अमेरिकी गठबन्धनको कारवाहीमा सिरियामा ७७ सर्वसाधारण मारियो
गत जुनमा एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक रिपोर्टको आलोचना गरेको आइएसआइएसबिरुद्ध लडिरहेको अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले अन्ततः गत वर्ष सिरियाको राका सहरमा गरिएको हवाई कारवाहीमा ७७ जना सर्वसाधारण मारिएको स्वीकार गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलको रिपोर्टपछि गठबन्धनले यसबारेमा छुट्टै अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको थियो जसमा सन् २०१७ को जुनदेखि अक्टोबर महिनाको बीचमा विभिन्न पाँच घटनामा गठबन्धनको कारवाहीमा ७७ जना सर्वसाधारण मारिएको स्वीकार गरिएको हो । यो कुरा जुलाई २६ मा प्रकाशित ‘कोअलिसन क्याजल्टी’ रिपोर्टका उल्लेख गरिएको थियो ।
‘अनुसन्धानबाट हवाई आक्रमण सशस्त्र द्वन्द्वको कानुनसम्मत हुँदाहुँदै र आक्रमणअघि सबै सम्भव सावधानी अपनाए पनि अप्रत्यासितरुपमा सर्वसाधारण मारिएका थिए,’ रिपोर्टमा भनिएको छ ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार हवाई कारवाहीमा मारिनेमा २४ बालबालिका र २५ महिला रहेका थिए ।
यो रिपोर्ट तयार गर्न मानवअधिकारवादी संस्थाले राकामा फिल्डमा गएर अनुसन्धान गरेको थियो जहाँ गठबन्धनले गरेको ४२ हवाई हमलाको स्थानमा गएर ११२ जना सर्वसाधारणको अन्तरवार्तासमेत लिएको थियो ।
शुरुवातमा पेन्टागनले एम्नेस्टी इन्टरनेसनलको यस रिपोर्टलाई अस्वीकार गरेको थियो । गत जुनमा गठबन्धनका एक प्रवक्ताले रिपोर्टको आलोचना गर्दै एम्नेस्टीले यो रिपार्टबारे पेन्टागनसँग छलफल नगरेको र गठबन्धनले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाउनु गलत भएको बताएका थिए ।
आरोप प्रमाणित हुनअघि नै एम्नेस्टी इन्टरनेसनलले आफूहरुलाई दोषी ठहर गरेको कर्नेल थोमल भेलले इराकबाट पत्रकारहरुलाई गरेको भिडियो ब्रिफिङमा बताएका थिए ।
अहिले आएर गठबन्धनकै नयाँ रिपोर्टले एम्नेस्टी इन्टरनेसनलले गरेको कयौँ दाबी सत्य रहेको प्रमाणि गरेको छ ।


