प्रधानमन्त्रीको आक्रोस: हराएको तस्करीको सुन किन पत्ता लगाउन सकेन ? , राजनीतिक तहमा पुगेन अनुसन्धान



 

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

 

दुईपटक म्याद थप्दा पनि तस्करीको सुन भेटाउन नसकेपछि प्रधानमन्त्री केपी ओली समितिको म्याद नथप्ने निष्कर्षमा पुगेका हुन् । समितिलाई सुरुमा ४५ दिनको म्याद दिइए पनि थपेर ३ महिना १२ दिन पु(याइएको थियो । यसबीचमा मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणि उप्रेतीसहित प्रहरीका बहालवाला उच्च अधिकृत र पूर्वडिआइजी समातिए । तर, तस्करीको सुन भने पत्ता लाग्न सकेन ।

 

केही कानुनी जटिलताले काम अधुरो बन्न पुगेको समिति संयोजक पौडेलले बताए । उनले भने, ‘करिब साढे तीन महिनामा धेरै काम भएका छन् । घटनामा मात्रै ७५ भन्दा धेरैलाई विपक्षी बनाइएको छ । ४५ भन्दा धेरै समातिएका छन् । एक–दुईबाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । केही फरार छन् । यसको अर्थ अनुसन्धान सकियो भन्ने होइन । काम बाँकी नै छ ।’

 

भन्सार कर्मचारी तानिएनन्
तीन वर्षको अवधिमा ३८ क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको भनिएको छ । उक्त सुन विभिन्न नाका हुँदै भारतीय बजारमा पुगेको समितिले नै पुष्टि गरेको छ । त्यसमध्ये पनि तस्करीमा सबैभन्दा धेरै वीरगन्ज नाका, विराटनगरको जोगबनी र झापाको काँकडभिट्टा नाका प्रयोग भएको बताइन्छ । तर, समितिले अनुसन्धान अवधिभर भन्सारका कुनै पनि कर्मचारीलाई फक्राउ गरेन ।

 

भत्काउन नसकिएको हुन्डी ‘नेक्सस’
तस्करीको सुन दुबईबाट नेपाल ल्याउन जति सजिलो छ, त्योभन्दा गाह्रो भुक्तानीबापतको रकम नेपालबाट दुबई पठाउन छ । समितिकै अनुसन्धानले तीन वर्षको अवधिमा १७ अर्ब रुपैयाँबराबरको सुन तस्करी भएको देखाएको छ । तर, भुक्तानीबापतको उक्त रकम कसरी दुबई पुग्यो रु समितिका संयोजक पौडेल यसको उत्तर सहज रूपमा दिन्छन्, ‘हुन्डीबाट ।’

 

तर, समितिले हुन्डी करोबारी विमल पोद्दार र राजु दारुकाबाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन । समितिका अनुसन्धान अधिकृत हुन्डी कारोबारमा मनि एक्सचेन्ज सेन्टरदेखि सहकारीसमेत संलग्न रहेको दाबी गर्छन् । तर, अनुसन्धानका लागि ती निकाय तानिएनन् । ‘तस्करीले सुनको भुक्तानी हुन्डीबाट गरेको देखिन्छ । यसमा वैदेशिक रोजगारमा गएका युवासमेत प्रयोग भएका छन् । केही हुन्डी करोबारी पक्राउ परे । अन्य पक्राउ गर्न बाँकी छ,’ पौडेलले भने ।

 

किन असहयोगी बन्यो दुबई ?

छानबिन समिति दुबई गएर सुन खरिद गर्ने नेपालीको सूची लिन चाहे पनि वातावरण बनेन । त्यसपछि नेपालस्थित दूतावासमार्फत सुन खरिद गर्ने नेपालीको सूची झिकाउने प्रयास ग(यो । दूतावासका कर्मचारी पनि राजी भए । चरण–चरणकोे छलफल चल्यो । तर, सुन खरिद गर्ने नेपालीको सूची दिन दुबई सरकार राजी भएन ।

 

पौडेलले भने, ‘तस्करीका सुन दुबईबाट आएको देखियो । अनुसन्धान दुबईमा सुन खरिद गर्ने नेपालीमाथि केन्द्रित गर्नुपर्ने अवस्था आयो, त्यहाँ जान म आफैँ तीनपटकसम्म कोसिस गरे । तर, जान सकिएन । त्यसपछि यहाँस्थित दूतावासलाई भनियो । परराष्ट्र मन्त्रालयबाट पनि पहल भयो । तर, दुबई सरकारले सुन खरिद गर्ने नेपालीको सूची दिन मानेन ।’

 

एमएलए नै बाधक हो ?
दुबईमा सुन कारोबार वैध छ । सुन कारोबारबाट संकलित राजस्व दुबई सरकारको मुख्य आम्दानी हो । त्यसैले दाउद इब्राहिमजस्ता अन्डरवल्र्ड डन दुबईमा सुरक्षित छन् । दुबईबाट नेपाल ट्रान्जिट बनाएर सुन तस्करी गर्ने गिरोहको हकमा पनि दुबई सरकारले संरक्षणको नीति अपनायो । यसका लागि दुबई सरकारले ‘मिच्युअल लिगल असाइन्मेन्ट ट्रिटी ९एमएलएटी० लाई हतियार बनायो ।

 

एमएलएटीविना एउटा मुलुकले अर्को मुलुकलाई आग्रह गरेकै भरमा कुनै पनि अभियुक्त पक्राउ गरेर बुझाउनुपर्ने कानुनी बाध्यता हुँदैन । पौडेलले यो तथ्यलाई स्विकार्दै भने, ‘दुबई सुनको संसारकै ठूलो बजार हो । यहाँ सुन खरिदबिक्री खुला छ । तस्करले यहीँबाट सुन ल्याएको खुल्यो । कतिपय दुबईमै बसेको पनि खुल्यो । पक्राउ गर्न हामीले दुबई सरकारसमक्ष भन्यौँ । तर, उनीहरूले तत्परता देखाएनन् । तत्पर हुनु कुनै कानुनी बाध्यता पनि छैन । किनकि, हामीबीच एमएलएटी नै भएको छैन ।’

 

गोरे समूहमा तीन सय सदस्य
अनुसन्धानले विमानस्थलबाट तीन वर्षको अवधिमा एउटै समूहबाट ३८ क्विन्टल सुन तस्करी भएको देखाउँछ । स्वदेश र विदेशमा गरी तीन सयभन्दा धेरै सदस्य यो समूहमा रहेको समितिको दाबी छ । भारतमा लुकेर बसेकामध्ये अधिकांश भारतीय सुन व्यापारी रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये १० व्यापारी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्, । उनीहरूको सम्बन्ध अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग छ । उनीहरूको गिराफ्तारीका लागि समितिले भारतीय प्रहरीलाई समेत आग्रह गरेको छ ।

तस्करमध्येका केही भने दुबईमा छन् । त्यसमध्ये डिफ्युजन नोटिस जारी गरिएका रमेश उप्रेती, बेनु श्रेष्ठ, प्रमोद श्रेष्ठ, किमित भनिने कालु अग्रवाल, सन्दीप खड्का, गुप्तलाल भनिने रोशनलाई इन्टरपोलमार्फत प्रक्राउ गरिने भनिएको छ ।

 

गोरे पक्राउ ठूलो उपलब्धि
समितिले गोरे पक्राउ पर्नुलाई ठूलो उपलब्धि मानेको छ । त्यसबाहेक नेपाल प्रहरीका पूर्वडिआइजी, दुई एसएसपी, एक एसपी, दुई डिएसपी र एक सई पुर्पक्षका लागि जेल जानुलाई पनि समितिले उपलब्धि मानेको छ । यस्तै हुन्डी कारोबारी, सुन व्यापारीसहित ७५ अभियुक्तविरुद्ध १७ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर हुनुलाई समितिले उलब्धिका रूपमा उल्लेख गरेको छ ।

यस्तै, न्युरोड र दरबारमार्गस्थित आरके ज्वेलर्सका सपिङ सेन्टरमा छापापछि सिल गरेको र करिब २८ करोडको सुन, चाँदी र हीराजडित गहना बरामद हुनुलाई पनि समितिले उपलब्धि मानेको छ ।

सुन तस्करीमा मुछिएका चेतन भण्डारीबाट सञ्चालित उपत्यकाका ६ वटा बाजेको सेकुवा पनि सिल भएका छन् । यसलाई पनि समितिले उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

 

पूर्वअनुसन्धान अधिकृत भन्छन– समिति ट्रान्जिटमै अल्झियो
नेपाल प्रहरीका पूर्वउच्च अधिकृतका अनुसार समिति सुन तस्करको ‘बिगिनिङ’ र ‘डेस्टिनेसन’ बिन्दुसम्म पुग्न नसक्दा सफलता नमिलेको हो । उनीहरूका अनुसार समितिको अनुसन्धान ‘ट्रान्जिट प्वाइन्ट’को सानो अंशभित्र मात्रै केन्द्रित बन्यो । परिणामतः न सुन बरामद भयो, न यसका ‘बेनिफिट होल्डर’ नै खुल्न सक्यो ।

 

नेपाल प्रहरीकै पूर्वडिआइजी हेमन्त मल्ल विमानस्थलबाट तस्कर हुने सुनको ‘बिगिनिङ प्वाइन्ट’ दुबई, हङकङ र सिंगापुर रहेको र ‘डेस्टिनेसन’ भने भारत रहेको बताउँछन् । तर, छानबिन समिति ‘बिगिनिङ’ र ‘डेस्टिनेसन’ कतै नपुगी ‘ट्रान्जिट’मै अल्मलिएको उनको दाबी छ ।

 

अनुसन्धान अवधि छोटो र अनुसन्धानका क्रममा अपनाइएका केही विधि गलत भएकाले पनि सोचेजतिको परिणाम आउन नसकेको पूर्वडिआइजी मल्लको भनाइ छ । उनले भने, ‘यो अनुसन्धान गुपचुममै गरिनुपथ्र्यो । तर, हल्ला धेरै गरियो । यसो हुँदा अभियुक्तले भाग्ने मौका पाए । प्रमाण नष्ट गरे । सुन नभेटिएका कारण पनि यही हो जस्तो लाग्छ ।’

 

राजनीतिक तहमा पुगेन अनुसन्धान
तस्करीका नाइके मानिने गोरे समातिएपछि तस्करलाई संरक्षण दिने राजनीतिक तहसम्म अनुसन्धान पुग्ने अनुमान थियो । सतहमा केही राजनीतिकर्मीका नाम चर्चामा पनि थिए । तर, समितिको अनुसन्धान त्यसतर्फ अघि बढेन । संयोजक पौडेलले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुनै राजनीतिक नेक्सस देखिएको छैन । केही नेतासँग केहीको सम्पर्क भएको देखिन्छ । यसैका आधारमा समात्ने कुरो पनि भएन ।’ आजको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण