जाजरकोट मा समयमै पुल नबन्दा सास्ती
छिञ्चु–जाजरकोट सडकखण्डका दर्जन पुल सडक विभागको लापर्वाहीका कारण अलपत्र परेका छन् ।
यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि पाँच वर्ष बितिसकेको छ । सडक विभागको लापर्वाहीका कारण उक्त सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल निर्माण पाँच वर्षदेखि अलपत्र छ ।
छिञ्चु–जाजरकोट सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल नबन्दा बर्खा र बाढीमा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ ।
सडक विभागको चरम लापर्वाहीले खलंगादेखि ६ किमीको दूरीमा रहेको भेरी नगरपालिका–४ स्थित पासागाड खोलामा पुलःनिर्माण हुन नसकेको हो । उक्त खोलामा पुलःनिर्माणको सुरसारसमेत भएको छैन ।
विभागको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको बताइएको छ ।
सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापर्वाहीका कारण पुल निर्माण अलपत्र परेको हो ।
पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा खोलाका कारण सवारी साधनलाई आवतजावतमा कठिनाइ हुनाका साथै दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटक पटक अवरोध आएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
“सडक कालोपत्रे भएकै पाँच वर्ष बित्यो तर पुल निर्माण शुरु भएन”, उहाँले भन्नुभयो ।
पुल नबन्दा बाढी आएका बेला रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले बताउनुभयो । जबर्जस्ती खोलामा हाल्दा पटक पटक गाडी फस्ने र बिग्रने गरेको छ ।
परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशिष थापा मगरले बताउनुभयो । पुनः डिजाइन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ ।
पुलःनिर्माणका लागि पाँच वर्षअघि विभागको सूचनाबमोजिम रु तीन करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँको बोलपत्र स्वीकृत भएको तर निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको मगरले बताउनुभयो ।
परामर्श कम्पनीले रु सात लाखको लागतमा पुलको डिजाइन गरेको थियो । “पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेशन अर्कै छ ।
कसरी निर्माण शुरु गर्ने ?”, उहाँले भन्नुभयो , “परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ तर पासागाड खोलामा सर्भे गर्दा निर्माणस्थलको २५ मिटरभन्दा लम्बाइ बढ्दैन ।”
कम लागतमा निर्माण हुने पुलका लागि पनि किन थप बजेट खेर फाल्ने’, थापाको भनाइ छ । तीन वर्षअघि निर्माण कम्पनीलाई स्थान देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उहाँले बताउनुभयो ।
सडक डिभिजनले पुल निर्माणका लागि रु तीन करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले काम शुरु नगरेको उहाँले बताउनुभयो ।
सडक विभागले ठेक्का सम्झौतानुरूप भुक्तानी दिने भए तत्काल कार्य शुरु गर्ने निर्माण कम्पनीले जनाएको छ ।
परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ ।
सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको प्रमुख मगरले बताउनुभयो ।