कांग्रेसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, इन्टरनेटमा करवृद्धिको चर्को विरोध, मेयर चढ्न करोडको गाडी



 

नेपाली कांग्रेसले सरकारले  अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको गरेको दावी गर्दै आन्दोलनको घोषणा गरेको छ ।  कांग्रेसले मंगलबार  साउन ३ देखि १५ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

 

जसअनुसार श्रावण ३ गते  प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाईमा माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने, श्रावण ५ गते    नेपाल तरुण दलको अगुवाईमा माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने, श्रावण ८ गते      नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा मण्डलाबाटै विरोध प्रदर्शन शुरु तय गरिएको छ । यस्तै श्रावण १५ गते– सवै जिल्लामा प्रदर्शन गर्ने कांग्रेसले घोषणा गरेको छ ।

‘मूल्य वृद्धि अकाशिँदो छ । तर प्रधानमन्त्री यस विषयलाई गम्भीरताका साथ लिनुको सट्टा गैरजिम्मेवार तरिकाबाट प्रस्तुत हुनुभएको छ । स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले कानून मान्दै आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाउने स्वतन्त्रतामाथि बन्देज लगाउँदै जाने, बाढी पहिरोबाट पीडित जनताका आवश्यकता र समस्याहरुप्रति उदासिनताका साथ प्रस्तुत हुने र समग्रमा केन्द्र एवं प्रदेश सरकारमा भएकाहरूको अधिनायकवादी र जनविरोधी क्रियाकलाप विरुद्ध विरोध प्रर्दशन गर्न निर्देश गर्दछौं,’ कांग्रेस महामन्त्री शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

यस्तै नयाँ शक्तिले पनि सरकारको कार्यशैलीको विरोध गरेको छ । मंगलबार राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा नयाँ शक्तिले प्रधानमन्त्रीको राजनीनामा नै माग गरेको छ ।  सरकारले डाक्टर गोविन्द  केसीको माग पूरा नगरेको भन्दै अन्य संघसंस्थाले पनि ओलीको आलोचना गर्दै आएका छन् ।

 

यसैबीच प्रधानमन्त्री केपी ओलीले सरकारमाथि चौतर्फी हमला हुँदा पनि पार्टी बचाउन नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले विपक्षीबाट सरकारविरुद्ध अफबाह फैलाउने काम भएको भन्दै त्यसलाई चिर्नेगरी प्रस्तुत हुन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
इन्टरनेटमा कर वृद्धिको विरोध

सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चर्को  विरोध भएको छ ।
जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।

सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ ।

मंगलबारबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुगेको छ । सोमबारसम्म दूरसञ्चार सेवा शुल्क ११ प्रतिशतमात्र थियो ।
इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइएको छ । अब टेलिफोन शुल्क पनि २ प्रतिशतले बढेको छ ।

 

बनिसक्दै कलंकी–कोटेश्वर ८ लेन सडक
कलंकी–कोटेश्वर आठ लेन सडकको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सडक आयोजनाले जनाएको छ ।

कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको १० दशमलव ३७ किलोमिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

सडकको फिनिसिङ मात्र बाँकी रहेको र यसलाई छिट्टै पूर्णता दिने आयोजनाका प्रवक्ता इञ्जिनियर निरञ्जन अर्यालले बताए ।

सडकको स्तरोन्नति चीन सरकारको सहयोगमा साङ्घाइ कन्स्ट्रक्सनले सन् २०१२ डिसेम्बरमा शुरु गरेको थियो ।
बीचमा भूकम्प, नाकावन्दीजस्ता कारण देखाउँदै आयोजनाले काम सक्न ढिलाइ गरेको हो ।

 

मेयरलाई चढ्न करोडको गाडी
ट्रयाक्टर नभएर फोहोर उठाउन समस्या भइरहेका बेला जनकपुर उपमहानगरपालिकाले मेयरका लागि १ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ ।

 

उपमहानगरपालिकालाई समृद्ध बनाउन प्रभावकारी योजना ल्याउनुको साटो १ करोड ३८ लाख रुपैयाँको गाडी खरिद गरेको भन्दै आलोचना भएको छ । कार्यभार सम्हालेदेखि मेयर लालकिशोर साहले कार्यालयमा उपलब्ध गाडी चढ्दै आएका थिए । तर, अहिले उपपमहानगरपालिकाको रकमबाट फोर्ड कम्पनीको महंगो गाडी खरिद गरिएको हो ।

 

मेयरले जनकपुरस्थित बिक्रेताको मध्यस्थतामा राजधानीको थापाथलीबाट १ साताअघि डेनोभर ब्रान्डको गाडी खरिद गरेको उपमहानगरपालिकाको लेखा शाखाले जनाएको छ । उनले प्रयोग गर्दै आएको महिन्द्रा कम्पनीको गाडी उपमेयर रीता झालाई प्रयोग गर्न दिइएको छ ।

 

महंगो गाडी खरिदका विषयमा साहकै पार्टी राजपामा आलोचना हुन थालेको छ । राजपाका जिल्ला नेता धीरेन्द्रबहादुर सिंहले बिना टेन्डर गाडी खरिद गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । मेयरको यस्तो क्रियाकलापले विकास र समृद्धिको नारा भाषणमा सीमित हुने उनको जिकिर छ ।

 

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।

 

असोजदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले उल्लेख गरेका छन् ।

 

कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालयसमक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ ।

 

टिपर सञ्चालन बारे निर्णय

काठमाडौँ–मंगलबारदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए ।

बक्स अफिस प्रणाली लागू
सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ ।

चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरे ।
उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न भएका छन् । ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।

 

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु
जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । हिजो बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

 

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा हिजो बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

 

जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका तीनजनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ ।

 

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना
दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ ।

 

फुटबल खेलाडीलाई स्वागत
रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।

 

विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गर्नु भएको थियो ।

 

विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।

देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण