देउवाले नेकपालाई हाने यस्तो वाण,लोकतन्त्रवादी कम्युनिष्ट र शाकाहारी बाघ एउटै



हाम्रो इकोनोमि

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । मकवानपुरको हेटौडामा आजबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका हुन् ।

‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो’ देउवाको भनाई छ ।  उनले वर्तमान सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख भएको आरोप लगाउदै गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दावी समेत गरे ।

सभापति देउवाले पछिल्लो निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारणबारे केन्द्रीय कार्य समितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको भन्दै दुईटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन नै हारको प्रमुख कारण भएको दोहोर्याए ।

उनले निर्वाचनमा एमाले र माओवादीको  गठबन्धनको सम्भावनालाई अनुमान गरेको भन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केहि स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिँदा पार्टी भित्र र बाहिरवाट उत्पन्न  केहि जटिलता देखा परेको बताए ।

‘ठाउँ ठाउँमा अन्तरघात भएका गुनासा व्यापक छन् । अन्तरघात समेतका कुरा पनि पार्टी पराजयको कारण हुन् । यस विषयलाई पनि गम्भीरतापूर्वक हेर्न जरुरी छ’ लिखित भाषण पढेका देउवाले भने ।
उनले काङ्ग्रेसले एउटा लडाई हारेपनि मैदान नहारेको दावी गरे ।

‘यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयनपनि हामीले नै गरेका छौ । यस अर्थमा हाम्रो बिचार जितेको छ । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होईन उच्च मनोबलका साथी अगडी बढ्न आव्हान गर्दछु’ देउवाको भनाई छ ।

पार्टी भित्रबाट आएका असतुष्टिहरुबारे आफु जानकार रहेको भन्दै देउवाले त्यस्ता अभिव्यक्तिलाई आफुले स्वभाविक रुपमा लिएको बताए । ‘कतिपय कुराहरुलाई मैले  स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन । पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यस तर्फ केन्द्रीत भयो ।’ देउवाको भनाई थियो ।

देउवाले केहि काम गर्न ढिलाई भएपनि महत्वपूर्ण काम अगाडी बढेको भन्दै आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय बस्तु अरु केहि नभएको बताए । उनले अहिले मुलुक थप संकटमा परेको छ भन्दै  सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख भएको बताए ।

के.पी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएकाले संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी पनि काङग्रेसको काँधमा आएको देउवाले बताए

उनले एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्ने भन्दै यस बारेमा आफु स्वयं गम्भीर भएको र सबै नेतालाई  गम्भीर हुन आग्रह गरे ।

संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको अवस्थामा पार्टीको बिधान परिवर्तन गर्न आावश्यक रहेकाले भन्दै उनले विधान संशोधन समिति गठन गरि विधान संशोधन गर्ने आश्वसन दिए ।

कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले बारम्बार मिल्नुपर्छ र एकजुट हुनुपर्छ भन्ने गरेपनि व्यवहार त्यस्तो नभएको भन्दै देउवाको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...