कार्यलाई फेस गर्न नसकेपछि कता जानुभयो जानुभयो ।

 

अभियोग ८ : एकीकरणका नाममा ‘राप्रपा’ नाम नै कब्जा गर्नुभयो । तर, पार्टीभित्र आफूले ठाउँ बनाएलगत्तै राप्रपा जोगाइराखेका पुराना नेताहरूलाई पार्टीबाट निकाल्नुभयो ।

मैले कसैलाई पार्टीबाट निकालेको पनि छैन । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी देशको सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा उदय भइरहेको थियो । त्यो अवस्थामा विनाकुनै कारण, विनाकुनै आधार पार्टीलाई फुटाउनु भनेको दुर्भाग्यपूर्ण कार्य थियो । किन फुटाइयो ? त्यसको औचित्य के थियो ? यसबारे मैले भन्दा पनि पार्टी फुटाउने साथीहरूले नै जवाफ दिन सक्नुहुन्छ । कुनै कुरा चित्त नबुझेको थियो भने पार्टी विधानअनुसार पार्टीको उपयुक्त फोरममा प्रतिवाद गर्न सकिन्थ्यो । राप्रपा एउटा प्रजातान्त्रिक पार्टी हो । यसको प्रजातान्त्रिक कार्यशैली छ । यहीभित्र बसेर छलफल गर्दै निराकरण गरेर जाने दलीय चरित्र र संस्कार हो । तर, दुर्भाग्य के भने राप्रपामा केही कुरा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाएर जाने प्रवृत्ति हाबी भएको छ । त्यसबाट अब हामीले पाठ सिक्नुपर्दछ ।

 

पार्टी फुटाएर उहाँहरूले कुनै उपलब्धि हासिल गर्नुभएको पनि छैन । यो निर्वाचनमा सबै घटकहरूले निराशाजनक परिणाम ल्याउनुमा पार्टी विभाजन एउटा महत्वपूर्ण कारक हो । यसबाट पनि पार्टी विभाजन औचित्यहीन थियो, दुर्भाग्यपूर्ण अभ्यास थियो भन्ने पुष्टि भइसकेको छ  । अब यी सबै कुराहरू बिर्सिएर एकतामा आउनुपर्छ । म नयाँ पत्रिकामार्फत पनि पशुपतिशमशेर, प्रकाशचन्द्र लोहनीजीहरूलाई आग्रह गर्न चाहन्छु कि अब फुटेर होइन, एकताबद्ध भएर नै हामी सबैको र मुलुकको भविष्य पनि सुरक्षित हुन्छ ।

 

अभियोग ९ : ०७० को निर्वाचनमा तपाईंले नेतृत्व गरेको राप्रपाको २५ सिट आयो । तर, त्यो भोट हिन्दूराज्य, संघीयताको विरोध र राजतन्त्रको पक्षमा थियो भन्ने तपाईंले बिर्सनुभयो । त्यसैले उल्टै पूर्वराजा ज्ञानेन्द्रसँग पौँठेजोरी खेल्न पुग्नुभयो । आफ्नो हैसियतको अतिमूल्यन गर्दा आज एक सिटमा खुम्चिनुपरेको छ ।

राप्रपाले हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासनको एजेन्डा कहिल्यै पनि छोडेको छैन । छोड्ने पनि छैन । राप्रपा स्थापनाको औचित्यको आधार भनेकै यी फरक विचारहरू हुन् । जुन दिन राप्रपाले हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासनको एजेन्डालाई छोड्दछ, त्यो वेलामा राप्रपा स्थापनाको औचित्य पनि समाप्त हुन्छ । हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासन राप्रपाको प्राण हो, आत्मा हो ।

 

यो सिद्धान्त छोडेको दिन प्राणविहीन हुन्छ, आत्माविहीन हुन्छ । त्यसकारण त्यस्तो कार्य राप्रपाले गर्दैन । हामीले संविधानसभाको चुनावमा यो एजेन्डा बोकेर गयौँ । जनताले हामीलाई सम्मानजनक मत पनि प्रदान गरे । तर, दुर्भाग्यवश संविधान बनिसकेपछि पार्टी एकीकरण गर्ने नाममा हामी राप्रपा र राप्रपा नेपाल एकीकरण भयो । त्यो एकतालाई कायम राख्न नसक्दाखेरि र पार्टी विभाजन हुँदाखेरि हामीले यो निराशाजनक परिणाम भोग्नुपर्‍यो ।

 

अभियोग १० : नेता/कार्यकर्तालाई मात्रै होइन, जनतालाई समेत ढाँट्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा संघीयताको विरोध गर्छु र हिन्दूराष्ट्र फर्काउँछु भनेर मत माग्नुभयो । तर, देश संघीयतामा गयो र हिन्दू धर्मको सट्टा धर्मनिरपेक्षता पारित भयो । त्यही संविधानमा हस्ताक्षर गरेर तपाईं मन्त्री बन्नुभयो ।

तपाईंले भन्नुभएको कुरामा केही सत्यता छ । आममानिसमा र कतिपय व्यक्तिहरू जसले हिजो ०७० को चुनावमा राप्रपालाई मतदान गरेका थिए, उनीहरूमा एउटा भ्रम भनौँ या आशंका रहेको छ कि हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासनको एजेन्डा बोक्ने पार्टीले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता बोकेको संविधानलाई किन स्वीकार गर्‍यो ? किन संविधानमा हस्ताक्षर गर्‍यो ? यो प्रश्न रहेको छ । यसलाई म अस्वाभाविक मान्दिनँ । तर, के स्पष्ट पार्न चाहन्छु भने हामी अन्तिम दिनसम्म हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासनको पक्षमा उभियौँ ।

 

र, यो संविधानलाई भोटिङमा राख्दाखेरि हामीले विपक्षमा मतदान गर्‍यौँ । तर, संख्याको कमीले गर्दा हामीले आफ्नो एजेन्डा स्थापित गर्न सकेनौँ । यद्यपि, संविधान निर्माणको वेलामा इमानदारीपूर्वक अन्तिम समयसम्म हामी अडेका थियौँ । जब संविधान ९० प्रतिशत बहुमतबाट पारित भएपछि हामीले के गर्ने ? हिजो चुनावमा भाग लिने, चुनावको परिणामलाई स्वीकार गर्ने, संविधानसभामा गएर बहस गर्ने अनि त्यो संविधानसभाले गरेको निर्णय आफ्नो अनुकूल भएन भनेर अस्वीकार गरेर हिँड्ने, के प्रजातान्त्रिक चरित्र हो ? यो अवस्थामा हामीले नेपालको राष्ट्रिय राजनीतिमा एउटा नयाँ सोच, नयाँ भिजन प्रस्तुत गरेका छौँ । त्यो के हो भने संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर पनि हिन्दूराष्ट्र, राजसंस्था र स्थानीय स्वायत्तशासनसम्बन्धी एजेन्डा स्थापित गर्न सकिन्छ, त्यो नै नेपालको हितमा हुन्छ भन्ने एउटा भिजन हामीले दिएका हौँ ।

 

यो कुरालाई कतिपय कुरामा असन्तुष्ट रहेका मधेसवादी दलहरूले हिजो स्वीकार गरेनन् । आन्दोलनमा गए, नाकाबन्दीमा गए तर आज उहाँहरू पनि फर्किएर संसद्मै आउनुपर्‍यो । यसबाट पुष्टि हुन्छ कि हामीले लिएको बाटो करेक्ट छ । हामीले खेलमा भाग लिने, खेलको नियमलाई मान्ने अनि खेलकुदमा हारिसकेपछि यो खेल मान्दैनौँ भनेर हिँड्नुचाहिँ सुहाउँछ र ? सुहाउँदैन नि । त्यसकारणले गर्दाखेरि हामीले संविधानमा आफ्नो रिजर्भेसनसहित हस्ताक्षर गरेका छौँ । त्यत्तिकै आँखा चिम्लिएर सही गरेका छैनौँ । हाम्रो फरक मत दर्ज गराएर हस्ताक्षर गरेका छौँ ।

 

अर्को महत्वपूर्ण प्रश्न पनि योसँगै जोडिएर आएको छ । जनताको कठघरामा उभिँदाखेरि सबभन्दा बढी मैले स्पष्ट पार्नुपर्ने विषय भनेकै यही हो । त्यो के हो भने राजसंस्था, हिन्दूराष्ट्र बोक्ने पार्टी, गणतन्त्र र धर्मनिरपेक्षता बोक्ने अन्य पार्टीसँग कसरी सरकारमा सहभागी भयो ? हामीलाई भोट हाल्नुहुने, हिन्दूराष्ट्र र राजसंस्थाका एजेन्डाको पक्षमा रहेका आमजनतालाई म के आश्वस्त पार्न चाहन्छु भने सरकारमा सहभागिता र हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डाप्रति निष्ठा राख्नुमा विरोधाभाष छैन । हामीले सरकारमा गएको गणतन्त्र र संघीयतालाई स्वीकार गरेर होइन, धर्मनिरपेक्षतालाई स्वीकार गरेर होइन ।

 

हामी सरकारमा गएको पार्टी बलियो बनाएर जनताको विश्वास जितेर फेरि आफ्नो एजेन्डा स्थापित गर्न सकिन्छ भन्ने आधारमा रणनीतिक रूपमा हामीले त्यो अवसरको सदुपयोग गरेका हौँ । केचाहिँ आत्मालोचनाका साथ स्वीकार गर्दछु भने, संविधान निर्माण भइसकेपछिका तीनवटै सरकारमा सहभागी हुनुचाहिँ त्यो राजनीतिक दृष्टिकोणबाट उपयुक्त भएन । केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भएर हामीले कुनै गल्ती गरेका छैनौँ । राम्रै गरेका छौँ ।

 

तर, त्यसपछिका दुईवटा सरकारमा सहभागिता विवादास्पद बन्न गयो । खासगरी पार्टी एकतापछिको एउटा बाध्यकारी अवस्थामा हामीले तितो भए पनि सरकारमा सहभागिताको निर्णयलाई साथ दिनुपर्‍यो । त्यसको हामीले धेरै ठूलो मूल्य चुकाएका छौँ । र, अहिले म यही कठघरामा उभिएकै वेलामा के स्पष्ट पार्न चाहन्छु भने आगामी दिनमा सरकारमा सहभागिता हुनेबारे चाहिँ हामी निश्चय पनि चारपटक सोच्नेछौँ । जनताले रुचाएनन् ।

 

राप्रपा हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डा बोक्ने पार्टी भएको हुँदा जुनसुकै पनि सरकारमा सहभागी भएको कुरा जनतालाई चित्त बुझेन । यो जनताको भावनालाई सम्मान गर्दै आगामी दिनमा सरकारमा सहभागिताबारेचारपटक नसोचीकन, हाम्रो एजेन्डालाई कसरी फाइदा पुर्‍याउन सकिन्छ र जनताको विश्वास जित्न सकिन्छ भन्ने कुरा नगरीकन हामी सरकारमा सहभागिताबारे सोच्दैनौँ ।

 

अभियोग ११ : पार्टीभित्र सधैँ आफ्नो सत्ता कायम राख्न चाहनुहुन्छ । पछिल्लोपटक एकीकृत भएको राप्रपा तपाईंको यही स्वभावका कारण ६ महिना नबित्दै विभाजित भयो । आफ्नो बहुमत पुर्‍याउन केन्द्रीय कार्यसमितिलाई समेत गुमराहमा राखेर ४२ केन्द्रीय सदस्य थपेपछि पार्टी नै विभाजन भयो ।

 

पार्टीको एकता महाधिवेशनबाट म अत्यधिक बहुमतका साथ अध्यक्षमा निर्वाचित भएको हुँ । यसमा मेरो व्यक्तिगत स्वार्थको कुराभन्दा पनि पार्टीको हितको निमित्त, पार्टीको लक्ष्यप्राप्त गर्नका निमित्त, पार्टीका महाधिवेशन प्रतिनिधि साथीहरूको विश्वासले मैले त्यो प्राप्त गरेको हुँ । तर, ६ महिना पुग्दानपुग्दै पार्टी विभाजन गर्ने काम भयो । तपाईंले भनेको ४१/४२ जना सदस्य मैले मनोनीत गरेपछि पार्टी विभाजन भएको होइन । उहाँहरूले पार्टी विभाजन गर्ने भइसकेपछि त्यो रोक्नका निमित्त मैले विधानले दिएको अधिकारबमोजिम मनोनयन गरेको हुँ ।

 

त्यो पनि एकपक्षीय थिएन भन्ने कुरा त कहाँबाट देखिन्छ भने त्यही मनोनीत गरेका मध्ये पनि १६ जनाले पशुपतिशमशेरजीको पक्षमा हस्ताक्षर गरेका छन् । त्यति गर्दा पनि उहाँहरूले कानुनबमोजिम आवश्यक ४० प्रतिशत पूरा गर्न सक्नुभएन । संसद्मा रहेका सांसदहरूको ४० प्रतिशत पूरा गर्न सक्नुभएन । र, त्यो वेलाको सत्ताको दुरुपयोग गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतलाई समेत प्रभावमा पारेर गैरकानुनी रूपमा राप्रपालाई विभाजन गर्ने काम भएको हो । हो, ०६२ सालमा तत्कालीन राप्रपा विभाजन हुँदाखेरि मेरो महत्वपूर्ण भूमिका रह्यो ।

 

त्यो वेलामा विधानबमोजिम ९० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउनका निमित्त लिखित रूपमा अनुरोध गर्दा तत्कालीन अध्यक्ष पशुपतिशमशेरले नबोलाएपछि हामीले विधानबमोजिम नै विशेष महाधिवेशन बोलाउनुपर्‍यो । र, त्यो विशेष महाधिवेशनले पशुपतिजीलाई अविश्वासको प्रस्ताव पास गरेर मलाई अध्यक्षको रूपमा निर्वाचित गर्‍यो । तर, उहाँहरूले त्यो निर्णयलाई स्वीकार गर्नुभएन । यसरी त्यो वेलामा पार्टी फुट्न गयो । त्यहाँ मेरो भूमिका रह्यो । त्यसबाहेक पार्टी विभाजनमा मेरो भूमिका छँदैछैन ।

 

अभियोग १२ : गुटबन्दीमा रमाउनुहुन्छ । आफूनिकट नेता/कार्यकर्तालाई संरक्षण गर्न जस्तोसुकै हतकण्डा अपनाउनुहुन्छ । जब कि, विपक्षमा रहेका र मन नपर्ने नेता/कार्यकर्तालाई भित्तामा पुर्‍याउन कुनै कसर बाँकी राख्नुहुन्न ।

यो आरोपमा सत्यता छैन  । राप्रपा विधानबमोजिम प्रजातान्त्रिक मूल्य र मान्यतामा चल्ने पार्टी हो । पार्टीभित्र फरक विचार राख्ने र बहस गर्ने अधिकारबाट कसैलाई पनि वञ्चित गरिएको छैन । त्यो अवसरको प्रयोग नै नगरीकन पार्टीलाई हानि–नोक्सानी हुने ढंगबाट गुटबन्दी गर्ने वा सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा लाग्ने केही साथीहरू पार्टीलाई फेस गर्न नसकेर आफैँ पन्छिँदै जानुभएको छ ।

 

त्यसबाहेक मैले त्यसरी कसैमाथि आग्रह–पूर्वाग्रह राख्ने गरेको पनि छैन, गर्ने कुरा पनि छैन । तपाईंले भनेजस्तो गुटबन्दी गर्ने गरेको भए, गुटबन्दीमा विश्वास गरेको भए यति लामो समयसम्म म पार्टीको नेतृत्वमा रहने अवस्था पनि हुने थिएन । र, केही अपवादबाहेक मैले सर्वसम्मत ढंगबाट साथीहरूको विश्वास प्राप्त गर्दै आएको छु । पार्टीमा मेरो कुनै गुट पनि छैन, कुनै पक्ष पनि छैन । र, यही नै मेरो महत्वपूर्ण पुँजी हो भन्ने मलाई लाग्छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा