पेट दुखेर अस्पताल पुगेकी युवती फर्किइनन्, २५ दिनपछि मृत घोषणा, के बिरामी नै प्रयोगशाला हो र ?



हाम्रो इकोनोमि

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा। गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् ।

मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई डाक्टरहरुले मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै भर्ना हुन आग्रह गरेका थिए ।

मनिषा धापाखेलस्थित सुमेरु अस्पतालमा २५ दिनअघि भर्ना भएकी थिइन् । बुधबार राति उनलाई मृत घोषणा गरिएको छ । पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।

मृतकका आफन्तहरुका अनुसार मनिषालाई चिकित्सकहरुले मृगौलाको समस्याका कारण पेट दुखेको हुन सक्ने अड्कलका साथ अस्पतालमा भर्ना भएर उपचार गर्न भनेका थिए । तर, २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषित गरियो ।

सामान्य अवस्थामा अस्पताल पुगेकी आफ्नी छोरीलाई चिकित्सकहरुले प्रयोगशाला बनाएर ज्यान लिएको आरोप मनिषा निरौलाकी आमाको छ । विहीबार अस्पतालबाट शव उठाउन आफन्तले नमानेपछि प्रशासनले प्रहरी तैनाथ गरेको छ भने अस्पतालमा नाराबाजी सुरु भएको छ ।

विसं।०४९ सालमा बिराटनगरमा जन्मिएकी मनिषा केही वर्षअघि मात्रै स्नातक अध्ययनका लागि काठमाडौं आएकी थिइन् । कलेज अध्ययन गर्दै जागिर सुरु गरेकी मनिषाको ६ महिनाअघि पनि पेट दुखेको थियो । सामान्य ग्यासट्राइटिसको औषधि खाँदा पेट दुख्न कम नभएपछि उनी २५ दिनअघि अस्पताल गएकी थिइन् ।

सुमेरु अस्पतालका वरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेको समूहले मनिषालाई मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै अस्पताल भर्ना हुन सुझाव दिएको थियो ।

‘अस्पताल भर्ना भएको १५ दिनसम्म पनि समस्याको हल निस्किएन । हामीलाई मृगौला होइन, अरु नै कारण हुन सक्छ भनेर बताइयो’ मनिषाका भाई मनिषले भने( ‘रोगको निदान नै नहुने देखेपछि हामीले दिदीलाई बाहिर लैजान्छौं भनेर अस्पतालमा अनुरोध गर्‍यौं । तर उहाँहरुले सानो समस्या भएकाले बाहिर लैजानुपर्दैन भनेर हाम्रो कुरा मान्नुभएन ।’

मनिष भन्छन् ‘हामीलाई २४ दिनसम्म कुन रोग लागेको हो र के गर्नुपर्छ भनेर कहिल्यै भनिएन । बेडको पैसा तिर्न र औषधि किन्न लगाइन्थ्यो । यसले गर्दा मेरी दिदीलाई औषधिको प्रयोगशाला बनाइयो भन्ने देखिन्छ ।’

यसबारेमा सुमेरु अस्पतालसँग सम्पर्क राख्दा भने चिकित्सकहरु सम्पर्कमै आउन चाहेनन् । अस्पतालकी रिसेप्सनिस्टले भनिन्( ‘अस्पतालमा भीडभाड छ, नाराबाजी लागिरहेको छ, मृतकका आफन्तसँग पनि बार्ता भइरहेको छ । चिकित्सकहरुले यस विषयमा कुनै कुरा थाहा छैन भन्नु भनेर हामीलाई सम्झाउनुभएको छ ।’

स्रोतका अनुसार चिकित्सकहरुको टोलीले मृतक युवतीका भाइ मनिषलाई सुमेरु अस्पतालमा जागिर लगाइदिने आश्वासन दिएको छ । तर, ज्यानको बदलामा जागिर दिने अस्पतालको प्रस्ताव अमानवीय भएको भन्दै आफन्तहरुले अस्पतालमा नारावाजी लगाउन थालेको मृतकका आफन्तले बताए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...