गोविन्द केसीलाई यसरी हाने गृहमन्त्रीले झटारो, मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो



हाम्रो इकोनोमि

इतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् ।

विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’

डा. केसीले हठ गरेको दाबी गर्दै मन्त्री थापाले व्यंग्यात्मक शैलीमा भने- ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो ! हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ (मण्डला) मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

डा. गोविन्द केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिकार हनन हुने जिकिर गरे । मन्त्री थापाले भने- ‘माइतीघर मण्डलाजस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’

डा. गोविन्द केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने- ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’

केही ऐतिहासिक धरोहर रहेका स्थानहरुलाई निशेधित क्षेत्र घोषणा गर्दैमा अधिनायकवाद नआउने गृहमन्त्री थापाले दाबी गरे । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने- ‘लोकतन्त्रमा र जनताले आवाज उठाउन पाउने अधिकारको रक्षा त हामीले गरिराखेकै छौं । त्यसैले निशेधित क्षेत्रले अधिनायकवाद ल्याउँदैन । विरोध त अन्त पनि गर्न पाइन्छ । ती ठाउँहरु हामीले तोकिदिएका छौं ।’

गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने- ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् ।

त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । र, अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् ।

केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निशेधित गरेको हो ।’

माओवादीले जनयुद्ध र जनआन्दोलनका बेलामा पार्टीहरुले निशेधित क्षेत्र तोक्नुहुँदैन भनेका थिए नि भन्ने पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री बादलले भने- ‘त्योबेलाको सत्ता बेग्लै सत्ता थियो, अहिलेको सत्ता बेग्लै हो ।’

मन्त्री थापाले थप व्याख्या गर्दै अगाडि भने- ‘त्यसबेला हामीले त्यसो गर्नु जायज थियो । त्योबेलाको विद्रोह थियो त्यो । अहिले विद्रोहबाट जनताको सरकार बनेको छ । जनताको व्यवस्था आएको छ ।

त्यसकारणले अब लोकतन्त्रको परिभाषा र मान्यता अनुसार विधिको शासन हुन्छ । विधि अनुसार चल्नुपर्‍यो । अहिले सरकारले विधिहरु निश्चित गरेको छ । व्यवस्थापिकाले विधि विधानहरु निश्चित गरेको छ । त्यो अनुसार चल्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...