प्रधानमन्त्री ओलीसँग यसरी गले मोदी,१९५० को सन्धि पुनरावलोकन गर्न भारत सहमत, स्वास्थ्यमा पनि यसरी हुँदैछ सिण्डिकेटको अन्त्य



प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएको खुलासा गरेका छन् । एमाले माओवादी पुनर्गठनपछि पहिलोपटक बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत सन् १९५० को सन्धि पुनरावलोकन गर्न तयार रहेको बताएका हुन् ।

नेपाल र भारतको सम्बन्ध बराबरीमा आधारित हुने भन्दै उनले असमान सबैखाले सन्धि फेरिने बताए । सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विराटनगरमा भारतीय दूतावासले राखेको फिल्ड अफिस पनि छिट्टै हटने जानकारी गराए ।

बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना भएको बताए । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको उनको भनाइ छ ।

विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई ध्यानमा राखी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने बताउदै प्रचण्डले नयाँ सरकारको अनुभूति दिइने स्पष्ट पारे ।
बैठकले नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा ओलीलाई चयन गरेको छ ।

कांग्रेस सभापतिहरूको राष्ट्रिय भेला असारमा 
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला आगामी असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो साताका लागि भेला बोलाइएको निधिले बताए ।

कर्मचारीको उमेर हद ५८ वर्ष नै कायम गर्ने तयारी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको उमेर हद ५८ वर्ष नै यथावत् राख्नुपर्ने अडान लिएका छन् । संघीय प्रशासनिक पुनस्संरचना समितिले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउन सुझाएको थियो ।

तर, मन्त्रीकै अडानअनुसार मन्त्रालयले संसद्मा पेस गर्ने अन्तिम तयारी गरिरहेको ‘संघीय निजामती ऐन विधेयक २०७५’ मा कर्मचारीको उमेर हद ५८ नै कायम राख्न प्रस्ताव गरिएको छ ।

कानुनविद् काशीराज दाहाल अध्यक्ष रहेको संघीय प्रशासनिक पुनस्संरचना समितिले मंगलबार प्रधानमन्त्री केपी ओलीसमक्ष बुझाएको प्रतिवेदनमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउन सुझाव दिएको छ ।

सिण्डिकेट तोड्ने सरकारको निर्णयप्रति स्वास्थ्य व्यवसायीको साथ
सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको एकाधिकार तोडेको छ । श्रम मन्त्रालयको यो निर्णय कार्यान्वयनमा स्वास्थ्य व्यवसायी महासंघले सहयोग गर्ने जनाएको छ ।

मलेसिया जाने कामदारको बायोमेडिकल गर्ने ३९ संस्थासमेत आबद्ध महासंघका अध्यक्ष कैलाश खडकाले सरकारको निर्णयअनुसार नै आफूहरू अघि बढ्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बायोमेडिकलका नाममा स्वास्थ्य परीक्षण गर्ने ३९ स्वास्थ्य संस्थाको एकाधिकार तोड्ने निर्णय गरेको थियो ।

मन्त्रालयले श्रम मन्त्रालयमा सूचीकृत सबै २ सय ३५ स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय गरेको छ । तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका पालामा २०७२ असार २५ मा बढीमा ६ महिना परीक्षणकाल भन्दै बायोमेडिकलमार्फत कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति दिइएको थियो ।

२७७ आरोही सगरमाथाको चुचुरोमा 
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिए ।

शनिवारमात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।

बीपी राजमार्गमा ठूला सवारी सञ्चालनमा रोक
बीपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुँदै आएका त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बीपी राजमार्गमा दुई हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

बन्दुकसहित पाँचजना पक्राउ
प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र 
सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो ।

पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ ।

पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन
अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम भए ।

नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल भए ।

यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम भइन् । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय भए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्