सुन तस्करले पूर्व आइजीपी प्रकाश अर्यालकी श्रीमतीलाई बनारसी साडी र राडी उपहार दिने गरेको यस्तो खुल्यो तथ्य



गायब सुन र सनम शाक्यको हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’को बयान अधिकांश झुठ र आंशिकमात्रै सत्य भएको सरकारी अनुसन्धान समितिले बताएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिका एक सदस्य गोरेको बयान अधिकांश आरोपीलाई बचाउने नियतले आएको बताउँछन् । गोरेको बयान कतिपय स्थानमा आफैंमा बाझिएको ती सदस्यको तर्क छ ।

गत बुधबारबाट सुरु भएको गोरेको बयान आइतबार सकिएको थियो । गोरेको बयानले नयाँ तरंग ल्याउने र केही प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेताहरुको नाम पनि बाहिर आउने धेरैको आँकलन थियो । तर त्यसो भएन ।

पक्राउ परेका अधिकांश अभियुक्तलाई गोरेले चिन्दिन भनेका छन् । गोरेले बयानमा क्रममा आफूलाई पनि सामान्य सुन भरियाको रुपमा प्रस्तुत गरेका छन् । गोरेले आफ्नो बयानमा पक्राउ परेका प्रहरी अधिकारीको पनि बचाउ गरेका छन् । उनले ठूला नेताहरुलाई समाते सबै कुरा खुल्ने बताए तर ठूला नेताहरु को हुन् भनेर खुलाएनन् । गोरेले बयानमा एसएसपी श्याम खत्रीको नाम धेरैपल्ट लिएका छन् । एसएसपी खत्री र व्यापारी एमके अग्रवाल अहिले प्रहरीको सर्वाधिक खोजीमा छन् । गोरेले बयानमा भुजुङ गुरुङलाई पनि राम्रोसँग नचिनेको तर सामान्य भेटघाट भएको बताएका छन् ।

को हुन् भुजुङ गुरुङ ?
साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका एक पात्र हुन् भुजुङ गुरुङ । उनी राप्रपा प्रजातान्त्रिकका नेता पनि हुन् । सुन तस्करीमा भुजुङ र गोरेको बलियो साँठगाँठ रहेको सरकारी समितिले औंल्याएको थियो । सुन तस्करीबारे गोरे र भुजुङलाई सबैभन्दा बढी जानकारी भएको पनि समितिको दाबी थियो । अनुसन्धान समितिसँग भुजुङले दिएको बयानमा ०४०–०४५ सालबाटै आफूलगायत केहीले सुनको कारोबार गरेको बताएका छन् । भुजुङले गोरेलाई २०६९ सालमा चिनेको बताएका छन् ।

त्यसपछि गोरेलगायतको समूहसँग मिलेर लगातार सुन तस्करी गर्ने गरेको भुजुङले बताएका छन् । भुजुङले सुन कसरी ल्याइन्थ्यो, त्यसमा को–को संलग्न थिए भनेर धेरै कुरा खोले पनि गोरेले भने मोरङ अदालतमा भुजुङलाई खासै नचिन्ने बताएका छन् । बयानमा गोरेले भनेका छन्– “लगभग डेढ वर्षअघि एउटा होटलमा खाजा खाँदा भेट भएकोसम्म हो । भुजुङले सुनको कारोबार गर्छन या गर्दैनन् मलाई थाहा छैन ।”

को हुन् गोरेले भनेका ठूला नेता ?
गोरेले बयानका क्रममा राजनीतिक दलका ठूला नेतालाई समाते तस्करीबारे सबै कुरा बाहिर आउने बताएका छन् । त्यसको बारेमा एसएसपी श्याम खत्रीलाई थाहा भएको उनले बताएका छन् । “तर गोरेले भनेका ठूला नेता को हुन् ? उनले नाम किन लिन सकेनन् ? गोरेले श्याम खत्रीलाई थाहा भएको कुराचाहिँ कसरी थाहा पाए त ?” समितिका एक सदस्य प्रतिप्रश्न गर्छन्, “गोरेले धेरै कुरा लुकाएर बोलिरहेका छन् । बयानमा घटनालाई विषयान्तर गर्न खोजेको पनि देखिन्छ । नेताहरुको संग्लनताको आधार हामी खोजिरहेकै छौं तर कसैको नाम आएको छैन ।” नेताहरु पनि छन् भनेर गोरेले आफूलाई सामान्य रुपमा प्रस्तुत गर्न खोजेको अनुसन्धान समितको बुझाइ छ । गोरेले पूर्व आइजीपी प्रकाश अर्याललाई भुजुंगले निज अर्यालकी श्रीमतीलाई बनारसी साडी देखी मनांगमा निर्मित भेडाको उनको राडी र पैसा दिने गरेको उल्लेख गरेका छन्।

अधिकांश प्रहरीको संग्लनता अस्वीकार
गोरेले बयानका क्रममा पूर्पक्षका लागि थुनामा रहेका अधिकांश प्रहरी अधिकारीको संग्लनता अस्वीकार गरेका छन् । उनले बयानमा क्रममा बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, पूर्वडिआइजी गोविन्द निरौलाको सुन तस्करीमा कुनै भूमिका नभएको बयान दिएका छन् । तर डिएसपी प्रतिज केसी र सइ बालकृष्ण सञ्जेलको बारेमा भने शंकास्पद बयान दिएका छन् । डिएसपी केसीले शव व्यवस्थापन गर्न पैसाको डिल गरेको तर आफूलाई उनीहरुको नियतमा शंका लागेर भारततर्फ लागेको उनले बताएका छन् ।

‘जोखिम मोल्न चाहेनन् गोरेले’
गोरेले सुन तस्करीमा धेरैलाई चिन्दिन, मलाई थाहा छैन जस्तो कुरा गरे आफूमाथि लागेको आरोप कम हुन्छ कि भन्ने ठानेको अनुसन्धान समितिका एक सदस्य बताउँछन् । “सबैकुरा एसएसपी श्याम खत्री र एमके अग्रवालतिर सोझ्याएर आफू पानीमाथिको ओभानो बन्न खोजेको देखिन्छ । आफू त फसियो, अरु धेरैलाई किन फसाउने भनेर गोरेको धेरैलाई चिन्दिन भनेको हुनसक्छ तर गोेरेको त्यो बयान धेरै ठाउँमा आफैंमा बाझिएको देखिन्छ,” ती सदस्यले भने । आफ्नो परिवार र भोलि आफैंमाथि जोखिम हुनसक्छ भनेर गोरेले धेरैको संग्लनता अस्वीकार गरेको उनको दाबी छ ।

सबैको भिडियो बनाएका छौं : अनुसन्धान समिति
सरकारी अनुसन्धान समितिले सुन प्रकरणमा पक्राउ परेका सबै अभियुक्तहरुको भिडियो बयान लिएको बताइएको छ । पछि अदालतमा अरु कुरा बोलेको अवस्थामा भिडियो नै देखाउने भनेर तयार पारिएको एक सदस्यले बताए । ती सदस्यका अनुसार गोरेले अनुसन्धान समितिको भिडियोमा बोलेका धेरै कुरा अदालतमा बोलेको देखिएन । त्यसो त कानुनी रुपमा अभियुक्तले अदालतमा दिएको बयानलाई नै अन्तिम आधारका रुपमा लिइन्छ ।

गोरे र भुजुङलाई सँगै राखेर बयान लिने तयारी
गोरेसहित भुजुङ गुरुङलगायत २९ जना अहिले पूर्पक्षका लागि थुनामा छन् । एसएसपी श्याम खत्री र एमके अग्रवालसहित ३३ जना फरार सूचीमा छन् । यस्तो अवस्थामा अब कसरी अनुसन्धान अगाडि बढ्छ त ? अनुसन्धान समितिका सदस्य भन्छन्– “गोरे र भुजुङको बयान आपसमा बाझियो, उनीहरु दुवैलाई राखेर अनुसन्धान गर्छौं, धेरै कुरा त्यसपछि आउला ।” गोरे र भुजुङलाई काठमाडौं ल्याउने गृहकार्य समितिले गरिरहेको छ । “हामी कानुनी रुपमा के हुन्छ, महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरिरहेका छौं । काठमाडौं ल्याउन नमिल्ने अवस्था भए मोरङमै गएर अनुसन्धान गर्छौं,” ती सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्