सार्वजनिक निजी साझेदारीमा दिगो स्वच्छ ऊर्जा कार्यक्रम
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विनरक इन्टरनेशनलको संयुक्त आयोजना एवं विश्व बैंक र इएसएमपीको आर्थिक सहयोगमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक निजी साझेदारीका माध्यमबाट दिगो स्वच्छ ऊर्जा कार्यक्रम प्रभावकारी बनाउन सकिनेमा जोड दिइएको छ ।
स्वच्छ ऊर्जा मानवीय स्वास्थ्यका लागि पनि आवश्यक भएको बताउँदै कार्यक्रमका वक्ताले स्वच्छ खाना पकाउने ऊर्जाको दिगो प्रयोगका लागि सामूहिक रुपमा सचेतना आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा विनरक इन्टरनेशनलका निर्देशक बद्रीनाथ बरालले दिगोरुपमा स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धन गर्नका साथै दिगो प्रयोगलाई बढावा दिन सार्वजनिक निजी साझेदारीका माध्यमबाट दिगो स्वच्छ ऊर्जा कार्यक्रम अघि सारिएको बताउनुभयो ।
संघीय संरचनालाई ध्यानमा राख्दै प्रभावकारी एवं कुशल सेवा वितरणका लागि सार्वजनिक निजी साझेदारीमा केन्द्रित भई कार्यक्रमको संस्थागत मूल्यांकन गर्ने र सोसँग सम्बन्धित कार्यबारे छलफल गरिने उहाँले बताउनुभयो ।
विश्व बैंकका स्वच्छ खाना पकाउने ऊर्जा कार्यक्रमका संयोजक शेखर शर्माले स्थानीय तहसँग सहकार्य गर्दै समुदायमा सचेतनामूलक कार्यक्रम गर्दै अघि बढ्न सकिनेमा जोड दिनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर प्रकाश भण्डारीले देश संघीय संरचनामा गइसकेका अवस्थामा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघबीचको सहकार्य र समन्वयका आधारमा अघि बढ्नु आवश्यक भएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष युवराज कुँवरले विशेष गरी ग्रामीण बस्तीमा स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धन एवं दिगो प्रयोग आवश्यक भए पनि त्यसका लागि सर्वप्रथम सचेतना नै अपरिहार्य भएको धारणा राख्नुभयो ।
कार्यक्रममा भिमाद नगरपालिका तनहुँका अध्यक्ष मेखबहादुर थापा, शुक्लागण्डकी नगरपालिका, तनहुँका अध्यक्ष किसान गुरुङ, नवील बैंक लेकसाइडका बंंैक म्यानेजर सरिना श्रेष्ठलगायतले स्वच्छ खाना पकाउने ऊर्जाको प्रयोग मानिसको स्वास्थ्यका लागि पनि अपरिहार्य भएका कारण यसबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।