तीन वर्ष अघी आजकै दिन नौ तलाबाट खसेकी रमिला भन्छिन्– ‘धरहरा मेरो जन्मस्थल’
शनिबार बिदाको दिन। रमिला श्रेष्ठ साथी सञ्जीवसँग फिल्म हेर्ने योजनामा थिइन्। बिहानको खाना खाईवरी उनी बल्खुबाट वसन्तपुर पुगिन्। रामेछाप घर भएका सञ्जीव श्रेष्ठ पहिलेदेखि नै वसन्तपुर बस्थे। रमिला पनि रामेछापबाटै केही दिनअघि काठमाडौं आएकी थिइन्।
उनीहरुबीच ललितपुरको गुण सिनेमा हलमा फिल्म हेर्ने योजना बनिसकेको थियो। गाडी चढ्नका लागि वसन्तपुरबाट न्युरोड हुँदै सुन्धारा पुगे। रमिलाका लागि काठमाडौं नौलो थियो। सुन्धाराको धरहराबारे सुनेकी मात्र थिइन्। नौतले धरहरा नियाल्दै हिँडिरहँदा उनमा चढ्ने हुटहुटी जागेर आयो। सञ्जीवले पनि सहमति जनाएपछि उनीहरुले टिकट काटे र दिउँसोको १२ बज्नुअघि धरहरा चढे।
ठूलो उत्साह बोकेर चढेकी उनी आठौं तलाको रेलिङमा पुगिन्। र, काठमाडौंको बाक्लो सहर हेर्न थालिन्। यति नै बेला उनलाई एक्कासि रिँगटा लागेजस्तो भननन्न भयो। रेलिङबाट झ्वाट्ट उछिट्टिइन्।
—
‘बेलुका वीर अस्पतालमा मात्र मैले भूकम्प आएर धरहरा ढलेको भन्ने थाहा पाएँ,’ तीन वर्षअघिको त्यो कहालीलाग्दो दिनको उनी स्मरण गर्छिन्, ‘त्यति अग्लो ठाउँबाट खस्दा पनि बाँच्न सफल भएँ। यो त मेरो लागि दोस्रो जुनी हो।’
खुसीको कुरा त उनीसँगै धरहरा चढेका सञ्जीव पनि बाँचे। तर उनको हात भाँच्चियो। इँटाहरुबीच पुरिएकी रमिलाको भने एउटा खुट्टा भाँचिएको थियो।
त्यो त्रासदीपूर्ण दिन बितेको तीन वर्ष पुगिसकेको छ। ढलेको धरहरा पुनर्निर्माण भएको छैन। मात्र भत्किएको ठुटो ठिंग उभिएको छ। तर यसबीच १६ वर्षीय रमिलाको जीवनमा भने धेरै कुराहरु परिवर्तन भइसकेका छन्।
९ कक्षाको पढाइ छाडेर उनी बुबासँग बस्न काठमाडौं आएकी थिइन्। बुबा बल्खुमै एक पसलमा काम गर्छन्।
भूकम्पछि एक महिना उनले अस्पतालमै बिताउनुपर्यो। भाँच्चिएको खुट्टा ठिक हुन केही समय लाग्यो। भूकम्पको परकम्पहरु दिनहुँजसो आइरहेका थिए। सँगै उनी महसुस गर्न सक्थिन्, जीवन पीडाका कम्पनहरु।
एक वर्षपछि उनको खुट्टा ठिक हुँदै गयो। बिस्तारै उनले भूकम्पको मानसिक त्रास पनि बिर्सन थालिन्। काठमाडौंमै बसेर अधुरो पढाइ पूरा गर्नतिर लागिन्।
गत महिना एसइई दिएकी उनी ठूलो सपना लिएर कलेज पढ्ने तयारीमा लागिसकेकी छन्। कसर्म पढेर आफै व्यवसाय गर्ने र ‘व्यवसायी रमिला’को पहिचान बनाउने उनको सपना अँकुराउन थालिसकेको छ।
कतिपयले उनलाई भूकम्पमा धरहराबाट खसेकी केटी भनेर चिनाउँछन्। कसैले यसो भन्दा उनको मनमा कतै च्वास्स घोच्छ। किनकि उनी चाहन्छिन्, बसिसकेको पीडाको खाटो कसैले नकोट्याइदेओस्। ‘भूकम्पमा बाँचेको मान्छे भन्दा पनि केही काम गरेर आफ्नो पहिचान बनाउन चाहन्छु,’ उनी भन्छिन्।
भूकम्पमा बाँचेकी युवतीका रुपमा उनको निकै चर्चा भयो तर उनलाई पढाइमा भने कतैबाट सहयोग भएको छैन। घरको निम्न आर्थिक अवस्थाकै कारण बुबाले अरुकैमा ज्याला मजदुरी गर्नुपरेको छ। उच्च शिक्षाका लागि कसैले सहयोग गरिदिए आत्मबल बढ्ने उनको ठूलो अपेक्षा छ।
‘डर भन्ने कुरा मरिसक्यो’
बेलाबेलामा उनलाई भूकम्पको दिनको सम्झना हुन्छ। त्यो दिन सम्झँदा उनी कहिलेकाहीँ झसंग झस्किन्छिन् पनि; तर आफैंलाई ‘कन्ट्रोल’ गर्छिन्। तर, ठूलो डर हराइसकेको उनी बताउँछिन्। ‘अब त डर भन्ने कुरा नै भागिसक्यो,’ उनले हाँस्दै भनिन्।
अहिले पनि उनकी कहिलेकाहीँ ढलिसकेको धरहराको छेउछाउ पुग्छिन् र यसो आकाशतिर हेर्छिन्। जहाँबाट उनी खसेकी थिइन्। तर उनलाई यहाँ पुग्दा डर होइन रमाइलो लाग्दो रहेछ। ‘धरहरा त मेरो जन्मस्थल हो,’ उनी भन्छिन्, ‘जहाँ मैले पुनर्जन्म पाएँ।’
धरहरा घुमाउन लैजाने साथी सञ्जीवसँग भने हिजोआज उनको खासै भेटघाट छैन। अहिले सञ्जीवको भाँचिएको हात पनि ठिक भइसकेको छ। उनी एक रेस्टुरेन्टमा कुकका रुपमा काम गरिरहेका छन्।