गृहमन्त्री बादलदेखि अर्थमन्त्री खतिवडासम्मको भाग्य आज फैसला हुँदै, कस्को जागीर कहिले हुन्छ चट्
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि कति होला ? आज राष्ट्रियसभाका ५९ सदस्यको भाग्य फैसला हुँदै गर्दा अध्यक्ष तिमल्सिनाले पनि गोला तानेर आफ्नो भाग्य निर्धारण गर्नुपर्नेछ ।
अनौठो संयोग त के छ भने राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ ।
प्रदेश चारबाट निर्वाचित खुला तीन सदस्यमध्ये तिमल्सिना अध्यक्ष छन् भने दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता र सुरेन्द्रराज पाण्डे प्रमुख विपक्षी दलको नेता छन् ।
उनीहरुमध्ये गोला तानेर एकजनाको २ वर्ष, अर्को एकजनाको चार वर्ष र तेस्रो व्यक्तिको ६ वर्ष पदावधि तय हुनेछ । त्यस्तै गृहमन्त्री रामवहादुर थापा बादल र अर्थमन्त्री डा.युवराज खतिवडाको भाग्य फैसला पनि आजै हुनेछ । बादलको सांसद पदावधि २ वर्ष, ४ वर्ष वा ६ वर्ष कति भन्ने गोला तानेर तय हुनेछ ।
प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका बादलसँगै नेपाली कांग्रेसका राधेश्याम अधिकारी र नेकपाका बलराम बास्कोटाले गोला तान्नेछन् । त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रपतिबाट मनोनित तीन सांसदबीच गोला तान्नुपर्नेछ । खतिवडा,रामनारायण बिडारी र डा.बिमला राई पौडेलमध्ये कम्तिमा २ र बढीमा ६ वर्षको कार्यकाल हुनेछ ।
यसरी हुनेछ गोलाप्रथा
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन आज संसद् भवनमा गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।
गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधि तय गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए । सो कार्य विधि अनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पट्याएर राखिनेछ ।
सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् । बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर टिप्न लगाइनेछ । सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् ।
प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुँयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वाचित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् ।
दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुनः ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।
अन्य खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।