लालबाबु बने यसरी बदनाम, रकम लिएर डीभी, पीआर वाला कर्मचारीलाई संरक्षण



 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अघिल्लो कार्यकालमा निकै चर्चा बटुल्न सफल  मन्त्री हुन् । मन्त्री हुनुअघि खासै चर्चामा नरहेका लालबाबुले डीभी, पीआर वाला कर्मचारीप्रति कडा नीति लिएलगत्तै लो–प्रोफाइलका लालबाबुको प्रसिद्धि  एकाएक चुलिएको थियो ।

मन्त्री कै कारण मन्त्रालयमा भद्रगोल भएको छ । लालबाबुले
रकम लीएर डीभी, पीआर वाला कर्मचारीलाई संरक्षण दिन थालेका छन ।

केपी ओली नेतृत्वको सरकारमा पनि बढी जिम्मेवारी सहितको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मौका पाएका पण्डितले शुरुवाती दिनमा निकै कडा अभिव्यक्ति दिए । कर्मचारी वृत्त उनको अभिव्यक्तिले आक्रोसित बनेको भएपनि जनतामा भने लालबाबुले केही गर्ने आश थियो । धेरैको अनुमान थियो, लालबाबुले अघिल्लोपटक जसरी नै फलदायी काम गर्नेछन् ।

 

तर, अघिल्लो कार्यकालमा हाईहाई भएका यी सेलिब्रेटी मन्त्री पण्डितको हिजोआज खासै चर्चा छैन । ओली सरकारका अधिकांश मन्त्री यतिबेला के गर्दैछन् ? शीला जसरी खोज्नुपर्ने अवस्था छ । लालबाबु पनि गोल गर्न नसकेका अन्य लुइतामे मन्त्रीहरू जस्तै कतै रुमल्लिएका छन् ।

 

स्थानीय तहले अझै पाएनन् कर्मचारी 
देशका स्थानीय तहहरू कर्मचारी नपाएर प्रभावित भएको लामै समय गुज्रिसकेको छ । स्थानीय तहमा ५४ हजार कर्मचारी आवश्यक रहेको हिसाब सरकारले नै सार्वजनिक गरेको छ । आवश्यक कर्मचारीमध्ये केही कर्मचारी खटिएका भएपनि अधिकांश तहले कर्मचारी पाएका छैनन् ।
स्थानीय तहमा कर्मचारी अभावकै बीच लालबाबु मन्त्री भएपछि धेरैले यो समस्या हल हुने ठानेका थिए ।

 

स्थानीय तहका जनप्रतिनिधि आशावादी देखिएका थिए । स्वयं पण्डितले मन्त्री भएलगत्तै १ महिनाभित्र कर्मचारी पठाइसक्ने प्रतिबद्धता जनाएका थिए । तर मन्त्री बनेको १४१ दिनपछि पनि उनी कुनै अप्ठ्यारो नमानी जनतासंग गरेको पुरानो प्रतिबद्धता कुल्चिदै कर्मचारी पठाउने भाका सारिरहेका छन् । यसले स्थानीय तहको काम–कारबाही प्रभावित बनाएको त छ नै नेकपा र स्थानीय सरकारप्रतिको विकर्षण समेत बढाउँदै लगेको छ ।

 

 सरुवा भएकालाई उल्टै पुरस्कार 
गत असोजमा तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा १५ सय कर्मचारी सरुवा गरका थिए । तर तीमध्ये अधिकांश कर्मचारी कार्यक्षेत्र गएनन् । चर्को कर्मचारी अभावको स्थिति यथावत रहे पनि तीमध्येका अधिकांशले अझै पनि मन्त्रालयको यो निर्णयलाई चुनौती दिइरहेका छन् ।

 

सरकारले दिएको निर्देशन परिपालना नगर्ने कर्मचारी कारबाहीको भागिदार हुनेमा दुईमत छैन । लालबाबुले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि अटेरी कर्मचारी निशानामा पर्ने लख धेरैले काटेका थिए । विधि र प्रक्रिया कुल्चिने कर्मचारीलाई उनले तह लगाउने आम अपेक्षा यतिबेला निराशामा बदलिएको छ ।

 

लालबाबुमाथि राम्रो कामको अपेक्षा गर्नेहरूलाई उनले निराश त बनाएकै छन् तोकिएको ठाउँमा नगई बसेका कर्मचारीहरूको मनोबल समेत उच्च पार्ने काम गरेका छन् ।

उदेक र रहस्यको कुरा त के छ भने मन्त्री पण्डितले कारबाहीका भागिदार भएका कर्मचारीहरूलाई नै धमाधम पुरस्कृत गरिरहेका छन् । त्यस्ता कर्मचारीहरूलाई मन्त्रालयमा काज फिर्ता बोलाएर पण्डितले दण्डका भागिदार कर्मचारीलाई नै पुरस्कृत के काराणले गरे ? प्रश्न उठेको छ । कि मन्त्री लालबाबु पनि शुभलाभप्रति आकर्षित हुन थालेका हुन् ?

 

मन्त्रालय स्रोतका अनुसार, बरु मन्त्री लालबाबुले ठूलो संख्यामा स्थानीय तह जान आनाकानी गर्ने कर्मचारीहरूलाई मन्त्रालयमा फर्काएका छन् । उपसचिव प्रेम लुइँटेल यसका गतिलो उदाहरण हुन् ।

 

लुइँटेललाई तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतका पालामा स्थानीय तहमा सरुवा गरिएको थियो । तर उनी अटेरी गरेर आफ्नो कार्यक्षेत्र गएनन् । मन्त्रालयको निर्देशन नमान्ने उनी कारबाहीको भागिदार हुने पर्ने हो । तर विधि, प्रक्रिया र ऐन कानूनको कुरा गर्ने तिनै मन्त्री लालबाबुले उनलाई पुरस्कृत गर्दै मन्त्रालय तानेका छन् । लालबाबु स्वयंबाट यस्तो काम भएपछि कर्मचारीहरू अचम्मित भएका छन् ।

 

स्रोतका अनुसार, विगतमा स्थानीय तहमा सरुवा भएकामध्ये केहीलाई धमाधम काज भन्दै तानिएको छ भने केहीलाई काठमाडौं वरिपरिका सुगम स्थानीय तहहरूमा काज सरुवा गर्न थालिएको छ । यसरी सरुवामा पर्नेमा मन्त्री र सचिवनिकट भएर चाकडी गर्ने कर्मचारी धेरै रहेको बताइन्छ ।

 

कतै पुर्पुरोमा हात, कतै खातैखात 
मन्त्रालय स्रोतका अनुसार, मन्त्री, सचिव तथा अन्य पहुँचवालाले आफूनिकटका कर्मचारीलाई काठमाडौं वरिपरि सरुवा गर्ने यतिबेला प्रतिष्पर्धा नै चलेको छ ।  यही होडबाजीले केही स्थानीय तहमा आवश्यकभन्दा कैयन गुणा कर्मचारी थुप्रिएको गनासो प्राप्त हुन थालेको छ ।

 

यसको ज्वलन्त उदाहरण ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका हो । यो नगरपालिकाको महिला समन्वय शाखामा नायव सुब्बा पदको १ दरबन्दी भएपनि यसमा अहिले १३ कर्मचारी हाजिर गर्दै टाप कस्दै(हाटा) जागिर खाइरहेको स्रोतको दावी छ । ‘कतै कर्मचारी अभाव भएको कुरा आइरहेको छ तर हाम्रो नगरपालिकामा भने एकै दरबन्दीमा पनि १३ जना हाजिर गरिरहेका छन्’, नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा साँघुसंग भने ।

 

काठमाडौंको बूढानीलकण्ठ, तारकेश्वरलगायतका नगरपालिकाहरूमा पनि यसैगरी कर्मचारी पठाइएको स्रोत बताउँछ । मन्त्रालयले हचुवाका भरमा कर्मचारी पठाउन थालेपछि केही स्थानीय तहहरूले त पत्र नै लेखेर कर्मचारी नपठाउन मन्त्रालयसँग आग्रह गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका त्यसमध्येको एक हो । उसले मन्त्रालयलाई पत्र लेख्दै कर्मचारी नपठाउन भनेको छ ।

 

आलम हाबी हुँदा सबैतिर भद्रगोल 
जानकारहरूका अनुसार, लालबाबु अन्य मन्त्रीहरूजस्तै कुहिरोको काग बन्नुको कारण उनका स्वकीय सचिव ओसिम आलममाथि दोष लगाइने गरिएको छ । उनले सरुवादेखि अनेक काममा सौदाबाजी गर्ने र शुभलाभ हात पार्ने अनैतिक काम गर्दै आएको आरोप छ ।

 

उनकै कारण २०७४ असोजमा स्थानीय तहमा भएको कर्मचारी सरुवा पनि कार्यान्वयन हुन नसकेको चर्चा मन्त्रालयतिर छ । ‘आलमले मन्त्रालयमा बसेर निकै गलत काम गरेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘आलमको कार्यशैलीकै कारण मन्त्रीको पपुलारिटी खस्किरहेको छ ।

 

अन्ततः आलम बर्खास्त 

मन्त्री पण्डितका स्वकीय सचिव आलममाथि मन्त्रीको नाउँमा धन्दा चलाएको भन्दै आलोचना भएपछि अन्ततः उनी बर्खास्तमा परेका छन् । मन्त्रीले केही दिनअघि उनलाई हटाएको मन्त्रालय स्रोतले साँघुलाई जानकारी दियो ।

 

आलमले लामो समयदेखि पण्डितलाई साथ दिंदै आएका थिए । अघिल्लोपटक मन्त्री हुँदा पनि उनै आलम पण्डितका स्वकीय सचिव थिए । तर अघिल्लो कार्यकालमा आलम खासै विवादमा तानिएका थिएनन् । यसपटक भने उनी शुरुदेखि नै विवादमा फसेका थिए । अन्ततः पण्डितले लामो समयदेखि साथ दिंदै आएका भए पनि उनलाई हटाउने निर्णय गरेका छन् ।

 

मन्त्रीले आलमलाई हटाए पनि उनले अहिलेसम्म उक्त स्थानमा कसैलाई पनि नियुक्त नगरेको बताइन्छ । पण्डितले स्वकीय सचिवका लागि योग्यतम व्यक्ति खोजिरहेको चर्चा मन्त्रालयतिर छ । आलमसंग यसबारे कुराकानी गर्न साँघुले सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन । साँघु साप्ताहिकबाट

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  १६ : ३१  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०