पार्टी एकता सम्बन्धी अन्तिम बैठक भन्दै ओली र प्रचण्ड आज पनि वार्ता गर्न कस्सिए,यस्तो पाक्दैछ खिचडी



९ बैशाखमै पार्टी एकता हुने नहुने भन्ने विषय टुङ्ग्याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजपनि वार्ता हुने भएको छ। दुबै नेता आजको वार्तालाई निर्णायक बनाउने ‘मुड’ मा देखिएका छन्।

यकिन समय निर्धारण भइनसकेपनि विहान ११ बजेदेखि १२ बजेबीचको समयमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई शीर्ष नेताबीच वार्ता हुन लागेको हो। आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ। ओली–प्रचण्डबीच विहीबार ३ घण्टा वार्ता भएको थियो।

मिलेको दावी
एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा मतैक्यता छैन। प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीमाथि प्रश्न चिन्ह उठाउँदै अध्यक्षीय अधिकार प्रष्ट हुनुपर्ने प्रचण्डको मागपछि एकता प्रक्रिया जटिल मोडमा पुगेको छ।

दुई अध्यक्षबीच यिनै विषयमा पछिल्लो समय कुराकानी हुने गरेका छन्। विहीबार भएको वार्तामा पनि अध्यक्षीय अधिकारको विषयमा कुराकानी भएको थियो। स्रोतका भनाईमा, अध्यक्षको अधिकार प्रष्ट पार्नुपर्ने प्रचण्ड मागको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सकरात्मक देखिएका छन्।

संगठनात्मक स्वरुप तथा विधान मस्यौदा सम्बन्धी कार्यदलले पार्टी सहअध्यक्षीय मोडलमा चल्ने र त्यस अनुसार एकता महाधिवेशन अगाडिसम्म एकिकृत पार्टीमा दुई अध्यक्ष रहने, बैठकको अध्यक्षता आलोपालो गर्ने र महत्वपूर्ण पत्राचारमा दुबै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था गरेको छ।

तर, प्रधानमन्त्रीका रुपमा ओलीका पछिल्ला कतिपय निर्णय एकपक्षीय भएको गुनासो गर्दै प्रचण्डले पार्टी एकतापछि पनि ओली मनोमानी ढंगले चल्ने हुन् कि भन्ने आंशंका गरेका छन्। तर, विहीबार भएको कुराकानीपछि आफ्नो सरोकारको सम्बोधन ओलीले गर्नेमा प्रचण्ड आशावादी छन्।

कार्यविधि निर्माण
स्रोतका भनाईमा, प्रचण्डको उपरोक्त सरोकारको सम्बोधनका लागि विधानमा अध्यक्षका सम्बन्धमा गरिएको व्यवस्थाको थप प्रष्टताका लागि छुट्टै कार्यविधि बनाइने सम्भावना छ। विधानकै मातहत रहेर बनाइने कार्यविधिमा दुबै अध्यक्षले कसरी काम गर्ने भन्ने लगायतका विषयहरु समेटिने छन्।

हिजोको वार्तामा कार्यविधि निर्माण गर्ने विषयमा ओलीले सहमति जनाएपछि छिट्टै एकता हुने विषयमा ओली र प्रचण्ड दुबै आशावादी देखिएका छन्। स्रोतका भनाईमा, आज हुने वार्तामा यस विषयमा ठोश सहमति जुट्यो भने ९ बैशाखमा पार्टी एकता हुनसक्ने सम्भावना अझैपनि छ।

यदि आज सहमति जुट्यो भने ९ बैशाखमा पार्टी एकताको घोषणा गर्नेछन् भने अन्तर्राष्ट्रिय मजदुर दिवस (१ मई अर्थात् १८ बैशाख) वा कार्ल मार्क्सको जयन्ती (२२ बैशाख) का दिन एकता घोषणा गर्ने योजनामा ओली र प्रचण्ड छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्