कांग्रेसले पैसा सहितको प्लेन हाइज्याक गर्दाको अनुभब यसरी सुनाए दुर्गा सुबेदीले,क्याप्टेनलाई गन देखाए पछी…..
माध्यमिक तहदेखि नै राजनीतिमा संलग्न भएँ । कुनै व्यक्ति वा मान्छेमाथि अन्याय, अत्याचार हुन्छ या दमन गर्न खोजिए विद्रोह जन्मिन्छ । १ पुस ०१७ मा म कक्षा-८ मा पढ्दै थिएँ । त्यसअघि मैले नेपालमा प्रजातन्त्र आएको र त्यसका लागि बीपी र गणेशमानले दिएको योगदान मात्र पढेको थिएँ ।
१ पुसमा राजा महेन्द्रले ‘कु’ गर्दै शाही घोषणा गरे । हवाई जहाजबाट पर्चा छरियो, हामीले पनि टिप्यौं ।
हामी स्कुलमा सरस्वती वन्दना गथ्र्यौं । १ पुसपछि ‘श्रीमान गम्भीर नेपाली’ गाउनुपर्ने भयो । संस्कृत पढाउने गुरुले भन्नुभयो, ‘पहिले सरस्वती वन्दना अनि राजालाई पिण्ड पानी दिन्छौं हामी ।’
१ पुसमा विराटनगरका धेरै धनीमानीले दीप प्रज्वलन गरे । मिठाइ बाँडे, मैले पनि खाएँ । राजाले ‘कु’ गरेको उपलक्ष्यमा बाँडिएको थाहा थिएन । नत्र, कहाँ खान्थें होला र !
मैले कक्षा-८ मा नेपाली विषयमा ‘टप’ गरेको थिएँ । पञ्चायती व्यवस्था आएपछि त्यसवापतको मासिक सय रूपैयाँ छात्रवृत्ति खोसियो । मजस्तो पहाडबाट आएको गरिब ब्राम्हणको छोरालाई त्यसबाट ठूलो राहत हुन्थ्यो । आफ्नो अधिकार खोसिएको अनुभूति भयो, त्यतिबेला । त्यसपछि प्रजातन्त्र र राजनीतिसँग जोडिएँ ।
१ पुसपछि नेपाली कांग्रेसका नेता/कार्यकर्ता भारततिर बस्न थाले । केशव कोइराला (डा. शेखर कोइरालाका पिता) विराटनगरका मेयर थिए । उनी पनि भारततिर गए । उनले केही विद्यार्थीलाई बोलाउन थाले, पर्चा छर्ने प्रयोजनका लागि । म भने गइनँ ।
२०१५ सालमा निर्वाचित पहिलो संसदमा जितेर आएका सबै जमिनदार थिए । जमिनदार, राणा वा राजाका नातेदार बढी थिए । जितेर आएका कम्युनिस्ट पार्टीका चार नेता पनि जमिनदार नै थिए । गरिबको त उपस्थिति नै थिएन, त्यहाँ ।
प्रजातान्त्रिक पार्टी, अप्रजातान्त्रिक पद्दति
शुरुमा कांग्रेसले गरिबका पक्षमा आवाज उठाएको थियो । तर, धनीमानीका सन्तानलाई राजनीतिमा ल्यायो र त्यसैलाई निरन्तरता दियो ।
मैले कांग्रेसका लागि ज्यानको बाजी लगाएँ । त्यसपछि मलाई लाग्यो, हामीचाहीं लडेर मर्ने अनि धनीका सन्तान सबै विदेशमा पढ्ने ।
ओखलढुंगा काण्डमा राम, लक्ष्मण मारिएपछि बीपीसँग कुरा उठाएँ, ‘तपाईं र गिरिजाबाबुका सन्तान पढ्ने अनि हामी लड्न जाने र मारिने ? हामीले नागरिकको अधिकारका लागि लड्ने कि तपाईंका लागि ? तपाईंकै शाखा सन्तान पढेर आएर सांसद, नेता हुने होला ।’
– रेलको लिक पछ्याउँदै विराटनगरबाट उडेको जहाज फारबिसगञ्ज पुर्यायौं । १०/१० लाखका तीन वटा डब्बामध्ये गिरिजाप्रसादले एउटा र बीपीले दुई वटा लिए ।
आखिर मैले भनेकै भयो । विस्तारै राजनीतिप्रति वितृष्णा आयो । कांग्रेसलाई जनताले विश्वास गर्दै आए तर कांग्रेसले जनतालाई विश्वास गरेको पाइएन । अहिले पनि प्रजातान्त्रिक पार्टी भनेर अप्रजातान्त्रिक काम गरिरहेको छ ।
बीपी करिब आठ वर्ष जेल बस्नुभयो । भारत प्रवासमा पनि बस्नुभयो । सैद्धान्तिक रूपमा उहाँ ‘संसद्मा राजा’को पक्षपाति हुनुहुन्थ्यो । राष्ट्रियताका लागि पनि राजा चाहिन्छ भन्ने सिद्धान्तबाट उहाँ निर्देशित हुनुहुन्थ्यो ।
त्यो अठोट जीवनको अन्तिम क्षणसम्म पनि थियो, उहाँको । राजाले भने हतियारको सहायताले राज्य गरे । त्यसकारण हतियारबाट आएको शक्तिलाई हतियारबाटै हटाउन सकिन्छ भन्ने लागेको थियो, उहाँलाई ।
बीपीसँग पुरानो सत्ताको अनुभव पनि थियो । तर, ००७ सालपछि पनि राणा खलकका नरसमशेरलाई प्रहरी प्रमुख बनाउनुभयो । तिनै नरसमशेरले क्रान्तिकारी युवालाई गोली ठोकेर शहीद बनाएका थिए ।
बीपीलाई शासन गर्दा को को चाहिन्छ भन्ने थाहा थियो । तर, क्रान्तिमा हतियार चलाएका कांग्रेसका कोही मान्छे उहाँले लिँदै लिनुभएन । ती लडाईंमै मरे या सडेरै गए । पछि त राजाबाटै धेरै सताइनुभयो । पहिले उहाँ हिंसावादी हुनुहुन्थेन ।
नेपाल वंश विश्वासीहरूको देश हो । पहिले आफ्नो वंश अनि मात्र अरू । अहिले माओवादी र एमालेभित्र पनि त्यही छ । अहिले पनि तीन पार्टीका नेताहरू राजा हुन् ।
कोही पनि तल्लो तहबाट आउने होइनन् । गणतन्त्र तल्लो तहको आवाज होइन, माथिबाट लादिएको हो । बीपी पनि त्यही हुनुहुन्थ्यो, माथिबाटै निर्णय लाद्ने । त्यही भएर त उहाँ असफल हुनुभयो ।
म आफ्नै कर्मले राजनीतिबाट बाहिरिएको हो । बीपीलाई नेता मानेर अन्धभक्त भएर लागें । भित्र पसेपछि मैले सबै कुरा थाहा पाएँ । पार्टी प्रणाली छ तर तिनीहरूले प्रजातान्त्रिक शैली पछ्याएका छैनन् ।
पार्टीका नेताहरू प्रजातान्त्रिक हुँदै होइनन् । अहिले हामी गणतन्त्रको कुरा गर्दैछौं । यो खरिद गरेको भोटले चल्छ । एक सय चार वर्ष राणाले शासन गरे, त्यसपछि राजाले । राजनीतिक र जनताको आर्थिक अवस्था सुध्रिएको छैन । हल्ला मात्र चलाइएको छ ।
जुन दिन ओखलढुंगा घटना असफल भयो, त्यही दिनबाट मलाई लाग्यो हिंसाबाट परिवर्तन सम्भव हुँदैन । व्यक्तिले इच्छा गरेको र जनता आफैंले चाहेको हिंसा फरक हुन्छन् । माओवादीलाई जनताले साथ दिएका थिए ।
माओवादीले दिएको सपनाको पछाडि लागेर जनता आएका थिए । राजालाई हटाउने सपना बाँडेको थियो, माओवादीले ।
तर, सपना आफैंले देख्न सक्नुपर्छ । भारतमा गान्धीजीले क्रान्ति सफल पार्न हरेक समुदायलाई सहभागी गराए । र, परिवर्तन सम्भव र स्थायी बन्यो ।
यसकारण जहाज अपहरण
पार्टी सञ्चालन गर्न पनि सम्पत्ति चाहिन्छ । त्यतिबेला बैंक लुट्ने योजना थियो । इनरुवा र रंगेलीका बैंक लुट्न मैले नै ‘रेकी’ गरेको थिएँ तर सम्भव भएन ।
बैंक लुट्ने योजना असफल भएपछि गिरिजाप्रसाद कोइराला व्यक्ति लुट्नुपर्छ भन्न थाल्नुभयो । घरमा पस्ने, बन्दुक देखाउने र पैसा लुट्ने । नगेन्द्रप्रसाद रिजाल, शम्भु रिजाल र नारायणप्रसाद कोइरालालाई लुट्ने योजना थियो । नारायणप्रसाद गिरिजाप्रसादकै काका हुन् । व्यक्तिलाई लुट्न बीपीले मान्नु भएन ।
जापानमा ओकामोतो नामका व्यक्तिले जहाज अपहरण गरेका थिए । जेलमा बस्दा त्यस अपहरण काण्डबारे लेखिएको पुस्तक पढ्न पाएको थिएँ । सरोज कोइराला भर्खरै जेलमा आउनुभएको थियो । उहाँलाई पनि यति प्रयास गरे पैसा जम्मा गर्न सकिन्छ भनेर सुनाएँ ।
ओकामोताले १० करोड डलर हात पारेका थिए । सरोज बाबुलाई भनें, ‘जहाज अपहरण गर्न त सकिन्छ नि ।’ उहाँले ‘कसरी सकिन्छ ?’ भन्नुभयो ।
जेलबाट छुटेपछि मैले गिरिजाबाबुलाई भेटें । उहाँले त राष्ट्र बैंक नै लुट्ने प्रयास गर्नुभएको रहेछ । मैले त्यही किताब पढेको आधारमा ‘बन्धक बनाएर पनि पैसा प्राप्त गर्न सकिँदो रहेछ नि’ भनें । उहाँले ‘बन्धक त बनाउनु हुन्न’ भन्नुभयो ।
फेरि उहाँले के सोच्नुभयो र मलाई बोलाउनुभयो । र, भन्नुभयो ‘बीपीसँग एक पटक कुरा गर न । यो अन्तर्राष्ट्रिय मामिलासँग जोडिएको कुरा हो ।’
मैले बीपीलाई भारतको वीरपुरस्थित गेस्ट हाउसमा भेटें । उहाँले ‘गर्न सक्छौ भने गरे हुन्छ’ भन्नुभयो ।
अपहरण त गर्ने तर कसको र कसरी गर्ने ? हामी अन्योलमा पर्यौं । शुरुमा जहाज अपहरण गर्ने, यात्रीलाई बन्धक बनाउने र सरकारबाट पैसा असुल्ने योजना बनायौं । बीपीले त्यसो गर्न मान्नुभएन ।
खोज्दै जाँदा राष्ट्र बैंकले विराटनगरमा संकलित भारतीय रुपैयाँ हरेक ६ महिनामा काठमाडौं पठाउँदो रहेछ । विनोद अर्यालका भाइ मदन राष्ट्र बैंकको विराटनगर शाखामा काम गर्थे । उनीसँग गिरिजाबाबुको नजिकको सम्बन्ध थियो ।
– पार्टी नेतृत्व लिन खोजेको बताउँदै गिरिजाप्रसादले मलाई मार्ने योजना बनाएका थिए । र, निर्घात कुटपिट पनि गरे ।
उनैबाट पैसा पठाउने मिति पत्ता लगायौं । जहाजमा जाने भएकाले सुरक्षा पनि हुँदो रहेनछ । मैले बीपीलाई त्यो सुनाएँ । उहाँले भन्नुभयो, ‘हुन्छ ।’
बीपी र गिरिजाबाबु फारबिसगञ्ज जानुभयो । जहाज अवतरण गर्न पूर्वप्रधानमन्त्री सुशील कोइरालाले त्यहाँ एउटा चौरी खोज्नुभएको थियो ।
यता म, वसन्त भट्टराई र नगेन्द्रप्रसाद ढुंगेल थियौं । मुक्ति सेनाको संगठन बनाएका थियौं, जसको कमान्डर म थिएँ । मुक्ति सेनाका सदस्यहरूलाई हामी अलग-अलग हस्ताक्षर गराउँथ्यौं । सदस्यहरूले पनि एकअर्कालाई चिन्दैनथ्यौं । २५ जनाको एकाइमा हामी तीन जना परेका थियौं ।
जहाज आकाशमा उडिसकेपछि मानिसको अजीव मनोविज्ञान हुँदो रहेछ । जब अपहरणको ‘एक्सन’मा गइन्छ, पूरै ‘एब्नर्मल’ भइने रहेछ ।
पाइलटको गर्धनमा रिभल्बर
जहाज उडेपछि म पहिले ककपिटमा छिरें । गोजीबाट रिभल्बर निकालेर पाइलटको गर्धनमा तेस्र्याएँ । वसन्तजी पनि मसँगै पस्नुभयो । उहाँ त लडाकु पनि हो ।
हामी अघिल्ला दुई वटा सिटमा बसेका थियौं । त्यहाँ बसेका यात्रीलाई ‘सिन’ हेर्न भन्दै अर्को सिटमा पठाएका थियौं । हामी सबै विराटनगरका मान्छे, भन्नेबित्तिकै छाडिदिए । त्यसपछि जबर्जस्ती ककपिटमा पस्यौं ।
ककपिटमा पस्नासाथ वसन्तजीले को-पाइलटलाई पक्रिनुभयो, मैले पाइलटलाई । पाइलट आत्तिए र प्लेन त सुत्त तल झर्यो । वसन्तले को-पाइलटको कानमा लाउने सञ्चार उपकरण खोसे । मैले पनि पाइलटको उपकरण खोसें । टावरसँग सम्पर्क विच्छेद भयो ।
पाइलटले ‘यो के गरेको’ भने । मैले ‘हामीले भनेको ठाउँमा पुर्याउनूस्, तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ’ भनें । उनले फेरि प्लेन माथि उठाए । र, अगाडि बढाए ।
मैले भनें, ‘किन अघि बढाएको ?’ उनले भने, ‘थोडा गाडी हो र तपाईंले भनेबमोजिम रोक्न सक्छु र यो त बढिरहन्छ ।’ कोशी कटेर जहाज पश्चिमतिर बढिरहेको थियो ।
रिभल्बरले पाइलटको गर्धनमा धेरै घोचेको थियो । उनले ‘यसले धेरै घोच्यो अलिक पछि हटाउनूस्, अनि सल्लाह गर्छु’ भने । उनले भनेको मान्न मन तयार थियो तर हात आफ्नै नियन्त्रणमा थिएन ।
पाइलटले बल्ल ‘तपाईंहरूको ठाउँ कहाँ हो बताउनूस्’ भने । मैले ‘फारबिसगञ्ज, विराटनगरबाट दक्षिण पर्छ’ भनें । उनले सोधे, ‘कति नटिकल माइल ?’ मलाई नटिकल माइल थाहा थिएन । ‘तल रेलको लिक देखिएपछि थाहा हुन्छ । जोगवनीबाट ५० देखि ६० किलोमिटरजति पर्छ’ भनें । उनले ‘त्यसरी त जान सकिँदैन’ भने ।
मैले ‘तै पनि फर्काउनूस्’ भनें । उनले फर्काए । जहाज त बंगालतिर पुगिसकेछ । तलका गाउँ, ठाउँ केही थाहा नहुने । मैले ‘वीरपुरमा ल्यान्ड गरौं’ भनेँ । उनले ‘होइन, त्यहाँ एयरपोर्ट छ, विराटनगर फर्कौं’ भने ।
‘भनेको ठाउँमा गएनौ भने हामी एक मिनटमा सिद्धिन्छौं । कसैको बाँच्ने आशा रहँदैन । हामीले भनेकै ठाउँमा पुग्नु पर्छ,’ हामीले भन्यौं । पाइलटले ‘कसरी पुग्ने’ भने । हामीले भन्यौं, ‘फेरि घुमौं । तल लैजानूस् । धेरै तल जान सकिँदैन तर धेरै माथिबाट देखिँदैन ।’
त्यसबेला फारबिसगञ्जबाट वीरपुरसम्म ढुंगा ओसार्न रेल चल्थ्यो । पाइलटलाई भनें, ‘वीरपुर-फारबिसगञ्ज रेलको लिकै लिक हिंड्नूस्, हामीले भनेको ठाउँमा पुगिन्छ ।’
– कांग्रेसले गरिबका पक्षमा आवाज उठायो तर धनीमानीका सन्तानलाई राजनीतिमा ल्यायो र त्यसैलाई निरन्तरता दियो ।
त्यो रेलको लिक टुंगिएपछि फारबिसगञ्ज पुगिन्थ्यो । पाँच मिनटमै पुग्यौं हामी । हामीले भनेझैं एउटा ठूलो सिमलको रुख र नजिकै चौर देखियो ।
पाइलटको मनस्थिति बदलियो । उनलाई बाँचिँदैन भन्ने लागेको थियो होला । यात्री सबैको ओठ, तालु सुकेको थियो । तर, कुनै यात्रीले केही भनेनन् । हामी दुई जना ककपिटमा थियौं । नगेन्द्र बाहिर रिभल्बर तेस्र्याएर बसेका थिए ।
भरखरै बिहे भएकी एक महिलाले आत्तिएर सोधिन्, ‘दाजु के गरेको यो ?’ मैले उनीतिर ध्यानै दिइनँ । चौरमा जहाज अवतरण भयो । हामी उत्रियौं, बाहिर साथीहरू हामीलाई पर्खेर बसिरहेका थिए ।
जहाजको लगेजमा धेरै आँप रहेछ । आँप सबै फ्याँकिदिएँ । १०/१० लाखका तीन वटा डब्बा गाडीमा हाल्यौं । जहाज छाडेर हिँड्यौं ।
फर्किने बेलामा पाइलटलाई भनें, ‘हाम्रो मिसन पूरा भएको छ । प्यासेन्जरलाई सुरक्षित तवरले विराटनगर लिएर जानूस् । अब काठमाडौं पुग्न सक्नु हुन्न । सामान त हामीले लिइसक्यौं ।’
जहाज अवतरण गरिसकेपछि पाइलटलाई इन्जिन बन्द गर्न दिएको थिइनँ । बन्द गर्दा फेरि ‘स्टार्ट’ नहुन पनि सक्थ्यो । सबै साथी उत्रिसकेपछि मात्र म उत्रें ।
बीसको नोट दिएर उम्कियौं
जहाज अवतरण भएको चौरमा सुशील कोइराला, मनोहरि बराल र विनोद अर्याल ‘स्टेन्डबाई’ हुनुहुन्थ्यो । अलिक अगाडि गिरिजाप्रसाद र त्यसभन्दा अगाडि बीपीसँग भेट भयो । गिरिजाबाबुले एउटा र बीपीले दुई वटा बाकस गाडीमा हाले । त्यो रात हामी सिक्किम पुग्यौं ।
विहार र पश्चिमबंगालको सीमा अररियामा ढाट थियो, जहाँ प्रहरीको जाँच हुन्थ्यो । नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा बीपीसँग प्रहरीका सुरक्षा गार्ड थिए ।
उहाँको गाडीलाई रोके पनि सुरक्षा गार्ड देखेपछि छोडिहाल्यो । हाम्रो गाडी रोकेर चेक गर्नुपर्यो भन्यो । गिरिजाप्रसाद र सुशील पनि सँगै थिए । मसँग एउटा रिभल्बर पनि थियो । हामीले ‘होइन, होइन, हाम्रा मालिक अगाडि गइसके । यहाँ के सामान छ हामीलाई थाहा छैन’ भन्यौं ।
एउटा हवल्दारले अर्को प्रहरी पनि बोलायो । उसले त ‘इसको छोडेंगे नहीं’ भन्छ । अनि मैले पनि ‘जो लेना है लिजिए । छोड्दो हमको’ भनें । १० रुपैयाँ दिएको मानेन । मैले भनें, ‘कितना चाहिए ?’ उसले ‘२० रुपैयाँ’ भन्यो । पैसा दिएर अगाडि बढ्यौं ।
प्रहरीको चरम यातना
म ०३६ सालसम्म कांग्रेसमै सक्रिय थिएँ । बीपी ०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । म भारतमा जेल परेको थिएँ । प्रहरीले हातमा पिनले घोचेर यातना दिएको थियो । जति यातना दिए पनि मैले गिरिजाबाबुको नाम लिइनँ । बीपीको मात्र नाम लिइरहें । बीपीले जे भन्नु भयो, त्यही मैले मान्दै आएँ ।
स्वदेश फर्किनु तीन दिनअघि बीपी मलाई भेट्न जेलमा आउनुभयो । उहाँले भन्नुभयो, ‘तिमीहरूलाई संगीन मुद्दा लागेको छ । कुनै पनि दिन केही हुन सक्छ ।’ पहिले एक महिना बनारस र पछि डेढ वर्षजति पूर्णिया जेलमा राख्यो । ८/९ महिना भागलपुर जेलमा पनि बसें । त्यहाँ मलाई एक्लै राखियो ।
जनमत संग्रहका बेला बीपी नेपालमा हुनुहुन्थ्यो । हामीले जेलबाटै बहुदलका पक्षमा पर्चाहरू निकाल्यौं ।
गिरिजाप्रसादले हत्या गर्न मान्छे खटाए
‘नेपाल पुकार’ बन्द थियो । मैले बनारसबाटै ०३६ सालदेखि ‘नयाँ नेपाल पुकार’ साप्ताहिक निकालें । मैले पत्रिका निकाल्न थालेपछि गिरिजाप्रसाद ‘ए यो लिडरसिप लिन खोज्ने’ भनेर मेराविरुद्ध लाग्न थालेका थिए ।
गिरिजाप्रसादले मलाई मार्ने योजना पनि बनाएका थिए । वसन्तलाई भनेर अरू मान्छे लगाएर मार्ने योजना नै बनाएका थिए । मलाई निर्घात कुटपिट पनि गरे ।
मार्न सक्छन् बरु नेपालमै मर्छु भनेर स्वदेश फर्किएँ । म जमानतमा रिहा भएको थिएँ । हरेक महिना तारेख धाउनुपथ्र्यो । स्वदेश फर्केर पनि भारतमा हरेक महिना हाजिर नभए फेरि जेल हालिदिन्थ्यो ।
२०३६ सालको भुट्टो घटनालगत्तै म फेरि भारततिरै गएँ । किनभने, यहाँ पक्राउ पर्न सक्थें । स्वदेश फर्केको तेस्रो दिन जुल्फिकर अली भुट्टोलाई फाँसी दियो, पाकिस्तानको सैनिक सरकारले ।
महोत्तरीका कांग्रेस नेता सूर्यनारायण जोशीको घरमा बसेको थिएँ । उहाँले ‘तपाईं यहाँ किन आएको ? तपाईंलाई पक्राउ गर्यो भने बीपीलाई पनि सिध्याउँछ । भाग्नूस् तपाईं यहाँबाट’ भन्नुभयो । जोशीजी बीपीले विश्वास गरेको मान्छे । जेलमा दुवै जना भात पकाएरै खान्थे । सुवर्णका मान्छेहरूले बीपीकोमा गएर भात खाँदैनथे ।
भरतमोहनले धोका दिए
कृष्णपूसाद भट्टराईले मलाई काम दिनुभयो । मैले पार्टीको चुनाव गराएँ । भोजपुर, धनकुटा, सप्तरीमा पार्टीका अधिवेशन गराएँ । सप्तरीमा पार्टीका साथीहरूबीच मारामार नै थियो । तर, आफूले पार्टी सदस्यता मागिनँ ।
मलाई सक्रिय राजनीति गर्ने इच्छा नै भएन । सबै काम महामन्त्री गिरिजाप्रसादको हातमा थियो । उहाँ देशव्यापी दौडिन सक्ने मान्छे । किशुनजी र गणेशमान त्यसरी कुद्न सक्नु हुन्नथ्यो ।
पछि त गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी नै छाडेर जानुपर्यो । ‘गिरिजाप्रसाद महामन्त्री छन् । त्यसैले म सदस्यता लिन्नँ’ भनेर किशुनजीलाई भनें । प्रधानमन्त्री बनेपछि त गिरिजाप्रसादलाई सत्ताको रापले धेरै पोल्यो ।
२०४८ सालको चुनावमा म कांग्रेसको प्रचारमै लागें तर पार्टी सदस्यता लिएर होइन । किशुनजीलाई स्पष्ट भनिदिएँ, ‘म कांग्रेसको झण्डा लिएर काम गर्दिनँ । किनकि, यसको नेता तपाईं होइन, गिरिजाप्रसाद कोइराला हो । बीपीलाई त उसले त्यहाँ चलाएको थियो भने यहाँ छोड्छ ?’
२०५१ सालमा गणेशमानजीले चुनाव लड्न आग्रह गर्नुभयो । कांग्रेस छाडेपछि उहाँले शुरु गर्नुभएको जनजागरण अभियानमा जगन्नाथ आचार्य पनि हुनुहुन्थ्यो । उहाँको आग्रहमा हामी चुनाव लड्ने निर्णयमा पुग्यौं । गणेशमानजीलाई रामचन्द्र पौडेल, शेरबहादुर देउवा कसैले पनि साथ दिएका होइनन् ।
मैले गणेशमानजीलाई उम्मेदवार नबनी देशव्यापी घुमेर उहाँका वेदना राख्छु भनेको थिएँ । तर, उहाँले मान्नुभएन र एमालेका भरतमोहन अधिकारीलाई मेरो समर्थन गर्न लगाउनुभयो । भरतमोहनजीले पछि धोका दिए र आफैं उम्मेदवार बने ।
हामीले मोरङका सबै क्षेत्रमा उम्मेदवार उठायौं । ती सबैमा कांग्रेसलाई हराउन सक्यौं । कांग्रेसको भोट पनि घट्यो । सत्तालाई मान्ने कांग्रेस र नमान्ने कांग्रेसबीच भएको थियो, ०५१ सालको चुनाव । एक सय १० सिट ल्याएको कांग्रेस दुई तिहाई ल्याउँछु भनेर चुनावमा जाँदा दोस्रो पार्टीमा खुम्चियो ।
एमालेले ८३ सिट ल्याएर पहिलो पार्टी बन्नुको खास कारण हामीले कांग्रेसमा गरेको विद्रोह थियो ।
किशुनजीको विश्वास
सशस्त्र विद्रोह शुरु भएपछि म माओवादी र प्रचण्डका किताब र पत्रपत्रिका पढिरहन्थें । बाबुराम भट्टराईजी मेरो पुरानो मित्र । उहाँ र म एउटै कोठामा बसेका थियौं, कुनै समयमा ।
२०५० सालमा रत्नपार्कको भित्तामा नारा लेख्ने विषयमा अनेरास्ववियू तथा माओवादीका बाबुराम र पम्फाहरूबीच भएको झडपका बेला पनि म काठमाडौं आएको थिएँ । त्यसको ३/४ दिनपछि मसँग बाबुरामजीको भेट भयो ।
त्यसबेला बाबुरामले मलाई भनेका थिए, ‘हेर्नूस्, यसरी भएन अब त म पश्चिम नेपाल जान थालें ।’ मैले ‘किन जानु हुन्छ ?’ भनेर सोधें । उनले ‘अब क्रान्ति नगरी हुन्न, हिंड्नूस् तपाईं पनि’ भने ।
तर, मैले मानिनँ । उनकै घरमा खाना पकाएर खायौं । हिसिला पनि थिइन् । मैले भने, ‘मैले पनि नेपाली कांग्रेस देखेको छु । भोलि त्यही हुन्छ, तपाईंको पार्टी पनि ।’ बाबुरामले आँखा चिम्से पारेर ‘लौ भइहाल्यो’ भने ।
हिंसात्मक द्वन्द्वमा जनताका सन्तान, सेना र प्रहरी मरेको समाचार आउँदा दुःख लाग्थ्यो ।
मुमाराम खनालमार्फत् मात्र प्राप्त माओवादीको चिठ्ठी तत्कालीन प्रधानमन्त्री किशुनजीलाई दिएँ । किशुनजीले भन्नुभयो, ‘नचाहिँदो काम त गरे, यिनीहरूले । पार लगाउन सक्दैनन् । हतियार उठाएर आन्दोलन गर्दा बीपीजस्तो मान्छे कति वर्ष जेल बस्नुपर्यो । यो असफल भयो भने त मारिदिन्छ, सरकारले । खोजी-खोजी मार्नुपर्छ, म सरकारमा बसिरहें भने । विप्लव भनेको त लडाईं हो । सेना प्रयोग भएको छैन, अहिले त ।’
किशुनजीले ‘गोरखाको पानी खाएको बाबुराम विद्वान छन्, उनलाई सम्झाउनुपर्यो । कुरा अगाडि बढाउनूस्, वार्ता थालौं’ भन्नुभयो ।
किशुनजीले माओवादीलाई राजनीतिक मान्यता दिइसकेकाले वार्तामा आउन आव्हान पनि गर्नुभयो । ‘माओवादी विद्रोहलाई राजनीतिक समस्या हो भनेको छु । गिरिजा वार्ता गरौं भन्यो भने मान्दैन । ऊ त जतिसक्दो दमन नै गर्न खोज्छ । कम्युनिस्टसँगै मिलेर प्रजातन्त्र ल्याएको होइन, हामीले ? एक पटक भेट्नूस् है, राम्रोसँग,’ उहाँले भन्नुभएको थियो ।
त्यसपछि बाबुरामलाई दुई पटक भेटें मैले । किशुनजीको अठोट थियो, माओवादीहरू वार्तामा आउँछन्, उनीहरूले केही बढी माग राख्छन् तर केही माग पूरा गर्न सकिन्छ ।
किशुनजीले मलाई हातै जोडेर भन्नुभयो, ‘बाबु, सत्कर्ममा लाग्नुभयो । कांग्रेसका मान्छेहरू सबै बिगार्न मात्र खोज्छन् ।’
त्यसपछि हस्तलिखित पत्र नै आदानप्रदान गरियो । प्रधानमन्त्री भट्टराई र प्रचण्डका हस्तलिखित पत्र थिए ती । माओवादी नेता देव गुरुङ र डीएसपी ठूले राईलाई दुवैतर्फबाट छाडियो । राजाले ती घटनाक्रम थाहा नपाएको भए शायद हामी सफल हुन्थ्यौं ।
किशुनजीले वार्ता गर्दै गरेको कुरा राजा वीरेन्द्रलाई भन्नुभयो । राजाले गिरिजाप्रसादलाई भनेछन् । त्यसपछि त किशुनजीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थाले, उनले ।
किशुनजीले शेरबहादुर देउवाको नेतृत्वमा माओवादीसँग वार्ता गर्न उच्चस्तरीय आयोग बनाउनुभयो । उहाँले बाहिर सबैलाई थाहा दिएरै वार्ता आव्हान गर्नुभएको थियो ।
आयोग बनाएकै दिन किशुनजीले ‘तपाईंलाई राख्न गिरिजाले दिँदैन । आजकै दिनबाट बिदा गरें बाबु’ भन्नुभयो । उहाँले ‘अब गिरिजा र भारतबीच कुराकानी हुन्छ । तर, अब वार्ता देशभित्रै गर्नुपर्छ’ भन्नुभएको थियो ।
माओवादीसँगको वार्तामा विदेशी संलग्नताको विपक्षमा हुनुहुन्थ्यो, उहाँ । मैले प्रचण्ड र बाबुरामलाई किशुनजीको सन्देश पठाइदिएको थिएँ ।
किशुनजीको सरकार गिरिजाले गिराए । त्यसपछि मैले माओवादीसँगको वार्तामा चासो दिइनँ । शेरबहादुरले मलाई बारम्बार बोलाएका थिए तर म गइनँ ।
तर, त्यहीबीचमा मुमाराम खनालहरू पक्राउ परे । उनीहरूको खोजी गर्न म तत्कालीन प्रधानमन्त्री शेरबहादुरकोमा जान थालें । राम कार्कीलाई भेट्न पाएँ । तर, मुमाराम खनालहरूलाई भेट्न दिएन ।
फेरि पनि संसदीय व्यवस्था
अहिले कांग्रेसका शेरबहादुर, एमालेका केपी ओली र माओवादीका प्रचण्ड सबै एउटै कोटीका देख्न थालेको छु । मेरो कुरा सुन्छन् होला भन्ने लाग्दैन । यी कुनै पार्टीमा मैले सम्मान पाउँछु भन्ने लाग्दैन । बरु, म एक्लै मानवअधिकारमा लागें ।
माओवादीहरू पनि संसदीय व्यवस्थामा समाहित भए । एमाले पनि त्यसरी नै समाहित भएको हो । फेरि पनि संसदीय व्यवस्था नै स्थापित भयो । संविधान आइसक्यो । अब हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुँदै गयो भने हाम्रो भविश्य राम्रै हुन्छ । अहिलेकै नेताले नगरे पनि यही व्यवस्थाअनुसार नियमित चुनाव भयो भने परिवर्तन हुन्छ ।
अहिलेको गठबन्धनप्रति मेरो विश्वास छैन । पार्टी एकता तलबाट हुने होइन, माथिका दुई नेता मिलेका हुन् । यिनीहरू लामो समय मिल्न सक्दैनन् । मिली हाले पनि भित्री एकता हुँदैन ।
कांग्रेसमा एकता भए पनि शेरबहादुर र रामचन्द्रबीच विवाद अझै कायम छ । विस्तारै नवगठित नेपाल कम्युनिस्ट पार्टीमा पनि धु्रवीकरण भइहाल्छ ।
राजनीतिमा आएका नयाँ मान्छे राम्रा छन्, राम्रा कुरा गर्छन् । इज्जतमा कहीं दाग लागेको छैन । भरखरै दर्ता भएको विवेकशील साझा पार्टीले काठमाडौंैमा कति धेरै भोट ल्यायो ।
जनताले विकल्प खोज्छन्, दिन पनि सक्नुपर्छ । नयाँशक्ति भनेका बाबुराम भट्टराईको पार्टीलाई जनताले भोट दिएका छैनन् ।
विहारजस्तो ठाउँमा विकल्प आउँदो रहेछ । हामीसँगै पढेका साथी नितिशकुमारले विकल्प दिए । र, विहारको नक्सा नै बदले । नितिशकुमारले खेतमा पानी दिएका छन् । विकास भनेको त्यही हो भन्थे, बाबुरामजी र मसँग भेट्दा ।
कांग्रेसको खराब नेतृत्व
एकदमै आदर्शको कुरा गरें मैले । तर, त्यो होइन रहेछ । राम्रो कामका लागि सम्झौता गरेर अगाडि बढ्नुपर्ने रहेछ । बाबुरामजीले ‘तपाईं आउनूस्, आउनुपर्छ’ भन्नुभएको थियो । तर, मैले स्वीकारिनँ ।
आग्रह त शेरबहादुरले पनि नगरेका होइनन् । तर, म अहिले सन्तुष्ट छु । किनकि, म त्यहाँ नगएर ठीक गरेंछु । किनभने कांग्रेसमा साह्रै खराब नेतृत्व स्थापित भयो ।
एमाले र माओवादीमा जान मेरो संस्कारले नै दिँदैन । मैले भोगिसकेको छु, हिंसाबाट आएको परिवर्तन स्थायी हुँदैन भन्ने ।
जबसम्म जनता भोकै रहन्छन् र उनीहरूलाई आश्वासन मात्र बाँडिन्छ, अनि हिंसा आउँछ । पाँच वर्षसम्म यो सरकारले राम्रो काम गरेन भने कांग्रेस पनि आउला, नभए अर्को विकल्प जनताले रोज्छन् । मैले चीनमा देखें, जनताले खान पाएका छन् र सन्तुष्ट छन् । त्यसैले त्यहाँ विद्रोह छैन ।
(२०३० सालमा आजकै दिन कांग्रेसले नेपाल वायु सेवा निगमको जहाज अपहरण गरेको थियो । अपहरणकारीमध्येका एक तत्कालीन कांग्रेस नेता दुर्गा सुवेदीसँगको नेपाल समयले गरेको कुराकानीमा आधारित)