नेकपामा प्रचण्ड र वामदेव मिल्दा उमेर र कार्यकालको हदबन्दी गायव, सकुन्जेल नेतृत्व गर्न पाउने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान छाप्नका लागि प्रेसमा पठाउँदा केन्द्रदेखि तल्लो निकायसम्मका पदाधिकारी २ पटकभन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था नै गायव भएको छ । केन्द्रीय कमिटीले पारित गरेर निर्वाचन आयोगमा बुझाइ सकिएको विधानको धारा ४४ बाट सो दफा हटाइएको हो ।

आयोगमा बुझाइएको नेकपाको विधानको धारा ४४ (ख)मा ‘केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटै पदमा दुई कार्यकालभन्दा बढी रहने छैनन्’ उल्लेख छ । तर, स्थायी कमिटी र सचिवालय सदस्यहरुबाट प्राप्त सुझावपछि प्रकाशनका लागि पठाइएको विधानमा यो व्यवस्था हटाइएको छ । अन्तरिम विधान मस्यौदाका क्रममा धेरैपटक छलफल गरेर २ कार्यकालको बन्देज लगाइएको कार्यदलका एक सदस्यले बताए ।

 

तर, अध्यक्ष प्रचण्डको असन्तुष्टिपछि सो दफा हटाइएको स्रोतले जनाएको छ । छापामा पठाउन भाषा मिलाउने नाममा विषयबस्तु नै हरेफर गरिएको भन्दै केहीले असन्तुष्टि समेत जनाएका छन् । दुर्इ कार्यकालको बन्देज हटाइएको अधिकांश सचिवालय सदस्यले समेत चाल पाएनन् ।

 

विगतमा तत्कालीन नेकपा ९एमाले० को विधानमा २ कार्यकालभन्दा बढी एउटै व्यक्ति अध्यक्ष वा अन्य पदाधिकारी बन्न नपाउने व्यवस्था थियो । एमालेको सोही व्यवस्था एकीकृत पार्टीमा निरन्तरता दिने गरी अन्तरिम विधान पारित भए पनि प्रकाशनको बेला कार्यकालको बन्देज गायव भएको हो ।

 

विधानका २ कार्यकाल भन्नाले कहिलेबाट गणना गर्ने भन्ने उल्लेख थिएन । कतिपयले पार्टी एकीकरणको अध्यक्षलाई पहिलो कार्यकाल मानेर महाधिवेशनपछि अर्को कार्यकाल मान्न सकिने सुझाव दिएका थिए । त्यसो गर्दा केपी ओली वा प्रचण्ड आगामी महाधिवेशनबाट अध्यक्ष भएमा अर्कोपटक नपाउने तर्क नेकपामा आइरहेको थियो ।

तर, विधान प्रकाशन हुँदा २ कार्यकालको व्यवस्था नै हटाएपछि स्थायी कमिटीकै नेताहरु आश्चर्यमा परेका छन् । उनीहरुका अनुसार २ कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था नराख्न अध्यक्ष प्रचण्डले आग्रह गरेका हुन् वा उनको मनसाय बुझेर हटाइएको हो रु प्रष्ट भएको छैन ।

 

नेकपामा भावी अध्यक्षका लागि प्रचण्ड र माधव नेपाल प्रमुख दावेदारका रुपमा देखिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले दोहोरिएर आफू अध्यक्ष नबन्ने दुवै नेतालाई बताइसकेको स्रोतले जनाएको छ ।

 

लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने व्यवस्था हटाउन र ७० वर्षे उमेरको हदबन्दी पनि विधानमा नराखिनु एक अर्कासँग सम्बन्धित भएर आएको नेकपाका एक सचिवालय सदस्यले बताए । उनले भने, ‘७० वर्ष उमेरको हदबन्दी हटाउने बामदेव गौतम कमरेडको लविङ र २ कार्यकालको बन्देज हटाउने प्रचण्ड कमरेडको चाहना मिल्दा दुवै प्रावधान गायव भएको हुनसक्छ ।’

 

विधान र नियमावलीलाई स्थायी कमिटी सदस्यहरुको सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी वामदेवले नै पाएका थिए । प्रचण्ड ०४३ सालदेखि पार्टीको प्रमुख पदमा निरन्तर बहाल छन् ।

नेकपा स्रोतका अनुसार महाधिवेशनमा केन्द्रीय कमिटीका नेताहरु पनि प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था विधानमा राख्ने क्रममा पनि केही नेताले रुचाएका थिएनन् । विशेष गरी पूर्वमाओवादी नेताहरुले केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशनप्रतिनिधि हुने र नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुने व्यवस्था राख्न नेताहरुले सुझाव दिएका थिए ।

तर, एकपटक केन्द्रीय कमिटीमा पुगेपछि स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थाले नयाँलाई रोक्ने र नेता–कार्यकर्ताको सम्बन्ध पनि टाढिने भन्दै ओली र प्रचण्डसमेत महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको हो । महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने भएपछि सबै ठूला नेता पनि कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहने उनीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...