सुन काण्डका यी हुन् ठुला माछा,आइजीपी सर्वेन्द्र खनालले क-कस्लाई बर्साउने भए गोर्खे लौरी



हाम्रो इकोनोमि

तत्कालीन आईजीपी प्रकाश अर्यालको नेतृत्व भ्रष्ट हुँदा नेपाल प्रहरी बदनाम भएको छ । दरबारमार्गको सामूहिक बलात्कार काण्डदेखि सुनसरीको बलात्कारमा मिलापत्र हुँदै अहिले सुन तस्करी प्रकरणसम्म प्रहरी अधिकारीहरु मुछिएका छन् । जसले गर्दा प्रहरीभित्रै धेरै अपराधकर्ममा संलग्न व्यक्तिहरु रहेको देखाएको छ ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको पहिलो चरण प्रहरीले सकाएको छ । तर, दोस्रो चरणको अनुसन्धानमा थप प्रहरी अधिकारीहरुसमेत पर्ने देखिएको छ ।

प्रहरीले शाक्य हत्यामा संलग्न भएका प्रहरीहरुलाई मात्र अहिले पक्राउ गरेको हो । विमानस्थलबाट ६ वर्षदेखि भइरहेको सुन तस्करी प्रकरणमा संलग्न थप प्रहरी तथा एयरलाइन्सका कर्मचारीहरुमाथि अर्काे चरणमा अनुसन्धान हुने छानबिन समितिका एक अधिकारीले बताएका छन् ।

दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकृत मात्र होइन, तिनलाई राजनीतिक संरक्षण दिने नेता, कार्यकर्ता पनि अनुसन्धानको घेरामा आउने स्रोतको दाबी छ ।

यस घटनाले शेरबहादुर देउवाले प्रहरी आईजीमा खेलेको भूमिका पनि सुन काण्डमा जोडिने अनुमान गरिएको छ । जयबहादुर चन्दलाई आईजी बनाउनेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ताको सिलसिलालाई पनि सुन काण्डको रहस्यसँग जोडेर हेरिन थालिएको छ ।

देशमा सुशासन कायम गर्ने ओलीको बचनबद्धताको अग्निपरीक्षा पनि यही अनुसन्धानबाट प्रारम्भ हुने छ । किनभने सुन काण्डमा ठूला माछा पर्ने सम्भावना बढेको छ ।

३३ किलो सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा छानबिन समितिले ६ प्रहरी अधिकारीलाई हिरासतमा लिइसकेको छ । पूर्वडिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान बिष्णु खड्का पक्राउ परेका छन् । एसएसपी श्याम खत्री फरार छन् ।

स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकारीहरु फस्ने सम्भावना छ । सुन तस्करका नाइके चुडामणि उप्रेतीको पूर्व आईजिपीहरु प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालसँग निकट सम्बन्ध थियो ।

सोही आधारमा प्रकाश अर्याललाई नै फोन गरी उप्रेतीले शाक्य हत्या मिलाउने प्रयास गरेका थिए । अर्यालसँग उप्रेतीको दुईतर्फी सम्पर्क नै देखिएको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा पनि सेटिङमै हुँदै आएको छ ।

त्यस्तै विमानस्थलमा काम गरेका अन्य प्रहरी अधिकारीहरुसँग समेत उप्रेतीको सम्बन्ध देखिएको र दोस्रो चरणको अनुसन्धानमा ती प्रहरी अधिकारीहरुलाई तान्ने तयारी भइरहेको छ ।

​रोकिएनन् प्रहरीमा काण्ड

देशभरिका प्रहरी कार्यालयमा यतिबेला काण्डै काण्ड मच्चिएको छ । सर्लाहीको इप्रका हरिपुरका इन्सपेक्टर अनिल ठकुरीले बलात्कार मुद्दा मिलाउने प्रयास गरेको अडियो सार्वजनिक भएपछि छानबिन थालिएको छ ।

बीरगञ्जमा घुस बाँडेर लिएको भिडियो सार्वजनिक भएपनि केही प्रहरीहरुलाई गणमा थुनामा राखेर कारबाही अघि बढाइएको छ ।

इप्रका इनरुवाका सबै प्रहरी सरुवा गरी कारबाही अघि बढाइएको छ । पर्साका अन्य ३ वटा घटनामा प्रहरीमाथि छानबिन भइरहेको छ । कतिपय घटनामा एसपी गणेश रेग्मी नै संलग्न रहेको स्रोत बताउँछ ।

हरेक जसो जिल्लामा बर्दीको आवरणमा अपराधमा संलग्न प्रहरीहरु छन् । त्यस्ता बर्दीधारा अपराधीलाई नियन्त्रण गर्न प्रहरी नेतृत्व र गृह मन्त्रालय निकै कडा हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...