बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा



हाम्रो इकोनोमि

 

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

 

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजारभन्दा बढी बक्यौता छ । सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

 

असार मसान्तअघिसम्म भट्टराईको नाममा १७ लाख ६१ हजारभन्दा बढी बक्यौता थियो । उनले सो रकम असार मसान्तमा बुझाएको देखिन्छ । अन्य कर्मचारीको नाममा पनि असार मसान्तअघि ठूलो रकम बक्यौता देखिए पनि पछि केही तिरेको देखिएको हो ।

 

रकम हिनामिना भएको विषय सार्वजनिक भएपछि कर्मचारीले कम्प्युटर प्रणालीबाटै डाटा मेटाउने प्रयाससमेत गरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले खोजी गर्दा कुनै विवरण नभेटिएपछि सफ्टवेयर प्राविधिकमार्फत जाँच गरेको थियो । कर्मचारीले मेटाएको डाटा प्राविधिकले निकालेका थिए ।

 

रकम हिनामिनामा संलग्न सबै करारका कर्मचारी हुन् । इनरुवा अस्पतालको काउन्टरमा पाँचजनाले बिल काट्छन् । पाँचैजनाले भिन्नाभिन्नै ‘युजर आइडी’ प्रयोग गर्छन् । प्रत्येकले आफ्नो आइडीमा संकलन भएको रकम अस्पतालको खातामा त्यही दिन जम्मा गर्नुपर्ने हुन्छ । तर, उनीहरूले लामो समयदेखि रकम जम्मा नगरेको पाइएको छ ।

 

गत वैशाखमा नयाँ लेखा अधिकृत श्रवण घिमिरे आएपछि कर्मचारीले रकम आफँै चलाएको खुलेको हो । ‘कर्मचारीले ठूलो बदमासी गरेको थाहा भएपछि ताकेता गरँे, तर टेरेनन्,’ घिमिरेले भने । उनका अनुसार असारसम्ममा कर्मचारीले झन्डै ३५ लाख चलाइरहेका थिए । लगातारको ताकेतापछि करिब १६ लाख रुपैयाँ उठेको हो
घिमिरे आउनुअघि लेखा अधिकृत राजेन्द्र आचार्य थिए । तत्कालीन अस्पताल प्रमुख डा. मुकुन्द गौतम र लेखा अधिकृत आचार्यसँगकै मिलेमतोमा अनियमितता भएको स्रोतको भनाइ छ । अस्पतालमा बिरामीबाट दैनिक २० देखि २५ हजार उठ्छ ।

 

डा. विना शाक्य गत वैशाखमा अस्पताल प्रमुख भएर आएपछि कर्मचारीलाई रकम दाखिल गर्न निर्देशन दिए पनि अटेर गरेका थिए । ‘यस्ता कर्मचारीलाई राखेर अस्पतालको कुनै हित हुँदैन, राखिरहने कुरै हँुदैन,’ उनले भनिन् ।
कागजपत्र अख्तियारको नियन्त्रणमा
कर्मचारीहरूले बिरामीबाट उठेको रकम हिनामिना गरेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले गत ४ साउनमा सबै कागजपत्र बुझाउन १० दिनको म्याद दिएर अस्पताललाई पत्र पठाएको थियो । पत्रअनुसार सबै कागजपत्र बुधबार अख्तियारमा बुझाएको लेखा अधिकृत श्रवण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...