अविरल वर्षासँगै आएको पहिरोले नुवाकोट किम्ताङमा विपत, उच्च जोखिमका रहेका १७ परिवारको विद्यालयमा बास



हाम्रो इकोनोमि

अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् ।

पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो ।

पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् ।

पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।

पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा रहेका किम्ताङको बस्तीमा वर्षात् शुरु हुनुपूर्व नै पहिरो बग्न थालेपछि बाँकी बस्तीका अन्य परिवार पनि त्रस्त छन् ।

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो ।

नि प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुुसार पहिरोबाट किम्ताङको वडा नं ५ देखि ९ सम्मका २०० घरपरिवार उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने भएको छ ।

“पहिरोले खेतीयोग्य भूमि बगाएर भित्र्याउन ठिक्क बनाएको मकैबाली र रोप्न शुरु गरेको ११ रोपनी धान खेत बगाएर बस्तीतर्फ लागेको छ ।” उहाँले भन्नुभयो, “पहिरोको जोखिममा परेका परिवारका लागि स्थानान्तरण गर्न सुरक्षित स्थानको अभाव मुख्य चुनौती बनेको छ ।”

पहिरोपीडितलाई चार वर्षअघि स्थानान्तरण गर्न हाल म्यागङ गाउँपालिकाकोे टुडीमैदानमा प्रक्रिया अघि बढाए पनि उनीहरुले विकल्पमा विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प हुनुपर्ने अडान राखेका थिए ।टुडीमैदानमा अहिले गाउँपालिकाको कार्यालयलगायतका संरचना बनाउन थालिएको छ ।

पीडितको अडान रहँदै आएको स्थान खम्पाक्याम्पमा पनि कारागार व्यवस्थापन विभागले तीन वर्षअघिदेखि केन्द्रीय कारागार निर्माण शुरु गरेपछि करीब ४५० परिवार स्थानान्तरण गर्न सुरक्षित स्थानको समस्या बनेको छ ।

पीडित बसोबास गर्दै आएको किम्ताङका सबै तामाङ समुदाय र चिसो स्थान भएकाले सुहाउँदो हावापानी तथा सांस्कृतिक एकतासमेत कायम गराउन सहज मानिएको ककनीमा स्थानान्तरणको प्रयास भए पनि त्यसमा उनीहरुले चासो नदिएपछि पहिरोे जोखिम क्षेत्रका बासिन्दा कहाँ लैजाने भन्नेमा स्थानीय प्रशासन अन्योलमा छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...