सुन तस्कर गोरेको हत्या गरेर सुन काण्ड मथ्थर पार्न एसएसपी र डिएसपी बीच यस्तो भएको थियो संबाद



अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीको सबैभन्दा धेरै सूचना भएका व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ गोली हानेर हत्या गर्न निर्देशन दिएको देखिएको छ।
हत्यापछि गाेरेकाे इन्काउन्टरमा मृत्यु भएकाे भनेर प्रचार गर्ने याेजनाअनुसार महाशाखा टाेली पूर्व पुगेकाे रहस्य खुलेकाे हाे।

२०७४ फागुन १८ गते राति महाशाखा प्रमुख लोहनीले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सुन तस्करी एवं सनम शाक्य हत्या अनुसन्धानका लागि धारन पठाएका थिए। उनी धरान पुगिसकेपछि राति भएको सम्वादमा एसएसपी लोहनीले दोहोरो भिडन्तको नाउँमा गोरेलाई हत्या गर्न निर्देशन दिएका हुन्।

‘त्यहाँ (धरान) बाट हाम्रो गाडी मुभ गराउने भनेको त दोहोरो (भिडन्त) देखाउनलाई हो नि त’, काठमाडौंमा रहेका एसएसपी लोहनीले धरानमा रहेका डिएसपी केसीलाई निर्देशन दिँदै भनेका छन्, ‘दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो। सिद्धियो।’

एसएसपी लोहनीको मुख्य इच्छा गोरेलाई गृहनगर उर्लाबारीमै मार्ने देखिन्छ। मोरङ र उर्लाबारीको प्रहरी आफ्नो विश्वासमा रहेको लोहनीको सम्वादबाट प्रस्टिन्छ। ‘हामीलाई सहयोग गर्ने भनेको कि मोरङको हो कि उसको हो। त्यसलाई कुटेर मारेको फस्र्ट क्राइम सिन पनि मोरङमै हो’, उनले भनेका छन्।

पढ्नुहोस् टेलिफोन वार्ता :

एसएसपी दिवेश लोहनी: अँ प्रजित। अँ हेलो।

डिएसपी प्रजित केसी: त्यो मेन केटा (गोरे) इन्डिया गएको भन्छ यसले हजुर। उताबाट बोलाउँ भनेको छ। उसले बोलउँछु भन्दैछ। त्यसो भए उताबाट आउँछ भने हामी किन यहाँ बस्ने अर्कोतिर जाउँ भनेर इटहरीतिर जाउँ भनेको छु यसलाई। मैले तिम्रो यो गाडी मात्र लग्यो भने शंका हुन्छ। म यहाँ पुलिसलाई आज यतातिर आएको इटहरी जानुपर्ने भयो भनेर पुलिसको गाडी मगाउँछु। त्यो गाडी हाम्रै भइहाल्यो। अनि त्यहाँ उर्लाबारीबाट केटाहरु त्यहाँ मगाउने सर।

एसएसपी दिवेश लोहनी: इटहरीमा ?

डिएसपी प्रजित केसी: इटहरीमा सर। यसलाई पनि लिए जाउँ सर।

एसएसपी दिवेश लोहनी: सुन न मेरो कुरा। इटहरीभन्दा उर्लाबारीबाट मगाउनु पर्छ। उर्लाबारी मोरङ पर्यो होइन ? इटहरीको पुलिसलाई हामीले केही पनि भनेको छैन। हामीलाई सहयोग गर्ने भनेको कि मोरङको हो कि उसको हो। त्यसलाई कुटेर मारेको फर्स्ट क्राइम सिन पनि मोरङमै हो।

डिएसपी प्रजित केसी: मोरङ हो सर। उर्लाबारीतिरै हो।

एसएसपी दिवेश लोहनी: उर्लाबारीतिरै हो भनेपछि तीँ उर्लाबारी जाउ होइन। ती बोलाउँ ती केटाहरुलाई पनि। त्यतातिर साइत पनि पर्छ त्यतातिर ठीक हुन्छ भनेर कन्भिन्स गर्ने।

डिएसपी प्रजित केसी: यसको फेरि गाडीमा तेल एक लाइन मात्र छ। अरु कुनै पनि पेट्रोलपम्प खुलेको छैन सर अहिले। यो उर्लाबारीसम्म पुग्छ कि पुग्दैन ? उर्लाबारी कति किलोमिटर छ कोनि यहाँबाट?

एसएसपी दिवेश लोहनी: उर्लाबारी…. इटहरी नै १८ किलोमिटर हो क्यार त्यहाँबाट।

डिएसपी प्रजित केसी: हजुर त्यस्तो छ। ८–९ लिटर जति होला तेल यसमा।

एसएसपी दिवेश लोहनी: ९ लिटर भए त पुगिहाल्छ नि। १० को दरले पनि ९० किलोमिटर जान्छ।

डिएसपी प्रजित केसी: पुग्छ हैन हजुर । भनेपछि लैजाउँ सर यसलाई उर्लाबारी ?

एसएसपी दिवेश लोहनी: उर्लाबारी लैजाउ। फस्र्ट क्राइम सिन पनि त्यहीँ हो।

डिएसपी प्रजित केसी: दुईटा केटा लिनु परो। मेन केटा कन्फर्म भएन नि सर यसो गर्दा फेरि।

एसएसपी दिवेश लोहनी: यता र उता किन गर्ने। गाडी ती धरानमै भेटिएको धरानमै गर्ने।

डिएसपी प्रजित केसी: भोलि त्यसलाई हान्नु पर्यो भने त धरानमै हान्नुपर्छ। यतैको जंगलतिर लगेर हान्नुपर्छ।

एसएसपी दिवेश लोहनी: त्यसलाई सबैभन्दा राम्रोसँग हान के।

डिएसपी प्रजित केसी: सर…

एसएसपी दिवेश लोहनी: त्यही हो के धरानको त्यो अघि मैले भनेको पुलिसको ठाउँतिर लगेर गाडी राख्ने। अनि त्यसलाई चाहिँ….

डिएसपी प्रजित केसी: यतैतिर होटलमा राख्ने सर?

एसएसपी दिवेश लोहनी: नभए त्यो केटालाई अहिले हामी होटलमा बसौं भन्नु पर्याे। मान्छे बोलाऊ भनेर होटलमा जाऔं पहिला। गाडी लगेर त्यही अघि मैले भनेको छेउछाउतिर राखौं। अनि लोकल पुलिसलाई सेक्युरिटी वाच गर्देउ भनेर बसौं।

डिएसपी प्रजित केसी: सर गाडी त यहीँ भए पनि फरक पर्दैन। यहीँ नजिकै छ पुलिस होइन हजुर। यहाँबाट सय मिटरमा पुलिस छ। त्यहाँ म भन्छु त्यसलाई गाडी वाच गर्नु भनेर।

एसएसपी दिवेश लोहनी: होइन लोकल पुलिसलाई पनि एक जना मात्र सिभिलमा वाच गर्ने राख्ने हो। त्यहाँको डिएसपीलाई भनेर एक जना मात्र सिभिलमा पठाइदे यहाँ होइन। उसले सिंगल पठाइदिन्छ।

डिएसपी प्रजित केसी: सर….!

एसएसपी दिवेश लोहनी: नभए त्यो डिएसपीलाई के भनौं भने यति नं.को गाडी पार्किङमा छ। हामी यहाँबाट हिडौं….

डिएसपी प्रजित केसी: सर… नभए हामी तीन जना छौं सर। पालैपालो हामी नै बस्छौं सर।

एसएसपी दिवेश लोहनी: सुन न हाम्रो चाहिँ त्यहाँबाट गाडी मुभ गराउने भनेको त दोहोरो (भिडन्त) देखाउनलाई हो नि त।

डिएसपी प्रजित केसी: हो।

एसएसपी दिवेश लोहनी: दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो। सिद्धियो त।

डिएसपी प्रजित केसी: लाश (सनम शाक्य) यहीँ छ गाडीमै छ। त्यो पनि लिएर गइन्छ। त्यहाँ पुगेपछि निकालिन्छ होइन सर। अनि त्यसपछि हान्ने त हो।

एसएसपी दिवेश लोहनी: त्यही भएर अहिलै त्यहीँ नै होस्। बेकार शंका गर्ला त्यसले। अहिले त्यसलाई के भनौं भने तँ चाहिँ हामीसँग होटेलमा जाउँ, यताउता लाश बोकेर नहिँडौं। त्यहीँ धरानमै अहिले कतै एउटा होटल खोजेर बसौं। गाडीलाई लक गर्दिएपछि केही फरक पर्दैन भनेर त्यसलाई त्यहाँबाट हटाऊ। त्यसपछि तिमी त्यो केटा एउटा होटलमा गएर मजाले सँगै बस। त्यो केटो नभागोस् है, त्यो भागो भने फेरि हामीसँग कोही पनि हुँदैन।

डिएसपी प्रजित केसी: हस् सर हजुर। भाग्दैन सर, सँगै हुन्छ। कन्फिडेन्समै छ यो।

एसएसपी दिवेश लोहनी: हअँ.. होटलमा बसौं।

डिएसपी प्रजित केसी: सँगै सुत्ने हो सर अब होटलमा गएर।

एसएसपी दिवेश लोहनी: सुतेर पनि भएन फेरि। बोलाउनु पर्याे डिल गर्नु पर्याे। त्यो उर्लाबारीको केटाहरुलाई पनि ल्याउनु पर्यो। मान्छे पठाएर ल्याउने हो कि के गर्ने। जे गर्नुपर्छ गर्ने।

डिएसपी प्रजित केसी: हुन्छ सर हुन्छ ।

एसएसपी दिवेश लोहनी: अनि फोन गरेर डिएसपीलाई लोकल पुलिसलाई नलगी सिभिलमा कोही मान्छेलाई गाडी वाच गरेर बसिराख्न भन्ने कुरा गर। त्यो गाडी यहाँबाट मुभ नहोस्, सिभिलमा त्यसको केटालाई राख हैन। डिएसपीलाई त्यो गाडीभित्र त्यस्तै वस्तु छसम्म भने हुन्छ। हामी चाहिँ सस्पेक्टहरलाई समाउन लागिरहेका छौं सहयोग चाहियो भने भन्छौं भनेर डिएसपीलाई भनँ। होटलमा गएर बसेपछि यहाँ छिटो आइज भनेर बोलाउनु। उर्लाबारीका केटाहरुलाई पनि बोलाउन लगाउने र यसलाई पनि बोलाउने।

डिएसपी प्रजित केसी: हुन्छ सर हुन्छ।

प्रतिक्रिया दिनुहोस
पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि

     सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

सरकारमा नहुनु माओवादीको छटपटी : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ

    सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा

४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोकिए

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको