ओली–प्रचण्ड कांग्रेसप्रति आक्रोशित : अलोकतान्त्रिक क्रियाकलाप बन्द गर्न चेतावनी



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्ष कांग्रेसविरुद्ध खनिएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले पार्टी कार्यालय धुम्बाराहीमा राखेको प्रशिक्षण कार्यक्रममा ओली र प्रचण्ड निर्वाचनबाट दुईतिहाइ प्राप्त सरकारले प्राम्भिक चरणमै काम सुरु गर्दा कांग्रेसले विरोध गरेपछि आक्रोशित भएका हुन् । चिकित्सा शिक्षाको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीसहित सरकारका पछिल्ला निर्णयलाई लिएर कांग्रेस सडक संघर्षमा गएपछि सत्तारुढ नेकपा असन्तुष्ट भएको हो ।

 

अलोकतान्त्रिक क्रियाकलाप  बन्द गर्न चेतावनी
प्रधानमन्त्री ओलीले निर्वाचनबाट दुईतिहाइ प्राप्त कम्युनिस्ट सरकारमा गएपछि कांग्रेसलगायत प्रतिक्रियावादी शक्तिलाई सह्य नभएको बताए । ‘पहिला कम्युनिस्टहरू चप्पल पनि लगाउन नपाउने दुब्ला ख्याउटे थिए, जेलमा बस्थे कुनै हैसियत थिएन,’ ओलीले भने, ‘अब निर्वाचनबाट दुईतिहाइ सरकार सञ्चालन गरेपछि प्रतिक्रियावादीलाई किन पच्थ्यो ।’

 

 

सरकारले गर्ने हरेक निर्णयको विरोध गरेको भन्दै कांग्रेसलाई अलोकतान्त्रिक क्रियाकलाप बन्द गर्न ओलीले चेतावनी दिए । आफ्ना सबै बस्त्र फुकालेर सडकमा गएको भन्दै उनले कांगे्रसलाई संयम हुन आग्रह गरे । ‘हामीलाई सरकार बनेदेखि नै हनिमुन मनाउन दिँदैनौँ भनियो,’ ओलीले भने, ‘सरकार बनेको एक सय दिनलाई हनिमुन समय भनिन्छ, त्यो समयमा कुनै विरोध गरिँदैन । तर, कांग्रेसले सरकार बनेदेखि नै विरोध गर्न थाल्यो ।’

 

 

राम्रोसंँग भुइँमा खुट्टा टेक्न  नपाउँदै विरोध
नेकपाका अर्का अध्यक्ष प्रचण्डले एमाले माओवादी केन्द्रबीचको एकता राम्रोसँग हुन नपाई बनेको पार्टीको सरकारले गरेका निर्णयलाई लिएर कांग्रेसले विरोध गर्नु राम्रो संकेत नभएको बताए । ‘वितण्डा मच्चाउन खोजिएको छ, जुन राम्रो होइन,’ प्रचण्डले भने, ‘राम्रोसंँग भुइँमा खुट्टा टेक्न नपाउँदै विरोध गर्न थालिएको छ ।

 

 

हामीले दह्रोसँग टेक्न नपाउँदै लडाउँने खेल सुरु भएको छ ।’ दुई ठूला कम्युनिस्ट पार्टी माथिदेखि तलसम्म एकता हुन नपाउँदै कांग्रेसले विरोध गर्नु ठूलो षड्यन्त्र हुन सक्ने उनको भनाइ थियो । यस्तो अवस्थामा जनमत निर्माण गरी कांग्रेसको प्रतिवाद गर्न जरुरी रहेको उनले बताए । ‘हामी वार्ता गर्न तयार छौँ । उचित मागलाई सम्बोधन गर्न तयार छौँ,’ प्रचण्डले भने, ‘अनावश्यक विरोधको प्रतिवाद गर्न सक्नुपर्छ ।’

 

 

भोलिका पुस्ताले किन विरोध गर्नुभयो बाजेबज्यै भनेर  सोध्लान् : ओली
विकास निर्माण गर्छौं, रेल ल्याउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा किन आपत्ति गर्नुप‍-यो ? यसरी सरकारले विकास गर्छु भन्दा विरोध गर्ने हो भने भोलिका पुस्ताले किन पहिला विरोध गर्नुभयो बाजे बज्यै भनेर सोध्लान् नि । मैले नै देशबाट तुइन विस्थापिन गर्नुपर्छ भनेर तीन वर्षअघि सुरु गरेको हो । अब तुइन बनाइने छैन । भएका तुइन पनि विस्थापित गरिनेछ । तुइनको ठाउँमा झुलेंगे र पक्की पुल बनाइनेछ । अब तुइनको घिर्नीले च्यापेर, डोरी चुँडिएर कोही मर्ने छैनन् ।

 

 

बिरामी भएर अस्पताल जाँदा उपचार गर्दिंनँ भन्ने कुरा कति मानवीय हुन्छ ? आज उपचार गर्दिनँ भोलि उपचार गर्छु भन्दा बिरामी मर्दैन ? भोलि उपचार गर्छु भन्न मिल्छ ? आज स्लाइन चढाइरहेको बिरामी थप उपचार पाएन भने के हुन्छ ? अरू औषधि चाहिने बिरामीलाई के गर्ने ? यस्ता विषयमा संवेदनशील हुनुपर्छ कि पर्दैन ? एप्रोन लगाएर कुनै पार्टीको पछाडि लागेर सडकमा जाँदा पनि किञ्चित छैन ।

 

 

उहाँहरूले माग राख्नुपर्छ, कुरा राख्नुपर्छ । तर, कुन ठाउँमा हडताल गर्ने भन्ने विषयमा ख्याल गर्नु पर्दैन ? जुम्लाको अस्पतालले लेखेर दियो । डा. केसीको स्वास्थ्य कुनै पनि वेला बिग्रन सक्छ । यसो हुँदा यहाँ आइसियु छैन, आइसियु हुने ठाउँमा केसीलाई लानुपर्ने हुन्छ । प्रहरीले बल प्रयोग गरेर केसीलाई बचाउन काठमाडौं ल्यायो । सुविधासम्पन्न अस्पतालमा ल्याउन नदिने, गोली चलायो भनेर हल्ला गर्ने, हल्ला गर्ने डाक्टरलाई काठमाडौं लगेर बचाउन पाइँदैन भन्ने ?

 

 

विरोधीले जे भेट्यो त्यसैले  ठोक्न थालेका छन् : प्रचण्ड
मैले सुनेको छु केही दिनपछि प्रधानमन्त्री बाहिर निस्कँदा कालो झन्डा देखाउने रे । सकियो भने प्रधानमन्त्रीलाई हिँड्न पनि नदिने रे । प्रतिक्रियावादीहरूले ठूलो स्केलमा सोचेका छन्, धेरै असह्य भएको छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । त्यसलाई जति सकिन्छ अपदस्थ गर्न खोजिएको छ । त्यसका लागि सम्पूर्ण हतियार प्रयोग गर्न खोजिएको छ ।

 

 

सबैतिरबाट आक्रमण गर्ने, सबै मोर्चाबाट प्रहार गर्ने त्यसको सुरुवाती संकेत देखिएका छन् । हामीलाई विश्वास छ, तिनका सपना पूरा हुने छैनन् । तिनीहरूको रणनीतिलाई पूरा हुने दिइनेछैन । किनकि, तिनीहरूले मत दिएर दुईतिहाइ सरकार बनेको होइन । र, पार्टी एकता गरेको पनि होइन । उनीहरूले दिएर संघर्षमा मन जितेको होइन । निकै प्रतिकूल र अप्ठ्यारो अवस्थाबाट धेरै ठूलो त्याग र बलिदानबाट आफ्नै बलमा यो स्थिति कायम गरेका हौँ । त्यसैले उनीहरूले गरेको षड्यन्त्रलाई सफल हुन दिइनेछैन ।

 

 

हामीले विरोधीलाई कम आँक्न हुँदैन । किनकि संसारभर उनीहरूको पकड बलियो छ, उनीहरू हाबी छन् । हामीले बुद्धि पु‍-याएर कदम चालेर जानुपर्छ । विचार र संगठनको रक्षाका लागि एकजुट भएर जानुको विकल्प छैन । विरोधीले जे पायो त्यसैले ठोक्न थालेका छन् ।

 

 

परिस्थितिलाई असहज बनाउने षड्यन्त्रमा तीव्रता ल्याएका छन् । हामीले नयाँ संकल्प गर्न जरुरी छ । यो वर्ग र राष्ट्रको कुरा छ । आमश्रमजीवी जनताको कुरा छ । आफ्नो मिसनमा खरो उत्रने वा नउत्रने भन्ने कुरा छ । तपाईहरूको भूमिका धेरै ठूलो छ । हिजो जनयुद्धमा बन्दुक, कलम र मादलको संयोजनबाट क्रान्तिलाई अगाडि लैजान सकिन्छ भन्ने गथ्र्यौं । त्यस वेला हामीलाई बन्दुकै सबैभन्दा महत्वपूर्ण  छ भन्ने लाग्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...