यस्तो छ विश्वको अर्बपतिको जीवनशैली : भाँडा माझ्नेदेखि तास खेल्नेसम्म, ६० घन्टा काम गर्छन् जुकरबर्ग



 

 

 भाँडा माझ्न मन पराउँछन् अर्बपति बेजोस


अमेरिकी अनलाइन व्यापार कम्पनी अमेजन इन्कका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस उमेरले पाँच दशक पार गरिसकेका छन् । फोब्र्सको रियल टाइम र्‍यांकिङअनुुसार १ सय ५० अर्ब डलर सम्पत्तिका मालिक बेजोसको लगानी वासिङटन पोस्टका साथै एरोस्पेस कम्पनी ब्लू ओरिजिनमा समेत छ ।

 

मानिसले पर्याप्त आराम गर्नुपर्ने मान्यता बेजोसको छ । दैनिक आठ घन्टा सुत्ने बेजोस एलार्म क्लर्कको सहायताविना नै सामान्यतया बिहान सबेरै उठ्छन् । परिवारलाई आवश्यक समय व्यवस्थापन गर्ने बेजोस प्रायःजसो श्रीमती र छोराछोरीसँगै बिहानको नास्ता गर्छन् । आफैँ प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी अमेजनमा भने उनले वर्षमा मुस्किलले ६ घन्टा मात्र समय दिन भ्याउँछन् ।

 

बैठक तथा छलफलको उत्पादकत्वप्रति सचेत बेजोस अधिकांश मिटिङमा ‘टू पिज्जा रुल’ लागू गर्र्छन् । दुईवटा पिज्जा पनि खान नपुग्ने गरी धेरै मानिससँगको भेटघाट फलदायी नहुने उनको विश्वास छ । साधारणतया आठजनाभन्दा कम सदस्यबीचको छलफलको उत्पादकत्व बढी हुने भएकाले यस्तो बैठकलाई टू पिज्जा रुलमा आधारित बैठक भन्ने गरिन्छ । आर्थिक मितव्ययिता व्यवस्थापन गर्न माहिर बेजोसले कर्मचारीलाई म्यासेज पठाएर चिया–कफी तथा खाना खाने गरी समय छुट्याएका छैनन् ।

 

साधारणतया नयाँ–नयाँ खानाको स्वाद लिन मन पराउने बेजोसलाई अक्टोपससँग साँधेको आलुको परिकार निकै प्रिय लाग्छ । हरियो लसुनमा दही मिलाएर बनाइएको परिकार र अन्डा पनि उनलाई औधी मनपर्छ । ‘मेनु हेरेर अर्डर गर्नुपर्‍यो भने मैले कहिल्यै स्वाद नलिएको र कुनै पनि जानकारी नभएका खानेकुराको अर्डर गर्छु । तर, ब्रेकफास्टमा भने प्रायःजसो अक्टोपस हुने गर्छ,’ बेजोसले एक अन्तर्वार्तामा भनेका थिए । लन्चपछि भाँडा माझ्न मन पराउने बेजोस भन्छन्, ‘भाँडा माझ्दा सबैभन्दा बढी आनन्द आउने कुरामा म विश्वस्त छु ।’ अमेरिकी टेलिसिरियल ‘स्टार ट्रेक’ हेर्ने उनको सोख हो । बेजोस छोराछोरीसँग साहसिक मनोरञ्जनमा गइरहेका हुन्छन् ।

 

 फुर्सदमा परिवारसँग तास खेल्छन् बिल गेट्स


सर्वाधिक धनीको सूचीमा दोस्रो नम्बरमा परेका बिल गेट्सको दैनिकी पत्रपत्रिका र अनलाइनमा आउने मुख्य समाचार पढेर सुरु हुन्छ । विशेष गरी न्युयोर्क टाइम्स, द वाल स्ट्रिट जर्नल र द इकोनोमिस्टका सक्रिय पाठक हुन् बिल गेट्स । फोब्र्सको सूचीअनुसार ९५ अर्ब डलरका मालिक गेट्स ६२ वर्षका छन् ।

 

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गेट्स घरमा कमै समय बिताउने गर्छन् । तर, जब वासिङटनस्थित घरमा हुन्छन्, निजी आवासमा हल्लिएर केही समय बिताउँछन् । सन् २०१६ मा उनको घरको मूल्य १२ करोड ४० लाख डलर पर्ने अनुमान गरिएको थियो ।

 

सन् २००८ भन्दा पहिले गेट्सले ट्रेडमिलमा कसरत गर्थे । ६२ वर्षीय गेट्सलाई टेनिस खेल औधी मनपर्छ । गेट्स आफूलाई कोकोआ पफ खान धेरै नै मन पर्ने बताउँछन् । तर, उनकी श्रीमती मेलिन्डाले भने प्रायःजसो ब्रेकफास्ट ‘स्किप’ गर्ने बानी रहेको बेस्टी लेन हाई स्कुलका विद्यार्थीलाई बताएकी थिइन् ।

 

चिज बर्गर गेट्सलाई सबैभन्दा बढी मन पर्ने खाना हो । तपाईंलाई लन्चको समयमा सबैभन्दा बढी मनपर्ने खाना के हो भनेर सोधिएको ‘रेडिट अमा’ (जुनसुकै विषयमा खुला प्रश्न सोधिने सिरिज)को प्रश्नमा उनले तीन पटकसम्म चिज बर्गरको नाम दोहोर्‍याएका थिए ।

 

कुनै पनि काम सकेपछि लगत्तै अर्को काममा हात हाल्दैनन् गेट्स । एक कामपछि अर्को काम गर्न कम्तीमा पाँच मिनेट समय व्यवस्थापन गरेर सेड्युल निर्माण गरिएको हुन्छ । टेस्ला तथा स्पेस एक्सका संस्थापक एलोन मस्कले पनि यही कार्यशैली पछ्याएका छन् । उनले प्रत्येक काम योजनाका साथ गर्छन् ।

 

गेट्स केही न केही पढिरहेका हुन्छन् । प्रख्यात पुस्तकहरू पढ्न उनले जसरी पनि समय व्यवस्थापन गर्छन् । उनको पर्सनल वेबसाइटमा थुप्रै पुस्तक पढ्न आमपाठकलाई सिफारिस गरेका छन् । उनले धेरै पुस्तक संकलन गरेका छन् । नयाँदेखि पुराना पुस्तकसम्म संकलन गरेका गेट्सलाई मनपर्ने पुराना पुस्तकमध्ये लियोनार्दो दा भिन्चीका विज्ञान कथाहरू समावेश भएको पुस्तक ‘कोडेक्स लिसिस्टर’ एक हो ।

 

फुर्सदमा पढ्ने बानी परेका गेट्स आफ्ना बालबच्चासँग पनि प्रशस्तै समय छुट्याउँछन् । उनी विद्युतीय उत्पादनस्थल तथा मिसाइल सिलोसजस्ता नयाँ स्थानको भ्रमणमा परिवारका साथ जाने गर्छन् । फुर्सदको समयमा परिवारसँग समय बिताउन तासको सहारा लिन्छन् । बिदाको समय सदुपयोग गर्न परिवारसँग बसेर तासको खेलविशेष ‘ब्रिज’ खेल्ने गर्छन् । बेजोसजस्तै गेट्सलाई पनि रातको समयमा भाँडा माझ्न मन पर्छ । ‘मलाई भाँडा माझ्दा आनन्द आउँछ,’ रेडिटको प्रश्नमा उनले भनेका थिए । उनको दैनिक सात घन्टा सुत्ने बानी छ ।

 

स्टक मार्केटका आधारमा ब्रेकफास्ट गर्छन् बफेट


सर्वाधिक धनीको सूचीमा तेस्रो नम्बरमा परेका वारेन बफेट सेयर बजारका बादशाह मानिन्छन् । वर्कसायर ह्याथवेमा समेत लगानी गरेका ८७ वर्षीय बफेटको कुल सम्पत्ति ८२ अर्ब डलर छ । साधारणतया बिहान साढे ६ बजेपछि मात्र उठ्ने बफेट द वाल स्ट्रिट जर्नल, युएसए टुडे र फोर्ब्स पत्रिकाका नियमित पाठक हुन् । रमाइलो कुरा त के छ भने उनको बे्रकफास्ट स्टक मार्केटले निर्धारण गर्ने गरेको हुन्छ । प्रायःजसो ब्रेकफास्टका लागि म्याक डोनाल्ड पुग्ने बफेट ३ डलर ६० सेन्टदेखि ३ डलर २० सेन्टसम्मको ब्रेकफास्ट गर्छन् ।

 

उनकी श्रीमती आस्ट्रड मेन्कसेले ब्रेकफास्टका लागि कारको कपहोल्डरमा उक्त रकम राखिदिने गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । ससेज, अन्डा र चिजबाट तयार पारिएको परिकार विशेष र चिज बिस्कुट उनको रोजाइमा पर्ने गरेका परिकार हुन् । बफेट सेयर बजारमा आफ्नो सम्पत्ति बढेका वेला यदाकदा सोभन्दा बढी मूल्य पर्ने ब्रेकफास्ट पनि गर्छन् ।

 

‘मेरो शरीरमा २५ प्रतिशतजति त कोक मात्रै होला,’ प्रत्येक दिन पाँच क्यान कोक पिउने बफेटले एकपटक भनेका थिए । कोकाकोला कम्पनीको सेयरमा वर्कसायर ह्याथवेको पनि लगानी छ । स्ट्रबरी मिल्कसेक उनलाई मनपर्ने अर्को पेयपदार्थ हो । ६ वर्षका बालबालिकाले जस्तै गरी आफूले खानेकुरा खाने गरेको बताउँछन् बफेट । खानामा मात्र जोड गर्ने नभएर उनी कसरतमा पनि उत्तिकै ध्यान पुर्‍याउँछन् ।

 

बफेटले प्रत्येक दिनको ८० प्रतिशत समय पढाइमा खर्च गर्ने गरेको अमेरिकी समाचार संस्था सिएनबीले हालै उल्लेख गरेको छ । प्रत्येक मानिसले दिनमा कम्तीमा पनि ५ सय पेज अध्ययन गर्नुपर्ने उनको सुझाब छ । आफूले लगानी गरेको वर्कसायर ह्याथवे कम्पनीलाई औधी माया गर्छन् ।

 

गेट्सजस्तै तासको विशेष खेल ‘ब्रिज’मा बफेटको पनि असाध्यै ठूलो लगाब छ । ‘ब्रिज खेल्दै गरेको समयमा नग्न अवस्थाकी महिला मेरै अगाडिबाट गइन् भने पनि म उनलाई देख्नेछैन,’ सिबिएसलाई उनले भनेका छन् । उकुलुलु (गितार विशेष वादन)मा पनि उनको अत्यधिक सोख छ । वास्तवमा पहिली श्रीमती सुसन थोम्सनलाई पनि उकुलुलु मनपर्ने भएकाले उनले सो वादनकला सिकेका थिए । राति ११ बजेअगावै ओछ्यान पुग्ने बफेट कम्तीमा आठ घन्टा सुत्छन् ।

 

६० घन्टा काम गर्छन् जुकरबर्ग


फेसबुकका संस्थापक सिइओ मार्क जुकरबर्ग ४० वर्षमुनिका सर्वाधिक धनी हुन् । फोर्ब्सको रियल टाइम र्‍याङ्किङको सूचीमा छैटाैँ नम्बरमा परेका ३४ वर्षीय जुकरबर्गको सम्पत्ति ६६ दशमलव ५ अर्ब डलरबराबर रहेको उल्लेख छ ।

प्रत्येक दिन आठ बजे उठ्ने जुकरबर्ग तत्कालै फेसबुक, फेसबुक म्यासेन्जर र ह्वाट्स एपको स्टाटस चेक गर्छन् । हप्तामा ३ पटक ‘जगिङ’ जाने जुकरबर्गको कार्यतालिका छ । कहिलेकाहीँ ‘जगिङ’मा आफ्नो कुकुर बिस्टलाई पनि लैजान्छन्  ।

 

साधारणतया दैनिक कसरत गर्ने जुकरबर्ग ब्रेकफास्टमा के खाने भनेर खासै छनोट गर्दैनन् । उनी स–साना विषयमा धेरै समय व्यतीत गर्न चाहँदैनन् । लुगा लगाउने कुरामा पनि खासै सौखिन छैनन् जुकरबर्ग । प्रायःसजो एउटै प्रकृतिका कपडा लगाइरहन्छन् । जिन्सको पाइन्ट, स्निकर र खैरो रङको टिसर्ट उनलाई धेरै मनपर्छ । ‘म धेरै पोसाक छनोट गर्दिनँ, मेरो धेरै समय कसरी धेरैभन्दा धेरै मानिसलाई एक–आपसमा जोड्न सकिन्छ भनेर सोच्दासोच्दै बित्ने गर्छ,’ अन्तर्वार्ताका क्रममा उनले उल्लेख गरेका थिए । उनको ‘पालो अल्टो’ नामक घरमा कृत्रिम बौद्धिकतायुक्त यन्त्रहरू जडान गरिएको छ ।

 

हप्तामा ५० देखि ६० घन्टासम्म फेसबुकभित्रै हराउँछन् जुकरबर्ग । फेसबुकमा मार्क जुकरबर्गको भेरिफाइड एकाउन्ट छ । वेला–वेलामा उक्त पेजमा पोस्ट गर्ने जुकरबर्गले सो पोस्टमा आएका अनावश्यक कमेन्ट डिलिट गर्न मात्र १२ जना कर्मचारी राखेका छन् । विदेशी भाषा सिक्न मन पराउँछन् उनी । हाल चाइनिज भाषा सिकिरहेका छन् । सन् २०१५ मा उनले कम्तीमा पनि दुई हप्तामा एउटा नयाँ पुस्तक पढ्ने गरेको बताएका थिए ।

 

सेलेब्रिटी, राजनीतिक दलका नेता र पादरीहरू भेट्न मन पराउने जुकरबर्गले त्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस, बाराक ओबामा र भिन डिजेलसँग भेटवार्ता गरेका तस्बिर सार्वजनिक भएका छन् । दुई छोरीहरू म्याक्स र अगस्टका पिता बनिसकेका जुकरबर्ग श्रीमती प्रिसिलिया चानलाई उत्तिकै महTवका साथ समय दिने गर्छन् ।

 

परिवारलाई दिने समय व्यवस्थापन गर्न जुनसुकै काम र भ्रमणले पनि उनलाई रोक्दैन । बेलुकी सुत्नुभन्दा पहिले दुई छोरीका अगाडि बसेर परम्परागत यहुदी प्रार्थना ‘मि सेबेराक’ गर्नु उनको दैनिकी हो । बारम्बार भ्रमणमा निस्किरहने जुकरबर्गको दैनिक कार्यतालिका परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न