प्रचण्ड-ओली मिलन साँढे र बहर गोरु नारेजस्तो भन्दै कांग्रेस नेताले एकता भाड्नेको खोलिदिए यस्तो भेद



चुनावी समीक्षाका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकबारे गरिएको कुराकानीसँगै हामीले कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारेपनि जिज्ञाशा राखेका थियौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबासी हुनु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको निकटको सम्बन्ध रहेकाले सिटौलासँग एमाले-माओवादी केन्द्रबीचको सम्बन्धबारे जिज्ञाशा राखिएको थियो।

‘लक्षण राम्रो छैन’
मेरो मूल्याङ्कन के छ भने, एउटा साँढे, एउटा भर्खर दुध खान छोडेको बहरलाई हलगोरु बाँधेर जोत्न खोजेजस्तो हो, बामगठबन्धन। यसरी जोत्दा कतिबेला जुवा भाँचिन्छ, थाहा छैन। तर भाँचिन चाहिँ भाँचिन्छ, भाँचिन्छ। हलगोरु सँगै हिँड्ने सार्‍है राम्रो लक्षण छैन।

बेला बेला म पत्रपत्रिकामा पढ्न पाउँछु, ‘देशी विदेशी षडयन्त्रले गर्दा वामएकता तोडिन आँट्यो, देशी विदेशीले हाम्रो एकतामा भाँजो हाल्न खोजे, तरपनि हामी एक हुन्छौं।’ यसै भनेर दुईटै डुक्रिन्छन्। प्रचण्डजीपनि यसै भन्नुहुन्छ, ओलीजीपनि।

एमाले–माओवादी केन्द्रबीचको एकता कुन देशीले रोक्दा रोकिन्छ? आफूले आफैलाई विदेशीले भनेको मान्ने हुँ जसरी कसरी बोलेको? मिल्ने हो भने उहाँहरुलाई कसले रोकेको छ? नमिल्ने हो भने पनि कसले रोकेको छ? मिल्ने नमिल्ने दुबै कुरा उहाँमा निर्भर हुने कुरा हो। देशी विदेशी भनेर किन बेकारमा बोल्नुपर्‍यो?

उहाँहरुको एकता बनाउनपनि, एकता तोड्नपनि कुनै देशीविदेशी सक्रिय छन् भन्ने लाग्दैन।

हामीले सोध्यौं, ‘देउवाजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु, एमालेसँगको गठबन्धन तोड्नुस् भन्नुभएकै हो। सशांक कोइरालाले प्रचण्डलाई एमालेसँगको गठबन्धनबाट छुटाएर ल्याउँछौं भन्नुभएकै हो। यसबाट ‘देशी षडयन्त्र’ छ भन्ने त प्रष्टै छ नि?’ सिटौलाले जवाफ दिए:

प्रतिपक्षले ‘वामगठबन्धन हुनुहुँदैन’ भन्यो। यति भन्दैमा कति आत्तिएको? कस्तो हैसियतविना दुइटै नेताहरु हल्लिन खोजेका?

वामगठबन्धन भाँड्न खोज्ने विदेशी को हुन्? भारत हो कि चीन हो? उहाँहरुको एकता कसले बनाइदियो र कसले तोड्न आँट्यो? यी कुरा उहाँहरुले भन्दिए भो नि त!

होइन भने, यस्ता कुरामा धेरै खलबल गर्नु केटाकेटीपन हुन्छ।

उहाँहरु मिल्न लाग्नु भएको हो भने थपक्क न मिल्नु, शुभकामना छ। मिल्न मन नलागे थपक्क नमिल्नु, त्यसमा पनि शुभकामना छ। पाँच बर्ष गठबन्धनबाट चल्नुस्, त्यसमा पनि शुभकामना छ। तर देशलाई राम्रो गर्नुपर्‍यो। मेरो शुभकामना राष्ट्रका लागि राम्रो गर्नुस् भन्ने हो।

मेरो शुभकामना उहाँहरुको पार्टीमा सीमित छैन। चाहे सत्तापक्ष होस्, चाहे प्रतिपक्ष। त्यसका ‘फष्टम्यान हरु गैरजिम्मेवार हुँदा देशले दुख पाउँछ। देशलाई दुख दिने अधिकार कांग्रेस, एमाले र माओवादी कुनैपनि पार्टीका नेताहरुलाई छैन।

म भन्छु, यी ‘फष्टम्यान’ हरु सामन्त जस्तो हुनुभएन, सामन्त बनेर डुक्रिनुभएन।

‘पृष्ठभूमिपनि मिल्दैन, सोचपनि मिल्दैन’
मेरो विचारमा उहाँ (ओली र प्रचण्ड) को कुनै चरित्र, व्यवहार, सोच मिल्दैन। ओलीजीको इतिहास, पृष्ठभूमि, विकास, गन्तव्य छुट्टै देख्छु। प्रचण्डजीको जन्म, विकास, पृष्ठभूमि, इतिहास गन्तव्य छुट्टै देख्छु।

त्यो फरक फरक बाटो छोडेर उहाँहरुले नयाँ बाटो बनाउन खोज्नु भएको होला। तर, त्यो नयाँ बाटो खनेको पनि पाउँदिन, कहिले ग्राभेल हाल्ने हो, कहिले पिच गर्ने हो?

ओलीजीको पृष्ठभूमि र विकास प्रचण्डजीसँग मिल्दैन। यी दुईटा पार्टी एक हुने भनेको भागबण्डामात्र होइन होला। त्यहाँभित्र नीतिगत, कार्यनीतिगत योजनापनि होला। दुईटा अलग अलग बाटो छोडे नयाँ बाटो बनाउन खोजेको होला।

नयाँबाटो बनाउँदा पहिले माटो खनिन्छ। अनि गिटी हालिन्छ। बाटो नै खनेको देख्दिन, कहिले पिच गरेर उहाँहरुको गाडी सरर्र कुँद्ने हो? कुँद्ने लक्षण देखिएको छैन।

हामीले सोध्यौं, ‘प्रचण्डजीलाई तपाईंहरुले किन कांग्रेसको गठबन्धनमा ल्याउन सक्नु भएन?’ सिटौलाको जवाफ थियो:

यो कुरा हाम्रो पार्टी सभापतिलाई सोध्नुपर्छ। उहाँ (प्रचण्ड) ओलीजीलाई छाडेर हाम्रो पार्टीको समर्थनमा प्रधानमन्त्री बन्न आउँदापनि शेरबहादुरजीकै भित्री भूमिका हो। सहमतिमा हस्ताक्षर गरेपछिमात्र उहाँ (देउवा) ले हामीलाई सुनाउनु भएको हो।

अहिले प्रचण्डजीले शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएर किन खुसुक्क ओलीजीसँग मिल्नुभयो, यसको जवाफ शेरबहादुरजी र प्रचण्डजीले मात्र दिन सक्नुहुन्छ, अरु कसैले पनि दिन सक्दैन।

प्रचण्ड सूचना साझेदारीमा यति उदार छन् कि अलिकति कुराकानी गर्ने हो भने भित्री कुरा खोल्न कुनै कञ्जुस्याइँ गर्दैनन्। हामीले सिटौलासँग सोध्यौं, ‘तपाईंको प्रचण्डजीसँग राम्रै सम्बन्ध छ, गठबन्धन कसरी बन्यो र कसरी टुट्यो भन्ने विषयमा उहाँ (प्रचण्ड) सँग कुराकानी भएको छैन?
सिटौला: म यस्ता कुरा धेरै खोतल्ने मान्छे होइन। अलिक अगाडि भेट भएको थियो। मैले कुरा खोतलिन।

राजनीतिमा हामी फरक दल छौं। हामी फरक पृष्ठभूमिका हौं। पहिलो संविधान सभा चुनावमा जाँदा गृहमन्त्री छँदै म उहाँकै पार्टीसँग हारेको हुँ। यस्तो कुरामा गुनासो पनि हुँदैन। हाम्रो वैचारिक प्रतिस्पर्धा छ, सांगठनिक प्रतिस्पर्धा छ। बहुदलीय राजनीतिक प्रतिस्पर्धामा हामी कसैका दुष्मन छैनौं। कोही कसैका शत्रुपनि छैनौं। मेरो दृष्टिमा बहुदलीय लोकतन्त्रमा हामी सबै मित्रशक्ति हौं। हामीले मित्रवत प्रतिस्पर्धा गर्नुपर्छ र देश निर्माण गर्ने अभियान हाम्रो लक्ष्य हुनुपर्छ। चुनाव यता प्रचण्डसँग २–३ पटक भेटघाट भएपनि बिगत २–३ महिना यता कुनभेटपनि भएको छैन।

सिटौलालाई झापा–३ मा हराउन एमाले–माओवादी केन्द्रबीचमात्र होइन, राप्रपासँग पनि तालमेल भएको थियो। त्रिपक्षीय तालमेका कारण सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित भए। आफ्ना ‘अनन्य मित्र’ सिटौलाको हारप्रति प्रचण्ड कति दुखी रहेछन्, यसबारेपनि हामीले सिटौलासँग सोध्यौं। सिटौलाको जवाफ थियोः

कोहीपनि हार्दा कोहीपनि खुसी हुँदैन। फेरि सबैले जित्नपनि सकिँदैन। वामगठबन्धनले राप्रपालाई बोकेपछि राप्रपालाई जिताउनु उहाँहरुको धर्म थियो, त्यो धर्म निर्वाह गर्नुभयो। त्यसो भएपछि मैले दुख मान्ने कुरा पनि भएन। सबैथरि मिलेपछि मैले ती सबैलाई ‘सिङ्गल’ जित्नुपथ्र्याे। जित्न सकिन। जित्न नसकेपछि मैले पनि दुख मान्ने कुरा भएन। उहाँले पनि चाहेको मान्छेलाई जिताउनु भएको छ। त्यसैले, उहाँले पनि दुख मान्ने कुरा भएन।

‘ओली तपार्इंको गृहजिल्लावासी, प्रचण्ड शान्ति प्रक्रियादेखिको सहयात्री। यी दुईमध्ये को चाहिँ अलिक निकटजस्तो लाग्छ?’ हामीले सिटौलासँग सोधेको अर्काे प्रश्न थियो। सिटौलाले जवाफ दिए:

म दुबै नेताको शुभेच्छुक हुँ। यसअर्थमा कि, उहाँहरु दुबैजना शान्तिपूर्ण राजनीतिमा आउनु भएको छ।

सत्तामा पुगेपछि कस्तो व्यवहार गर्नुहुन्छ, मूल्याङ्कन गर्न बाँकी नै छ। सुरुवाती लक्षण चाहिँ त्यति राम्रो देखिएको छैन।

प्रचण्डजी मसँग आफ्नै ढंगले नजिक हुनुभयो। ओलीजीपनि आफ्नै ढंगले नजिक हुनुहुन्छ। म दुबैजनालाई आफूसँग नजिक ठान्छु। मेरो मान्यता नै के हो भने, म कसैसँग टाढा छैन।

ओलीजी सबैभन्दा ठूलो पार्टीको अध्यक्ष हुनुुहुन्छ, शक्तिशाली पनि हुनुहुन्छ। उहाँप्रति मेरो सधैं शुभकामना नै रहन्छ।

प्रचण्डजी ‘बन्दुकबाट सत्ता कब्जा गर्छु’ भनेर नयाँ बाटो निर्माण गर्न हिँडेको मान्छे, लोकतान्त्रिक र शान्तिपूर्ण बाटोमा आउनुभयो। त्यस विषयमा मैले उहाँसँग सहकार्य गर्न पनि पाएँ। उहाँसँग कैयौंपटक औपचारिक–अनौपचारिक उठबस भयो। राजनीतिमा देखिने भन्दा नदेखिने बैठक धेरै हुन्छन्। यसरी उठबस गर्दा धेरैपटक चियापानी खाइयो होला, खाना खाइयो होला। यस हिसावले, मानवीय आधारमा दोस्ती भयो। त्यसो हुनाले मपनि उहाँलाई नजिक ठान्छु।

मेरो पार्टीका नेताहरु त मसँग नजिक नै हुनुहुन्छ। शेरबहादुर देउवाजी, रामचन्द्र पौडेलजी, प्रकाशमानजी, म त एउटै घरका सदस्य भइहाल्यौं।

तर, ओलीजी, प्रचण्डजी छिमेकी घरको नेता हो। हाम्रो छिमेकी एमाले हो, माओवादी हो। मधेशी दलहरु हुन्।

अझ म त झापाको। मेरो सबैभन्दा छिमेकी घर एमालेकै हुनेभयो। भनेपछि ओलीजी राजनीतिक रुपले नजिक हुने भइहाल्यो।

अहिलेपनि ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री रहुन्जेल उहाँ नेतृत्वको कार्यकाल सफल होस्, उहाँको कार्यकालमा देशले समद्धिको बाटो अनुभूत गर्न पाओस् भन्ने मेरो शुभकामना छ।

एमाले–माओवादी गठबन्धनका सम्बन्धमा हामीले सिटौलासँग सोधेको अन्तिम प्रश्न थियो, ‘कांग्रेसले एमाले–माओवादी गठबन्धन टुटाउन खोज्यो भने त्यो उचित अनुचित के हुन्छ?’ यो प्रश्नको सिटौलाले छोटो उत्तर दिए:

कांग्रेसको कारणले गठबन्धन बन्ने पनि होइन, कांग्रेसको कारणले टुट्नेपनि होइन।’

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ