पूर्व सांसद राजेन्द्र खेतानसहित प्राइम इन्स्योरेन्सका सञ्चालकले यसरी गरे ठगी,ठग बिरुद्द मुद्दा दायर



हाम्रो इकोनोमि

व्यवसायी राजेन्द्र खेतानसहित प्राइम लाइफ इन्स्योरेन्सका तत्कालीन सञ्चालक तथा उच्च कर्मचारीविरुद्ध ठगी मुद्दा दायर भएको छ। पैसा लिएर बिमा नगरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। खेतानसहित कम्पनीका मालिकहरु रतलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी र चन्द्रप्रकाश खेतानविरुद्ध मुद्दा दायर भएको हो। उनीहरु इन्स्योरेन्सका पूर्व सञ्चालकहरु हुन्।

त्यस्तै, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र कम्पनी सचिव राजनप्रसाद अधिकारीलाई समेत प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरु सबै फरार रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए।

कसरी भयो ठगी?
धादिङका गोकर्ण बिडारीसहित १८ जना युवक २०७३ कात्तिकमा वर्ल्डवेज मेनपावरबाट मलेसिया गएका थिए। बिरामी भएपछि गत असोजमा नेपाल फर्किए। उपचारकै क्रममा उनको मृत्यु भयो।

मृत्युपछि बिमा रकम दाबी गर्दै उनकी श्रीमती प्राइम लाइफ इन्स्योरेन्स गइन्। प्राइमका कर्मचारीले गोकर्ण बिडारीको नाममा बिमा नै नभएको बताए। त्यसपछि उनी गुनासो बोकेर मेनपावर कम्पनी पुगिन्। कम्पनीले बिमा गराएरै श्रम स्वीकृति निकालेको थियो। जीवन बिमाबिना श्रम स्वीकृति दिन मिल्दैन।

बिमा गरेको कागजपत्र र पैसा तिरेको रसिद दिइएको थियो। सोही कागज बोकेर फेरि उनी इन्स्योरन्स कम्पनी धाइन्। कम्पनीका तत्कालीन एजेन्ट गोविन्द रेग्मीले पैसा लिएका थिए। उक्त केस प्रहरीमा पुग्यो।

सुरुमा रेग्मीमाथि अनुसन्धान भयो। त्यसबेला कम्पनीका एजेन्ट रहेका रेग्मी पछि इन्योरेन्सका कर्मचारी बनेका थिए। केही महिनाअघि मात्र उनले कम्पनीको जागिर छाडेर अन्यत्र गएका थिए।

उनीमार्फत नै बिमा भएको खुलेपछि प्रहरीले सुरुमा उनलाई पक्राउ गरी अनुसन्धान गर्दा आफूले कम्पनीलाई पैसा बुझाएको दाबी गरे। कम्पनीले आफूलाई फसाएको उनको भनाइ थियो।

प्रहरीले त्यसपछि कम्पनीलाई पत्राचार गर्यो। सुरुमा कम्पनीका अधिकारीहरुले रेग्मीले बदमासी गरेको बताउँदै पन्छिन खोजे। तर, बिमा भएको आधिकारिक कागजपत्र बिडारीको परिवारसँग थियो। त्यसकारण उनीहरुले बिमाबापत पाउने १३ लाख रुपैयाँ आफूहरुले नतिर्ने बताए। पछि कम्पनी फस्ने आँकलन गरेर अन्य १७ जनाले आफैंले बिमा गरिदिए। बैसाख ५ गते कम्पनीले आफैं १७ जनाको बिमा गरी प्रहरीलाई पत्राचार गर्यो।

त्यही पत्र नै कम्पनीका सञ्चाकहरुविरुद्ध मुद्दा चलाउने आधार बनेको डिएसपी क्षेत्री बताउँछन्। डेढ वर्षअघि पैसा लिएर अहिले आएर बिमा गर्नुले कम्पनीकै मिलेमतोमा ठगी भएको ठहर गरी सञ्चालकहरुविरुद्ध समेत मुद्दा दायर भएको हो। पक्राउ परेका रेग्मी धरौटीमा छुटेका छन् भने मुद्दा दायर भएका प्राइमका सञ्चालक तथा कर्मचारीहरु फरार नै छन्।

शाखा अधिकृतसमेत फसे
सो प्रकरणमा वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा कार्यरत दीलिप अधिकारीले श्रम स्वीकृति दिएका थिए। नक्कली बिमालेखका आधारमा श्रम स्वीकृति दिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको डिएसपी क्षत्रीले बताए।

सञ्चालक समिति एउटा, मुद्दा अर्कोलाई
प्राइम लाइफ इन्स्योरेन्सको पुरानो सञ्चालक समितिलाई प्रहरीले मुद्दा दायर गरेको छ। सबै सञ्चालकहरु फेरिए पनि प्रहरीले पुराना सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरेको हो।

प्राइम सञ्चालकको हालको अध्यक्षमा पियुषराज अर्याल छन्। अन्य सञ्चालकहरुमा दीपेश शाक्य, नारायण बजाज, विकास धरेवा, राजीवप्रसाद प्याकुरेल, सुरज श्रेष्ठ तथा सन्तोष अग्रवाल प्राइमका वर्तमान सञ्चालकहरु हुन्। तर, पूर्व अध्यक्ष खेतान लगायतविरुद्ध मुद्दा दायर भएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायधिवक्ता विनोद पौडेलका अनुसार बिमा समितिले उनीहरुकै नाम पठाएकाले सोही अनुसार मुद्दा दायर भएको हो। बिमा समितिले नयाँ सञ्चालक समितिको बारेमा जानकारी नगराउँदा पुराना सञ्चालकविरुद्ध मुद्दा चलेको हो।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...