जवान र हवल्दार तहका प्रहरी भन्छन्- हाकिम बिराउने, पिउसो पिराउने आईजिपी नहुन्,को हुदैछ आइजीपी
प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २०४४ चैत २९ मा सेवा प्रवेश गरेका १५ अतिरिक्त महानिरीक्षक, ९ नायब महानिरीक्षक र २ वरिष्ठ उपरिक्षक चैत २८ मा अवकाश पाउँदैछन्।
महानिरीक्षक अर्यालको अवकाश नजिकिदैं गएपछि अहिले प्रहरी वृत्तमा को महानिरीक्षक होला भने चर्चा चुलिएको छ। को मात्र होइन कस्तो व्यक्ति महानिरीक्षक हुनुपर्छ भन्ने पनि प्रहरी वृत्तमा चर्चा हुने गर्छ।
प्रहरी संगठनमा कूल दरबन्दीको करिब ७७ प्रतिशत हिस्सा प्रहरी हवल्दार र जवानले ओगटेका छ्न। देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र संगठनको छवि समेत यही ७७ प्रतिशत हवल्दार र जवानमा निर्भर रहेको हुन्छ।
नेपाल प्रहरीको कूल दरबन्दी ७२ हजार ७ सय ४४ रहेको छ। जसमध्य ४२ हजार २ सय ८५ जना प्रहरी जवान संगठनमा कार्यरत छन्। प्रहरी हवल्दारको संख्या १३ हजार ६ सय ७२ छ। हवल्दारले १८ हजार ३ सय ४० र प्रहरी जवानले १७ हजार २ सय ३० रुपैयाँ तलब पाउछन्। काठमाडौं बाहिर र घरपायक परे यो रकमले जेनतेन गुजारा चल्छ। तर काठमाडौंमा एउटा प्रहरी जवान र प्रहरी हवल्दारको जीवनयापनका लागि आर्थिक संकट बिडम्बनापूर्ण बन्न पुग्छ।
मासिक २५ हजारभन्दा कम तलबमान भएका कनिष्ठ प्रहरी अधिकारीहरु कस्ताे महानिरीक्षक चाहन्छन्? उनीहरुको जीवनमा सुधार ल्याउन आईजीपीको भूमिका कस्तो हुनुपर्छ? पदीय मर्यादाकाे ठूलाे महत्व रहने प्रहरी सेवामा याे विषयमा खुलेर बहस हुँदैन।
गत वर्ष तत्कालीन महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा गरिएको भिडियो सर्वेक्षणमा तल्लो तहका प्रहरी अधिकारीले आफूभन्दा माथिल्लो तह कस्तो हुनुपर्छ भन्ने स्पष्ट तस्बिर देखाएकाे थियाे।
नयाँ प्रहरी महानिरीक्षक नियुक्तिकाे पूर्वसन्ध्यामा नेपालखबरले फागुनयता प्रहरी प्रधान कार्यालयदेखि कार्यक्षेत्रमा खटिएका ५० बढी तल्लो दर्जाका प्रहरीहरुसँग कुराकानी गरेकाे थियाे। उनीहरूका समस्या के छन्? र कस्ताे प्रहरी महानिरीक्षक चाहन्छन्?
१. श्रीमान्–श्रीमती सँगै बस्न पाइयोस्
प्रहरीको तल्लो तह चाहन्छ प्रहरी सेवामै रहेका श्रीमान–श्रीमती सकेसम्म सँगै बस्न पाउने नियम होस्। घरपायक दरबन्दी, रासन स्केलमा बढोत्तरी, हाकिमको समान र सम्मानजनक व्यवहार उनीहरुका स्थापित माग हुन्। यस्तै १८ घण्टा ड्युटी गरेपछि आरामले सुत्न पाउने ब्यारेक होस्। आफूलाई सफा सुग्घर राख्न पाउने ब्यवस्था भएको ब्यारेक र सबैका लागि समान खाना होस्।
२. सन्तानको भविष्य सुरक्षित होस्
आफ्ना सन्तति सुरक्षित भविष्यका लागि संगठनको सहयोग र दुखबिमार पर्दा संगठनकै आड भरोसा होस्, प्रहरीका कनिष्ठ अधिकारीको अर्को इच्छा हो।
३. हाकिम बिराउने, पिउसो पिराउने नहोस्
प्रहरीमा तल्लो दर्जाका अधिकारी गलत नियत र प्रवृत्तिको हाकिम आए औंलामा गन्ने बाहेक धेरैलाई तनाव हुने उनीहरुको बुझाइ छ।
चेन अफ कमाण्डमा चल्ने संगठनमा माथिल्लो अधिकारीले अह्रााएका बिषयमा सोधखोज दण्डनीय मान्निछ। हाकिमले भनेपछि गर्नुपर्ने बाध्यताबीच केहीले गलत काममा आफू फसिन सक्ने भय उनीहरुको छ। आफूभन्दा माथिल्लो तहले बिराए सजायको भागिदार आफु बन्न नपरोस् भन्ने उनीहरुको चाहना छ।
४.समान अवसर, समान व्यवहार
प्रहरीमा आउने तालिम, विदेश तालिम, संयुक्त राष्ट्र संघमा खटिने मौका र पदोन्नति तथा पुरस्कारमा समानता उनीहरुको माग हो। उनीहरु अवसरका लागि ढोका चर्हानुभन्दा पारदर्सी र चित्तबुझ्दो ब्यवस्था होस् भन्ने चाहन्छन। वृत्ति विकास समयमै होस् भन्ने अधिकांश प्रहरी जवानको भनाइ छ।
५ बदनाम्, भ्रष्ट र दागी नहोस
प्रहरीमा तल्लो दर्जाका अधिकारी आफ्नो नेतृत्व स्वच्छ छविको होस भन्ने चाहना राख्छन्। अनियमितता, भ्रष्टाचार र बद्नामीको दाग नलागेको प्रहरी अधिकारी उनीहरुको रोजाइ छ।
६. समस्या सुन्ने, मर्म बुझ्ने
मुखले मात्र होइन व्यवहारमा दयालु महानिरीक्षक समेत उनीहरुको चाहनामा परहेको छ। साना कर्मचारीका लागि यदाकदा घरायसी र व्यवहारीक समस्या पनि ठुलो हुन्छ। यस्तो अवस्थामा आवश्यक विदा, पेश्की र भनसुनमा सहयोग गर्ने वातावरण मिलाइ दिने महानिरीक्षक उनीहरुको चाहना हो।
७ स्पष्ट, कडा अभिभावक
प्रहरी महानिरीक्षकले सिंगो संगठनको प्रतिनिधित्व गर्ने भएकाले स्वदेशमा मात्र होइन विदेशमा समेत पहुँच भएको महानिरीक्षक उनीहरुको चाहना छ। प्रहरी संगठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सम्बन्ध विस्तार गर्नसक्ने महानिरीक्षक अहिले थपिएको योग्यता बनेको छ। प्रहरीको कल्याणकारी कोषको बृहत्तर हितमा सदुपयोग र त्यसको लाभमा समान सहभागिता समेत अहिले संगठनका महानिरीक्षकबाट खोजिएको अर्को योग्यता हो।