गोल्ड डन गोरे बाट डिएसपीले ५० लाख लिएर ससुरालीमा राखे,लास तह लगाउन प्रहरीले यति सम्म गर्यो
भनिन्छ, प्रहरीले चोर पत्ता लगाउन चोरकै सहारा लिन्छ, तस्कर पत्ता लगाउन तस्करकै। प्रश्व उठ्छ, त्यसो भए प्रहरीले अपराधीको पनि संरक्षण गरिरहेको हुन्छ ? के सूचना दिने वा सहयोग गर्ने ती अपराधीहरुलाई कहिल्यै कारबाही हुँदैन ?
माघमा त्रिभुवन विमानस्थल हुँदै भित्रिएको भनिएको ३३ केजी सुन बेपत्ता भएपछि हत्या गरिएको भनिएका सनम शाक्य घटनाको छानबिन गर्न मन्त्रिपरिषदले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले गरेको छानबिनमा पूर्व डीआईजी गोविन्द निरौलासहित बहालवाला आधा दर्जन प्रहरी अधिकृत तानिएका छन्। छानबिन समितिसँगको बयानपछि उनीहरुमध्ये धेरैविरुद्ध फौजदारी अभियोग पनि दर्ता भइसकेको छ ।
सम्भवत: थप केही बहालवाला अधिकृतविरुद्ध पनि मुद्धा दर्ता हुने छ। छानबिन समितिमा प्रहरीकै एक एसएसपी, एक डीएसपी र एक इन्सपेक्टर पनि छन्। अनुसन्धान सुरु भएको करिब दुई महिना बित्न लाग्दा सुन कहाँ छ पत्ता लाग्न सकेको छैन तर नेपाल प्रहरीका उच्च अधिकारीहरु धमाधम समातिइरहेका छन्। यसले घटनाको समग्र विकासक्रम नै रहस्यमय देखिन्छ।
के थियो घटना?
महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत नायब निरीक्षक-सई बालकृष्ण सन्जेललाई गोरे भन्ने चुडामणि उप्रेतीले फोन गरी सनम शाक्य मारिएको र उनको शव ब्यवस्थापनमा सहयोग गर्न अनुरोध गरे। त्यसअघि पनि उप्रेतीले प्रहरीलाई पटक पटक सुन तस्करीका सुचनाहरु दिइरहन्थे। प्रहरीलाई थाहा थियो- उप्रेती सुन तस्कर हुन् । तर यसपटक आफुले ल्याएको ३३ केजी सुन हराएपछि उप्रेती रिसले क्रुर थिए।
यसैक्रममा सोधपुछ गर्दा उप्रेतीका सहयोगी शाक्यको मृत्यु भएको थियो। शाक्यको निधनले छटपटाएका उप्रेतीले शव ब्यवस्थापनका लागि सन्जेललाई फोन गर्नुअघि तत्कालिन डीआईजी गोविन्द निरौला र एसपी विकाशराज खनाललाई फोन गरेका थिए। तर उपाय नपाएपछि उनले सन्जेललाई फोन गरे। यस्तो खबर पाएपछि सन्जेल दौडिएर टेकुस्थित महाशाखा कार्यालयमा पुगे र आफ्ना पिलरका प्रमुख डीएसपी प्रजित केसीलाई जानकारी गराए।
डीएसपी केसीले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीलाई जानकारी गराए। प्रहरीले लास बरामद गरिदिने तर त्यसका लागि पाँच करोड चाहिने डिल गर्यो। अन्तिममा गोरेले दुई करोड दिने सहमती जनाए। यसबारे लोहनीले नेपाल प्रहरीका तत्कालिन कार्यबहाक प्रमुख बमबहादुर भन्डारीलाई वृस्तित जानकारी गराएका थिए। ‘गोरेलाई पनि समात्न र लास पनि बरामद गर्न गरिएको थियो त्यो डिल जसबारे प्रहरी नेतृत्वलाई पनि जानकारी थियो’महाशाखाका एक अधिकृत भन्छन्।
स्रोतका अनुसार, त्यसपछि डिएसपी केसीको नेतृत्वमा सई सन्जेल र दुई जना जवानसहित चार जनाको टोली फागुन १८ गते सिन्धुलीको बाटो हुँदै धरानतर्फ लागेको थियो। घटनाबारे थाहा पाए लगत्तै डीएसपी केसीले सन्जेलको फोन आफुले लिएर गोरेसँग कुरा गरेका थिए। राती तीन जनालाई छाडेर डीएसपी केसी ससुराली जान्छु भन्दै बेपत्ता भए। डीएसपी केसीले सन्जेलको फोन आफैले लिएर गएका थिए।
डीएसपी केसी भोलिपल्टी मात्र अन्य तीन जनाको सम्पर्कमा पुगे। स्रोतका अनुसार त्यसबीचमा गोरेकी श्रीमतीसँग सन्जेलको कुराकानी भएको थियो। सन्जेलले गोरेलाई फन्दामा पार्न उनकी श्रीमतीलाई अनेक लोभलालच देखाए पनि सफल नभएको घटनालाई नजिकबाट हेरेका महाशाखाकै एक अधिकृत भन्छन्। तर सोही दिन दिउँसो महाशाखाको टोलीले विराटनगरमा सनमको लास डिकीभित्र राखेर लैजाँदै गर्दा बरामद गरेको समाचार सार्वजनिक भयो। तीन जना पक्राउ परे। तर गोरेको नाम कतै आएन। मोरङ प्रहरीको नियन्त्रणमा रहेका तीन जनाले आफुहरु पनि पिडित भएको बताएपछि घटनाले अर्कै मोड लियो। गोरेलाई बचाउन खोजेको आरोप महाशाखाका अधिकारीमाथी लाग्यो।
यो विषय फैलिएपछि मन्त्रिपरिषद बैठकले घटनाको छानबिन गर्न समिति बनाएको थियो। महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनीले छानबिन समितीसँगको बयानका क्रममा प्रहरी प्रमुखलाई समेत सबै जानकारी गराएर आफ्नो टोली पुर्व पठाएको र गोरेलाई पक्राउ गर्न दुई करोड लिएर शव ब्यवस्थापन गरिदिने नाटक रचेको बताएका छन्।
स्रोतका अनुसार महाशाखाको टोलीले शव राखिएको गाडी धरानमै भेटेपनि विराटनगर पुर्याएर मात्र नियन्त्रणमा लिएको देखाउनु, गोरेको संलग्नताबारे जिल्ला प्रहरी मोरङले सुरुमा आश्चर्यता व्यक्त गर्नु र अनुसन्धान मोडिनु रहस्यका पाटा हुन्। सई सन्जेलको मोबाइल लिएर कहाँ गएका थिए डीएसपी केसी भन्ने विषय पनि उत्तिकै रहस्यमय छ।
तर छानबिन समितिकै अनुसन्धानपछि यतिबेला उक्त सुन तस्करी र शाक्य हत्या प्रकरणमा महाशाखाका डीएसपी केसी र सई सन्जेलविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्धा दर्ता गरेको छ। मोरङ प्रहरीले बयानका लागि तत्कालिन महाशाखा प्रमुख लोहनीलाई पनि पत्र काटिसकेको छ। उल्लेखनीय के छ भने काठमाडौंमा लगातार बयान लिईएका डीएसपी केसीलाई विराटनगर बोलाएर बयान लगत्तै पक्राउ गरिएको थियो। श्रोतका अनुसार केसीले गोरे संग ५० लाख लिएको खुलेको छ।
यसबाहेक गोरेको तस्करीमा जोडिने पुर्व तथा वर्तमान प्रहरी अधिकारीदेखि लिएर सुन ब्यवशायी, होटल सन्चालक, बायु सेवा कम्पनीका कर्मचारी लगायत तीन दर्जनजति पक्राउ परिसकेका छन्। गोरेले वर्षाैदेखी विमानस्थलको बाटो हुँदै नेपालमा सुन भित्र्याई रहेको छानबिन समितीको निष्कर्श छ।
तर विमानस्थलबाट सुन भित्र्याउन सेटिङ मिलाउनै पर्ने भन्सारका अधिकारीहरु भने अनुसन्धानमा तानिएका छैनन्। के २० औं करोड पर्ने सुनको तस्करीमा मनाङ होटलका मालिक वा सामान्य सुन ब्यवसायीको मात्र लगानी थियो यो पनि रहस्यकै गर्भमा छ। फोन सम्पर्क रहेकै आधारमा प्रहरी अनुसन्धानमा तानिएका हुन् की छानबिन समितिसँग अन्य पनि प्रमाण छ ?
यो पनि केही दिनभित्रै बाहिर आउने छ वा छानबिन समितीले आफ्नो प्रतिवेदनमार्फत सार्वजनिक गर्ने छ। यदि बहालवाला प्रहरीले सफाइ पाए भने राज्यले बनाउने यस्ता छानबिन समितीप्रती आगामी दिनमा कस्तो विश्वास रहला ? छानबिन समितिको विश्वसनीयता र प्रभावकारितामा पछिल्लो अनुसन्धानले ठुलो अर्थ लाग्ने छ।
प्रहरीप्रतिको पछिल्लो आरोपले प्रहरी संगठनको छवि बिग्रिएको छ। अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी संगठनभित्रै अपराधको अनुसन्धान हुनु र प्रहरी नै अपराधमा संलग्न भएको आरोप लाग्नु दुखद कुरा हो।
महाशाखाकै एक अधिकारी भन्छन्, ‘ यदी बलियो प्रमाणको भरमा प्रहरीलाई समातिएको र मुद्धा चलाईएको हो भने ल ठिक छ। दोषीले सजाय पाउनै पर्छ। तर हचुवाका भरमरा समातेर पछि निर्दोष ठहर भए ? अहिले गिरेको प्रहरीको छवीको क्षतिपुर्ती कस्ले दिन्छ ? अपराधीलाई पक्राउ गर्न प्रहरीले अपनाउने तरिकाहरुको गलत ब्याख्या भए त्यसको उपयोग अन्य सबै अपराधीले गर्न पाउँछन्। कम्तीमा यसमा गल्ती नहोस्। फिल्डमा खटिने प्रहरीलाई बलिको बोका बनाइनु हुन्न। भोलीका दिनमा कस्ले जोखिम मोलेर काम गर्छ?’
एसएसपी लोहनी नेपाल प्रहरीका ब्यावशायिक अधिकृत मानिन्छन्। यसैगरी महाशाखामा लामो समयदेखि काम गरिरहेका सई सन्जेलको गुन्डागर्दीको क्षेत्रमा विषेज्ञता छ। उनी कार्य क्षमताकै कारण जवानबाट बढुवा हुँदै सईसम्म पुगेका हुन्। उनलाई इनकाउन्टर स्पेसियलिस्ट पनि मानिन्छ। छानबिन समितीले सुन कान्डमै महाशाखाका अर्का सई गजेन्द्र रावललाई पनि बयानमा बोलाएर केही दिन हेडक्वाटर तानेको थियो।
तर पछि उनलाई पुन महाशाखा फिर्ता पठाईएको छ। रावल पनि संगठनभित्रका कुशल अनुसन्धानकर्ता मानिन्छन्। महाशाखाले गरेका ठुल्ठुला अनुसन्धानमा रावलको पनि भुमिका छ। ‘प्रहरीको मनोबल निकै गिरेको छ। अब छानबिन समितीको प्रतिवेदन र अदालतले दिने आदेशपछि सहिसत्य बाहिर आउने छ’, प्रहरी प्रधान कार्यालयको अनुसन्धान विभागमा कार्यरत अधिकृतले भने। प्रश्न अझै अनुरत्तित नै छ- ३३ केजी सुन कहाँ गयो त ? कसले गायब गर्यो ? छानबिन समितीको औचित्य यी प्रश्नको जवाफमा अड्किएको छ। यी प्रश्नका उत्तरले धेरै अन्य प्रश्नको सहि उत्तर दिनेछन्।