मोरङमा दर्जन स्थानमा बाढीको उच्च जोखिम



हाम्रो इकोनोमि

जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् ।  नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् ।

बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ ।

जिल्लामा बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको रेडक्रस जिल्ला सभापति सुबोधकुमार सिंहले जानकारी दिनुभयो । रेडक्रसले तयार पारेको सूचीअनुसार बक्राहाका कारण सो नदीका आसपासका बासिन्दा अति जोखिममा छन् ।

बक्राहाका कारण मिक्लाजुङ गाउँपालिका– ६ मधुमल्ला, उर्लाबारी नगरपालिका–१ मेचेडाँगी, रतुवामाई नगरपालिका– ५ गोविन्दपुर, ९ र १० को इटहरा, सुनवर्षी नगरपालिका – ६ गाविन्दपुर र ७ को बरडंगा, पथरीशनिश्चरे–५ हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ ।

यस्तै रतुवाका कारण रतुवामाई नगरपालिका– ८ र १० को इटहरा, ७ को सिजुवा, ३ को महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण बेलवारी– ५ का मटियारी र धोकरधरका बस्ती पनि स्थलगत अध्ययनका क्रममा अति जोखिममा रहेको पाइएको रेडक्रस मोरङका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले बताउनुभयो ।

गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् । रेडक्रसका अनुसार बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । विभिन्न खोलामा आएको बाढीका कारण गत वर्ष जिल्लामा तीन हजार ५०० बढी घरपरिवार विस्थापन भएका थिए ।

“बाढीका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहहरुले बजेट छुट्याएका छन् । यस वर्ष नगरपालिकाका सबै वडामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेकाले बाढीबाट हुने क्षति र जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गरिएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बताउनुहुन्छ । बाढीको जोखिम हुने स्थानका वडाध्यक्ष तथा सदस्यलाई विशेष जिम्मेवारीसमेत दिइएको छ ।
नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण तथा बाढीका कारण विस्थापित भएकाको उद्धार र उनीहरुको व्यवस्थापनका निमित्त गाउँसभाबाट बजेट विनियोजन भइसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो । जिल्लामा बक्राहा खोलाले सबैभन्दा बढी धनजनको क्षति पु¥याउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...