प्रधानमन्त्री ओलीको जय-जयकार गाउदै देउवालाई यसरी सत्तोसराप गरे देउवा इतरका कांग्रेसी हस्तीले



नेपाली कांग्रेसका संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले एउटै मञ्चमा उभिएर एक भएको सन्देश दिने प्रयास गरेका छन्।

नेपाल विद्यार्थी संघ काठमाडौं समितिले गरेको अन्तर्क्रियामा दुई समूहका नेताहरुले एउटै मञ्चबाट दिएको अभिव्यक्तिको तारो भने कांग्रेस सभापति शेरबहादुर देउवा र वर्तमान सरकार बनेका थिए। आसन्न कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा ‘देउवा इतरका समूहको बल देखाउन’ दुईपक्षीय नेताहरु एकै स्थानमा देखिएका हुन्।

कार्यक्रममा कांग्रेसका पहिलो पुस्ता र युवा नेताले वर्तमान सरकार र पार्टी सभापति देउवाको आलोचनामा समय खर्चिए।

अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले सबै एकताबद्ध हुनका लागि पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता आवश्यक हुने भए पनि त्यस्तो नदेखिएको टिप्पणी गरे। पार्टीभित्र कुरा गर्दा सभापतिले विषय नै तोडमोड गर्ने गरेकाले पार्टी एकढिक्का हुन नसकेको उनले औंल्याए।

दुई समूहका नेताहरुले संयुक्तरुपमा हात उठाएर एकता सन्देश दिन खोजे पनि पौडेलले भने रुचि देखाएनन्। विगतमा सामूहिकताको प्रयास गर्ने भनिए पनि त्यस अनुरुप हुन नसकेकाले आफू तर्सिएको उनले बताए।

पौडेलले वर्तमान सरकारले सामाजिक फासीवादको अभ्यास गरिरहेको आरोप लगाए। दुई तिहाइभन्दा बढी मतसहितको सरकार बनाउने प्रपञ्च तानाशाही तानाबाना भएको उनले बताए।

पौडेलभन्दा अगाडि बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत हुन नसकेको बताए। पार्टीको अवस्था लथालिंग हुनुमा उनले सभापति देउवालाई दोष दिए।

‘पार्टी नै लथालिंग भएको समयमा कम्युनिस्ट सरकारको प्रतिवाद कसरी गर्न सकिएला’, देउवालाई लक्षित गर्दै नेता सिंहले प्रश्न गरे।  उनले संघीय संरचनामा गएको देशमा कांग्रेस भने केन्द्रीकृत संरचना अनुसार नै सञ्चालित भएको भन्दै सभापतिको आलोचना गरे।

अर्का पूर्वमहामन्त्री कृष्ण सिटौलाले पार्टीमा सामन्तवादी सोच हावी भएकाले चाकडीवाजको परम्परा बढ्दै गएको बताए। उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे संसदमा कांग्रेस सांसदहरुको प्रस्तुति अत्यन्तै फितलो भएको टिप्पणी समेत गरे।

कार्यक्रममा अर्का नेता अर्जुननरसिंह केसी पनि सभापति देउवाप्रति खनिएका थिए। केसीले पार्टीमा परिश्रमभन्दा परिक्रमा गर्ने परम्परा मौलाएको बताए। अबको पाँच वर्षमा कांग्रेसलाई पुनर्ताजगी गर्न नेता-कार्यकर्ता सबैमा संकल्प हुनुपर्ने उनले औंल्याए।

साथै, उनले बजेटप्रति आपत्ति जनाउँदै नेता केसीले कालो धनलाई सेतो धन बनाउन कर छुटको नीति सरकारले ल्याएको आरोप लगाए।

नेता नविन्द्रराज जोशीले सरकारले लोकतन्त्र खुम्च्याउने प्रपञ्च गरेको आरोप लगाए। सरकारले सिन्डिकेट हटाएको झ्याली पिटे पनि त्यस अनुरुपको अनुभूति जनताले गर्न नपाएको उनले बताए।

युवा नेता गगन थापाले विगतका तीता-मीठा इतिहास बिर्सेर आज देखिएको नेताहरुको एकत्व भाव कायम राख्न सुझाव दिए। १३औं महाधिवेशनमा दुई धारको नेतृत्व गरेर महाधिवेसनमा भिडे पनि त्यसलाई बिर्सेर एकजुट हुन दुवै पक्षका नेतालाई आह्वान गरे।

थापाले लोकतन्त्रमा पूर्वराजा र विप्लवबाट नभई वर्तमान सरकारबाट नै खतरा भएको टिप्पणी गरे। उनले संघीयताको सबैभन्दा विरोधी प्रधानमन्त्री ओली रहेको आरोप लगाए। ओलीले आफ्नै महिला नेतृहरुले कानुनले दिएको आवाज उठाउँदा ट्यारट्यार नगर्नू भन्नुको अर्थ गम्भीर रहेको उनले टिप्पणी गरे।

केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व सभापति प्रदीप पौडेलले चुनावी अभियानका बेला हातहातमा पाँच हजार बुझाउने बताएका ओलीले बजेटमा वृद्धहरुलाई बेवास्ता गरेको बताए। उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै सत्तापक्षकै व्यवहार संसदमा प्रस्तुत गरेकोप्रति असन्तोष व्यक्त गरे।

कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलन असार ५ देखि ७ गतेसम्म प्रदेश ३ को राजधानी हेटौंडामा हुँदै छ। सभापतिको भेलामा दुई समूहका नेताहरुको ‘गठजोड हुने’ संकेतका रुपमा सोमबारको कार्यक्रमलाई लिइएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्